Successfully Copied

घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुरा

घर निर्माणकै क्रममा अर्को महत्वपूर्ण कुरा बिममा डन्डीको प्रयोग हो । पिल्लर सिस्टम र आधुनिक प्रकारका निर्माण जानकारी नभएका डकर्मीबाट घर निर्माण गराउँदा वा इन्जिनियरको प्रत्यक्ष निगरानी नगराउँदा घरमा समस्या सिर्जना हुन सक्छ ।

कुनै पनि घर बनाउनुपूर्व जग्गा र माटोको परीक्षणपछि नै घरको डिजाइन कस्तो बनाउने भन्ने हुन्छ । खासगरी घरको डिजाइन दुई किसिमको हुन्छ । एक आर्किटेक्चरल र अर्काे स्ट्रक्चरल डिजाइन । आर्किटेक्चरल डिजाइनमा घरको बनोट, कोठा, भान्साकोठा, बाथरुमको ढाँचा, झ्याल–ढोका कस्तो राख्ने र कहाँ राख्ने आदि कुरा पर्छन् ।

त्यस्तै जग कति फिटको हाल्ने, पिल्लर कत्तिको मोटाइको हाल्ने, गाह्रो कसरी लगाउने, कस्तो रिङ प्रयोग गर्ने, रडको मोटाइ कति राख्ने, बालुवा र सिमेन्ट कस्तो प्रयोग गर्नेजस्ता कुरालाई स्ट्रक्चरल डिजाइन भनिन्छ । आवासीय घरमा १२/१२ इन्चको पिल्लर राख्ने हो भने जम्मा तीन तलासम्मको घर बनाउनुपर्छ । १२/१२ को पिल्लरमा ५/६ तल्लासम्मको घर बनाउँदा जोखिम वृद्धि हुन्छ ।

कंक्रिटको घर निर्माण गर्दा ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा भुइँतल्ला खुला गरेर माथिल्लो तल्लामा मात्र ठूलो गाह्रो लगाउनु हो । यसो गर्दा माथिल्लो तलाको भार बढी भै घर धरापमा पर्न सक्छ । त्यसैले घर बनाउँदा सकेसम्म भार कम हुने गरी बनाउनुपर्छ । भुइँतल्लामा पसल, शोरुम, गोदाम, रेस्टुराँ, गाडी पार्किङ अथवा गाडी छिर्ने गरी घरभित्र बनाएको बाटो आदिका कारण भूकम्पमा त्यस्तो तल्ला नै थिचिएको पाइन्छ ।

घर निर्माणकै क्रममा अर्को महत्वपूर्ण कुरा बिममा डन्डीको प्रयोग हो । पिल्लर सिस्टम र आधुनिक प्रकारका निर्माण जानकारी नभएका डकर्मीबाट घर निर्माण गराउँदा वा इन्जिनियरको प्रत्यक्ष निगरानी नगराउँदा घरमा समस्या सिर्जना हुन सक्छ ।

त्यस्तै डन्डी जोडाइको लम्बाइ पुग्ने गरी जोड्नुपर्छ । डन्डी जोड्दा बिम र पिलरको जोर्नीमा जोड्नु हुँदैन । भुइँतल्लामा अझ बढी डन्डी प्रयोग गर्नुपर्छ । घरको अर्को महत्वपूर्ण पक्ष भनेको ढलान हो । ढलान गर्दा प्रयोग गरिने बालुवा, गिट्टी तथा सिमेन्ट गुणस्तरीय हुनु जरुरी छ । ढलान निकै पातलो र बाक्लो पनि गर्नुहुँदैन । ढलान  मसला सिमेन्ट पानीको सम्पर्कमा आएको आधा घन्टाभित्र  फर्मामा राखिसक्नुपर्छ ।

बलियो घरका लागि जमिनको छनोट

बलियो र आकर्षक घर बनाउन सबैभन्दा पहिले जमिनको छनोट महत्वपूर्ण हुन्छ। जमिन बलियो छैन भने भूकम्पका कारण घरमा क्षति पुग्ने सम्भावना हुन्छ । घर निर्माण गर्दा माटोको परीक्षण जरुरी छ । कमजोर माटो भएको, भिरालो जमिनमा घर बनाउँदा जमिनले धेरै भार धान्न नसक्ने भएको हुँदा त्यस्तो ठाउँमा केवल सामान्य आवास मात्र घर बनाउनु उचित हुन्छ ।

कंक्रिट कसरी बनाउने ?

सिमेन्ट, बालुवा र रोडा आवश्यक अनुपातमा लिएर पानी मिसाई कंक्रिट बनाइन्छ । यसरी कंक्रिट बनाउँदा कति क्षमताको चाहिने हो सोहीअनुसार मात्रा मिलाउनुपर्छ ।

ठेकेदारको छनोट

घरको लागतअनुसार काम गर्ने सही ठेकेदार छनोट गर्नु महत्वपूर्ण कुरा हो । घर निर्माणसम्बन्धी सम्पूर्ण कुराको ज्ञान भएको तालिम प्राप्त ठेकेदारलाई काममा लगाउनुपर्छ । ठेकेदार इमान्दार र अनुभवी भए निर्माण सामग्रीको सदुपयोग हुनुका साथै व्यवस्थापन पनि राम्रो हुन्छ । यसबाट कम खर्चमै पनि गुणस्तरीय काम गर्न सकिन्छ ।

 Image