Successfully Copied

घुमघामका लागि पोखरा आसपास

पोखरा पुग्ने पर्यटकको ध्यान कास्कीका सुन्दर गाउँहरूले समेत खिच्न थालेका छन् । कास्कीका गाउँ भौगोलिक रूपमा त्यति विकटसमेत नभएकाले पनि बर्खायामबाहेक अन्य समयमा पुग्न सहज छ ।

घुम्न तथा नयाँ कुराको जानकारी लिन उत्सुक आन्तरिक एवं बाह्य पर्यटक पोखरा पुग्छन् । केही वर्षअघिसम्म पोखरा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सहरमै केन्द्रित हुन्थे । पोखरा पुग्ने पर्यटकको ध्यान कास्कीका सुन्दर गाउँहरूले समेत खिच्न थालेका छन् । कास्कीका गाउँ भौगोलिक रूपमा त्यति विकटसमेत नभएकाले पनि बर्खायामबाहेक अन्य समयमा पुग्न सहज छ । 

सिक्लेस

कास्कीको सुन्दर गाउँ हो–सिक्लेस । मादी गाउँपालिकामा पर्ने यो गाउँ पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । गुरुङ कला–संस्कृतिको जीवन्त अनुभव गर्न पाइने सिक्लेस गाउँ लमजुङ हिमालको काखमा अवस्थित छ । करिब ४ सय घरधुरी भएको यो गाउँ झुप्प परेर बसेको छ । समुद्री सतहबाट २ हजार मिटरको उचाइमा रहेको यो गाउँबाट डेढ घन्टा उकालो चढेपछि मनमोहक रिसिङ डाँडा पुगिन्छ । गुरुङ संस्कृतिको धनी सिक्लेसमा चरा तथा वन्यजन्तु प्रेमीहरूसमेत रमाउन सक्छन् । 

नेपालकै ठूलो गुरुङ बस्तीका रूपमा रहेको यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस इको ट्रेकभित्र पर्छ । कला–संस्कृति जगेर्नाका लागि यहाँ बेलाबेलामा मेला–महोत्सवहरू आयोजित गरिन्छ । यहाँका दुईवटा टावरबाट सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । सिक्लेसमा पर्यटकहरूलाई आमा समूहमार्फत स्वागत गर्ने चलन छ ।

पोखरा महानगरपालिका, काहुँखोलाबाट ३८ किलोमिटर उत्तरस्थित सिक्लेस पदयात्रा, जिप वा बसबाट पुग्न सकिन्छ । काहँु खोलाबाट बस तथा जिपमा ढाडबेंसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली तथा पार्चे हुँदै जिपबाट सिक्लेस पुग्न झन्डै ४ घन्टा लाग्छ । गुरुङ संस्कृतिको अध्ययनका लागि सिक्लेस ईको म्युजियम पनि महत्वपूर्ण अंग बन्ने गरेको छ । संग्रहालयमा गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परा झल्काउने सामग्री अवलोकन गर्न सकिन्छ । सग्रहालयमा सिक्लेस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले तथा यार्सागुम्बाजस्ता जडीबुटीसमेत राखिएको छ । 

सिक्लेसमा खान–बस्नका लागि स्थानीय बासिन्दाले सञ्चालन गरेका १५ घरमा होमस्टे तथा १२ वटा होटल उपलब्ध छन् । यहाँ एक दिन बास बस्न १ हजार २ सय रुपैयाँ भए पुग्छ । त्यति पैसामा बेलुकाको खाना, बिहानको ब्रेकफास्ट तथा खानाका साथै बासमेत पाइन्छ । यहाँ स्पेसल लोकल अर्गानिक खाना, ढिँडो खान पाइन्छ ।

घान्द्रुक

कास्की जिल्ला अन्नपूर्ण गाउँपालिकामा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुक गाउँ पोखरा घुम्न आउने पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ । घान्दु्रकमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह ताल आदि छन् । पोखराको टुँडिखेल, हरिचोकबाट जिप वा बसबाट किम्चेसम्म जान सकिन्छ । प्रतिव्यक्ति ३ सय ३० रुपैयाँमा जिपमा लगभग ३ घन्टामै त्यहाँ पुगिन्छ । बसमा जाँदा २ सय ५० रुपैयाँ तिर्नुपर्छ । बस अथवा जिपबाट ओर्लेपछि त्यहाँबाट झन्डै एक घन्टाको उकालो पैदल यात्रापछि घान्द्रुकको मुख्य गाउँ पुगिन्छ । पैदल यात्रामा ठूला–ठूला झरना, पानीघट्ट, गाउँको हरियाली तथा घान्द्रुक पारीको गाउँ लान्द्रुकका मनोरम दृश्यको मज्जा लिन सकिन्छ । 

घान्द्रुकमा झन्डै ५० वटा होटल छन् भने होमस्टे समेत सञ्चालनमा छन् । यहाँ होटलको आँगनबाट माछापुच्छ्रे तथा अन्नपूर्ण हिमालका शृंखला मज्जाले हेर्न सकिन्छ । यहाँ पुगेर बिहानको चिया–नास्तापछि गाउँ घुम्नुको मज्जा लिनुपर्छ । तपार्इं हिँड्न सक्नुहुन्छ भने झन्डै ३ घन्टाको पैदलयात्रा गरी छोमरोङ पुगेर हिमाल आदि प्राकृतिक दृश्य नजिकबाट नियाल्न सकिन्छ । यहाँ एटेच बाथरुमसहितको रुममा एक रात बसेको बेलुकाको खाना तथा बिहानको ब्रेकफास्ट सहित प्रतिव्यक्ति १ हजार रुपैयाँ लाग्छ । सिजनमा घान्द्रुक पुग्ने आन्तरिक तथा बाह्य पर्यटक भीड अत्यधिक हुन्छ । ट्रेकिङ रुटसमेत भएकाले यो बाटो भएर अन्नपूर्ण बेस क्याम्पसमेत पुग्न सकिन्छ ।

