Successfully Copied

चर्चित हिल स्टेशन

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण विश्वकै सुन्दर देशमध्ये एक हो । हिमाल, पहाड र तराई मिलेर बनेको नेपाल सानो तर प्राकृतिक सम्पदाले सम्पन्न मुलुक मानिन्छ । यहाँ थुप्रै त्यस्ता घुम्न लायक स्थान छन् जहाँ पुगेपछि जोकसैको मन लोभिन्छ ।

इलाम

पहिले पूर्वाञ्चल विकासक्षेत्रको मेची अञ्चलका चार जिल्लामध्येको एउटा पहाडी जिल्ला हो–इलाम । इलाम हाल १ नम्बर प्रदेशका १४ जिल्लामध्येको एउटा जिल्ला हो । इलाम नेपालकै महत्वपूर्ण स्थान मानिन्छ । लहरै चियाको हरियो गलैंचामा नीलो आकाश र सेतो हिमाली पृष्ठभूमि छिचोल्दै इलाम पुग्ने हरकसैलाई घर फर्कन मन लाग्दैन । पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्य इलामका कन्याम, अन्तुडाँडा, इलाम बजार, माइपोखरी तथा सन्दकपुरको सुन्दरताले बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदैआएको छ । कन्याम इलामको सबैभन्दा बढी पर्यटक भित्रने स्थान हो ।

कृषि तथा पशुपालन इलामको मुख्य पेसा भए पनि व्यापार यहाँका मानिसहरूले अपनाएको महत्वपूर्ण पेसा हो । इलाम बजार, फिक्कल, पशुपतिनगर, नयाँबजार, मङ्गलबारे, देउराली, शुक्रबारे, तीनघरे यहाँका मुख्य व्यापारिक केन्द्र हुन् । चिया, अलैंची, अदुवा, आलु, अम्रिसो, अकबरे खुर्सानी, स्कुस, दूध किबी आदि यहाँका मुख्य कृषि उत्पादन हुन् । इलाममा एक दर्जनभन्दा बढी ठूला चिया प्रशोधन कारखाना छन् ।

भेडेटार

समुद्री सतहबाट १४२० मिटर उचाइमा अवस्थित भेडेटार धरानबाट १६ किलोमिटरको दूरीमा छ । ‘छिनमै कुहिरो लाग्ने छिनमै पानी पर्ने अनि छिनमै घाम लाग्ने यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । भेडेटारबाट विश्वको सर्वाेच्च शिखर सगरमाथा विश्वकै तेस्रो र चौथो अग्ला हिमशृफ्ला कंचनजङ्घा तथा मकालुका साथै तराईका समथर फाँट, सप्तकोशी नदी एवं सूर्यास्तको दृश्य हेर्न सकिन्छ ।

अहिले भेडेटारको लोकप्रियता बढ्दै गएको छ । धरान–धनकुटा बाटो बन्नुअघि लेकबाट ल्याइने भेडाको खर्क राखिने यो ठाउँ व्यवसायीहरूका लागि गरिखाने गतिलो माध्यम बन्दै आएको छ । भेडेटार पुग्नेहरू राजारानी उपत्यका, गुराँसको राजधानी तीनजुरे–मिल्के क्षेत्र आदि पनि पुग्नसक्छन् ।

