Successfully Copied

केश र नारी

एउटी महिलाले जीवनभरमा आफ्नो केशका लागि ५० हजार अमेरिकी डलर तथा प्रत्येक हप्ता २ घन्टा खर्च गर्ने तथ्य हालसालै सार्वजनिक भएको हो । चीनमा बसोबास गर्ने एक जनजातिका महिलाहरूमा १७ वर्ष नपुगेसम्म केश काट्न नहुने, पहिलो सन्तान जन्माएपछि केशलाई ब्याक साइड बफ बनाई

महिलाका लागि केश के हो ? भन्ने विषयमा प्रख्यात लेखिका लुसिन्डा इलेरी लेख्छिन्–केश महिलाको पहिचान हो जसले आत्मसम्मान र आत्मविश्वास बढाउँछ । यो नारीत्व झल्काउने खास अस्त्र हो । यसको स्याहार–सम्भार तथा हेरचाहमा महिलाले रामै्र समय र पैसा खर्चिने पनि विश्व तथ्यांकले देखाउँछ । एउटी महिलाले जीवनभरमा

आफ्नो केशका लागि ५० हजार अमेरिकी डलर तथा प्रत्येक हप्ता २ घन्टा खर्च गर्ने तथ्य हालसालै सार्वजनिक भएको हो । चीनमा बसोबास गर्ने एक जनजातिका महिलाहरूमा १७ वर्ष नपुगेसम्म केश काट्न नहुने, पहिलो सन्तान जन्माएपछि केशलाई ब्याक साइड बफ बनाई स्टाइल दिनुपर्ने तथा केशको अत्यधिक सम्भार गर्नुपर्ने चलन छ । त्यसैले उनीहरूको केश बुढ्यौलीसम्म पनि फुल्दैन तथा झर्दैन । उक्त समुदायका महिलाहरूको केश बाक्लो, फरफराउँदो र सिल्की देखिन्छ । अर्को एक समुदायमा छोरी १५ वर्ष पुगेपछि ठूलो उत्सव मनाइन्छ जसले केशसँग सरोकार राख्छ । ती किशोरीको केशलाई मगमगाउँदो वासनादार चीजले नुहाइदिएर सुकेपछि तेल लगाइन्छ ।

युवतीलाई आसनमा राखेर उनको केशको पूजा गरिन्छ अनि विभिन्न मीठा परिकार ख्वाइन्छ । पाहुनाहरू पनि उनको वरिपरि झुम्मिएर विभिन्न उपहार केशमा चढाउँछन्, खुसी साट्छन् र मीठा परिकारमा रमाउँछन् । त्यसपछि मात्र ती युवती विवाहका लागि योग्य मानिन्छिन् । संसारभर महिलाको केशलाई नारी शक्ति र सुन्दरतासँग जोडेर हेर्ने गरिएको छ । तेस्रो लिंगी जो नारी बन्न चाहन्छन् उनीहरू पनि केशलाई नारी शक्ति बुझेर नै केश लामो बनाउने विभिन्न हार्मोनल औषधि प्रयोग गर्नुका साथै हेयर केयर र त्यसको सुन्दरता वृद्धिमा ठूलो रकम खर्च गर्छन् । केशलाई नारीको परिचायक नेपालमा मात्र मानिने होइन, विश्वभर यसको विशेष महत्व रहँदै आएको छ ।

विशेषत: इस्लामिक तथा मुस्लिम समुदायमा यसको विशेष महिमा र महत्व छ । मुस्लिम समुदायका महिलाहरू केशलाई अमूल्य चीज मान्दै छोप्छन् । त्यसो त अरब मूलका धेरै मुलुकमा महिलाहरू केश प्रदर्शन गर्दैैनन् । केश प्रदर्शन गर्न उनीहरूको धर्म–संस्कारले नै वर्जित गरेको छ । यद्यपि अहिलेको आधुनिक समयका ग्ल्यामरको क्षेत्रमा लाग्ने थोरै मोडल, नायिका तथा गायिकाहरूले उक्त साहस गरेको पाइन्छ अन्यथा कथंकदाचित् चर्को विरोध प्रदर्शन गर्नुपरे मात्र केशलाई उदाङ्ग छोडेका उदाहरण छन् । जसले लज्जास्पद र मनपरीतन्त्रको संकेत गर्छ । केशले तपाईं हुनुको अर्थ र महत्व दर्शाउँछ भन्दै क्रिस सेरिको लेख्छन्–केशको रंग, कटिङ तथा हेयर स्टाइलले तपाईंको व्यक्तित्व बिना बोली बोलिरहेको हुन्छ । तपाईं को हो भन्ने रिफ्लेक्सन दिइरहेको हुन्छ ।

