Successfully Copied

सानो घरको आकर्षक सजावट

सामानको सही व्यवस्थापन हुने गरी डिजाइन गरिएको आन्तरिक सजावटले मानिसको जीवनशैली सहज बन्दै गएको छ । घरको स्वरूप र कोठाको आकार हेरेर घरमा प्रयोग हुने फर्निचर आदि सामग्री छनोट गर्नुपर्ने हुन्छ ।

 

सुन्दर घरको चाहना सबैमा हुन्छ । कतिपय मानिस घरभित्र पस्नासाथ बाहिरको तनाव व्यवस्थापन होस् भन्ने चाहन्छन् । पहिले घरको अर्थ घामपानीबाट ओत लाग्ने, बस्ने र सुत्ने ठाउँ मात्र हुन्थ्यो तर हिजोआज घरलाई तनाव विसर्जन गर्ने ठाउँका रूपमा समेत लिन थालिएको छ ।

झट्ट हेर्दा सफा र सजिएको घरमा सबैलाई बस्न मन लाग्छ । मानव जीवनमा घर जीवनभरको भरपर्दो र सुरक्षित आश्रयस्थल हो । घर बनाउन वर्षौं मेहनत गनुपर्छ । घर कस्तो बनाउने, रंग कस्तो लगाउने, कस्तो सजावट गर्ने आदि कुरामा गम्भीर भएर निर्णय लिनुपर्छ । कतिपयले घर निर्माण गर्नुअघि वास्तुशास्त्रअनुसार जग्गा कस्तो छ, घरको मोहोडा कुन दिशामा फर्काउनुपर्छ, झ्यालढोका कस्तो राख्नुपर्छ भन्ने कुराको अध्ययन गर्छन् ।

सामानको सही व्यवस्थापन हुने गरी डिजाइन गरिएको आन्तरिक सजावटले मानिसको जीवनशैली सहज बन्दै गएको छ । घरको स्वरूप र कोठाको आकार हेरेर घरमा प्रयोग हुने फर्निचर आदि सामग्री छनोट गर्नुपर्ने हुन्छ ।कोठासानो छ भने रेडिमेट फर्निचर खरिद गर्नुभन्दा कोठाको आकार नापेर नयाँ बनाउन दिनु उपयुक्त हुन्छ । घरको प्रवेशद्वार वा मूलढोका जहिले पनि ठूलो राख्नुपर्छ ।

अहिले थोरै जग्गामा घर निर्माण गर्ने क्रम बढ्दो छ । जग्गाको स्वरूपअनुसार बनाइने सानो घरमा कोठाको आकार पनि सानो हुनु स्वाभाविक हो । यस्तो अवस्थामा कोठा सजावट गर्दा विविध पक्षमा ध्यान पुर्‍याउनुपर्छ ।

भान्साको व्यवस्थापन

घर सानो भए भान्सा तथा डाइनिङ एउटै ठाउँमा बनाउनुपर्छ । परिवार संख्याका आधारमा डाइनिङको व्यवस्थापन गर्नुपर्ने हुन्छ । भान्सामा फोहोर नदेखिने कलरका टायल प्रयोग गर्नु उपयुक्त हुन्छ । डाइनिङ टेबलमा घर्रा राख्न सके त्यसमा चम्चा, काँटा आदि भान्साका सानातिना सामान राख्न सजिलो हुन्छ । भान्सामा चिम्नीप्रयोग गर्नुपर्छ जसले गर्दा भान्सामा फोहोर, चिल्लो एवं धूवाँ जम्न पाउँदैन । साना कोठा भएको घरमा ओपन किचेन नै उत्तम हुन्छ ।

आन्तरिक सजावट

कुर्सी, टेबल, डेक्स एवं सोफालाई भित्तामा राम्रोसँग राख्नुपर्छ तर फर्निचरले यताउता हिँड्न असहज हुनुहुँदैन।