धम्पुस

पोखराबाट नजिकको दूरीमा पर्ने सुन्दर ठाउँ हो–धम्पुस गाउँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने यो गाउँबाट हिमाल आदि प्राकृतिक दृश्य नियाल्न पाइन्छ । पर्यटकहरू यहाँ रहेका धम्पुसकोट, भुमे मन्दिर, नेवोताल बराह, सिद्घबराह मन्दिर, थाकडाँडा, तप्राङ मैदान आदि ठाउँमा समेत पुग्छन् । यहाँबाट माछापुच्छ्रे हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । त्यसका अतिरिक्त यहाँबाट धौलागिरि, हिमचुली, अन्नपूर्ण आदि हिमालको रेञ्जसमेत नियाल्न पाइन्छ । पोखराबाट झन्डै २१ किलोमिटरको दूरीमा पर्ने यो गाउँमा आफ्नै सवारी साधन हुनेहरू १ घन्टामै पुग्न सक्छन् ।

यहाँ झन्डै २५ वटा होटल सञ्चालनमा छन् । धम्पुसमा ५ सयदेखि ३ हजार रुपैयाँसम्ममा कोठा पाइन्छ । नेपाली खाना, गाउँमा पाइने अर्गानिक चिया, कफी यहाँका विशेषता हुन् । हरिचोकबाट दैनिक ८ वटा जिप तथा दुईवटा बस धम्पुस पुग्छन् । बसले १ सय तथा जिपले १ सय २० रुपैयाँ भाडा लिन्छन् । धम्पुस लालीगुराँसका लागि पनि प्रख्यात छ । यहाँ लालीगुँरास महोत्सवसमेत आयोजित गरिन्छ । भूपि शेरचन राजमार्गको घट्टेखोलाबाट एक घन्टाको पैदल यात्रापछि पनि धम्पुस पुग्न सकिन्छ । अस्ट्रेलियन बेस क्याम्प जानेहरू यही बाटो भएर हिँड्छन् । धम्पुसमा लालीगुराँस इको पार्क छ । त्यहाँको भ्यूटावरबाट पञ्चासे, पोखरा आदिका दृश्य हेर्न सकिन्छ । भ्यूटावर चढ्न विदेशीलाई ५० रुपैयाँ, नेपालीलाई २० रुपैयाँ तथा विद्यार्थीलाई १० रुपैयाँ लाग्छ । 

धिताल अस्ताम

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित अस्ताम शान्त वातावरणमा मन बहलाउन खोज्नेहरूको रोजाइमा पर्छ । पोखराको लेकसाइडबाट झन्डै २० किलोमिटर उत्तरपश्चिमको यात्रापछि अस्ताम पुग्न सकिन्छ । हेम्जाको सुइखेत तथा मर्दीखोलाबाट १ घन्टाको पैदल यात्रापछि पनि त्यहाँ पुगिन्छ भने हेम्जाको मिलनचोकबाट गाडीमा झन्डै ६ किलोमिटरको यात्रापछि पनि अस्ताम पुग्न सकिन्छ ।

यहाँबाट मनास्लु, अन्नपूर्ण, काहुँ, रूपाकोट, पोखरा उपत्यका, सेती नदी, मर्दीखोला, हेम्जा, कास्कीकोट, सराङकोट, लुम्ले, धम्पुस, ल्वाङघलेल, रिभान, लाहाचोक, घाचोक, पञ्चासेका साथै पर्वतका केही भूभाग देख्न सकिन्छ । घाम अस्ताउने बेला राम्रो देखिने भएकाले यो ठाउँको नाम अस्ताम रहेको स्थानीय बासिन्दा शिवलाल अधिकारीले बताए । अन्नपूर्ण बेस क्याम्प जाने ट्रेकिङ रुटसमेत यहीँबाट जान्छ । हेम्जा अस्ताम हुँदै अन्नपूर्ण बेसक्याम्प जानेहरू बढी हुन्छन् । यहाँ बिहान–बेलुकाको खाना, दिउँसोको खाजा, चिया पानी र कोठासहित नेपालीलाई प्रतिव्यक्ति ३ हजार ५ सय ५० रुपैयाँ शुल्क लाग्छ । 

कालाबाङ घडेरी

वि.सं. २०७१ चैतदेखि हालको पोखरा लेखनाथ महानगरपालिका–२२, पुम्दीभुम्दीमा कालाबाङ घरेडीको होमस्टे सुरु भयो । सञ्चालनमा आएको छोटो समयमै कालाबाङ घडेरी होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकको मन जित्दै आएको छ । 

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन त्यहाँका होमस्टे सञ्चालकहरू दत्तचित्त छन् । गुरुङ, ब्राह्मण तथा कथित दलितहरूको बसोबास भएको कालाबाङ घडेरीमा १८ घरधुरीमा होमस्टे सञ्चालन गरिएको छ । पोखराबाट साढे १२ किलोमिटरको दूरीमा यो होमस्टे गाउँ छ । विगतमा लाहुरे समुदायका ३ सय घर रहेको यो गाउँमा हाल १ सय ५६ घर छन् जसमध्ये ब्राह्मणका ६, गुरुङका ११ तथा कथित दलितको १ घरमा होमस्टेको सुविधा छ । 

 Image