एरिजोना स्टेट युनिभर्सिटीकी वुमन एन्ड जेन्डर स्टडिज प्रोफेसर रोज वेट्ज भन्छिन्–केश नितान्त व्यक्तिगत कुरा देखिए पनि वास्तवमा यो सामाजिक चासोको विषय हो । यसलाई हामी हाम्रो परिवर्तनशील सोच र रुचिअनुसार बदल्न सक्छौं तर हाम्रा शरीरका अन्य अङ्ग यति सहजै परिवर्तन गर्न सकिँदैन । तिमी को हौ र तिम्रो परिचय के हो भन्ने कुराको प्रतीक हो–केश । भारतको आन्ध्रप्रदेशस्थित तिरुपति बालाजी पुग्ने महिला हुन् वा पुरुष जोकोहीले केश दान गर्ने परम्परा निकै पुरानो हो । पौराणिक कालको कुरा हो, देवी नीलध्रीले पहाडको कुनै शान्त स्थानमा पेरुमललाई मस्त निदाइरहेको देखिन् ।

पेरुमलको सौन्दर्यले नीलध्रीलाई मोहित तुल्यायो । पेरुमलमा छुट्टै किसिमको आकर्षण देखिन्थ्यो, पेरुमलसँगको गहिरो प्रेममा परेकी नीलध्री आफ्नो प्रेमका लागि त्याग गर्न चाहन्थिन् । नीलध्रीको सुन्दर एवं लहराउँदो केशलाई हावाको झोक्काले उडाउँदा उनको सौन्दर्य थप वृद्धि भैरहेको थियो ।

उनी आफूले मन पराएका पेरुमल पनि सुन्दर होउन भन्ने चाहन्थिन् तसर्थ उनले आफ्नो केश उखेलेर पेरुमलको टाउकोमा रोप्न थालिन् । जब पेरुमल निद्राबाट ब्युँझिए तब उनले आफ्नो टाउकोमा चित्ताकर्षक केश मात्र देखेनन् नीलध्रीको टाउकोबाट रगत बगिरहेको समेत देखे । त्यसपछि पेरुमलले केश फिर्ता लान आग्रह गरे । नीलध्रीले उनको कुरामा असहमति जनाउँदै भनिन्–तिमी चिन्ता नगर पेरुमल, भविष्यमा मानिसहरू पापबाट मुक्त हुन तथा शारीरिक सन्तुष्टिलाई थप उत्साहजनक र सुखमय बनाउन यो भूमिमा आई केश दान गर्नेछन् । ती चढाइएका सम्पूर्ण केश मैले प्राप्त गर्नेछु तसर्थ तिमी यो कुरामा रत्तिभर विचलित नहोऊ ।

हिन्दू धर्मावलम्वीहरू शिशु जन्मिएको ११ महिना पुगेपछि केश मुण्डनका लागि तिरुपति बालाजी पुग्थे । शिशु ५ वर्षको पुगिसक्दा ३ पटक त्यहाँ लगेर मुण्डन गराउने प्रचलन थियो । हिजोआज पहिलो मुण्डन अर्थात् ११ महिनाको हुँदा गरिने मुण्डनमा कमी आएको छ । प्रौढ महिला वा पुरुषहरूले भने दुई कारणले केश दान गर्ने चलन छ । पहिलो आफूले भाकल गरेपछि चिताएको कुरा प्राप्त भएकोमा र अर्को परिवारका कुनै सदस्य गुमाएलगत्तै । तिरुपति बालाजी मन्दिर छिर्नुअघि टाउको नाङ्गो बनाउनुपर्ने जनविश्वास आज पनि कायमै छ । भनिन्छ–भगवान्का अगाडि यो देखाउनु र बुझाउनु जरुरी छ कि म तिमीप्रति दृढ र कर्तव्यनिष्ठ छु ।

विभिन्न क्षेत्रका सेलिब्रेटी महिलाहरूमा केश मुण्डन गर्ने ट्ेरन्ड देखिन्छ । हलिउडका केट हडसन, एन्जेलिना जोली, केटी पेरी, ब्रिटनी स्पेयर्स, एम्बर रोज, चार्लिज थोरन, डेमी मुर, ओलिभिया कुक, क्रिस्टेन स्टेवार्टदेखि लिएर बलिउडकी सवाना आजमी, अनुष्का शर्मा, नन्दिता दास, लिसा रोय, तनुजा, तान्भी आज्मी, अन्तरा माली, प्रियंका चोपडा, शिल्पा सेट्ठी हुँदै हाम्रै चलचित्र उद्योगका निशा अधिकारी, दीपशिखा

खड्का, कोहिनुर सिंह, आनी छोइङ डोल्मा, पूजा लामा आदि सेलिब्रेटी बुज कट हेयर स्टाइलमा देखिए । यी सबका पछाडि फरक–फरक कारण भए पनि सिनमा देखिएका यी तालुखुइले महिलाहरू केश खौरिनुलाई लिबरेसन तथा फ्रिडम इन्जोयको चरम उत्कर्ष मान्छन् । तिनीहरूमध्ये कतिपय नायिका कथाले मागेअनुसारको भूमिकाका लागि त कतिपय शोक व्यक्त गर्ने उद्देश्यले यसो गर्न प्रेरित भए होलान् त्यो फरक विषय हो तर सबैको साझा उत्तर भने स्वतन्त्रता र जीवनमा सहजता भन्ने नै छ । केश खौरिएका धेरैजसो नायिका चलचित्रमा वास्तविक पात्रलाई उतार्न त्यस्तो वोल्ड निर्णय लिएको बताउँछन् । तीमध्ये धेरै अभिनेतृ केश राख्दा भन्दा खौरिँदा आफूलाई बढी स्वतन्त्र र उदार महसुस गरेको बताउँछन् ।