फूलको सजावट

ताजा फूलले कोठा एवं घरको सौन्दर्य बढाउनुका साथै शरीर तथा मस्तिष्कलाई समेतताजा बनाउँछ । त्यसकारण फूललाई घरको बैठक, प्यासेज, डाइनिङ आदि ठाउँमा प्रयोग गरेर घरलाई अझ आकर्षक तुल्याउन सकिन्छ ।

फर्निचरको प्रयोग

बजारमा पाइने रेडिमेट फर्निचरभन्दा घर एवं कोठाको आकार हेरेर सामान खरिद गर्नुपर्छ । यसरी आफै बनाउँदा फर्निचर कोठामा ठ्याक्कै मिल्ने तथा युनिकसमेत देखिने हुँदा घर सुन्दर एवं आकर्षक देखिन्छ ।

भर्‍याङ

बजारमा खोजेजस्तो मूल्य तथा डिजाइनमा काठ, मेटल, आल्मोनियम सबैखालका भर्‍याङ उपलब्ध हुन्छन् । घरको आकारअनुसार कति सानो वा ठूलो भर्‍याङ राख्ने हो मिलाएर राख्नुपर्छ । भर्‍याङको कुनामा इन्डोर प्लान्टहरू सजाउन सकिन्छ।

बाथरुम

बाथरुमलाई सकेसम्म सफा र खुल्ला राख्ने प्रयास गर्नुपर्छ । धारा, कम्मोट तथा ऐना बजारको ट्ेरन्डअनुरूपको छनोट गर्नुपर्छ भने बाथरुममा सफा देखिने खालको टायल प्रयोग गर्नुपर्छ ।

बेडरुमको सजावट

वास्तुशास्त्रअनुसार वेड पूर्व दिशामा राख्नुपर्छ । दराजको व्यवस्थापन मिलाउनुपर्छ । कोठाको कुनै खाली भित्तामा ऐना प्रयोग गर्दा कोठा ठूलो देखिन्छ । कार्पेट कोठाको आकारअनुसार ठूलो, सानो, चारपाटे, लामो तथा गोलो राख्न सकिन्छ । बेड छनोट गर्दा समयअनुसार चलेको बेड छनोट गर्नुपर्छ । बेडलाई कोठाको बीचमा नराखी कुनै एक कुनामा राख्नु उपयुक्त हुन्छ । कोठाका विभिन्न कुनालाई समेत प्रयोग गर्नुपर्छ । बेडको कुनामा आकर्षक ढंगले सामान सजाउन सकिन्छ ।

ढोका बनाउनुअघि

घरको सुरक्षा र सौन्दर्यमा महत्वपूर्ण ढोकाको निर्माणमा लापरबाही गर्नुहुँदैन । अहिले धेरैजसोकाठका झ्याल–ढोका प्रचलनमा छन् । अहिले काठमा अनेक बुट्टा कुँदेर झ्याल–ढोकामाआकर्षण थपिन्छ । घरको मूलढोकामा मयूर, कलश, भगवानका बुट्टा कुँदाउन सकिन्छ । यस्ता ढोका महँगा हुनुका साथै निकै गह्रौं, दह्रा र सुन्दर पनि हुन्छन् । ढोका राख्दा स्थानअनुसार वस्तु छनोट गर्नुपर्छ । ढोका उघार्दा र बन्द गर्दा कतापट्टि घुम्छ हेक्का राख्नुपर्छ । दायाँपट्टि ह्यान्डल राखेका ढोका खोल्न आफूतिर तान्नुपर्छ भने बायाँतर्फ ह्यान्डल भएकामा भित्र धकेल्नुपर्छ । नयाँ ढोका बनाउँदा फ्रेमिङलाई बेवास्ता गर्नुहुँदैन । सस्तो वा कमसल फ्रेम प्रयोग गरे ढोका चाँडै बिग्रन्छ ।

 Image