Successfully Copied

तीजका स्टार

तीजलाई रंगीन बनाउन गायक–गायिका, मोडलदेखि कोरियोग्राफरसम्मको महत्वपूर्ण भूमिका रहन्छ । विगत २ वर्षयता मोडलिङमा व्यस्त रहेकी अञ्जली अधिकारीलाई धेरैले अहिलेकी तीज क्विन भन्न थालेका छन् । उनले यो वर्ष ७० वटाभन्दा बढी तीज गीतमा अभिनय गरेकी छिन् । गतवर्षदेखि तीज गीतमा अभिनय गर्न

हिन्दूधर्मावलम्बी महिलाहरूको महान् पर्व तीज घर–आँगनमा आइसकेको छ । यो वर्षको तीजमा आफूलाई फरक रूपमा प्रस्तुत गर्न महिलाहरूको भीड गहना तथा कपडा पसलहरूमा देख्न सकिन्छ । यसैगरी तीजका स्टारहरूको पनि आफ्नै चटारो छ । कतिपय कलाकारले तीजका गीत बजारमा ल्याइसके भने कतिपय अझै सार्वजनिक गर्ने क्रममा छन् । हरेक वर्ष तीजलाई विशेष बनाउने उद्देश्यले विशेषगरी लोकदोहोरी गायिका, मोडल तथा कोरियोग्राफरहरू निकै व्यस्त हुन्छन् । यिनै स्टारहरूको सिर्जनामा छमछम नाचेर महिलाहरूले महान् चाड तीजलाई विशेष बनाउँछन् । यद्यपि उनीहरूको पनि आ–आफ्नै कथा तथा अनुभव छ ।

विगत १६ वर्षयता लोकदोहोरी क्षेत्रमा सक्रिय छिन्–गायिका सुनीता दुलाल । उनी तीज गीतबाटै सांगीतिक क्षेत्रमा उदाएकी हुन् । ०५९ सालमा दुलालले ‘आमाले पकाएको मीठो दर खानलाई फुरफुर गरी बसिराछु माइत जानलाई’ गीत बजारमा ल्याइन् जुन गीत अझै पनि जनजिब्रोमा छ । पहिलो एल्बमले सफलता पाएपछि आफूलाई गीत–संंगीतमा लाग्न थप ऊर्जा मिलेको दुलाल बताउँछिन् । त्यसपछि उनले ०६० मा अब त मैले नि झुम्का लगाउँछु एल्बम सार्वजनिक गरिन् । उक्त गीतले दुलाललाई सांगीतिक क्षेत्रमा स्थापित गराएरै छाड्यो । दुलाल भन्छिन्–‘पहिलो र दोस्रो एल्बम हिट भएपछि मैले पछाडि फर्केर हेर्नु परेन, ती दुई एल्वमले मलाई धेरै देशको भ्रमणसमेत गराए ।’ दुलालले त्यही वर्ष अमेरिका, सिंगापुर तथा कतारको भ्रमण गरिन् । हालसम्म १६ भन्दा बढी तीज गीतमा स्वर दिइसकेकी गायिका दुलाल पहिले र अहिलेको गीतमा धेरै भिन्नता रहेको बताउँछिन् । आजभन्दा १५–२० वर्ष पहिले बुहारीहरू सासूबाट प्रताडित हुन्थे र तिनकै कथामा आधारित वेदनाका तीज गीत बन्थे, तर अहिले गाउँघरमा समेत बुहारीलाई सासूहरूले छोरीसरह व्यवहार गर्न थालेका छन् जसले गर्दा वेदनाका गीत कमै मात्रामा आउने उनको अनुभव छ ।

विगतमा जस्तै उनले यसपटक पनि तीज भनेकै नाच्न–गाउन हो गीत सार्वजनिक गरेकी छिन् । यो वर्ष उनलाई ६० भन्दा बढी गीत गाउन अफर आएको थियो । दुलाल भन्छिन्–‘आफ्नै एल्बमका लागि मात्र गीत गाउने भएकीले अरुको गीत गाइनँ ।’ गायिका दुलाललाई तीज गीतमा मात्र भन्दा पनि अन्य गीतबाट पनि आफूलाई चिनाउन उनका प्रशंसकहरूले आग्रह गर्दै आएका छन् तर दुलाल तीज गीतबाट मात्र चिनिन चाहन्छिन् । विभिन्न नेपाली चाडपर्वका अवसरमा विश्वका विभिन्न देशमा बसेका नेपालीहरूले चाडपर्व विशेष कार्यक्रमको आयोजना गर्छन् । त्यसका लागि नेपाली कलाकारहरूलाई आमन्त्रण गरिन्छ जसले गर्दा नेपाली कलाकारहरूको विदेश जाने–आउने क्रम चलिरहन्छ । अझै विशेषगरी तीजका बेला नेपाली कलाकारहरूको बासै विदेशतिर हुन्छ । हालसम्म २५ वटा देशका तीज विशेष कार्यक्रममा सहभागी भैसकेकी गायिका दुलाल यो वर्षको तीज कार्यक्रमका लागि अमेरिका, आयरल्यान्ड, अस्ट्रेलिया, बेलायत आदि देश पुग्दैछिन् ।

