Successfully Copied

यसरी गरौं घरको सफाइ

आफू बस्ने घरको सरसफाइलाई सधै प्राथमिकतामा राख्नुपर्छ । घरको सफाइ गर्दा घरलाई पखालेर रंगरोगन गर्नुपर्छ । त्यसपछि मात्र घरभित्र र बाहिरको अन्य सरसफाइ तथा सजावट गर्नु उपयुक्त हुन्छ । घरको भित्री तथा बाहिरी भागमा रंग लगाइसकेपछि मात्र अन्य सरसफाइको काम सुरु गर्नुपर्छ ।

आफू बस्ने घर तथा वरपरको वातावरण सधै सफा राख्नुपर्छ । घरका झ्यालढोका, दराज, सिसा आदिको धूलो नियमित सफा गर्नुपर्छ । यसरी सफाइ गर्दा पानीमा सफा कपडा भिजाएर पुछ्नु उपयुक्त हुन्छ ।

सबैभन्दा पहिले भित्रदेखि बाहिरसम्म कुचोले बढार्ने । यसका लागि राम्रो तथा नभाँचिएको कुचो प्रयोग गर्नु वेश हुन्छ । घरको भुइँ पुछ्न सफा कपडा प्रयोग गर्नुपर्छ । पोछा लगाउँदा प्रयोग हुने पानी तथा पोछा समय–समयमा परिवर्तन गरिएन भने त्यही पोछा र पानीको मैलोले घर फोहोर बनाउँछ ।

बाहिर हिँडडुल गर्दा जुत्तामा फोहोर टाँसिएको हुन सक्छ । त्यसैले जुत्ता ढोका बाहिरै राख्नु उपयुक्त हुन्छ । जुत्ता राख्न छुट्टै र्‍याक प्रयोग गर्न सकिन्छ । कोठाभित्र भन्दा पनि बाहिर बक्स, र्‍याक तथा सानो दराज बनाएर जुत्ता राख्न सकिन्छ । जुत्तालाई सुत्ने कोठासम्म पुर्‍याउनु हुँदैन ।

घरको मुख्य ढोकामा धूलो, माटो सोस्ने किसिमको डोरम्याट राख्नुपर्छ । यसले खुट्टामा टाँसिएर आउने धूलो भित्र छिर्न पाउँदैन भने भित्र छिर्दा डोरम्याटमा खुट्टा पुछेर जान सकिन्छ ।

कोठामा केश कोर्दा केश झरेर कार्पेटमा टाँसिन सक्छ । त्यसैले केश बाथरुम तथा घरबाहिर कोर्नु उपयुक्त हुन्छ । बाथरुम प्रयोग गरिसकेपछि अनिवार्य रूपमा सफा गर्नुपर्छ । बाथरुममा छिट्टै पानी जम्ने तथा कीटाणु फैलने भएकाले यसलाई सफा गरिरहनुपर्छ । बाथरुम सधैं सुख्खा राख्नुपर्छ ।

कतिपयले २–३ वर्षको अन्तरालमा घरमा प्रयोग गर्ने सामग्री फेर्छन् । अहिले घरको सफाइ गर्न सहज छ । डिटर्जेन्ट, मफ, ब्रस, कोलिन आदिको प्रयोगले घर तथा घरमा प्रयोग हुने सामान सफा गर्न सकिन्छ । कोठा तथा बाथरुम फ्रेस राख्न ओडोनिल तथा एयर फ्रेसनर प्रयोग गर्न सकिन्छ । कार्पेट सफा गर्न भ्याकुम क्लिनरको प्रयोग प्रभावकारी हुन्छ ।

आफू बस्ने घरको सरसफाइलाई सधै प्राथमिकतामा राख्नुपर्छ । घरको सफाइ गर्दा घरलाई पखालेर रंगरोगन गर्नुपर्छ । त्यसपछि मात्र घरभित्र र बाहिरको अन्य सरसफाइ तथा सजावट गर्नु उपयुक्त हुन्छ । घरको भित्री तथा बाहिरी भागमा रंग लगाइसकेपछि मात्र अन्य सरसफाइको काम सुरु गर्नुपर्छ । कार्पेट सफा गर्नुपरे एकदिन डिटर्जेन्ट पानीमा भिजाएर छोड्ने र भोलिपल्ट त्यसलाई फिंजाएर ब्रसले घोट्ने । त्यसपछि कार्पेटलाई ठाडो पारेर पखाल्नुपर्छ ।

-    तामा तथा पित्तलका भाँडाकुँडालाई कागती पानीमा डुबाएर केही समय छोड्ने । त्यसपछि क्लिन्जिङ पाउडरले मस्काए भाँडाको दाग सजिलै जान्छ ।

