Successfully Copied

घुम्ने, खेल्ने अनि सिक्ने

सुन्धारास्थित सिभिल मलमा बालबालिकाहरूलाई लक्षित गरी ‘सेन्टर बाल संसार’ संचालनमा ल्याइएको छ । त्यहाँ डेढ वर्षदेखि १४ वर्षसम्मका बालबालिका सजिलै रमाउँछन् जहाँ थुप्रै खेलौना उपलब्ध हुन्छन् । बालबालिकाले त्यहाँ खेल्दाखेल्दै मनोरञ्जनका साथै विभिन्न प्रकारको शिक्षासमेत लिन सक्छन् । ब्लग सेक्सनमा राखिएका खेलौनामा बालबालिकाले

बालबालिकाहरू चुलबुले स्वभावका हुन्छन् । उनीहरू एकै ठाउँमा स्थिर भएर बस्न चाहँदैनन् । यो चञ्चले उमेरमा जोकोही घुम्न, खान र रमाइलो गर्न बढी रुचाउँछन् । त्यसैले बालमनोविज्ञान बुुझेर अचेल सहरका विभिन्न स्थानमा घुम्ने, खेल्ने वातावरण सिर्जना गर्न थालिएको छ । खासगरी सहरी क्षेत्रमा स्थापित सपिङ मलहरूमा बालबालिकाका लागि खेल्न योग्य स्थान अनिवार्य रूपमा छुट्याइन थालेको छ ।

किनमेल गर्न अभिभावकसँग आएका बालबालिकाहरू समयको सदुपयोग गर्दै मलका यी गेम जोनमा रमाउँछन् । सुुन्धारास्थित सिभिल मलमा बालबालिकाहरूलाई लक्षित गरी ‘सेन्टर बाल संसार’ संचालनमा ल्याइएको छ । त्यहाँ डेढ वर्षदेखि १४ वर्षसम्मका बालबालिका सजिलै रमाउँछन् जहाँ थुप्रै खेलौना उपलब्ध हुन्छन् । बालबालिकाले त्यहाँ खेल्दाखेल्दै मनोरञ्जनका साथै विभिन्न प्रकारको शिक्षासमेत लिन सक्छन् । ब्लग सेक्सनमा राखिएका खेलौनामा बालबालिकाले कलर, अक्षर तथा गणितका अंक खेल्दाखेल्दै सिक्छन् । त्यस्तै घोडा, स्लाइड एवं बलहरूसँग खेलिने रमाइला गेम पनि सिभिल मलमा छन् । प्राय: शनिबार बालबालिकाको चाप बढ्ने सेन्टर बाल संसारकी सुपरभाइजर अस्मिता रोका बताउँछिन् ।

 ‘केटाकेटीहरू खेल्दाखेल्दै यति रमाउँछन् कि घर फर्किनै मान्दैनन्’, अस्मिताले भनिन्, ‘उनीहरू आ–आफ्नै तरिकाले खेलमा इंगेज हुन्छन् ।’ ९ वर्षदेखि सञ्चालनमा रहेको बाल संसारको उद्देश्य बालबालिकालाई रमाइलोसँग खेलाउने र खेलकै माध्यमबाट शिक्षासमेत प्रदान गर्ने भएको अस्मिताले बताइन् । सहरका कोठाका सीमित परिधिमा बस्ने बालबालिकाले खुलेर खेल्ने ठाउँ पाएका हुँदैनन् । उनीहरू मनोमानी तरिकाले खेल्न तथा उफ्रन चाहन्छन् जुन अभिभावकले चाहेर पनि उपलब्ध गराउन सकिरहेका हुँदैनन् । यस्ता बालबालिकालाई उपयुक्त खेल मैदान आवश्यक भएको अस्मिताको धारणा छ ।

कोटेश्वरकी उर्मिला बस्नेत शनिबार प्राय: छोरालाई समय दिन्छिन् । शनिबार स्कुल बिदा हुने भएकाले छोराहरूको मन खुसी पार्न बालसंसार ल्याउने उनले बताइन् । दुुई छोराकी आमा उर्मिलाले बालबालिकाको मुड फ्रेस राख्न उनीहरूलाई बाल उद्यान लानुु उपयुक्त हुने बताइन् । बागबजारकी आर्या श्रेष्ठ पनि सपिङ गर्न मलमा आउँदा दुई वर्षकी छोरीलाई सँगै ल्याउँछिन् । त्यहाँ छोरीलाई खेल्न र उनका लागि किनमेल गर्न सहज हुन्छ ।