तीज गीतबाटै आफ्नो परिचय बनाएकी अर्की गायिका हुन्–सिन्धु मल्ल । पछिल्लो समय मल्ल र तीज गीत एक–अर्काका पर्यायझैँ भैसकेका छन् । मल्लले तीजको छेको पारेर हरेक वर्षको तीजमा मौलिक गीत सार्वजनिक गर्दै आएकी छिन् । २०६० सालदेखि तीजका गीत गाउन थालेकी मल्लले हालसम्म ३५ भन्दा बढी तीज गीत गाइसकेकी छिन् । ‘ससुरालीमा’ लोकदोहोरी गीतबाट चर्चामा आएकी मल्लले ‘चिटिक्कै भाछु रे’ तीज गीतपछि थप चर्चा पाइन् । मल्लको ‘हाँडी भन्दा नि बरै कालो तेरो पोइ, चुरापोते रातो सारी शिरमा सिन्दूर भरेर, लाग्यो नि चक्करै व्रत बसेर, तीज आयो रमाइलो भयो, घिनघिन मादल बजाउँदै आदि गीत हिट छन् ।

उनले यो वर्षको तीजमा रातो सारी–रातो चोली गीत बजारमा ल्याएकी छिन् । तीज स्टारका रूपमा आफूलाई स्थापित गराइसकेकी मल्ललाई तीजमा देश–विदेशका विभिन्न कार्यक्रमबाट निम्तोको ओइरो लाग्छ । सिन्धु ०६५ सालमा पहिलोपटक दुबईको तीज विशेष कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसताका आफूले एउटा तीजमा ७ लाखको हाराहारीमा आम्दानी गर्ने मल्ल बताउँछिन् । मल्लका अनुसार ‘अहिलेको तीजमा तीन–चार लाखको हाराहारीमा कमाइ हुन्छ ।’ मल्ल अहिलेसम्म विश्वका २६ वटा देशका तीज विशेष कार्यक्रममा सहभागी भैसकेकी छिन् । उनी यो वर्षको तीज विशेष कार्यक्रमका लागि दुबई तथा अस्ट्रेलिया जाने तयारीमा छिन् ।

तीज स्टारकै रूपमा परिचय बनाएकी गायिका मञ्जु पौडेल पनि यतिबेला निकै व्यस्त छिन् । उनले यो वर्षको तीजमा माइतीको आँगन र छमछम बोलका गीत बजारमा ल्याएकी छिन् । ०६६ सालदेखि तीज गीत गाउन थालेकी पौडेललाई ‘विरह’ गीतले चिनायो तर ०६७ सालमा तीजमा बजारमा आएको ‘ढल्की परेर’ तीज गीतले आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गराएको पौडेल बताउँछिन् । उनले हालसम्म २० वटाभन्दा बढी तीज गीतमा स्वर दिइसकेकी छिन् । विगत ५ वर्षयता तीज गीतमार्फत चर्चा कमाउँदै आएकी गायिका पौडेलको ढल्की परेर, खै त बाबा बुझेको कुरा बरीलै, मुखैले ठिक्क बनायौ, आलु तामा आदि गीत हिट छन् । गायिका पौडेल ०६८ सालमा पहिलोपटक दुबईको तीज विशेष कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसपछिका वर्षहरूमा उनलाई तीज विशेष कार्यक्रममा सहभागी हुन विभिन्न देशबाट बोलाउन थालियो । अहिलेसम्म २० वटा देशका तीज विशेष कार्यक्रममा आफूले प्रस्तुति दिएको पौडेल बताउँछिन् । यस्ता स्टेज प्रोगामबाट राम्रै आम्दानी हुने उनको अनुभव छ । मञ्जु भन्छिन्–‘म हरेक वर्षको तीजमा यति आम्दानी गर्छु भन्ने लक्ष्य राख्छु त्यो लक्ष्य अहिलेसम्म पूरा हुँदै आएको छ ।’ गायिका पौडेल यो वर्षको तीजमा अस्ट्रेलिया, दुबई तथा जापान जाने तयारीमा छिन् । यस्तै, गायिका पूर्णकला बिसी, राधिका हमाल, देवी घर्ती आदि गायिकाहरूले आफूलाई तीज स्टारका रुपमा स्थापित गराइसकेका छन् ।

