Successfully Copied

दसैंभरि काममै व्यस्त

बिहान घरमा टीका लगाएर हिँडेपछि उनी साँझसम्मै विमान उडाइरहेकी हुन्छिन् । दसैंमा परिवारका तमाम सदस्यहरू घरमै बसेर रमाइलो गरिरहेका बेला संगम यात्रीहरूलाई उनीहरूको गन्तव्यमा पुर्‍याउँदै रमाउँछिन् ।

चाडपर्वसँग महिलाहरूको सम्बन्ध बढी हुन्छ । अरु बेला पनि घरपरिवारमा व्यस्त महिलाहरू चाडपर्वमा अझ बढी चटारोमा हुन्छन् । अहिले महिलाहरू पुरुषहरूको तुलनामा हरेक काममा हात हालिरहेको अवस्थामा कामको अझ बढी चाप र दबाबमा प्रभावित छन् । अस्पताल, संचार माध्यम, प्रहरी, आर्मी, वायु सेवा निगम आदि इमर्जेन्सी सेवामा कार्यरत महिलाहरू चाहेर पनि दसैं–तिहारजस्ता चाडपर्वमा खुलेर रमाउन पाउँदैनन् । सबै जना मठमन्दिर धाउने, टीका लगाउन जाने, राम्रो लाउने, खाने बेलामा ड्युटी जानुपर्ने महिलाहरू भने कामप्रतिको जिम्मेवारीका कारण आम व्यक्तिहरूझैं रमाउन सक्दैनन् ।

सिभिल एभेसन अर्थाेरेटी अफ नेपालमा कार्यरत पाइलट संगम खत्रीलाई दसैंमा बढी फ्लाइट पाइने भएकाले दसैं विशेष मन पर्छ । १० देखि ५ बजेसम्म अफिसमै काम हुने भएकाले संगम हरेक शनिबार तथा सार्वजनिक बिदामा हिमाल एयर लाइन्सको विमान उडाउँछिन् । सबैभन्दा बढी बिदा दसैंमा भए पनि उनले सबैभन्दा बढी विमान उडाउने समय पनि यही हो । बिहान घरमा टीका लगाएर हिँडेपछि उनी साँझसम्मै विमान उडाइरहेकी हुन्छिन् । दसैंमा परिवारका तमाम सदस्यहरू घरमै बसेर रमाइलो गरिरहेका बेला संगम यात्रीहरूलाई उनीहरूको गन्तव्यमा पुर्‍याउँदै रमाउँछिन् । घरमा सबैजना तास खेल्दै, मासुका विविध परिकार खाएर रमाइरहेका बेला संगमलाई घरमै रमाऊँ भन्ने कहिल्यै लागेन । आकाशमा उड्दाको क्षण र यात्रुहरूलाई सुविधाका साथ गन्तव्यमा पुर्‍याई मुसुक्क हाँस्दै धन्यवाद दिँदाको क्षण उनका लागि बहुमूल्य छ । संगम भन्छिन्–म सानैदेखि पाइलट बनेर आकाशमा उड्ने सपना देख्थें ।

संगीता माथेमा २५ वर्षदेखि टिचिङ हस्पिटलमा फार्मेसी उप–नियन्त्रकका रूपमा कार्यरत छिन् । यति लामो अवधिमा उनलाई अफिस जान कहिल्यै अल्छी लागेन । महिला भएपछि घरको व्यवस्थापनमा पनि मुख्य भूमिका निर्वाह गर्नुपर्ने भएकाले उनलाई दसैं–तिहारजस्ता पर्वमा भने अलि बढी धपेडी हुन्छ । दसैंमा ७ बजे घरबाट निस्कन माथेमा बिहान ३–४ बजे नै उठेर पूजाआजाका साथमा भोजन तयार गरेर तयार हुन्छिन् । दसैंमा बाहिरका स्टाफहरू घर जाने हुँदा प्राय: मारमा काठमाडौंका स्टाफहरू पर्छन् । संगीता सधैंजसो त्यही मारमा पर्छिन् । पढ्दा र जागिर खाने बेला नै परिवारलाई भन्दा सेवालाई पहिलो प्राथमिकता दिन्छु र चाडपर्वमा पनि काम गर्न सक्छु भनेर यो पेसामा आबद्ध हुने भएकाले उनलाई काम गर्नु नपरे हुन्थ्यो भन्ने कहिल्यै लागेन । अहिले जस्तो दसैंको सप्तमीदेखि एकादशीसम्म महाराजगञ्जतिरका कुनै पसल खुल्दैनथे । कतिपय समय भोकभोकै ड्युटी गरेको पनि माथेमा सम्झन्छिन् । त्यसमा पनि नवमीका दिन कुनै गाडी नचल्ने हुँदा डबल ड्युटी गरेका क्षणहरूसमेत छन् । उनलाई ८ वर्षको छोराले दसैंमा अफिस नजानु भन्दा भने मैले कस्तो काममा हात हालेंछु भन्ने नलागेको चाहिँ होइन ।

