Successfully Copied

जोन्ता–एल्लो रोज डे वुमन विल फियस्ट

नारी मासिक तथा अपाला ज्वेलर्ससँगको सहकार्यमा संचालित एल्लो रोज डेमा त्यस्ता पृथक् र उदाहरणीय काम गरिरहेका ६ जना युवालाई विशेष सम्मान एवं नेपाल गृहिणी उद्योगकी इन्दिरा सापकोटालाई दि प्रिन्सेस हेलेन शाह इन्सपिरेसनल वुमन अफ दि इयर–२०१८ द्वारा सम्मानित गरिएको थियो ।

जोन्ता क्लब काठमाडौं तथा वुमन विलको संयुक्त आयोजनामा एल्लो रोज डे–वुमन विल फियस्ट सम्पन्न भएको छ । जोन्ता क्लब व्यावसायिक महिलाहरूको अन्तर्राष्ट्रिय संगठन हो जसले महिला सशक्तीकरण, महिला स्वास्थ्य, महिला विकास तथा महिला शिक्षामा काम गर्दै आएको छ भने जेन्डर इक्वालिटीका लागि गुगलको आधिकारिक कार्यक्रम वुमन विलको नेपालको नेतृत्व फाइजा परविनले गरिरहेकी छिन् । अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय यी दुई अभियानले नेपालमा समेत महिला सशक्तीकरण र सबलीकरणमा उल्लेखनीय काम गरिरहेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमको उद्देश्य बलियो घेरा तोडेर अघि बढेका महिला जो आमभन्दा खास छन् र सबैका लागि प्रेरणादायक बन्न सफल छन् उनीहरूलाई सम्मान गर्नु थियो ।

नारी मासिक तथा अपाला ज्वेलर्ससँगको सहकार्यमा संचालित एल्लो रोज डेमा त्यस्ता पृथक् र उदाहरणीय काम गरिरहेका ६ जना युवालाई विशेष सम्मान एवं नेपाल गृहिणी उद्योगकी इन्दिरा सापकोटालाई दि प्रिन्सेस हेलेन शाह इन्सपिरेसनल वुमन अफ दि इयर–२०१८ द्वारा सम्मानित गरिएको थियो । नगदसहितको कदरपत्र ग्रहण गर्दै सापकोटाले भनिन्–त्यो समय जतिबेला महिलाहरू बाहिर आउन सहज थिएन । छिमेककी एउटी बहिनीले हातबुना टोपी तयार पारी असनमा लगेर बेच्दा पैसा आएको देखेपछि यसो गर्दा त पैसा कमाइँदो रहेछ भनेर मैले एउटा मेसिन किनें । त्यही मेसिनबाट सुरु गरेको व्यवसायले आज धेरैलाई रोजगार प्रदान गरिरहेको छ । आफ्नै सुरमा काम गरिरहँदा कतै न कतैबाट त्यसको कदर हुँदोरहेछ । यो सम्मानले मलाई अझ जुझारु बनाएको छ, हौसला प्रदान गरेको छ ।

सहभागी सबैलाई पहेंलो गुलाफसहितको ब्याच वितरणपछि जोन्ता क्लबकी मुन प्रधानको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्लबकी अध्यक्ष मीरा ज्योतिले जोन्ता क्लबले नेपालमा महिला स्वास्थ्य, शिक्षा एवं सशक्तीकरणमा खेलिरहेको भूमिकाका सम्बन्धमा प्रकाश पारेकी थिइन् । उनले एल्लो रोज डे मनाउनुको औचित्य पनि प्रस्ट पारिन् । जोन्ता क्लबकी एरिया–डाइरेक्टर (नेपाल र बंगलादेश) सिर्जना राणाले स्वास्थ्य र शिक्षा नै महिला सशक्तीकरणको प्रमुख आधार रहेको कुरा बताउँदै नेपालका विभिन्न स्थानमा जोन्ता क्लबद्वारा दर्जनौं शौचालय बनिसकेको जानकारी दिइन् ।

राणाले युवा उद्यमशीलता र आर्थिक सबलीकरणले महिला विकासको गति दु्रत हुने कुरासमेत बताइन् । लैङ्गिक समानताका लागि गुगलको आधिकारिक कार्यक्रम वुमन लिडकी नेतृ फाइजा परविनले महिला विकास एवं सशक्तीकरणमा संसारभर वुमन विलले खेलिरहेको भूमिका र त्यसको प्रभावका बारेमा आफ्ना धारणा व्यक्त गरेकी थिइन् । डिजिटल लिटरेसीका अमित अग्रवालले सामाजिक संजालमा हुने महिला हिंसा, दुव्र्यवहारजस्ता क्रियाकलाप र त्यसबाट जोगिने उपायका सम्बन्धमा जानकारी दिएका थिए । खाली सिसीकी आयुषी के.सी.ले अहिलेका युवाहरू पृथक् केही गर्न चाहने तर त्यसको नेतृत्वमा समाजले पुरुष अपेक्षा गर्नेजस्ता व्यवहारले सिर्जनशील महिलाहरूलाई अहिलेसम्म पनि व्यवसायमा ठूलो चुनौती भएको धारणा व्यक्त गर्दै आफ््ना प्रेरणादायक अनुभवहरू सेयर गरेकी थिइन् ।

