Successfully Copied

योङ अचिभर सोना अमात्य

ओगिल्वी भन्छन्–मेरा सिर्जना हेरेर आहा कति राम्रो भनेर निस्क्रिय नबस, त्यसलाई हेरेर तिमी बजारसम्म उक्त चीज किन्न पुग अनि मात्र म सफल सिर्जनाकार ठहरिन्छु । म यही सिद्धान्तअनुरूप चलिरहेकी छु । म आफ्ना सिर्जना नेपाली भूमिमै सिञ्चित गरूँ भनेरै अमेरिका छोडेर मातृभूमि फर्किएकी

युवाहरू परिवर्तनका संवाहक हुन् । युवा मुलुकका कर्णधार हुन् । युवाहरू राष्ट्रनिर्माणका खम्बा हुन् । युवाहरूमा अतुलनीय तथा अद्वितीय क्षमता हुन्छ जसको आँकलन गर्न हम्मे–हम्मे पर्छ । युवाशक्तिका अघि ब्रह्माण्डमा विद्यमान अन्य ठूला शक्तिले समेत पराजय भोग्नुपरेका उदाहरण थुप्रै छन् । आफूभित्रको क्षमता प्रस्फुटन गरी त्यसलाई प्रस्तुत गर्ने युवाहरू स्वयं चाहिँ के चाहन्छन् ? यो जवाफ खोज्नुपर्ने प्रश्न भएको छ । यसमा युवाहरू स्वयंसमेत द्विविधामा छन् ।

बर्सेनि ठूलो संख्यामा युवाहरू अध्ययन एवं रोजगारीका लागि बिदेसिने गरेका छन्, जसले युवा क्षमता, सीप र शक्तिको कित्ताकाट गरिदिएको छ । जुन कुराले मुलुक सिञ्चित गर्नुपर्ने हो ती चीज बाहिरिएका छन् । यद्यपि कतिपय युवा यस्ता पनि छन् जो विदेशमा पढाइ, सीप एवं दक्षता हासिल गरी स्वदेश फर्किएर आफूजस्ता अन्य युवाका लागि प्रेरणा बनिरहेका छन् ,कम उमेरमै ठूलो उडान भर्न सफल छन् । विख्यात विद्वान् जोन उडेन भन्छन्– युवाहरू उपयुक्त ढाँचा चाहन्छन्, आलोचना होइन । यसले के प्रस्ट्याउँछ भने युवाहरू अघि बढ्न उत्प्रेरणा चाहन्छन्, रिवार्ड चाहन्छन् ।

पाउलो पिकासोले युवासँग उमेर हुँदैन भने झैं यिनीहरू हरेक कुरामा आँटिला हुन्छन् आफूलाई न त प्रौढ मानेर निस्क्रिय बस्न चाहन्छन् न शिशु मानेर बढी सक्रिय हुन्छन् । युवाहरू ती हुन् जसले जीवन सुन्दर देख्ने चाहना राख्छन्, जो आफूमा यस्तै सुन्दरता देख्ने खुबी राख्छन् उनीहरू कहिल्यै बूढा हँुदैनन्–फ्रान्ज काफ्काको यो भनाइ निकै मर्मस्पर्शी छ ।

नेपाली समाजमा पनि कम उमेरमै उदाहरणीय बनेका यस्ता महिलाहरू छन् जसले पृथक् क्षेत्रमार्फत आफूलाई स्थापित गर्ने मात्र नभएर थुप्रैलाई रोजगारसमेत प्रदान गरी मुलुकको समृद्धिको सुरुवात गरिसकेका छन् ।

सोना अमात्य

क्रियटिभ मेकर तथा सीईओ, फुल सर्कल

अब्रेन विहाइन्ड एभ्री क्रियटिभिटी–सोना अमात्यलाई यसरी चिन्दा हुन्छ । कुनै विषय दियो भने उनले अडियो, भिज्युअल र प्रिन्टका लागि मिनेटभरमै यस्तो अवधारणा सिर्जना गर्छिन् जुन सुन्दा अचम्म लाग्दो हुन्छ । फाइनान्समा स्नातकोत्तर सोनाले अमेरिकाको टेनेसी स्टेट युनिभर्सिटीबाट एड्भरटाइजिङ एन्ड सोसल मिडिया मार्केटिङमा थप विशेषज्ञता हासिल गरेकी छिन् । सिर्जनालाई कलाका रूपमा परिभाषित गर्ने सोना सिर्जना मात्र भएर पनि सफल नभइने बताउँछिन् ।

रणनीतिसहितको सिर्जनाले सफल सिर्जनाकार भइने बताउँदै उनले भनिन्–भारतीय सिर्जनाकार प्रलाद कक्कड तथा अमेरिकाका ओगिल्वीका सिर्जनाले मलाई छुन्छन् । म उनीहरूलाई धेरै पढ्छु । ओगिल्वी भन्छन्–मेरा सिर्जना हेरेर आहा कति राम्रो भनेर निस्क्रिय नबस, त्यसलाई हेरेर तिमी बजारसम्म उक्त चीज किन्न पुग अनि मात्र म सफल सिर्जनाकार ठहरिन्छु । म यही सिद्धान्तअनुरूप चलिरहेकी छु । म आफ्ना सिर्जना नेपाली भूमिमै सिञ्चित गरूँ भनेरै अमेरिका छोडेर मातृभूमि फर्किएकी हुँ ।

नेपाल आफूलाई अत्यन्तै प्यारो लाग्ने बताउने सोनाले प्रत्यक्ष–अप्रत्यक्ष सयौंलाई रोजगारी दिइरहेकी छिन् । परिवार, समाज तथा आफ्नो सञ्जालभित्रबाट सहयोग र हौसला मिलेको खण्डमा नेपालमै धेरै काम गर्न सकिन्छ भन्ने सोना यी चीज प्राप्त भएको खण्डमा नाम, दाम र प्रतिष्ठा कमाउन यहीँ सजिलो हुने तर्क गर्छिन् । हामी जहिले पनि सरकारलाई गाली गर्ने, यो गरिदिएन–त्यो गरिदिएन भन्ने स्वभावका छौं तर हामी आफ्नो क्षेत्रमा आफ्नो सीप र कलाद्वारा किन आफैंलाई केन्द्रित गर्न सक्दैनौं ? भन्ने प्रश्न उठ्छ सोनाको दिमागमा ।

उनी कुनै पनि कुराको कन्सेप्ट बनाउनुअघि गहिरो अध्ययन गर्छिन्, लक्षित समूह तथा उपभोक्ता पहिचान गर्ने र छुट्याउने काम गर्छिन् अनि तिनको व्यवहार पत्ता लगाउन शोध गर्छिन् र सबै कुराको अन्तिम परिणाम पछि मात्र सिर्जना गर्न बस्छिन् ।

लामो समयदेखि शास्त्रीय संगीत सिकिरहेकी सोनाले १० वर्षसम्म लगातार अल ओभर नेपाल सिंगिङ कम्पिटिसनमा पहिलो तथा दोस्रो स्थान हासिल गरिन् । ६ वर्षको उमेरदेखि गाउन थालेकी अमात्यका पलपल, सोनाज भोल्युम–वान र सोनाज भोल्युम–टु गरी तीनवटा एकल एल्बम बजारमा आइसकेका छन् । इमेज अवार्डमा बेस्ट फिमेल भोकल विधामा एवार्ड थापेपछि उनमा गायनप्रतिको मोह अझ बढेको छ । विश्व सुन्दर तथा बिना अमात्यकी जेठी छोरी सोनाका एक भाइ छन् ।

 Image