डाइटिसियनको दृष्टिमा व्रत र दर
भाद्र २१, २०७५
तीजमा खाइने दर कस्तो हुनुपर्छ ?वर्ष दिनमा एकपल्ट आउने नेपाली महिलाहरूको महान् चाड तीजमा व्रतको अघिल्लो राति दर खाइन्छ । दरका रूपमा विभिन्न परिकार खाने चलन छ । पहिले दरका रूपमा खीर, पुरी, तरकारी, विभिन्न घरेलु मिठार्इं, फलफूल, दूध, दही आदि खाने चलन थियो तर अहिले सहर–बजारमा पुलाउ, माछा, मासु तथा बजारका मिठाईंहरू बढी प्रयोग गरिन्छ । यस्ता खानेकुरा सधैं खाइने परिकारभन्दा बढी चिल्ला हुन्छन् जसले गर्दा अपच तथा ग्यास्ट्रिक हुनसक्छ ।
व्रत बस्नुअघि खाइने दर सफा, शुद्ध र स्वच्छ हुनुपर्छ भने त्यसमा सबै पौष्टिक तत्व समावेश हुनुपर्छ जसले गर्दा व्रतको दिनमा पनि उही ऊर्जा प्राप्त हुन्छ । दरमा हाम्रो शरीरलाई चाहिने हरेक पौष्टिक तत्व कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ तथा फाइबरका साथै पानीको मात्रामा पनि सुन्तलित हुनुपर्छ । यी सबै पौष्टिक तत्व प्राप्त गर्न ठिक्क मात्रामा चिल्लो हालेर पुलाउ, चाम्रे, रोटी, मौसमी तरकारीहरू, फलफूल, गेडागुडी, दूध, दही तथा दूधबाट बनेका परिकारहरू, पनीर, चीज आदिलाई दरमा समावेश गर्न सकिन्छ । यसैगरी तोफु तथा च्याउलाई तरकारीमा मिसाएर खान सकिन्छ । हरियो सागपात तथा सलाद पनि प्रशस्त मात्रामा खानुपर्छ ।
आवश्यकताभन्दा बढी खाँदा के–कस्तो असर पर्छ ?
आफ्नो शरीरलाई चाहिनेभन्दा बढी अथवा आवश्यकताभन्दा बढी खानेकुरा खाएर अपच भए पेटमा समस्या उत्पन्न हुनसक्छ । कहिलेकाहीँ यसले गर्दा झाडाबान्तासमेत हुनसक्छ । अहिले तीज आउनुभन्दा धेरै पहिलेदेखि नै साथी–संगीसँग, टोल–छिमेक, इष्टमित्र, कार्यालयका साथीहरू मिलेर पटक–पटक दर खाने चलन छ । यसरी आवश्यकताभन्दा बढी खाँदा, बढी भएको ऊर्जा बोसोमा परिणत भएर शरीरमा जम्मा हुन्छ । फलस्वरूप शारीरिक तौल बढ्छ । शरीरको तौल बढ्दै जानुु भनेको मधुमेह, उच्च रक्तचाप, मिर्गौला आदि समस्या निम्तिनु हो । त्यसैले दर खाएपछि शारीरिक व्यायाम अर्थात् नृत्य वा अन्य शारीरिक अभ्यास गर्नुपर्छ । त्यति भए बढी खाएको खानाबाट प्राप्त शक्ति बोसोका रूपमा जम्मा हुन पाउँदैन ।
रोग लागेका व्रतालुहरूले के–कस्ता खानेकुरा खानु उपयुक्त हुन्छ ?
अहिले ग्यास्ट्रिक, उच्च रक्तचाप, मधुमेह तथा थाइराइडजस्ता रोग धेरै महिलामा देखिन्छ । त्यसैले यस्ता रोग भएका महिलाहरूले व्रत बस्दा तथा दर खाँदा पर्याप्त
सावधानी अपनाउनुपर्छ ।
थोरै खाने बरु धेरै पटक खाने ।
खानामा नुनको प्रयोग कम गर्ने (दिनभरिमा ३ ग्राम मात्र नुन खाने) ।
मौसमी तरकारी तथा फलफूलहरू खाने ।
हरिया सागपात तथा सलाद पनि प्रशस्त मात्रामा खाने ।
केरा, आँप, अनारजस्ता बढी गुलिया फलफूल कम खाने ।
प्रोसेस गरिएका खानेकुरा सकेसम्म नखाने ।
रेडिमेड खानेकुरा पनि नखाने जसमा नुन तथा खराब खालको चिल्लो पदार्थ हुन्छ ।
सफ्ट ड्रिंक्सहरूको सट्टा दही, मोही अथवा सर्बत पिउने ।
दर खाँदा गुलिया खानेकुरा सकेसम्म नखाने, खानै परे कम मात्रामा खाने ।
चिल्लो खाँदा पनि घिउ, बटरजस्ता चिल्लो पदार्थ सकेसम्म कम खाने ।
व्रतालुले कुनै रोगको नियमित औषधि सेवन गरिरहेको भए व्रतको दिन पनि आफ्नो नियमित समयमै औषधि खानुपर्छ ।
व्रतका दिन के खाने ?
व्रतका दिन धेरै व्रतालु दिदीबहिनीहरू निराहार बस्नुहुन्छ । यसले शरीरमा पानीको मात्रा कम हुन गै विभिन्न समस्या सिर्जना हुन सक्छ । त्यसैले सर्वप्रथम शरीरमा पानीको मात्रालाई सन्तुलनमा राख्नुपर्छ ।
मधुमेहका बिरामी व्रतका दिन खाली पेट बस्दा शरीरमा चिनीको मात्रा कम हुन्छ । यो स्वास्थ्यका दृष्टिले खतरनाक हुनसक्छ । त्यसैले फलफूल तथा फलफूलको फ्रेस जुस, लस्सी, मोही अथवा दूध आदि पिउनुपर्छ । मधुमेहका बिरामीले निराहार बस्नु हुँदैन । दही, रोटी, साबुदानाको खीर अथवा जौको सातु खानुपर्छ । दिनभरि केही नखाई निराहार व्रत बस्नेहरूले एकैपटक राति खाने हो भने खाली पेटमा धेरै चिल्ला खानेकुराको सट्टामा कम चिल्लो हालेर रोटी, तरकारी, दूध, दही एवं फलफूल खानु उपयुक्त हुन्छ ।
व्रतको भोलिपल्ट कस्तो खाना खाने ?
व्रतको भोलिपल्टको पहिलो खाना तरल हुनुपर्छ । कालो चियाबाट सुरु गर्ने अनि सादा कम चिल्लो भएको खानेकुरा खाने । त्यसपछि भने सामान्य खाना खान सकिन्छ । खाना सबै किसिमको पौष्टिक तत्व मिलेको सन्तुलित हुनुपर्छ ।
कति समयसम्म भोकै बस्न सकिन्छ ?
सकेसम्म लामो समय भोकै बस्नु हुँदैन । खासगरी मधुमेहका बिरामीले लामो समय भोकै बस्दा शरीरमा चिनीको मात्रा कम हुन गै जटिल स्वास्थ्य समस्या देखा पर्नसक्छ । सामान्य व्यक्तिले पनि लामो समय भोकै बस्दा ग्यास्ट्रिकको समस्या हुनसक्छ । धेरै बेर नखाएर पछि खाँदा आवश्यकताभन्दा बढी खाना खाइन्छ, जुन स्वास्थ्यका दृष्टिले राम्रो होइन ।
- मानव अ· प्रत्यारोपण केन्द्र, भक्तपुर
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्