-    सिसाका सामग्री सफा गर्दा फुटेर काट्न सक्ने भएकाले हातमा पन्जा लगाउनुपर्छ । यसबाट भाँडा चिप्लिएर खसे पनि फुट्ने तथा काट्ने सम्भावना हुँदैन ।

-    दराज, पलङ, टेबल तथा काठका अन्य सामान सफा गर्दा पातलो मलमलको कपडालाई डिटर्जेन्ट पानीमा भिजाएर पुछ्ने । अन्तिममा सादा पानीमा कपडा डुबाई निचोर्दै पुछ्ने । सफा गरेपछि मिल्ने सामानलाई केही समय घाममा सुकाउने ।

-    फ्रिज, टोस्टर, ओभनजस्ता भान्साका इलेक्ट्रोनिक्स सफा गर्दा प्लगमा ध्यान दिनुपर्छ । स्वीच अफ गरेर मात्र इलेक्ट्रोनिक्सको सफाइ गर्नुपर्छ ।

यसैगरी अहिले धेरैको घरमा वासिङ मेसिन, डिसवासर, फ्रिज, ग्यास, चुल्हो, ओभनजस्ता उपकरण हुन्छन् । यी सामग्रीले मानिसको दिनचर्या सहज बनाएका छन् । तिनको उचित हेरचाह तथा सफाइ सही तरिकाले गरे लामो समयसम्म टिक्नुका साथै काम पनि सहज एवं छरितो हुन्छ ।

फ्रिज : फ्रिजमा राखिएको खानेकुरा सुरक्षित हुन्छ । त्यसैले यसको नियमित सरसफाइ गर्नुपर्छ । यसको क्वायल सफा गर्नुपर्छ । हरेक १५ दिनको फरकमा यसको सरसफाइ गरिरहनुपर्छ । फ्रिजलाई तातोपानीमा दुई चम्चा बेकिङ पाउडर राखेर स्पन्जले सफा गर्नुपर्छ । फ्रिजको माथिदेखि तलसम्मका सबै भागलाई साबुनपानीले सफा गर्न सकिन्छ । सफाइपछि फ्रिजलाई आधा घन्टा खुला छोडिदिनुपर्छ । फ्रिजको पछाडिको भाग प्रत्येक महिना सफा गर्नुपर्छ ।

ग्यास चुल्हो : समय–समयमा ग्यास चुल्हो सफा गरिरहनुपर्छ । यसलाई ग्यासको कनेक्सन बन्द गरी चिसो स्पन्जको सहायताले सफा गरी पुछ्नुपर्छ । तातो साबुनपानीमा चिसो कपडा भिजाएर ग्यास चुल्हो सफा गर्न सकिन्छ ।

स्टोभ : अहिले धेरैले स्टोभ प्रयोग गर्न छोडेका छन् । स्टोभका प्रयोगकर्ताले प्रत्येक पटकको प्रयोगपछि यसलाई सफा गर्ने हो भने त्यसमा कालो लाग्दैन । प्रयोग गरेपछि यसमा राखिने प्यानलाई तातोपानीमा सर्फ तथा साबुन भिजाएर सफा गर्नुपर्छ ।

माइक्रोवेभ : खाना तताउन तथा कम समयमै खाना पकाउन माइक्रोवेभ प्रयोग गरिन्छ । यसको प्रयोगपछि भित्री भाग माइक्रोवेभ क्लिनरले राम्रोसँग सफा गर्नुपर्छ ।

वाटर प्युरिफायर : शुद्ध खानेपानीका लागि अहिले धेरैले वाटर प्युरिफायर प्रयोग गर्छन् । यसले गुणस्तरीय पानी दिन्छ । पिउने पानी शुद्ध गर्ने वाटर प्युरिफायरलाई समय–समयमा सफा गरिरहनुपर्छ ।

 

पानीको फिल्टर : पानीको फिल्टर १५ दिनको अन्तरालमा सफा गर्नुपर्छ । फिल्टरको प्युरिफाइङ क्यान्डल्स झिकेर माइल्ड साबुन लगाएर तातोपानीले धुनुपर्छ । क्यान्डलमा जमेको फोहोर जालीद्वारा सफा गर्न सकिन्छ । त्यसपछि त्यसलाई घाममा सुकाउनुपर्छ ।

किचेन क्याबिनेट : समय–समयमा किचेन क्याबिनेट सफा गरिरहने हो भने त्यसमा ढुसी लाग्दैन अनि साङ्ला तथा मुसा लाग्ने सम्भावना पनि हुँदैन ।