एल्लो रोज डे–वुमन विल फियस्टमा सम्मानित हुनेहरूमा सिन्का रेस्टुरेन्टकी शुभेच्छा हाडा, द वुमनकी नेहा बानु शाह, इको सप बैंक नेपालकी निक्की लामा, फुड मारियोकी नीता राई, लिटर नेपाल इनकी स्मृति तुलाधर तथा लिटल थिंक्सकी आभा धिताल छन् । यी ६ जना जुझारु युवाको पृथक् सोच, नवीन अवधारणा तथा कडा मेहनतको भिडियो प्रदर्शन हुँदा दर्शकदिर्घाबाट तालीको गडगडाहटबाट त्यसको स्वागत गरिएको थियो । त्यसैगरी इन्दिरा सापकोटाको भिडियो डिस्प्लेमा प्रदर्शन गरिएको अन्तर्वार्ताले सबैको मन छोएको थियो ।

 

फाइजा परविन, वुमन विल को लिड

वुमन विल जेन्डर इक्वालिटीका लागि गुगलको आधिकारिक कार्यक्रम हो जुन संसारभर चलिरहेको छ । नेपालमा यसको नेतृत्व मैले गरिरहेकी छु । गुगलको आधिकारिक अभियान भएकाले यसको कार्यक्षेत्र तथा प्रभाव फराकिलो छ । वुमन विलले नयाँ सोच र पृथक् शैलीमा विभिन्न कार्यक्रम गर्छ । विशेषत: महिला सशक्तीकरण र विकास, महिला नेतृत्व पहल तथा कार्यस्थलमा समेत महिला सशक्तीकरणका कार्यक्रममा केन्द्रित वुम विल डिजिटल लिटरेसीमार्फत महिला सशक्तीकरण वृद्धिमा विशेष भूमिका खेलिरहेको छ । हामीले यो कार्यक्रममार्फत युवा उद्यमी महिला जसलाई आजसम्म कसैले नोटिससम्म गरेका थिएनन्, उनीहरूलाई सम्मान गर्‍यौं, अन्य महिलाहरूसम्म पुर्‍यायौं । नेटवर्किङ विल्ड भयो । हामीले मासिक रूपमा डिजिटल लिटरेसी वर्कसप पनि सुरु गरिसकेका छौं जुन अब प्रत्येक महिना चल्नेछ ।

ऋषि अग्रवाल, अपाला ज्वेल्स

नारीसँग जोडिएको व्यवसाय भएकाले हामी सधैं महिलाका विषयमा चासो राख्छौं । महिला सशक्तीकरणमा हामी पनि जुट्नुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रमसँग जोडियौं । एल्लो रोज डे–वुमन विल फियस्ट पनि यस्तै एउटा नयाँ शैलीको कार्यक्रम भएकाले हामी सशक्त महिला निर्माणमा सहकार्यको हात बढाएका हौं ।हरेक नारी बोल्ड, स्ट्रङ र सुन्दर देखिऊन् भन्ने हाम्रो सोच हो । बोल्ड, स्ट्रङ र सुन्दर महिला नै सशक्तीकरणका प्रतीक हुन् । हामी सधैं महिला सशक्त भएको हेर्न चाहन्छौं । यसमा हाम्रो निरन्तर साथ र सहयोग छ ।

सिर्जना राणा, एरिया–डाइरेक्टर नेपाल र बंगलादेश जोन्ता क्लब

पहेंलो गुलाफ भ्रातृत्व र मित्रताको प्रतीक हो । यसले खुसीलाई दर्शाउँछ । पहेंलो रंगले आन्तरिक भावना जागृत गराउँछ, सकारात्मक भाव व्यक्त गर्छ । जोन्ता क्लबले नेपालमा महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा काम गरिरहेको सबैलाई विदितै छ । यसैअन्तर्गत हामीले यस्ता ६ जना जुझारु, सिर्जनशील तथा नयाँ सोच भएका युवतीहरूलाई सम्मान गर्‍यौं जसको कामले समाज परिवर्तनमा समेत प्रभाव पारिरहेको छ । यिनले कम उमेरमै अरूलाई रोजगार प्रदान गरिरहेका छन् । यिनीहरूको परिश्रम, दृढता र आँट देखेर अरूलाई प्रेरणा मिल्ने कुरामा कुनै शंका छैन । अर्कातर्फ यसले उनीहरू स्वयंलाई पनि थप ऊर्जाशील र जिम्मेवार बनाउँछ भन्ने हाम्रो बुझाइ हो ।

 Image