Successfully Copied

माउन्टेन क्लिन्जिङको आवाज उठाउँछु

सबै हिमाल छोड्दै, बादल र विचारलाई छोड्दै माथि चढियो । माथि टुप्पोमा पुगेपछि भाव शून्य भयो । क्याम्प ४ सम्म फर्किएर यसो गर्छु, उसो गर्छु भन्ने सोच थियो तर केही गर्न सकिएन । मैले सगरमाथामा टाउको राखें । तिब्बततिर फर्किएर बस्न मन लागेन

प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ को धारणा रोशा बस्नेतको हो । मोरङमा जन्मिएकी रोशा जस्तोसुकै अप्ठ्यारो र बाधा–अड्चनमा पनि जुध्न तयार रहन्छिन् । अध्ययनमा रुचि राख्ने रोशा राष्ट्रिय समाचार समितिमा अंग्रेजी समाचार सम्पादकका रूपमा कार्यरत छिन् । सगरमाथा चढ्नु शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक पक्षबाट निकै चुनौतीपूर्ण भएको उनको बुझाइ छ । उनै रोशा बस्नेतसँगको कुराकानी :

कलम चलाउने युवतीमा हिमाल चढ्ने रहर कसरी जाग्यो ?

पत्रकारका रूपमा डेस्कमा काम गर्थें । जीवनमा केही नयाँ, रमाइलो र चुनौतीपूर्ण काम गर्नुपर्छ भन्ने सोचले नै सगरमाथा आरोहणतर्फ प्रेरित गर्‍यो । म सानैदेखि उदाहरणीय र चुनौतीपूर्ण काम गर्न रुचाउँथें । सगरमाथा चढ्दाजस्तो रमाइलो र चुनौती अरु कतै हुँदैन भन्ने सोच थियो । कलम समातेर धेरै पत्रकारिता गरें आइस समातेर पनि हेरौं न भनेर हो ।

अरु साथीहरूलाई कसरी राजी गराउनुभयो ?

सन् २०१६ को जाडो मौसमतिर आफूमात्र नभई मजस्ता अरु थुप्रै महिला पत्रकारलाई लिएर सँगै सगरमाथा चढ्ने सपना मनमा साँच्न थालें । त्यसपछि सगरमाथाका बारेमा बढीभन्दा बढी जानकारी बटुल्न थालें । त्यतिबेलासम्म जम्मा २२ जना नेपाली महिलाले सगरमाथा आरोहण गरिसकेका थिए । विदेशका महिला ४ सय थिए । सुरुमा १७ जना महिला पत्रकारको टिम थियो, पछि विभिन्न कारणले हामी ५ जना भयौं । त्यसमा पनि स्वास्थ्यका कारण प्रिया लक्ष्मीले बेस क्याम्पबाटै फर्कनुपर्‍यो ।

तपाईंले सुरु गरेको भन्नुहुन्छ अनि टिम लिडर चाहिँ रोजिता बुद्याचार्य कसरी भइन् त ?

हाम्रो टिमको सबैभन्दा कान्छी सदस्य पनि हुन्–रोजिता बुद्याचार्य । भर्खरै २५ वर्षकी भए पनि उनमा नेतृत्व क्षमता भने सबैभन्दा बढी छ । उनमा संयम, मिलेर बस्न सक्ने, कुनै पनि समस्याको समाधान निकालिहाल्ने, आमाले जस्तै सबैलाई मिलाएर राख्ने, टिमका सदस्यहरूलाई मोटिभेट गर्ने क्षमता भएकैले उनलाई लिडरका रूपमा सबैले स्वीकार गरेका हुन् ।

कति समयको तयारीपछि यात्रा सुरु भयो ?

१ वर्षभन्दा बढी पूर्वतयारीका लागि लाग्यो । त्यस क्रममा हामीले रक क्लाइमिङ, वाल क्पास, रोप एक्सेस ट्रेनिङहरू लियौं । ६ हजार मिटरको २ वटा हिमाल यारुङ्गली र रामदुङ्ग चढ्यौं । फर्केर आइसकेपछि आ–आफ्नो स्टेमिना लेबलको ज्ञान भयो । हामीले ३ महिनाको अवधिमा पैसाको बन्दोबस्त गर्‍यौं । शरीरमा फोकस, गर्‍यौं अनि मानसिक शान्तिका लागि ६ महिना अफिसबाट बिदा लियौं ।

खर्च कसरी जुटाउनुभयो ?

