Successfully Copied

भवनभित्र फूल सजावट फ्लावर एरेजमेन्ट तथा इकेबाना

घरअगाडि ढकमक्क फुलेको फूलले सबैको मन लोभ्याउँछ । अझ मौसमी फूलले चाडपर्वको संकेत गर्दै मानिसको जीवन पनि प्रतिबिम्बित गर्छन् । हुरी–बतास, घाम–पानी केही नभनी निरन्तर मुस्कुराइरहने यी हरिया बोट–बिरुवा तथा फूलको सुन्दरताले आनन्दित तुल्याउँछन् । त्यसैले जतिसुकै सानो ठाउँ भए पनि मानिसले फूल

 

परिवर्तनशील समयसँगै मानिसको इच्छा, आकांक्षा तथा आवश्यकतामा पनि परिवर्तन हुुँदै गएको छ । पहिलेदेखि नै घरको आँगनवरिपरि विभिन्न थरिका फूल रोपेर घरलाई सुन्दर बनाउने चलन थियो । त्यो अहिले पनि कायमै छ । त्यही चलनलाई परिमार्जित गरी आधुनिक शैलीबाट आँगनवरिपरिको खुल्ला भाग तथा बगैंचा सजाउने चलनको सुरुवात धेरै पहिलेदेखि नै चलिसकेको छ । सानो क्षेत्रफलमा घर, भवन निर्माण गरे पनि फूल रोप्ने ठाउँ र गमलाले भने आफ्नो स्थान पाएकै हुन्छन् । फूलबाट एक किसिमको स्वर्गीय आनन्द पनि प्राप्त हुन्छ ।

घरअगाडि ढकमक्क फुलेको फूलले सबैको मन लोभ्याउँछ । अझ मौसमी फूलले चाडपर्वको संकेत गर्दै मानिसको जीवन पनि प्रतिबिम्बित गर्छन् । हुरी–बतास, घाम–पानी केही नभनी निरन्तर मुस्कुराइरहने यी हरिया बोट–बिरुवा तथा फूलको सुन्दरताले आनन्दित तुल्याउँछन् । त्यसैले जतिसुकै सानो ठाउँ भए पनि मानिसले फूल रोप्ने ठाउँ छुट्याउँछन् ।

विभिन्न रंग तथा किसिमका फूललाई आपसमा मिलाएर एउटा थिम लिएर आकर्षक ढंगबाट मिलाउने कलालाई फ्लावर एरेजमेन्ट भनिन्छ । फूलको गुच्छा, बुके होस् वा विभिन्न प्रकारका भाँडामा सजाइएको सुन्दर एरेजमेन्ट, यो त्यत्तिकै सुन्दर र आकर्षक देखिन्छ । प्राय: सबै देश र ठाउँमा मौसमअनुसार पाइने फूलका प्रकारका साथै आफ्नो रुचिअनुरूप फरक–फरक शैलीमा फ्लावर एरेजमेन्ट गरिन्छ । यति मात्र नभई स्थानअनुरूप सुहाउँदो फ्लावर एरेजमेन्ट गर्दा सुन्दरतामा थप निखार आउँछ । आवासीय भवनदेखि लिएर व्यावसायिक भवनसम्म यसको उत्तिकै महत्व छ ।