केशले दिने संकेत

सीधा केश : सीधा तर छोटो केशले व्यावसायिक दक्षतामा अगाडि भन्ने जनाउँछ । संसारभर बिजनेस सिम्बोल मानिने यो हेयर स्टाइललाई ट्ेरडिसनल स्टाइलका रूपमा पनि लिइन्छ । यसले क्लासी लुक्स दिने मात्र होइन व्यक्तिलाई भद्र र आकर्षक देखाउँछ ।

क्रप्ड कट : यस्ता हेयर स्टाइलले तपाईं कति शक्तिशाली हुनुहुन्छ भन्ने कुरा प्रस्तुत गर्छ । छोटो केशले कुनै चीज लुकाउनुपर्ने जरुरत नभएको आत्मविश्वासी व्यक्तिको परिचय दिन्छ । १ हजार ५ सय अमेरिकी महिलामा गरिएको सर्वेक्षणले शारीरिक तथा मानसिक रूपमा फिट महिलाले यस्ता हेयर स्टाइल अपनाएको देखियो ।

लामो केश : कर्ली होस् वा सिल्की बढी लामो केशले प्रोफेसनल नदेखिने विश्व तथ्यांकले देखाउँछ । छोटो केश पश्चिमा संस्कार हो यसले फेमिनाइन र सेक्सी लुक्समा कमी ल्याउँछ तर भयंकर प्रोफेसनल आकृति पैदा गर्छ । यता लामो केशमा आकर्षण त हुन्छ तर व्यावसायिक झलक भने कम हुन्छ ।

रंगीन केश : रंगीन केशले सेक्सी र आफूप्रति अरु आकर्षित भैरहुन् भन्ने कुरा दर्शाउँछ । पर्पल र ग्रिन कलरले सिर्जनशीलता झल्काउने भए पनि यस्तो केश कर्पोरेट तथा अन्य व्यावसायिक क्षेत्रका लागि उपयुक्त हुँदैनन् । रंगीन केशले आफूलाई उमेरभन्दा कम मात्र देखाउँदैन आफूप्रति अरुको नजर पनि केन्द्रित गर्छ ।

बु्रज केश : यसले आत्मविश्वास, स्वतन्त्रता र उदारता दर्शाउँछ । यो हेयर कटले लुकाउनुपर्ने केही चीज बाँकी नरहेको व्यक्तित्व बुझाउँछ । यस्ता हेयर कट अपनाउनेहरू वोल्ड अनि केयर फ्रि नेचरका हुन्छन् ।

निशा अधिकारी : जीवन मेरो हो, निर्णय मैले नै गर्न पाउनुपर्छ । मैले यो गर्ने साहस गरें । मैले मेरो केश स–साना नानीहरूका लागि विग बनाउन दान गरेकी थिएँ । यसलाई ठूलो इस्यु बनाइनुपर्छ भन्ने मलाई लाग्दैन । तिमी अन्तरात्मादेखि जे चाहन्छौ त्यो गर, जीवन खुसी हुन्छ । यद्यपि त्यसो गर्ने आँट र हिम्मत भने सबैभन्दा महत्वपूर्ण कुरा हो ।

सबाना आजमी : जब फरहानको भव्य विवाह समारोह चलिरहेको थियो म तालुखुइले रूपमा थिएँ । म सधै एक्सपेरिमेन्ट रुचाउँछु । केश खौरिनु पनि त्यही चाहनाको परिणाम थियो । बाक्लो धर्को सिन्दूर, चम्किलो तर दुवै कानमा फरक–फरक इयररिङ तथा ठूला एवं गह्रौं बैंगल्स लगाएँ । देख्नेहरूले मलाई कस्तो अचम्म भनेर जिब्रो काडे पनि होलान् तर यसैमा कयौं बालबालिका रमाउँदै मतिर झुम्मिन आइपुगे । नसोचेका कुराले जीवनमा फरक तरङ र खुसी ल्याउँछ तसर्थ म आफ्नो छुट्टै स्टाइल चाहन्छु ।

एन्जेलिना जोली : सन् १९९८ मा मैले गिया मारी काराङ्गीको भूमिकाका लागि आफ्नो केश खौरिएँ । किनभने म पात्रलाई पर्दामा दुरुस्त उतार्न चाहन्थें । फिल्मी पात्रका लागि मैले गरेको उक्त निर्णयले मेरो जीवनमै यति प्रभाव पार्‍यो कि सुटिङ सकिएपछि पनि मलाई सोही अवतारमा सहज, आत्मविश्वासी र स्वतन्त्र लाग्न थाल्यो । त्यसपछि मैले सोचें यो लैंगिक विषयभन्दा परको कुरा रहेछ जसले मेरो जीवनमा थप ऊर्जा र सकारात्मक परिवर्तन ल्यायो ।

 Image