घान्द्रुक

कास्की जिल्लाको मोदीखोला उपत्यकामा अवस्थित सुन्दर पहाडी गाउँ हो–घान्द्रक । गुरुङ तथा मगर बाहुल्य यो उच्च पहाडी गाउँ अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने सुन्दरतम स्थलहरूमध्ये एक हो । ६ हजार ७ सय फिट उचाइमा रहेको घान्द्रुक पुग्न कास्कीको नयाँपुल पुगेर गाडीबाट ओर्लिएपछि करिब ५ घन्टा पैदल हिँड्नुपर्छ । पर्यटकहरू यही मार्गबाट हिँडेर घान्द्रुक पुग्छन् । यहाँका सबै होटलको सेवा–सुविधा एकै किसिमको छ । घान्द्रुक पुग्ने पर्यटकले आफ्नो रोजाइको सेवा–सुविधा प्राप्त गर्न सक्छन् । घान्द्रुक पुगेर हिमशृफ्ला, सूर्योदय, ग्रामीण बस्ती, फरक संस्कृति, वन–जङ्गल तथा मनोरम भूगोलको अवलोकन गर्न सकिन्छ । पर्यटकीय रूपमा विश्वमा चासो र चर्चामा रहने माछापुच्छ्र्ेरर अन्नपूर्ण हिमालको काखमा अवस्थित घान्द्रुक पदयात्रा र हिमाली दृश्यावलोकनका लागि नपुगी नहुने ठाउँ हो ।

जिरी

पर्यटकीय सहरको उपमा पाएको सानो उपत्यका हो–जिरी । हरियो घाँसे मैदानको सिरानमा चिटिक्कको बजार तथा हरियाली जिरीको विशेषता हो । कलकल बगिरहेको तामाकोशी तथा अग्ला पहाडका कन्दराहरूबाट निस्किएका झरनाले जिरीको परिचय बोकेका छन्।

समुद्री सतहभन्दा २६ सय मिटरको उचाइमा अवस्थित जिरीमा पाइने ‘क्यामल सीप’ प्रजातिको भेडा पनि सबैको आकर्षणमा पर्छ । सगरमाथाको मुख्यद्वार जिरीलाई नेपालको स्विट्जरल्यान्ड समेत भनिन्छ । सगरमाथा हेर्न जाने विदेशी पर्यटक काठमाडौंबाट १ सय ८८ किलोमिटरको बस यात्रा गरेर जिरी पुग्ने गरेका छन् जहाँबाट उनीहरू पैदल मार्ग हुँदैसगरमाथाको आधार शिविरतर्फ लाग्छन् ।

जिरी पुग्ने प्राय: पर्यटक पैदल यात्रा गर्न रुचाउँछन् । हिमाली गाईको दूधबाट बनेको चीज यहाँको विशेषता हो । जिरेल जातिको संस्कृति बुझ्न तथा हिमाली गाईको छुर्पीको स्वाद लिन पनि जिरी पुग्नैपर्ने हुन्छ । चैत–वैशाखमा गुराँसले यहाँका पाखाहरू रंगीन हुन्छन् । जाडो महिनामा जिरीका पाखा हिउँले सेताम्मे हुन्छन् ।

दामन

थानकोट, नौबीसे हुँदै पृथ्वी राजमार्गबाट ७५ किलोमिटर दूरी पार गरी तीन घन्टामै दामन पुग्न सकिन्छ । चन्द्रागिरि हुँदै चित्लाङको कच्ची बाटोबाट यात्रा तय गर्ने हो भने बाटो अझ छोटो छ । यस्तै दक्षिणकालीबाट फाखेल हुँदै कुलेखानीको मार्खुबाट टिस्टुङ हुँदै पनि दामन पुग्न सकिन्छ ।

गुराँस फुलेर रातै भएको भञ्ज्याङ मात्र होइन शीतलता यहाँको अर्को आकर्षण हो । दामनमा संसारका आठ वटा अग्ला हिमालको दृश्य देख्न सकिन्छ। जाडोमा हिमपातको प्रत्यक्ष अवलोकन एवं गर्मीमा लोभलाग्दो भञ्ज्याङले दामनलाई मौसमको उपयुक्त गन्तव्य बनाएको छ । २ हजार ६ सय ८८ मिटर उचाइमा रहेको दामनमा हिमशृंखला तथा वरपरका पर्वत अवलोकन गर्न भ्युटावरसमेत निर्माण गरिएको छ ।

थाहा नगरपालिकामा पर्नेे दामन इलाकाका टिस्टुङ र पालुङ उपत्यका ग्रामीण पर्यटनका केन्द्र हुन् । टायल र ढुंगा कुँदेर बनाइएका पुराना घरहरूका साथै खर तथा छ्वालीले छाएका परम्परागत बस्ती त्यहाँका आकर्षक मानिन्छ ।