तीजलाई रंगीन बनाउन गायक–गायिका, मोडलदेखि कोरियोग्राफरसम्मको महत्वपूर्ण भूमिका रहन्छ । विगत २ वर्षयता मोडलिङमा व्यस्त रहेकी अञ्जली अधिकारीलाई धेरैले अहिलेकी तीज क्विन भन्न थालेका छन् । उनले यो वर्ष ७० वटाभन्दा बढी तीज गीतमा अभिनय गरेकी छिन् । गतवर्षदेखि तीज गीतमा अभिनय गर्न थालेकी अधिकारीले हालसम्म १ सय ४० वटा तीज गीतका भिडियोमा अभिनय गरिसकेकी छिन् । उनी गतवर्ष तीज विशेष कार्यक्रमका लागि पोर्चुगल पुगेकी थिइन् भने यसपटक जापान तथा कोरियाको तीज विशेष कार्यक्रममा सहभागी हुँदैछिन् । यसैगरी अर्की मोडल करिश्मा ढकाललाई पनि धेरैले तीज स्टारकै रूपमा चिन्छन् । तीज गीतबाटै मोडलिङ यात्रा सुरु गरेकी करिश्माले हालसम्म २ सयजति तीज गीतमा अभिनय गरिसकेकी छिन् । उनले २ वर्षअघि वसन्त थापा तथा लक्ष्मी मल्लको सेल्फी–सेल्फी बोलको तीज गीतमा पहिलो पटक अभिनय गरेकी थिइन् । पहिलो गीतले नै आफूलाई चिनाएको ढकाल बताउँछिन् । उनले तीन वर्षको अवधिमा तीज गीतमा अभिनय गरेमध्ये सेल्फी–सेल्फी, नदी है सली सली, पसिना आदि गीत हिट छन् ।

अहिलेसम्म अभिनय गरेका भिडियोबाट राम्रै कमाइ भएको ढकाल बताउँछिन् । करिश्मा भन्छिन्–‘मैले तीन वर्षको अवधिमा करिब १८ लाखको हाराहारीमा आम्दानी गरेंछु ।’ छोटो समयमै स्थापित मोडल ढकाल यसवर्षको तीज विशेष कार्यक्रममा सहभागी हुन दुबई जाने तयारीमा छिन् । ४ वर्षअघि मोडल टीका जैशी विभिन्न सपना बुनेर काठमाडौं झरिन् । सानैदेखि नाचगानमा रुचि राख्ने जैशी काठमाडौं आएपछि आफ्नो ध्यान मोडलिङले खिचेको बताउँछिन् । जैशी पनि तीज गीतबाटै उदाएकी मोडल हुन् । उनले ४ वर्षअघि पशुपति शर्मा र पूर्णकला बी.सी.को स्वरको हात लाग्यो शून्य गीतमा अभिनय गरेकी थिइन् । जैशीलाई त्यही गीतले स्थापित गरायो । उनले हालसम्म एक सयभन्दा बढी तीज गीतमा अभिनय गरिसकेकी छिन् । संघर्षका सुरुसुरुका दिनमा पारिश्रमिक पनि नलिई काम गरेकी जैशीले विगत २ वर्षयता तीज गीतमा अभिनय गरेर राम्रो कमाइ गर्दै आएकी छिन् ।

यस्तै कोरियोग्राफर स्मृति तिमल्सिना (गुरुआमा) तीजका बेला एकदमै व्यस्त हुने कोरियोग्राफरमध्ये एक हुन् । उनले यसपटक ८५ वटा भन्दा बढी तीज गीतमा कोरियोग्राफी गरिसकेकी छिन् । विगत ४ वर्षयता कोरियोग्राफी गर्दै आएकी स्मृतिले हालसम्म २ सयभन्दा बढी गीतमा कोरियोग्राफी गरेकी छिन् । ४ वर्षअघि स्मृतिले नाचिन्छ कम्मरै भाँचिन्छ तीज गीतबाट कोरियोग्राफी प्रारम्भ गरेकी थिइन् । अहिले एउटा भिडियोमा कोरियोग्राफी गरेबापत १० हजार पारिश्रमिक लिने स्मृति बताउँछिन् । तिमल्सिना भन्छिन्–‘मैले ४ वर्षको अवधिमा १० लाखको हाराहारीमा आम्दानी गरें ।’ तीज विशेष कार्यक्रममा गायक–गायिका तथा मोडलहरू वैदेशिक कार्यक्रममा गएजस्तै तिमल्सिना पनि विगत दुई वर्षयता तीज विशेष कार्यक्रमका कतार तथा जापानको तीज विशेष कार्यक्रममा सहभागी भएकी छिन् । कोरियोग्राफर पवित्रा आचार्यले यो वर्ष ३ वटा तीज गीतमा कोरियोग्राफी गरेकी छिन् । ४ वर्षअघि कोमल वलीको हल्ला भो शिवजी तीज गीतबाट कोरियोग्राफी सुरु गरेकी पवित्राले हालसम्म एक दर्जनभन्दा बढी तीज गीतमा कोरियोग्राफी गरिसकेकी छिन् । उनले यो वर्ष कोमल वलीको माननीयज्यू, पारु रञ्जितको तीजको लहर चलिसक्यो अमेरिकासम्म तथा सहिमा श्रेष्ठको पहिला नम्बर सुनको भिडियोमा कोरियोग्राफी गरेको बताइन् ।

 Image