Successfully Copied

पर्वको प्रभाव

चाडपर्व नजिकिँदै जाँदा हरेक जात–जाति, उमेर, समूह, पेसा वा व्यवसायका मानिसलाई यसको चटारोले छोप्छ । हाम्रा मौलिक चाड हरेकका लागि संस्कार, खुसी साट्ने मौका अनि सुस्ताउने समय भएका छन् अहिले ।

चाडपर्व नजिकिँदै जाँदा हरेक जात–जाति, उमेर, समूह, पेसा वा व्यवसायका मानिसलाई यसको चटारोले छोप्छ । हाम्रा मौलिक चाड हरेकका लागि संस्कार, खुसी साट्ने मौका अनि सुस्ताउने समय भएका छन् अहिले । फरक पेसा, उमेर समूह तथा संस्कारका व्यक्तिहरूमा फरक–फरक तरिकाले पर्ने पर्वको प्रभावका सम्बन्धमा नारी बहस :

 

मञ्जु कार्की पाण्डे, सौन्दर्यबिज्ञ

सौन्दर्य क्षेत्रमा भएकाले पर्वको सुरुवातमा म निकै व्यस्त हुन्छु किनभने चाडवाडअघि आफूलाई रिजुभेसन गर्न आउनेहरूको संख्या अहिले बढ्दो छ । म दसैंको केही दिनअघि मात्र आफ्ना लागि समय निकाल्न सक्छु । आफ्नो संस्कृतिप्रति अलि गम्भीर भएकीले होला म चाडवाड राम्रैसँग मनाउँछु । मलाई पर्वहरू परिवार, इष्टमित्र तथा आफन्तजनको सामीप्यतामा आफूलाई हराउने र वर्षभरिको थकाइ मार्दै आफूलाई मनपर्ने काम गर्ने समय हो भन्ने लाग्छ । मैले यही बुझाइअनुरूप नै चाडवाडलाई सेलिब्रेट गर्दै आएकी छु । यतिबेला थोरै भए पनि फुर्सद पाइने हुनाले आफ्नो वृत्ति विकास र क्षमता अभिवृद्धिमा पनि आफूलाई सहभागी गराउँदै आएकी छु ।

डा.सिरपा बज्राचार्य, छाला रोग विशेषज्ञ

व्यस्त पेसामा रहेकाले अरु बेला म आफ्ना लागि समय निकाल्न असमर्थ हुन्छु । यो अवसरलाई म आफूलाई भित्रैदेखि खुसी बनाउन भरपूर प्रयोग गर्छु । यो वर्ष छोरा जन्मिएको छ म उसलाई शतप्रतिशत समय दिन्छु जसका कारण म सबैभन्दा बढी खुसी हुन्छु । माइतीमा पनि सबैजना चिकित्सा पेसामा भएकाले मुश्किलले ममी–ड्याडीहरूसँगै बस्ने समय पाइन्छ तर दसैंका बेला वर्षभरिलाई पुग्ने गरी उहाँहरूसँग समय बिताउँछु । खानपान, किनमेल तथा अघिपछि गर्न नभ्याएर छुटेका काममा पनि म यो समय इन्जोय गर्छु । विशेषत: मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण संसारकै तमाम संस्कारमध्ये सर्वाधिक शक्तिशाली र पृथक् लाग्छ मलाई जुन विश्वासमा हामी आफूलाई आत्मविश्वासी एवं बलियो बनाइरहेका हुन्छौं ।