ककनी

काठमाडौंबाट २७ किलोमिटर उत्तर–पश्चिममा पर्छ–ककनी । नुवाकोट जिल्लामा पर्ने ककनी क्षेत्र प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । ककनीबाट दक्षिणमा देखिने दामन र सिमभन्ज्याङ, पूर्वमा देखिने काठमाडौं उपत्यका र आसपासका मनोरम छटा, उत्तरतर्फ देखिने थानसिङ फाँट र गणेश हिमाल मनमोहक मानिन्छन् । ककनी वनभोज स्थलका रूपमा समेत प्रसिद्ध छ । वर्षाको झरी होस् वा हिउँदको चिसो ककनीमा हरेक सिजनमा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति रहने गरेको छ । काठमाडौं–त्रिशूली मार्गवरिपरि खुलेका ट्राउट माछाको फार्म अनि स्वादिलो माछा मात्र होइन, स्थानीय स्टबेरीको रक्सी, लोकल कुखुराको मासु तथा फापरको ढिँडोले त्यहाँ पुग्ने पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ ।

नगरकोट

नगरकोट काठमाडौं उपत्यका नजिकैको प्रसिद्ध रमणीय स्थल हो । काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्व तथा भक्तपुरबाट २० किलोमिटर पूर्वमा अवस्थित नगरकोट समुद्री सतहभन्दा २ हजार ७५ मिटर उचाइमा छ । गर्मी मौसममा पनि चिसो अनुभव हुने नगरकोटबाट उत्तरमा मनमोहक हिमशृंखलाहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ। यहाँबाट धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखला हुँदै मनास्लु, गणेश हिमाल, लामटाङ हिमाल, गौरीशंकर, चाबु, ल्होत्से, मकालु नेम्बुलसम्मको दृश्यावलोकन गर्न सकिन्छ । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृश्यावलोकनका लागि समेत प्रसिद्ध छ ।

फिक्कल

फिक्कल बजार इलाम जिल्लाको पूर्वी भेकमा अवस्थित प्रसिद्ध व्यापारिक केन्द्रहो । इलामको पूर्वी व्यापारिक केन्द्र फिक्कल जिल्लाकै महत्वपूर्ण स्थान हो । प्राय: चिसो रहने फिक्कल बजार भारतीय सीमावर्तीसहर पशुपतिनगरबाट ११ किलोमिटरको दूरीमा छ । सदरमुकामबाट करिब ४३ किलोमिटर टाढाको यो बजारमा पर्यटकका लागि आवासको राम्रो सुविधा उपलब्ध हुन्छ ।

दार्जीलिङ भएर नेपाल आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकका लागि फिक्कल राम्रो विश्रामस्थल हो। नेपालबाट भारतको दार्जीलिङ घुम्न जाने पर्यटकहरूले फिक्कल हुँदै यात्रा तय गर्नसक्छन् । कन्याम आएका पर्यटकहरूको बस्ने ठाउँ पनि फिक्कल नै हो । पर्यटक, व्यापारी, यात्रु तथा सर्वसाधारणको चहलपहल भैरहने फिक्कल बजार सधैं भीड भैरहने बजार हो।

हिले

समुद्री सतहबाट करिब १,९५० मिटर उचाइमा अवस्थित हिलेबजार धनकुटा जिल्लामा पर्छ । कोशी राजमार्ग हिले बजारबाट अघि बढेर तेर्‍हथुम जिल्लातर्फ गएको छ भने भोजपुर जाने सडक पनि यहीँबाटै छुट्टिन्छ । धनकुटा जिल्लाको रमणीय बजार हिले एउटा व्यापारिक केन्द्र पनि हो । वर्षैभरि चिसो रहने हिलेमा गर्मी छल्न चाहने मानिसहरूको भीड लाग्छ ।

 Image