Successfully Copied

वर्षका चर्चित महिला

सकारात्मक भूमिका, प्रभाव विस्तार, प्रभावशाली पदहरूमा उपस्थिति, निर्वाचनमा हासिल गरेको विजयका साथै उद्यमलगायत अन्य विविध क्षेत्रमा पाएको सफलताजस्ता कारणले कतिपय महिला मिडियामा लगातार छाइरहे । वर्षभरि नै आधा आकाश ढाक्ने महिलाहरूको चर्चा पनि पुरुषकै बराबरीमा भयो ।

०७४ सालमा मुलुकमा सर्वाधिक चर्चाको विषय केही थियो भने त्यो निर्वाचन नै हो । यो वर्ष संघीय गणतन्त्र नेपालका संघ, प्रदेश र स्थानीय तहका निर्वाचनहरू सम्पन्न भए । वर्षभरि नै राजनीतिक हारजितका खबरले मिडियामा बाक्लो कभरेज पाए । निर्वाचनको ताजा जनादेशबाट मुलुकका प्रभावशाली पदहरूमा केही नयाँ अनुहारको उदय भयो भने केही पुराना प्रभावशाली अनुहार जनमत आफ्नो पक्षमा नदेखिएपछि पावर पोलिटिक्सबाट बाहिरिए ।

निर्वाचनले मुलुकको राजनीतिक परिदृश्यमा उतार–चढाव ल्याउने क्रममा केही महिला वर्षभरि चर्चाको केन्द्रमा रहे । सकारात्मक भूमिका, प्रभाव विस्तार, प्रभावशाली पदहरूमा उपस्थिति, निर्वाचनमा हासिल गरेको विजयका साथै उद्यमलगायत अन्य विविध क्षेत्रमा पाएको सफलताजस्ता कारणले कतिपय महिला मिडियामा लगातार छाइरहे । वर्षभरि नै आधा आकाश ढाक्ने महिलाहरूको चर्चा पनि पुरुषकै बराबरीमा भयो । वर्ष ०७४ मा नेपाली समाजमा चर्चामा रहन सफल केही महिला :

विद्यादेवी भण्डारी

गणतन्त्र नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित भइन् । २९ फागुनमा भएको राष्ट्रपतिको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी भण्डारी दुई तिहाइभन्दा बढी मत ल्याएर विजयी भएकी हुन् । उनले ३९ हजार २ सय ७५ मत ल्याएकी थिइन् भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मीकुमारी राईले ११ हजार ७ सय ३० मत प्राप्त गरेकी थिइन् ।

भोजपुरमा जन्मिएकी ५६ वर्षीया भण्डारी ०७२ कात्तिक ११ मा पहिलो पटक राष्ट्रपतिका लागि निर्वाचित भएकी थिइन् । स्नातक तहसम्म अध्ययन गरेकी भण्डारी दक्षिण एसियामै पहिलो महिला राष्ट्रपतिका रूपमा समेत चर्चामा रहिन् । २०३५ सालमा राजनीतिक यात्रा प्रारम्भ गरेकी भण्डारीले २०३९ सालमा चर्चित कम्युनिस्ट नेता मदन भण्डारीसँग विवाह गरेकी थिइन् । राष्ट्रपति रहँदा उनी नेपाली कांग्रेसले लगेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक लामो समय होल्ड गरेर अनि कांग्रेस नेतृत्वकै सरकारले सिफारिस गरेका तीन जना राष्ट्रियसभामा सदस्यलाई मनोनीत नगरेका कारण विवादमा तानिइन् ।

