Successfully Copied

कुन देशमा के खाने ?

नेपालीहरूमा भ्रमणप्रति रूचि बढ्दै गएको छ । आफ्नो हैसियतअनुसार स्वदेश वा विदेशको भ्रमणमा निस्कने नेपालीहरूको संख्या निकै छ । अझ लामो बिदा हुने चाडपर्वको समयमा अधिकांश नेपाली स्वदेश वा विदेशको भ्रमणमा निस्किरहेका हुन्छन् ।

नेपालीहरूमा भ्रमणप्रति रूचि बढ्दै गएको छ । आफ्नो हैसियतअनुसार स्वदेश वा विदेशको भ्रमणमा निस्कने नेपालीहरूको संख्या निकै छ । अझ लामो बिदा हुने चाडपर्वको समयमा अधिकांश नेपाली स्वदेश वा विदेशको भ्रमणमा निस्किरहेका हुन्छन् । भ्रमणमा त्यहाँको दृश्य हेरेर मात्र पुग्दैन । यदि त्यहाँको जीवनशैली र खानपिनलाई पनि नजिकबाट अनुभव गर्न सकियो भने भ्रमण थप अविस्मरणीय हुन्छ ।

तोम याम गोङ

थाइल्यान्डको भ्रमणमा जाने योजना बनाउनुभएको छ भने त्यहाँ तोम याम गोङ खान नबिर्सनुहोला । थाईहरू खाने–पिउने मामिलामा समृद्ध छन्, त्यसमध्ये पनि तोम याम गोङलाई अझ स्वादिलो मानिन्छ । यो परिकार हेर्दा जति आकर्षक देखिन्छ यसको स्वाद र वासना उत्तिकै लाजवाफ हुन्छ । परम्परागत रूपमा पकाइँदै आएको यो परिकारमा लेमन ग्रास, खुर्सानी, कागतीको पात, माछाको ससलगायत धेरै किसिमका स्थानीय जडीबुटी तथा मसला प्रयोग गरिन्छ । सुपका रूपमा रहने तोम याम गोङमा च्याउ तथा झिंगे माछा पनि हालिएको हुन्छ जसका कारण यसबाट आउने सुगन्ध निकै लोभलाग्दो हुन्छ । यो परिकार जुनसुकै समयमा खान सकिन्छ ।

बाक कुत ती

सिंगापुरको लोकप्रिय परिकार हो–बाक कुत ती । यो परिकारको जन्मको कथा पनि निकै रोचक छ । धेरै वर्ष पहिले सिंगापुरको एक होटलको बाहिर एकजना माग्ने दिनहुँ खाना माग्न आउँथ्यो । खाना खाने उक्त होटल राम्रोसँग नचलिरहेको अवस्थामा होटल मालिकले माग्नेलाई रित्तो हात नफर्काउने सोचका साथ होटलमा बचेको बंगुरको करङको हड्डीमा सस्तो खालको मसला हालेर सुप बनाएर दिन्थे । उक्त सुपलाई ती माग्नेले निकै मीठो मानेर खान थाले । सुप कस्तो भएछ भनेर होटलवालाले खाँदा उनलाई पनि त्यो अति मीठो लाग्यो । बंगुरको करङको हड्डीमा मसला हाल्दा सुपको रंग चियाको जस्तो भएका कारण यसलाई मासुको चिया पनि भनिन्छ । सिंगापुर विकासका क्रममा रहेको अवस्थामा आएको यो खाना अहिले सिंगापुरियनहरूको मुखमै झुन्डिएको छ । यदि सिंगापुर घुम्न जाँदै हुनुहुन्छ र बंगुरको मासु खाने गर्नुभएको छ भने यो सुप चाहिँ नछुटाउनुहोला ।

नासी दगाङ

नेपालीहरूको सर्वाधिक प्रिय खानेकुरा भात नै हो । यदि मसेलिया जानुभयो भने त्यहाँ पाइने भातको परिकार नासी दगाङ चाख्न नबिर्सनुहोस् । मलेसियाको पूर्वी भागमा धेरै नै लोकप्रिय नासी दगाङलाई मेन कोर्सकै रूपमा खान सकिन्छ । यो खाना नरिवलको दूधमा पकाइएको भातमा माछाको तरकारी, कोरेर तारेको नरिवल, उसिनेको अण्डा तथा अचारसँग सर्भ गरिन्छ । हल्का गुलियो भातमा नुनिलो खानाको मिश्रण भएका कारण मलेसियनहरूमा पनि यो परिकार लोकप्रिय छ ।