इकेबाना पनि एक किसिमको फ्लावर एरेजमेन्टजस्तै देखिन्छ । यो एरेजमेन्टले आफ्नो छुट्टै किसिमको महत्व बोकेको छ । यसको आफ्नो छुट्टै शैली र नियम छ । आकार, मेल तथा ब्यालेन्स नै इकेबानाको मुख्य नियम हो । इकेबाना तयार पार्दा फूल–हाँगामात्र नभई इकेबाना तयार पारिने भास अथवा भाँडासँग पनि त्यत्तिकै ब्यालेन्स मिल्नुपर्ने हुन्छ । जापानी भाषामा ‘इके’ भन्नाले जीवित र मिलाउनु भन्ने बुझिन्छ भने बाना अथवा हाना भन्नाले फूललाई जनाउँछ । त्यसैले फूललाई राम्रोसँग मिलाएर लामो समयसम्म जीवित राखी त्यसबाट पाइने सुन्दरताको भरपूर आनन्द लिनु नै इकेबानाको प्रमुख उद्देश्य हो । जापानीहरू सानो कुराको पनि त्यत्तिकै महत्व राख्छन्, त्यसलाई मनन गर्छन् र सकेसम्म लामो समयसम्म त्यही वस्तुलाई टिकाएर आनन्द लिन खोज्छन् । यो यस्तो कला हो जसले मानिसलाई प्रकृतिसँग जोड्छ । यसको मुख्य वस्तु भनेको फूलका गुच्छा, पात तथा हाँगाका साथै स–साना कोपिला नै हुन् । यो कलाको मुटु यिनै जीवित वस्तुबाट सिर्जित रंग र सुन्दर वस्तुबाट सिर्जना हुने आकारको सुन्दरता हो । जापानीहरू प्रकृतिप्रेमी हुन्छन् र प्रकृतिसँग नजिक हुन मन पराउँछन् ।

त्यसैले यिनीहरू गगनचुम्बी भवनभित्रको अपार्टमेन्ट होस् वा छुट्टै बंगला तथा घर सानो स्पेस वा गमलामा पनि हरिया बोट–बिरुवा लगाएर वा इकेबाना नै कोठाभित्र सजाएर भए पनि प्रकृतिसँग नजिक हुन खोज्छन् । इकेबानाले मानिसको जीवनको प्रतिबिम्ब पनि हो । इकेबानामा जति फूल प्रयोग गरिन्छ त्यति नै हाँगा–बिंगा, घाँस, पात, ढुंगा तथा लेउ पनि प्रयोग हुन्छ । यी सबै वस्तुको समायोजनसँगै कुन थिमको इकेबाना बनाउने हो त्यसको अध्ययन गर्नुपर्छ । त्यसपछि सबैलाई मिलाएर सोही थिमअनुसार प्रोपर फर्म तथा ब्यालेन्सलाई ध्यान दिएर क्रमश: फूल तथा हाँगालाई एंगलमा काटेर स्पोन्ज तथा काँटीमा अड्याउनुपर्छ । स्पोन्ज भने इकेबाना राखिने भाँडा अथवा टोकरीभित्र मिल्ने गरी काटेर राख्नुपर्छ ।

पहिले–पहिले हरेक दिन फूलदानीको पानी फेरेर फूललाई सकेसम्म बढी समयसम्म ताजा राख्ने चलन थियो भने अहिले आधुनिक शैलीका प्रिजरभेटिभ्सका साथै पानी भिजाइएको स्पन्ज आदिको प्रयोगले फूलहरू महिनौंसम्म पनि ताजा रहन्छन् । हिजोआज फ्लावर एरेन्जमेन्ट एवं इकेबानाका लागि विभिन्न किसिमका फूलदानीदेखि लिएर हातले बुनिएका टोकरीको प्रयोग पनि बढ्दै गएको छ । अहिले धेरै महँगा सामानले मात्र घर सजाउन सकिन्छ भन्ने कुरा पनि गलत साबित भएको छ । साधारण फूल, हाम्रै वरपर पाइने फूल, हाँगा, पात आदि प्रयोग गरिएको कलाले पनि घरका विभिन्न भागलाई त्यत्तिकै सुन्दर र आकर्षक बनाउन सकिन्छ । इकेबाना तथा फ्लावर एरेन्जमेन्ट घरको लिभिङ रुम, बेड रुम, किचेनदेखि लिएर घरभित्र छिर्ने प्यासेज तथा लबीमा पनि राख्न सकिन्छ । थोरै ठाउँ मात्र ओगट्ने यो कलाबाट सिर्जित एरेन्जमेन्ट राख्दा त्यो स्पेसको शोभा बढ्छ । सुन्दर वस्तु आँखा सामुन्ने देख्दा वा रहँदा अवश्य पनि घरमा सुन्दर विचार र सभ्य वातावरण सिर्जना हुन्छ ।

 Image