डिसवासर : यसमा भाँडा कम समयमै सफा गर्न सकिन्छ । अहिले यसका प्रयोगकर्ता बढेका छन् । डिसवासरमा भाँडा कम समयमै सफा हुनुका साथै चम्किला पनि हुन्छन् । प्रयोग गरेपछि यसको पनि सफाइ गर्नुपर्छ । यसमा फोहोर अड्किए तत्काल निकाल्नुपर्छ ।

मिक्सचर : मिक्सचरको प्रयोगले काम सहज बनाउँछ । यसले छिटोछरितो काम गर्न सघाउँछ । प्रयोगपछि यसलाई सरसफाइ गरेर मात्र थन्काउनुपर्छ ।

वासिङ मेसिन : वासिङ मेसिनमा कपडा धुँदा माइल्ड डिटर्जेन्ट प्रयोग गर्नुपर्छ । नियमित सफाइ गरे यो लामो समयसम्म टिक्छ । वासिङ मेसिन सफा गर्न यसलाई खाली गरेर तातोपानी भर्नुपर्छ । त्यसपछि एक कप भिनेगर हालेर केही समय मेसिन चलाउनुपर्छ । आधा कप बेकिङ सोडा हाली वास मोडमा चलाएर मेसिन बन्द गर्ने । यति गरेपछि मेसिन १ घन्टाजति त्यत्तिकै छोड्ने । मेसिन बन्द गरेपछि भिजेको कपडाले राम्रोसँग पुछेर मात्र पुन: संचालन गर्नुपर्छ ।

भ्याकुम क्लिनर : कोठाका कुनामा भएका फोहोर सफा गर्न यसको प्रयोग उपयोगी हुन्छ । सफाइ गर्दा धूलो नउड्ने भएकाले यो स्वास्थ्यका दृष्टिले समेत लाभदायक छ । यसले कुचो लगाउनुपर्ने बाध्यता कम गरिदिएको छ । भ्याकुम क्लिनरको ब्याग बेला–बेलामा सफा गरिरहनुपर्छ । यसको ब्रसमा अड्किएका वस्तु पनि विस्तारै निकाल्नुपर्छ ।

टेलिभिजन : टेलिभिजन सफा गर्नुअघि मुख्य स्वीच बन्द गर्नुपर्छ । यसलाई सफा गर्न ग्लास क्लिनर प्रयोग गर्नुपर्छ । टेलिभिजनको स्क्रिन सुख्खा नरम मलमलको कपडाले पुछ्नुपर्छ । यसको स्क्रिनमा दाग लागे पानीमा भिनेगर मिसाएर कटनको कपडाले सफा गर्नुपर्छ । त्यसपछि तुरुन्तै सुख्खा कपडाले पुछ्नुपर्छ । स्क्रिन सफा गर्दा रगड्नुहुँदैन ।

रिमोट कन्ट्रोल : रिमोट कन्ट्रोलले रोग फैलाउन सक्छ । यो भुइँमा खस्दा वा हाछ्यँु गर्दा पनि रोगका जीवाणु फैलन सक्छन् । कतिपयको टेलिभिजन हेर्दा रिमोट टोक्ने बानी हुन्छ । त्यसैले यसलाई मलमलको कपडा तथा कटन भिजाएर सफा गरी सुख्खा कपडाले पुछ्नुपर्छ ।

टेलिफोन : मोबाइलको प्रयोग धेरै भए पनि टेलिफोनको प्रयोग पनि बन्द भैसकेको छैन । यसलाई पनि बेला–बेलामा सफा गरिरहनुपर्छ । सफा नरम कपडा तथा थोरै कपासमा डिटोल हालेर टेलिफोनको सेट सफा गर्नुपर्छ । यसैगरी माउथपिस तथा इयरफोनसमेत सफा गर्नुपर्छ ।

कम्प्युटर : कम्प्युटर सफा गर्नुअघि पूर्णरूपमा बन्द गर्नुपर्छ । सबैभन्दा पहिले किबोर्डमा भएको धूलो उल्टाएर हातले थपथपाउँदै झार्नुपर्छ । त्यसपछि भ्याकुम क्लिनरले मनिटरको पछाडिको भाग सफा गर्नुपर्छ । भ्याकुम क्लिनरको ब्लोअरले सिपियु सफा गर्न सकिन्छ ।

डस्टबिन : साधारणतया डस्टबिनलाई सिंकमुनि राखिन्छ । यसलाई कोठामा ढोकाको कुनामा पनि राखिन्छ । सधैं बिर्को भएको डस्टबिन प्रयोग गर्नुपर्छ । डस्टबिनमा सीधै फोहोर राख्नुभन्दा पनि थोरै बोरेक्स पाउडर छर्केर प्लास्टिकको झोला राखी फोहोर हाल्नुपर्छ । डस्टबिन दिनहुँ नियमित रूपमा सफा गर्नुपर्छ ।

 Image