आर्या धेरैजसो कमलपोखरीस्थित सिटी सेन्टर पुग्छिन् । त्यहाँ बालबालिका लक्षित गेम जोनसमेत छ । धेरै बालबालिका भिडियो गेम खेल्न तथा घोडा चढ्न रुचाउने उनले बताइन् । गेम जोनका म्यानेजर राम श्रेष्ठ काठमाडौंको सबैभन्दा ठूलो गेम जोन सिटी सेन्टरकै भएको दाबी गर्छन् । २०६६ सालदेखि सञ्चालनमा आएको उक्त गेम जोनमा २ वर्षदेखि १६ वर्षसम्मका बालबालिका खेल्न मिल्ने खेल छन् । सपिङ गर्न, फिल्म हेर्न वा घुम्न आउँदा फुर्सदको सदुपयोग गर्नुपर्‍यो भने गेम जोन प्रभावकारी साबित हुने श्रेष्ठले बताए । श्रेष्ठका अनुसार, इन्डोर गेमका लागि यो अत्यन्त उपयुक्त स्थान मानिन्छ । त्यस्तै साना बालबालिकालाई लक्षित गरी इनडोर रेल तथा बम्बर कारहरू राख्नुपर्ने आवश्यकता छ । ‘धेरै माग आएको छ, यी गेमको’, उनले भने, ‘हामी छिट्टै गेम थप्दैछौं ।’ इनडोर गेमका केही आफ्नै किसिमका फाइदा छन् । यसमार्फत बालबालिकाहरू बाहिरको धूलो, धूवाँ, घामपानी तथा प्रदूषणबाट जोगिन सक्छन् । हेल्दी तरिकाले खेल्न मिल्ने हुँदा इनडोर गेम प्रभावकारीसमेत हुन्छ । कुपन्डोलका सन्तोष थापालाई श्रेष्ठले भनेका कुरा जायज लाग्छन् । सहरको बढ्दो प्रदूषणबाट जोगाएर बालबालिकालाई मनोरञ्जन प्रदान गर्नु चुनौतीपूर्ण छ । सन्तोष यस्तो परिस्थितिमा आफ्ना छोराछोरीलाई मलमा भएका बालमैत्री खेल स्थानमा पुर्‍याउँछन् ।

आउट डोर बाल उद्यान

बालबालिकाहरूलाई छुट्टीका बेला बाहिरी प्राकृतिक सौन्दर्य देखाएर खेलाउन सकिन्छ । काठमाडौंमा आउड डोर बाल उद्यान सीमित छन् । अहिले चन्द्रागिरि हिल्सस्थित बाल उद्यान बालबालिकाको रोजाइमा पर्न थालेको छ । पहाड, जंगल तथा चिसो हावापानीसहितको मौसम देखेर बालबालिका यत्तिकै पनि रमाइलो महसुस गर्छन् भने त्यहाँ उनीहरूका लागि निर्मित नि:शुल्क बाल उद्यान अझ आकर्षक छ । चन्द्रागिरि हिल्सका म्यानेजर अभिषेक विक्रम शाहले बालबालिकामा खेलप्रति मोह बढाउन बाल उद्यानको प्रवेश नि:शुल्क गरिएको बताए । प्राकृतिक, सांस्कृतिक एवं धार्मिक तीनवटै पक्ष चन्द्रागिरिमा पाइने उनको दाबी छ । बालबालिकाहरू प्राकृतिक वातावरणमा खेल्न पाउँदा बढी रमाइलो मान्छन् । यहाँ घना जंगल छ । रुख, बिरुवा तथा वनस्पतिका बारेमा जिज्ञासु बालबालिकाले हेरेरै प्रशस्त जानकारी लिन सक्छन् । अझ चन्द्रागिरिमा वास्तविक घोडाको सवारीसमेत गर्न पाइने अभिषेकले बताए । त्यसका लागि हिमाली क्षेत्र मुगुबाट घोडा ल्याइएको छ । ‘बालबालिकाहरू वास्तविक घोडा हेरेर अत्यन्त रमाइलो मान्छन्,’ शाहले भने–‘हामीले बालमनोभाव बुझेरै बाल उद्यान निर्माण गरेका हांै ।’

