Successfully Copied

भान्सामा प्रविधिको प्रयोग

घरमा विद्युतीय राइस कुुकर भित्रिएपछि सासू–बुुहारीको झगडा बन्द भयो । राइस कुुकरको खाना एकदम नरम हुने र समयको समेत बचत हुने भएकाले अहिले यी सासू–बुहारी निकै खुसी छन् । यसबाट काम गर्न सजिलो र ग्याससमेत बचत हुने झरनाले बताइन् ।

दसैं–तिहार नजिकिँदै जाँदा निर्मला शर्मा निकै दबाब महसुस गर्छिन् । उनले निम्तोमा बोलाइएका थुप्रै पाहुनालाई मीठा परिकार ख्वाएर सत्कार गर्नुपर्छ । शर्मा भान्सामा सजिलो र छरितो ढंगले काम सम्पन्न गर्ने विभिन्न उपायको खोजीमा हुन्छिन् । त्यसैले बबरमहल बस्ने निर्मलाले भान्सामा आधुनिक सामग्री प्रयोग गर्न थालेकी छिन् । निर्मला दुई दशकअघि बुहारी भएर घर भित्रिँदा भान्सामा मसला पिस्ने सिलौटा चलाउन नसक्दाको क्षण सम्झन्छिन् ।

‘ठूलो सिलौटामा अचार पिस्न कम्ती सास्ती हुँदैनथ्यो, हात गलेर फतक्कै हुन्थे’, शर्मा भन्छिन्–‘समय पनि टन्नै लाग्थ्यो ।’ पहिलेको तुलनामा गृहिणी निर्मलालाई किचनका आधुनिक सामग्रीले भान्साको काम गर्न निकै सहज बनाएको छ । अहिले उनले सिलौटाको साटो मसला पिस्न मिक्सर प्रयोग गर्दै आएकी छिन् । उनी मिक्सरलाई मसला पिस्ने उपयोगी सामग्री मान्छिन् । मसलादेखि फलफूलको जुससम्म बनाउन सकिने हुँदा मिक्सर भान्सामा नभई नहुने सामग्री हो । निर्मलाजस्तै गृहिणीहरू भान्सामा नयाँ प्रविधिका बारेमा जानकार नहुँदा अझै पनि भान्सामा पुरानै शैलीमा काम गरिरहेका छन् ।

दसैं–तिहार नजिकिँदै जाँदा बजारमा अहिले विभिन्न प्रकारका उपकरण भित्रिएका छन् । भान्सामा धेरै चलन–चल्तीमा रहेका राइस कुकर, इलेक्ट्रिक चिम्नी, रेफ्रिजिरेटर, ओवर टोस्टर आदि सामग्री गृहिणीहरूका लागि वरदान साबित भएका छन् । दसैं–तिहारजस्ता चाडमा व्यवसायीहरूले विभिन्न सामग्रीमा छुट तथा केही अफरसमेत दिन्छन् । यस्ता सामान प्रयोग गर्दा गृहिणीहरूलाई केही राहत हुनुका साथै काम गर्नसमेत सजिलो र छरितो भएको छ ।

बानेश्वरकी प्रमिला थापा सरकारी सेवामा छिन् । उनी अफिसबाट घर फर्कदा सधै तरकारीको झोला बोकेर आउनुपर्दा दिक्क मान्थिन् । ढिलो हुँदा तरकारी फ्रेस नहुने हो कि भन्ने चिन्ता हुन्थ्यो । उनले एक वर्षदेखि सामसुङ कम्पनीको डबल डोर फ्रिज चलाउँदै आएकी छिन् । अहिले उनलाई तरकारी भण्डारण गर्न सजिलो भएको छ ।

‘पटक–पटक तरकारी किन्ने फुर्सद हुँदैन, बरू तीन दिनका लागि एकैपटक किन्छु,’ थापा भन्छिन्–‘फ्रिजकै कारण तरकारी सञ्चित गर्न सजिलो भएको छ ।’ यद्यपि विमला श्रेष्ठसँग भने फ्रिज चलाएको तीतो अनुुभव छ । उनका श्रीमान्ले फ्रिज किनिदिए । सुरुमा नयाँ प्रविधिको सामग्री चलाउन रमाइलो लाग्यो । काठमाडौंको चिसो मौसममा भने फ्रिज खासै आवश्यक नभएको उनको अनुभव छ । कहिलेकाहीँ आवश्यक पर्दा चलाउने फ्रिज अहिले विमलाले थन्काएर राखेकी छिन् । यद्यपि दसैं–तिहारजस्ता पर्वमा मासु, तरकारी आदिलाई लामो समयसम्म फ्रेस

राख्न फ्रिज अति आवश्यक हुने विमलाले बताइन् । बुद्धनगरकी सरस्वती अर्याल करिब बीस वर्षदेखि नियमित रूपमा भान्साको काममा खटिँदै आएकी छिन् ।

भान्साबाट निस्कने धूवाँ, खार एवं चिल्लो पदार्थका कारण उनको खोकी दिनप्रतिदिन बढ्दै गयो । उनी सास फेर्न समेत कठिन हुने अवस्थामा पुुगिन् । अन्तत: उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्‍यो । अहिले उनी नियमित रूपमा औषधि सेवन गरिरहेकी छिन् । भान्सामा काम गरेकै कारण आफू रोगी भएको बताउने अर्यालले अहिले भान्सामा विद्युतीय एयर फिल्टर जडान गरेकी छिन् । यसले भान्साबाट निस्कने धूवाँ, खार एवं चिल्लो पदार्थ सोस्ने भएकाले स्वास्थ्यमा क्षति पुग्न पाउँदैन भन्ने उनको विश्वास छ । यसका सम्बन्धमा पहिले नै जानकारी भएको भए सम्भवत: म रोगी हुन्नथें अर्याल भन्छिन्–‘म त अनजान भैहालें तर अहिले प्रविधिको धेरै विकास भैसकेको छ । अबका गृहिणीले भान्साका कारणले रोगी बन्नु पर्दैन ।