सुशीला कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की गत वर्ष सर्वाधिक चर्चामा रहेकी न्यायमूर्ति हुन् । सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलो पटक महिला प्रधानन्यायाधीश नियुक्त कार्कीले गत वर्ष नै महाभियोगको सामना गरिन् । न्यायालयमा पद्धति बसाल्न र भ्रष्टाचारका मुद्दाहरूको सुनुवाइमा फास्टट्रयाक लागू गरेपछि उनीविरुद्ध अदालतभित्र र बाहिर असहयोगसमेत भयो । यतिमात्र होइन, बहुचर्चित आइजिपी प्रकरणमा सरकार र अदालतबीच विवाद देखिएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले उनी अवकाश हुनु एक महिना पूर्व संसद्मा महाभियोग दर्ता गराए, जसको सर्वत्र विरोध भएपछि त्यसलाई फिर्ता लिइयो । अदालतभित्रका विभिन्न समस्या सार्वजनिक गरेका कारण उनी लगातार न्युज मेकर्स बनिरहिन् । मोरङमा जन्मिएकी ६५ वर्षीया कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेकी छिन् । अधिवक्ताका रूपमा उनले २०३५ सालदेखि कानुन व्यवसाय प्रारम्भ गरेकी हुन् ।

बिना मगर

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा सामान्य किसान परिवारमा जन्मिएकी हुन्–बिना मगर । माओवादी सशस्त्र संघर्षका क्रममा कलाकार हुँदै राजनीतिमा प्रवेश गरेकी ३४ वर्षीया बिनाले लामो समय भैरवनाथ गणको हिरासतमा बिताइन् । भैरवनाथ गणबाट छुटेपछि उनी विद्यार्थी राजनीतिमा सक्रिय भइन् । त्यही क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालसँग दोस्रो विवाह गरेकी बिनाले कञ्चनपुर–१ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेर चर्चा बटुलिन् । त्यसपछि उनको चर्चा थप चुलियो जतिबेला उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा एकमात्र महिला फूलमन्त्रीका रूपमा खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाइन् । चुनावी अभियानकै क्रममा आफ्ना पति प्रकाश दाहाललाई गुमाएकी बिनालाई अहिले प्रचण्डको उत्तराधिकारीका रूपमा समेत हेर्न थालिएको छ ।

रेणु दाहाल

भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवारी घोषणा गरेसँगै चर्चाको चुलीमा पुगेकी महिला नेतृ हुन्–रेणु दाहाल । २२ असार २०३३ मा चितवनमा जन्मिएकी रेणु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी जेठी छोरी हुन् । २०५१ सालमा पिताको नेतृत्वमा जनयुद्ध सुरु हुँदादेखि नै भूमिगत राजनीतिमा लागेकी रेणु हाल माओवादीको पोलिटब्यूरो सदस्य छिन् । रेणु पहिलो संविधानसभामा समानुपातिक सांसदसमेत भएकी थिइन् । दोस्रो संविधानसभामा उनी काठमाडौं–१ बाट पराजित भइन् । एसएलसीसम्म अध्ययन गरेकी रेणु वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवार देवी ज्ञवालीलाई पराजित गर्दै भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी हुन् । उनले भरतपुरको मेयरमा कांग्रेसको सहयोगमा जित हात पारेकी हुन् । देवी ज्ञवालीसँग पराजय उन्मुख भएपछि माओवादी कार्यकर्ताले भरतपुर महानगरको १९ नम्बर वडाको मतपत्र च्याते, त्यसपछि उक्त वडामा पुन: मतदान गरेपछि रेणु विजयी भइन् । उक्त घटनाले यो वर्ष सर्वाधिक चर्चासमेत पायो ।