प्रहरीको पहिरनबाट आकर्षित भएर प्रहरी सेवामा लागेकी शान्ता राउतलाई जनताको सेवा र सुरक्षामा आनन्द लाग्छ । १४ वर्षको जागिरमा जम्मा २ पटक मात्र दसैं मानेको अनुभव उनीसँग छ । घर दोलखा र माइती रौतहट भएकी शान्ताका श्रीमान् पनि प्रहरीमै छन् । अरु समयभन्दा दसैंमा बढी ड्युटी गर्नुपर्छ भने दौडधूप पनि बढी हुन्छ । जुवा–तास खेल्ने, रक्सी खाएर झगडा हुने, दुर्घटना, चोरीजस्ता घटना पनि यही बेला बढी हुने भएकाले शान्ताजस्ता प्रहरी सेवामा भएकाहरू २४ सै घन्टा रेडी अवस्थामा बस्नुपर्ने बाध्यता छ । यद्यपि शान्ता दसैंको व्यस्त कार्यतालिका तथा दौडधूपमै बढी रमाउँछिन् । अरु बेला बढीमा ८ घन्टासम्म ड्युटी भए पनि दसैंमा २४ घन्टासम्म पनि काम गर्नुपर्ने हुन्छ । यो सेवामा आज काम गर्न मन लागेन, बहाना गर्छु भनेर पाइँदैन । आफ्नो एरियामा कुनै घटना घटिहाल्यो भने दौडी हाल्नुपर्छ । घर, परिवार तथा चाडपर्वमा अझ बढी व्यस्त हुनुपर्ने र छोरालाई समेत समय दिन नसक्दा भने किन दुवैले यही पेसा अपनाउनुपरेको होला जस्तो लाग्छ तर जनताको सुरक्षाका लागि खटिन पाउँदा आनन्द प्राप्त हुने शान्ताले बताइन् ।

एयरपोर्टको टेलिफोन एक्सचेन्जमा विगत ७ वर्षदेखि कार्यरत दृष्टिविहीन नारायणी दवाडी पनि दसैंभरि ड्युटी गर्नुपर्ने बाध्यतामा छिन् । राजधानीबाहिर बस्नेहरूले दसैंको मौका छोपेर लामो बिदा लिने हुँदा काठमाडौंमा बस्ने कर्मचारीलाई दसैंमा बढी ड्युटी दिइन्छ । त्यसैले काठमाडौं, मूलपानी बस्ने नारायणीले दसैंमा मुस्किलले बिदा पाउँछिन् । सबैजसो दसैंमा रमाइरहेका बेला आफू ड्युटीमा आउनुपर्दा कस्तो अनुभव हुन्छ भन्ने प्रश्नमा उनले सहज रूपमा भनिन्–अत्यावश्यक सेवा भएकाले आफ्नो रमाइलो र स्वार्थ मात्र सोच्नु हुँदैन । यदि त्यस्तो सोच्ने हो भने उक्त काम नै गर्नुहुँदैन । दसंैमा अरु बेला भन्दा बढी कामको चटारो हुन्छ । प्लेनको समय तथा रुट सोध्न पनि धेरै फोन आइरहेका हुन्छन् । साथै ड्युटीको कुरा, प्लेनकै सेडुअलहरू सोध्न फोन आइरहन्छ । ड्युटीमा बसुन्जेल मीठो बोलीमा र सही सूचना दिइरहनुपर्छ । उनलाई नवमीका दिन अफिस पुग्न भने अलि कठिन हुन्छ । गाडी नचल्ने हुँदा उनी बुवासँग आउने–जाने गर्छिन् । नारायणीलाई त्यही नवमीका दिन मात्र अलि कठिन लाग्ने हो अन्यथा काममा रमाउने उनलाई सबैभन्दा बढी खुसी लाग्ने समय पनि ड्युटीकै समय हो । दवाडी दसैंमा ड्युटीको आफ्नो तालिका हेरेर टीका लगाउन जाने योजना बनाउँछिन् । सानैदेखि हिन्दू सस्कार–संस्कृतिमा हुर्किएकीले पनि होला उनलाई दसैंमा निधारभरि टीका लगाउँदा आत्मबल बढेको अनुभव हुन्छ ।

कान्तिपुर एचडीकी समाचारवाचिका मृदुला खनाललाई रातो टीकामा समाचार वाचन गर्दा सारै रमाइलो लाग्छ । मृदुला भन्छिन्–सूचना दिन बसेकी हुँदा म दसैंमा आममानिसझैं बिदा बस्छु भन्ने कहिल्यै लागेन । उनका अनुसार सञ्चार माध्यम त्यसमाथि पनि टेलिभिजनको समाचार वाचनजस्तो काम गर्ने हुँदा जस्तोसुकै परिस्थिति, चाडपर्व भए पनि आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्नुपर्छ भन्ने लाग्छ । घरमा टीका लगाउन आफन्तजन आउँदा आफू समाचार भनेर आउँछु भन्दै घरबाट निस्कनुपर्दा सुरुमा अप्ठ्यारो लाग्थ्यो तर अहिले उनलाई नै आज कति बजे समाचार भन्न जानुपर्छ भनेर सोध्छन् आफन्तहरू । कहिलेकाहीँ सबै जना तास खेलेर, चंगा उडाएर, खाएर मज्जाले रमाइरहेका बेला आफू चाहिँ लुसुक्क न्युज रुम जानुपर्दा भने मन खिसिक्क चाहिँ हुन्छ । यद्यपि काममा अभ्यस्त हुँदै जाँदा अब त दसैंमा मेरो पालो नहोला कि भन्ने चिन्ता पो लाग्न थाल्छ–मृदुला हाँस्दै भन्छिन् ।

 Image