 काठमाडांै फन भ्याली, काठमाडौं फन पार्क, टोखा केवा वाटर पार्क, हुपी ल्यान्ड एन्म्युजमेन्ट एन्ड वाटर पार्क आदि जहाँकहीँ बालबालिकाहरू रमाउन सक्छन् । भक्तपुरस्थित काठमाडौं फन भ्यालीमा सानादेखि ठूलासम्मलाई अनुकूल हुने खेल सामग्री राखिएका छन् । हेलिकप्टर, कार, ड्राइगन, कोलम्बस आदि खेलौनामा केटाकेटीहरू बढी रमाउँछन् । उनीहरूका लागि अझ विशेष खेलौना पानीको छालसहितको स्ल्याडर तथा म्युजिकल वाटर हुन् । केटाकेटीहरू पानीमा खेल्न पनि उत्तिकै रुचाउँछन् । काठमाडौंमा पानीको अभाव तथा साँघुरो बस्तीका कारण बालबालिकाहरू खुलेर पानीसँग खेल्न पाउँदैनन् । काठमाडौं फन भ्यालीले यही चाहना पूरा गर्न विशेष जोड दिएको छ । फन भ्यालीकी कर्मचारी अनिता खत्रीका अनुसार पानीसँग खेल्न चाहने बालबालिकाहरूको चाप बढी हुन्छ । टोखास्थित टोखा केवा वाटर पार्क स्वीमिङका लागि विशेष मानिन्छ । यहाँ सानादेखि ठूलासम्मलाई लक्षित गरी स्वीमिङ पुल बनाइएको छ ।

 त्यहाँ डेढ फिटदेखि ७ फिटसम्म गहिरा तीनवटा स्वीमिङ पुल भएको पार्ककी कर्मचारी लक्ष्मी महर्जनले बताइन् । परिवारसँग आउन मिल्ने उक्त पार्कमा खानपिनको उपयुक्त व्यवस्था भएको लक्ष्मीले जानकारी दिइन् । ‘दिनभरि पौडी खेलेपछि भोक लागे खानपिनका लागि बाहिर कतै जानु पर्दैन’, महर्जन भन्छिन्, ‘हामी स्वस्थ परिकार उपलब्ध गराउँछौं ।’ स–साना नानीहरू खेल्न जति रमाइलो मान्छन् उति नै खाने कुरा माग गर्छन् । उनीहरूको स्वास्थ्यको ख्याल गरी परिकार तयार गरिने लक्ष्मीले बताइन् । बालबालिकाहरूको वृत्ति विकासका लागि आउट डोर खेललाई प्रभावकारी मानिँदै आएको छ । भैंसेपाटीकी मालिनी प्रजापति बालविकासमा घुमघामले सकारात्मक प्रभाव पार्ने कुरा बताउँछिन् । त्यसैले उनी आफ्ना छोराछोरीलाई सकेसम्म प्राकृतिक सौन्दर्य अनुभव गर्न सकिने ठाउँहरू घुमाउन चाहन्छिन् ।

त्यसमध्ये भृकुटीमण्डपस्थित काठमाडौं फन पार्क उनका लागि सबैभन्दा सहज गन्तव्य भएको छ । बन्द कोठामा बस्ने बानी भएका बालबालिकालाई धेरै मानिससँग घुलमिल गराउन पनि बाहिर घुमाउन लानुपर्ने मालिनीले बताइन् । बालबालिकाहरूको चाहना जंगली जनावरको जीवनशैली बुझ्ने पनि हुन्छ । यस्ता प्रकृतिका बालबालिकालाई छुट्टीका बेला चिडियाखाना घुमाउन सकिन्छ । उनीहरू त्यहाँ जंगली जनावर हेरेर रमाइलो मान्छन् अनि जनावरहरूको नाम थाहा पाउनसमेत सजिलो हुन्छ । अझ पुस्तकको चित्र देखाएर जनावरको नाम सिकाउनुभन्दा प्रत्यक्ष जुमा गएर जनावर देखाउँदै जानकारी दिनु बढी प्रभावकारी हुन्छ । दसैं–तिहारको बिदामा पनि बालबालिका यसरी घुम्दै, खेल्दै अनि रमाउँदै नयाँ कुरा सिक्न सक्छन् ।

 

 Image