डा. शिवमाया तुम्बाहाम्फे

डा. शिवमाया तुम्बाहाम्फेले राजनीति शास्त्रमा पिएचडी गरेकी छिन् । प्रतिनिधिसभाकी उप–सभामुखमा निर्वाचित भएपछि चर्चामा आएकी शिवमायाका पक्षमा २ सय १ मत परेको थियो भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुष्पा भुसालको पक्षमा ५८ मत मात्र परेको थियो । उप–सभामुख निर्वाचित हुनुअघि ५३ वर्षीया तुम्बाहाम्फे एमालेको समानुपातिक कोटाबाट सांसद भएकी थिइन् । तेह्रथुममा जन्मिए पनि उनले मोरङबाट राजनीति गर्दै आएकी थिइन् । २०५२ सालमा अनेरास्ववियुको उपाध्यक्ष भएकी तुम्बाहाम्फे एमालेको नवांै महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । ०७३ मा केपी ओली सरकारको पालामा इजरायलका लागि नेपाली राजदूतमा सिफारिस भएकी शिवमाया ओली सरकार ढलेपछि राजदूत हुने अवसरबाट वञ्चित भइन् । राष्ट्रपति विद्या भण्डारीकी प्रिय मानिने डा. तुम्बाहाम्फे झन्डै ४० वर्षअघि विद्यार्थी पृष्ठभूमिबाट राजनीतिमा लागेकी हुन् ।

प्रियंका कार्की

सामाजिक सञ्जालदेखि चलचित्रसम्म सबैतिर छाएर एकपछि अर्को समाचारको हेडलाइन बनिरहिन्–प्रियंका कार्की । बोल्ड छविकी यी नायिका ०७४ मा समाचारमा छाइरहनुको अर्को कारण थियो, उनको लभ अफेयर्स । चर्चित बैंकर रबिना देशराजका छोरा आयुष्मानसँग उनको रोमान्सले पनि वेब पोर्टलहरूमा निकै चर्चा बटुल्यो । यसबीच प्रियंकाले एकपछि अर्को चलचित्र पनि पाइरहिन् ।

सन् २००५ मा मिस टिनको उपाधि जितेपछि चर्चामा आएकी काठमाडौंकी प्रियंकाले ‘घरबेटी बा’ बाट अभिनययात्रा प्रारम्भ गरेकी हुन् । त्यसपछि लगातार प्रभावशाली छाप छाड्दै उनले ‘मेरो ‘ब्रेस्ट फेन्ड’ मार्फत नेपाली चलचित्रमा पाइला टेकेकी हुन् । दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी प्रियंका सपोर्टिङ नायिकाका रूपमा सफल भए पनि उनी एक्लैले अभिनय गरेका चलचित्रले व्यावसायिक रूपमा त्यति ठूलो कमाल देखाउन सकेका छैनन् ।

कञ्चन अमात्य

न्यूयोर्कमा बस्ने नेपाली चेली कञ्चन अमात्य पनि वर्षभरि नै समाचारमा छाइरहिन् । उनको चर्चा त्यतिबेला थप चुलियो, जब उनले प्रभावशाली तथा धनी व्यक्तिहरूका समाचार छाप्ने फोब्र्सको युवा उद्यमीहरूको सूचीमा स्थान बनाइन् । ललितपुरकी २३ वर्षीया कञ्चनलाई फोब्र्सले एसियाका ‘३० अन्डर ३०’ को सूचीमा समेट्यो । कञ्चनलाई सष्टेनेबल फिस फार्मिङ इनिसियटिभ (एसएफएफआई) को फाउन्डरका रूपमा उक्त सूचीमा समावेश गरेको फोब्र्सले जनाएको छ । अमात्य फाउन्डर रहेको कम्पनीले जलकृषि उत्पादनमार्फत गरिबी निवारण तथा खाद्यान्न असुरक्षा हटाउन काम गर्दै आएको छ । त्यसका साथै उक्त कम्पनीले ग्रामीण क्षेत्रका महिलाहरूलाई साना उद्यमहरू सुरु गर्न वित्त, प्रविधि, स्थानीय स्रोतहरूको उपयोग एवं तालिम उपलब्ध गराउँदै आएको छ । अमात्य महिलाहरूको आर्थिक सशक्तीकरणका लागि युएन वुमन ग्लोबल क्याम्पेनमा पनि काम गरिरहेकी छिन् । कञ्चनले यसै वर्ष अमेरिकी पूर्व राष्ट्रपति विल क्विन्टनले सञ्चालन गरेको क्लिन्टन फाउन्डेसनले प्रेसिडेन्सियल क्लिन्ट ग्लोबल इनिसिएटिभ अनर रोल अवार्ड समेत प्राप्त गरेकी थिइन् ।