हामीले प्रपोजल बनाएर चिने–जानेका सबैजसोलाई अप्रोच गर्‍यौं । नेपाल सरकारले ४० लाख, काठमाडौं महानगरपालिकाले २५ लाख, नर्भिक अस्पतालले २५ लाखसहित अन्य संस्थाहरूबाट पनि खर्च जुट्न थाल्यो । मेरो गाउँको नगरपालिकाबाट अक्सिजन, फुर्वामार्फत क्लाइमिङ ड्रेस तथा कलाकार दयाहाङ राईले समिट ग्लासका लागि पैसा जुटाइदिनुभयो । १ करोड ७५ लाखको अनुमानित बजेटमा ७० प्रतिशत बजेट रेडी भएपछि हामी आरोहणमा गएका हौं ।

तपाईंहरू ५ जनाबीच तालमेल मिलाउन कत्तिको कठिन भयो ?

हामी बिहान भेटेर सँगै काम गथ्र्यौं अनि साँझ आ–आफ्नो बासस्थानमा जान्थ्यौं । हाम्रो टिमका नेता फुर्वाले सबैलाई सँगै बस्नुपर्छ, अनि काम अझ सुचारुरूपले हुन्छ भन्दै आफ्नै अफिसमा बस्ने व्यवस्था गरिदिए । साढे २ महिना हामी त्यहाँ सँगै बस्यौं, आपसमा काम बाँड्न थाल्यौं । सँगै बस्दा एक–अर्कालाई अझ नजिकबाट बुझ्न पायौं ।

सगरमाथाको शिखरमा पुग्दाको अनुभव बताइदिनुस् न ?

सबै हिमाल छोड्दै, बादल र विचारलाई छोड्दै माथि चढियो । माथि टुप्पोमा पुगेपछि भाव शून्य भयो । क्याम्प ४ सम्म फर्किएर यसो गर्छु, उसो गर्छु भन्ने सोच थियो तर केही गर्न सकिएन । मैले सगरमाथामा टाउको राखें । तिब्बततिर फर्किएर बस्न मन लागेन । नेपालतिर फर्किएर बसें । म त संसारकै सबैभन्दा उच्च स्थानमा छु भन्ने कुरा आँखालाई सम्झाइराख्नुपर्‍यो । यहाँ झन्डै आधा घन्टा बसियो । त्यतिबेला प्रथम महिला आरोही जुन्कोले सगरमाथाको टुप्पालाई जापानी म्याट्रेससँग जोरेर टुप्पो ३ह६ फिटको छ भन्नुभएको कुरा सम्झिएँ ।

अब केको तयारीमा हुनुहुन्छ ?

सगरमाथा आरोहणको ६५ वर्ष भयो । इतिहासमै महिला पत्रकारहरूको समूह एकैपटक सगरमाथा चढेको यो पहिलो घटना हो । त्यसैले गिनिज बुकमा रेकर्ड गराउने प्रोसेसमा छौं ।

फेरि सगरमाथा चढ्नुहुन्छ कि ?

एक पटक चढियो, अनुभव भयो । चाहेर पनि धेरै पटक चढ्न सकिने अवस्था छैन । एकपटक चढ्दा नै कम्तीमा ३५ लाख भन्दा बढी खर्च हुन्छ । बरु अब सगरमाथाको फोहोर सफा गर्ने अभियानमा सक्रिय हुनेछ्ु । हरेकले ८ केजी फोहोर बुझाए पनि सगरमाथाका विभिन्न भाग प्रदूषित छन् । गार्वेज डम्पिङ गर्नुपर्‍यो कि सरकारले वर्षमा एकपटक सफा गराउनुपर्‍यो । भिजिट नेपाल वर्ष सन् २०२० भन्दा पहिले नै नेपालका हिमाल सफा गर्नुपर्छ । अब हामी त्यही अभियानमा जुट्नेछौं ।

 Image