९० वर्षकी इन्दिरा देवीलाई खाने बेलामा सधै समस्या हुन्थ्यो । सबै दाँत झरिसकेका हुनाले उनलाई खाना चपाउन मुस्किल पथ्र्यो । उनकी बुहारी झरनासँग खाना खाने समयमा सधै झगडा हुन्थ्यो । प्रेसर कुकरको खाना सारो भएको भन्दै उनी बुहारीसँग गनगन गरिरहन्थिन् । घरमा विद्युतीय राइस कुुकर भित्रिएपछि सासू–बुुहारीको झगडा बन्द भयो । राइस कुुकरको खाना एकदम नरम हुने र समयको समेत बचत हुने भएकाले अहिले यी सासू–बुहारी निकै खुसी छन् । यसबाट काम गर्न सजिलो र ग्याससमेत बचत हुने झरनाले बताइन् । भान्सामा प्रयोग हुने यस्ता विद्युतीय सामानहरूले गृहिणीहरूको दैनिकी नै परिवर्तन गरेको झरनाको अनुुभव छ ।

२०७२ साल असोजमा भारतले नेपालमा नाकाबन्दी लगाएको थियो । त्यतिबेला भारतीय सामानमा निर्भर नेपालीहरूको दैनिकी निकै अस्तव्यस्त भयो । देशमा पेट्रोल, ग्यासको त हाहाकार नै मच्चियो । कोटेश्वर बस्ने राधा क्षेत्रीको घरमा ग्यास सकियो । बजारमा कतै पनि ग्यास उपलब्ध थिएन । घरमा खाना पकाउने स्थिति थिएन । उनी ग्यासको खोजीमा भौंतारिरहेकी थिइन् । यही क्रममा छिमेकीले विद्युत्बाट सञ्चालन गर्न सकिने इन्डक्सन चुल्होका बारेमा जानकारी दिए । उनले तत्काल इन्डक्सन चुल्हो खरिद गरिन् । अहिले क्षेत्रीलाई घरमा ग्यास भए–नभएको चिन्ता हुन छोडिसकेको छ । उनले खाना पकाउन ग्यासभन्दा सजिलो र छिटो भएको महसुुस गरेकी छिन् । राधा भन्छिन्–‘ग्यासको अभाव भैरहन्छ, तर

इन्डक्सन

चुल्हो भएपछि कुनै चिन्ता लाग्दैन घरमा खाना पाकिहाल्छ ।’

अहिलेको समयमा भान्सामा तयार गरिने नास्तादेखि खाना, खाजा सबै विद्युतीय उपकरणबाट बन्ने गरेका छन् । शान्तिनगरकी शोभा श्रेष्ठले टोस्टर किनेकी छिन् । उनको घरमा बिहानको नास्ताका रूपमा जाम–पाउरोटी प्रयोग हुन्छ । दैनिक ग्यासमा तताउनुुपर्ने र समय लाग्ने कारणले उनले विद्युत्बाट चल्ने टोस्टर खरिद गरेकी हुन् । अहिले उनको घरमा पाउरोटी तताउन सहज भएको छ ।

अहिलेको समय प्रविधिको समय हो । प्रविधिको प्रयोगले कामलाई सरल र सहज बनाउँछ । अहिलेका गृहिणीहरू भान्सामा आधुनिक सामग्री प्रयोग गर्न थालेका छन् भने भान्साका आधुनिक सामग्रीहरूको माग निकै बढेको छ । अहिले हामीले चीन, मलेसिया तथा भारतबाट सामान आयात गरिरहेका छौं । गृहिणीहरूको अहिलेको माग भनेको राइस कुकर, इलेक्ट्रिक चिम्नी एवं मिक्सर हो । अहिले आधुनिक भान्साका सामग्रीहरूले गर्दा गृहिणीहरूलाई निकै सहज बनाइरहेको छ । अहिले पहिलेको जस्तो दसैं–तिहारमा मात्र सामान किन्ने चलन छैन । अहिले हरेक ठाउँमा पसल छन् र ग्राहकहरूले आवश्यकताअनुसार ती सामान कुनै पनि समयमा खरिद गर्न सक्छन् । तैपनि चाडपर्वमा अरु बेलाको तुलनामा केही बढी सामान खरिद–बिक्री हुन्छ ।

अमित टापरिया

म्यानेजर इलेक्ट्रोन इन्टरनेसनल, टेकु

भान्सामा आधुनिक सामग्री प्रयोग गर्ने गृहिणीको संख्या अहिले पनि एकदमै कम छ । परम्परागत चुल्होमा काम गर्ने गृहिणीहरूमा धूवाँ, धूलोको समस्याबाट श्वासप्रश्वाससम्बन्धी रोग देखा परेको छ । भान्सामा आधुनिक सामग्रीको प्रयोगबाट भने स्वास्थ्यमा खासै असर परेको पाइँदैन । यद्यपि यस्ता विद्युतीय सामग्री प्रयोग गर्दा पर्याप्त सुरक्षा सावधानी अपनाउनुपर्छ ।

डा.नूतन शर्मा

 Image