आयुषी केसी

खालीसीसी म्यानेजमेन्टकी संस्थापक आयुषी केसी पनि न्युज मेकर्सका रूपमा चर्चामा रहिन् । २८ वर्षीया आयुषीले युएसएडको आकर्षक जागिर छाडेर खालीसीसी डटकममार्फत काम गर्दै आएकी छिन् । नेपालमा ‘जिरो वेस्ट गोल’ मा काम गरेर विश्वमा परिवर्तन ल्याउने सोच राखेको भन्दै फोब्र्सले उनलाई ३० अन्डर ३० मा एसियाका प्रतिभाशाली युवा उद्यमीहरूको सूचीमा समेटेको हो । एमबीए गरेकी आयुषीको कम्पनी अहिले १३ हजार कवाडी सामान विक्रेता र क्रेतासँग काम गरिरहेको छ । नवीन सोचमार्फत विश्वमा परिवर्तनको सन्देश दिने आयुषीको सकारात्मक प्रयास फोब्र्सको सूचीमा दरिन सहयोगी भएको थियो ।

सविता कार्की

चर्चित मोडलिङ रियालिटी शो ‘इन्डियाज नेक्स्ट टप सुपरमोडल सिजन–थ्री’ मा मोडल सविता कार्की फस्ट रनरअप घोषित भइन् । काठमाडौंकी सविताको चर्चा त्यसपछि ह्वात्तै बढ्यो । अमेरिकाज् नेक्स्ट टप मोडलको भारतीय संस्करणका रूपमा तयार पारिएको उक्त शोमा सविताले प्राप्त गरेको उपलब्धि महत्वपूर्ण मानिएको छ ।

हेमानन्द गिरी

भारतका प्रमुख चार मठमध्ये एक ज्योतिर्मठको शंकचार्यको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएपछि चर्चामा छाइन्–स्वामी हेमानन्द गिरी । मोरङकी ४२ वर्षीया गिरी विश्वका २ सय जना सहभागी प्रारम्भिक छनोटबाट छानिएका ५८ आध्यात्मिक हिन्दू गुरुहरूमध्येबाट अन्तिम प्रतिस्पर्धामा पुगेकी थिइन् । शंकराचार्यको अन्तिम प्रतिस्पर्धामा चार जना मात्रै छानिएका छन् । हेमानन्द मठको १२ सय वर्षको इतिहासमा शंकराचार्य पदमा दाबी गर्ने र उत्कृष्ट चारभित्र पर्ने प्रथम महिला हुन् । उनले उर्लाबारी बहुमुखी क्याम्पसबाट आईए तथा भारतको हरिद्वारबाट ‘आचार्य’ गरेकी छिन् । गिरी पूर्वी नेपालको गौरीगन्जस्थित वैदिक सूर्य शिवालय पीठकी महामण्डलेश्वर हुन् ।

रञ्जु दर्शना

२१ वर्षकै उमेरमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि रञ्जु दर्शना एकाएक चर्चामा आइन् । महानगरको मेयरका लागि विवेकशील पार्टीबाट उम्मेदवार भएकी रञ्जुले ‘सुन्दर र सभ्य सहर’ लाई आफ्नो चुनावी नाराका रूपमा अगाडि सारेकी थिइन् । रञ्जुको प्रभाव त्यतिबेला देखियो, जब उनले अनपेक्षिट रूपमा झन्डै २३ हजारभन्दा बढी मत प्राप्त गरिन् । धेरैले उनलाई राजनीतिमा नयाँ आशा गरिएकी युवा उम्मेदवारका रूपमा मत दिए ।

 Image