कल्याणी छतकुली, गृहिणी

विधिवत् रूपमै पर्व मनाउनुपर्छ भन्ने मान्यता ममा उहिलेदेखि रहिआएको छ । म सम्पूर्ण विधि पुर्‍याएर पूजापाठ गर्छु । यदि त्यसो गर्न सकिन भने आस्था पूरा नहुने हो कि भन्ने लाग्छ । दसैंमा देश–विदेशमा भएका सन्तान, इष्टमित्र एवं आफन्तहरू आउँछन्, लामो समयपछिको मेलमिलापले जीवनमा छुट्टै अर्थ दिन्छ । मलाई दसैंको टीका र मान्यजनबाट प्राप्त आशीर्वादमा विश्वास छ जुन आशीर्वादले हाम्रो जीवनमा कुनै न कुनै रूपमा प्रभाव पार्छ । दसैंकै लागि भनेर किनिने चोखो पहिरनले पनि हामीलाई सुन्दर र प्रफुल्ल तुल्याउने मान्यता छ । पर्वले हामीलाई आस्तिक हुन मात्र सिकाउँदैन, कर्तव्यबोध गराई, सांस्कारिक एवं अनुशासित हुँदै रमाइलो गर्न प्रेरित गर्छ । असत्यमाथि सत्यको विजय र नारीशक्तिको पूजा दसैंका सुन्दर एवं बलिया पक्ष हुन् । हाम्रा संस्कार, परम्परा तथा पर्वहरू हाम्रा गहना हुन् यसका थुप्रै यस्ता सुन्दर पक्षहरू छन् जसलाई जोगाउँदै नयाँ पुस्ताले पनि यसमा रमाउन सिक्नुपर्छ ।

इन्दिरा चौलागाईं गौतम, व्यवसायी

पर्वको प्रकृतिअनुसार संस्कार निर्वाह गर्नुका साथै रमाइलो पनि गरिन्छ । संस्कारलाई मान्यता दिने क्रममा आफन्त भेटघाट, मान्यजनको हातबाट टीका तथा आशीर्वाद ग्रहण, दुर्गामाताको पूजा आदिको गहिरो छाप पर्दै आएको छ हामीमाथि उहिलेदेखि । व्यावसायिक भएका कारण अहिले धेरै मानिस व्यस्त रहन्छन् । यद्यपि यतिबेला आफूले आफैलाई समय दिन सकिन्छ । म दसैं आएपछि आफ्नो मनभित्रका मानिसहरूसँग भेटघाट एवं घुमघामका लागि समय निकाल्छु, परिवार तथा बालबालिकाहरूसँग रमाउँछु । दसैं सुरु हुनुअघि भने घरको सरसफाइ, फर्निचर परिवर्तन, आवश्यक सामग्री किनमेल तथा तयारीमै मेरो बढी समय बित्छ । दसैंले ममा हाम्रा मूल्य–मान्यतालाई निरन्तरता दिने प्रेरणा प्रदान गर्छ ।

सोनिजा राई, विद्यार्थी

हाम्रो उमेरका युवाहरू चाडवाडलाई रमाइलो तरिकाले मनाउन चाहन्छन् । उहिले जस्तो आमा पकाएरै मात्र बस्ने, घरका पुरुष सदस्यहरू मस्तीमा रमाएको हामीलाई मन पर्दैन । समान जिम्मेवारी र समान खुसी हामी युवाको सिद्धान्त हो । दसैंमा लामो बिदा हुने भएकाले यसै पनि रमाइलो हुन्छ । त्यसमाथि अभिभावकहरूसँग किनमेल तथा घुमघाम गरेर समय बिताउन पाउँदा थप ऊर्जा प्राप्त हुन्छ । पर्व मनाउनुपर्छ तर आफ्नो गच्छेअनुसार आफूलाई सजिलो हुने गरी भन्ने मेरो बुझाइ छ । यतिबेला फुर्सदिलो भएकाले म आफूलाई मनपर्ने पुस्तक पढ्नु, लेख्नुका साथै इच्छा लागेका कुराहरू पूरा गर्छु । हामी युवामा हाम्रो संस्कृतिका सकारात्मक पक्षलाई स्वीकार गर्दै र नकारात्मक कुरालाई घटाउँदै यसलाई जोगाउनुनुपर्छ अनि सोही ढंगले अघि बढ्नुपर्छ भन्ने बुझाइ छ ।

 Image