चिलो कबाब

यो परिकारको उत्पत्ति इरानमा भएको हो । सन् १७९४ मा इरानमा शासन सम्हालेका क्वाजार राजवंशको समयताका यो परिकारको उत्पत्ति भएको मानिन्छ । इरानमा नेपालीहरू कमै घुम्न जाने हुनाले यो परिकारको स्वाद दुबई घुम्न गएका बेला लिन सकिन्छ । इरानको राष्ट्रिय खानाकै रूपमा रहेको यो परिकारमा भात, खसी वा भेंडाको मासुको कबाब, कबाब बनाउँदा पोलेको गोलभेंडा, घिउ र सलादहरू हुन्छन् । खसी वा भेंडाको मासुको किमामा विभिन्न मसला हाली झिरमा उनेर गोलमा पोली कबाब तयार पारिन्छ । उक्त कबाबलाई भातसँग सर्भ गरिन्छ । भातमा घिउ हालिएको हुन्छ भने यो परिकारका साथ मोहीसमेत सर्भ गरिन्छ । भातको तिर्सना मेट्न वा नयाँ स्वाद लिन चाहनेहरूले दुबईमा यो परिकार चाख्नैपर्छ ।

अम्बुल थियाल

श्रीलंकाको भ्रमणमा जानेहरूले एकपटक खानैपर्ने परिकार फिस अम्बु थियाल पनि हो । अझ श्रीलंकामा पाइने माछामा बनाइएको अम्बुल थियालले धेरै पर्यटकलाई लोभ्याइरहेको हुन्छ । समुद्रमा पाइने माछालाई पिरो पारी पकाइएको यो परिकार भातसँग खाँदा बढी स्वादिष्ट हुन्छ । समुद्रमा पाइने ट्युना माछालाई क्युव आकारमा काटेर मरिच, दालचिनी, बेसार तथ लसुनको पेस्टमा पानी सुक्ने गरी पकाइएको हुन्छ । यो परिकारमा स्थानीय फल गोराका हालिएका कारण माछा केही अमिलो हुन्छ । यो माछामा हालिने मसलालाई पकाएर सुकाइन्छ जसका कारण माछा हल्का ग्रेभी मात्र हुन्छ । यो माछा भातसँग मुछेर खाँदा अझ स्वादिलो हुन्छ ।

क्र्याब सेक सेक

गंगटाको मासु खानेहरूले भारतको गोवा पुगेपछि क्र्याब सेक सेक चाख्नैपर्ने हुन्छ । गंगटाको सबैभन्दा मीठो परिकार गोवामा तयार पारिने क्र्याब सेक नै भएको पारखीहरू बताउँछन् । यसमा सामुद्रिक जीव गंगटो मात्र प्रयोग गरिन्छ । नरिवल, बेसार, धूलो खुर्सानीको पेस्टमा गंगटालाई मोलेर तेलमा तारेर पकाइन्छ । यसरी पकाइएको गंगटालाई नरिवलको दूध, भिनेगर, मसला तथा नुनमा पकाउँदै ग्रेभी बनाइन्छ । उक्त ग्रेभी भात वा रोटिसँग खाँदा निकै स्वादिष्ट हुन्छ ।

हाँसको रोस्ट

चिनियाँ परिकारमा हाँसको मासु निकै लोकप्रिय छ । यदि तपाईं हङकङ घुम्न जाँदै हुनुहुन्छ भने त्यहाँ हाँसका जुनसुकै परिकार पनि चाख्न सक्नुहुन्छ । हाँसको परिकार बनाउनेमा हङकङको काम रोस्ट गोसको ख्याति अन्तर्राष्ट्रिय क्षेत्रसम्मै छ । उक्त रेस्टुराँमा हाँसको परिकार खान लाइन लाग्नुपर्छ । लामो धैर्यपछि जब अगाडि आएको हाँसको रोस्ट चाखिन्छ तब जोकसैलाई आफूले कुरेर ठीक गरेछु भन्ने लाग्छ ।

मार्तबाक

इन्डोनेसियामा पाइने मार्तबाक दुई किसिमको हुन्छ । एउटा गुलियो र अर्को नुनिलो । गुलियो मार्तबाक चाहिँ त्यहाँ बढी लोकप्रिय छ । इन्डोनेसियाको प्यान केकका रूपमा ख्याति कमाएको यो स्थानीय गुलियो परिकारमा चकलेट, चीज तथा बदामको मिश्रण हुन्छ । यो परिकार साँझ मात्र बिक्री हुने हुँदा साँझकै समयमा मात्र खान पाइन्छ । मार्तबाकमा अण्डा र मासु पनि हाल्ने चलन छ । यद्यपि यो परिकार शाकाहारी र मांसाहारी दुवैलाई हुने किसिमले तयार पारिन्छ ।

 Image