होमवर्कको झन्झटबाट कसरी बच्ने ?
जेष्ठ २४, २०७५
होमवर्कका लागि छुट्टै ठाउँ तय गर्ने
कतिपय घरमा बालबालिकाहरू डाइनिङ, लिभिङ, टिभी रुम जहाँ पनि होमवर्क गरिरहेका हुन्छन् । भान्सामा होमवर्क गर्दा पढाइमा भन्दा चक्कु, चुलेसी, वाटर फिल्टर आदि भाँडाकुँडासँग खेल्नमै उनीहरूको दिमाग केन्द्रित हुन्छ भने टिभी रुममा टेलिभिजनका कार्यक्रममै रमाउन मन लाग्छ । पढ्ने र होमवर्क गर्ने एउटा निश्चित ठाउँ छनोट गर्दा बालबालिकाको ध्यान अध्ययनमा केन्द्रित हुन्छ ।
समय निश्चित गर्ने
बालबालिकालाई पढाइमा मात्र लाद्ने होइन कि खेल्न, रमाउन अनि मन लागेको काम गर्न समय दिनुपर्छ । त्यसका लागि पढ्ने र होमवर्क गर्ने निश्चित समय छुट्याउनुपर्छ । आज बिहान यति बजेदेखि यति बजेसम्म होकवर्क भनेपछि उनीहरू हरेक दिन त्यही समय तयारी अवस्थामा रहन्छन् । कुनै दिन होमवर्क छैन भने उक्त समयमा कविता सुनाउने र लेख्न लगाउने, गणितका जोड–घटाउ गर्न लगाउने, राम्रा पुस्तक पढ्न दिनेजस्ता काम गर्न सकिन्छ ।
आराम
कतिपय घरमा बालबालिका विद्यालयबाट फर्किएपछि फेरि पढ्नकै लागि कर गरिन्छ । स्कुलबाट फर्किएपछि बालबालिकाहरू सुत्न चाहन्छन् भने सुत्न दिनुपर्छ । उठेपछि उनीहरूलाई पढाइमा लगाउन सकिन्छ । उनीहरू तोकिएको निश्चित समयमा होमवर्क गर्न रुचाउँछन् ।
रोल मोडल बन्ने प्रयास
जब बालबालिका पढ्दैछन् वा होमवर्क गर्दैछन् भने आफू खाली बस्नु हुँदैन । उनीहरूका अगाडि आफू पनि कापी–कलम वा हिसाबखाता लिएर बस्ने हो वा अन्य हिसाबकिताब गर्ने हो भने बालबालिकालाई ठूलो भएपछि पनि होमवर्क गर्नुपर्ने रहेछ भन्ने ज्ञान प्राप्त हुन्छ र यसले उनीहरूको आत्मविश्वास वृद्धि गर्छ ।
होमवर्क बालबालिकाकै काम हो
बालबालिकाको जुनसुकै होमवर्क, हिसाब वा अन्य प्रश्नको हल अभिभावकले गर्नुहुँदैन । शिक्षकले कसरी प्रश्नको उत्तर दिनु भन्नुभएको छ वा कक्षामा तिमीले कसरी उत्तर दिएका थियौ ? भन्ने जस्ता प्रश्न सोधेर उनीहरूलाई उत्साहित गर्नुपर्छ । आफूले एकपटकका लागि रेडिमेड उत्तरको बानी लगाइयो भने बालबालिकाहरू सधैं त्यस्तै खोज्छन् जसले गर्दा उनीहरूमा सिर्जनात्मक क्षमताको विकास हुन पाउँदैन ।
अनावश्यक बोझ नथुपार्ने
आजभोलि हरेक अभिभावक आफ्ना बालबालिका अरूभन्दा अब्बल हून् भन्ने चाहन्छन् । यही धुनमा उनीहरू स्कुलका अतिरिक्त विभिन्न किसिमका तालिममा बालबालिकालाई सरिक गराउँछन् । बालबालिकाहरू स्कुलबाट फर्कनेबित्तिकै फेरि त्यसकै भागदौडमा लाग्नुपर्ने बाध्यता हुन्छ । जसका कारण होमवर्कका लागि समय नै हँुदैन । बालबालिकाहरूलाई साथीसँग खेल्ने, रमाउने, मनोरञ्जन गर्ने केही समय चाहिन्छ ।
कम्प्युटरमा होमवर्क
अहिलेका बालबालिका कम्प्युटरमा होमवर्क गर्न रुचाउँछन् । छिटो र सहज हुने भएकाले यसमा उनीहरू इन्जोय पनि गर्छन् । यसो गर्दा उनीहरू कतै च्याटिङ वा अन्य अनावश्यक गतिविधिमा रुमल्लिइरहेका त छैनन् भन्नेतर्फ ध्यान पुर्याउनु पनि उत्तिकै आवश्यक छ ।
समस्या बुझ्ने
बालबालिकाहरूलाई अप्ठ्यारो लाग्ने विषय छ भने गाइड गरिदिनुपर्छ । त्यस्ता विषयमा शिक्षकसँग भेटेर अतिरिक्त सहयोग माग्नुपर्छ । अहिले कतिपय विद्यालयमा स्कुल छुट्टी भएपछिको एक घन्टा अतिरिक्त कक्षा राखिएको हुन्छ । आफ्ना बालबालिका कुनै विषयमा कमजोर छन् भने त्यस्ता कक्षामा पठाउन सकिन्छ । विद्यालयमा त्यस्तो कक्षा छैन भने पनि अभिभावक, विद्यार्थी एवं शिक्षक मिलेर त्यस्ता समस्याको समाधान निकाल्न सकिन्छ जसमा अभिभावकले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्