Successfully Copied

एक्वेरियमका माछाको रेखदेख

एक्वेरियमको पानी दिनहुँ फेर्नुु हुँदैन । यस गर्दा माछा मर्न सक्छन्, यदि एक्वेरियममा फिल्टर सिस्टम छैन भने दिनहुँ १०–२० प्रतिशत पानी मात्र फेर्नुपर्छ भने फिल्टरमा एकपटकमा ३०–३५ प्रतिशत पानी फेर्नुपर्ने हुन्छ । पानीमा भएका ब्याक्टेरियाले माछा बचाउन सहयोग गर्छ ।

घरको सजावट तथा वास्तुलाई ध्यानमा राखी अहिले प्राय:जसो घरमा एक्वेरियम राख्ने चलन छ । घरमा राखिएका एक्वेरियममा पालिने माछा पनि विभिन्न थरिका हुन्छन् । कतिपय घरमा एक्वेरियमका माछाको बढी रेखदेख गर्दा पनि माछा मर्ने  समस्या हुन्छ ।

उचित सल्लाह तथा ज्ञानको अभावमा कतिपयले माछा पाल्नसम्म छोड्छन् । केही कुरामा ध्यान दिए माछालाई सजिलै लामो समय बचाउन सकिन्छ । एक्वेरियमका माछा १० वर्षसम्म बाँच्छन् । एक्वेरियममा सबैभन्दा कम बाँच्ने माछा किन्निफिस हो भने सबैभन्दा लामो आयु गोल्ड फिसको हुन्छ । 

एक्वेरियमको पानी दिनहुँ फेर्नुु हुँदैन । यस गर्दा माछा मर्न सक्छन्, यदि एक्वेरियममा फिल्टर सिस्टम छैन भने दिनहुँ १०–२० प्रतिशत पानी मात्र फेर्नुपर्छ भने फिल्टरमा एकपटकमा ३०–३५ प्रतिशत पानी फेर्नुपर्ने हुन्छ । पानीमा भएका ब्याक्टेरियाले माछा बचाउन सहयोग गर्छ । त्यसकारण पूरै पानी फेर्दा समस्या निम्तिन सक्छ ।

एक्वेरियमका माछामा लाग्ने रोग, लक्षण तथा उपचार

फिन रोट

यो सामान्यत: सबैजसो एक्वेरियमका माछामा देखिने रोग हो । माछाको संख्या धेरै हुनु, दूषित पानी तथा अस्वस्थ खाना यसका प्रमुख कारण हुन् । माछाका पखेटाबाट रगत बगेजस्तो हुनु, सेतो रंग देखिनु, पखेटाबाट छाला उप्किनु यो रोगको प्रमुख लक्षण हो । पानी फेर्नु, एक्वेरियममा नुन हाल्नु तथा एन्टिबायोटिकको प्रयोग यो समस्याको समाधान हो ।

स्विम ब्लाडर समस्या

यो समस्या धेरैजसो वेटास तथा गोल्डफिसमा देखिन्छ । यो समस्यामा माछाको पेट ठूलो देखिन्छ जुन धेरै हावा भरिएर अथवा धेरै खाएर हुन सक्छ । यस प्रकारको समस्यामा २–३ दिन खानाको मात्रा कम अथवा बन्द नै गर्नुपर्ने हुन्छ । पानीको तापक्रम बढाउनुका साथै पानी पनि सफा राख्नुपर्छ ।

बडिफ्लुकस

माछाको शरीरका विभिन्न भागमा स–साना जुका टाँसिएजस्तो देखिन्छ । यसमा माछाको शरीर चिलाउँछ जसका कारण माछाले आफ्नो शरीरलाई एक्वेरियम तथा अन्य कडा चीजमा घिसारेको देख्न सकिन्छ । शरीरमा राता फोका उठ्छन् । यसको उपचारमा एन्टिबायोटिक तथा एन्टिपारासाइटिक प्रयोग गर्नुपर्छ ।

ड्रोप्सी

माछाको रोगप्रतिरोधात्मक शक्ति कम भएपछि यो समस्या देखापर्छ । खाना नखाने अनि आँखा तथा पेट सुन्निने हुँदा यसको उपचार गर्न गाह्रो हुन्छ । यो समस्या सिर्जनै हुन नदिन सफा पानी, उचित तापक्रम तथा सन्तुलित खानामा जोड दिनुपर्छ । 

एक्वेरियम राख्दा सकेसम्म माछा बिरामी नपरोस् भन्ने वातावरण मिलाउनुपर्छ । त्यसका लागि माछा किन्दा स्वस्थ माछा किन्नुका साथै पुरानो माछासँग नयाँ माछा मिसाउँदा विशेष सावधानी अपनाउनुपर्छ । यस क्रममा पानीको शुद्घतामा ध्यान तथा पौष्टिक तत्वले पूर्ण खाना दिनुपर्ने हुन्छ ।

                                           एडभान्सड पेट हस्पिटल, विशालनगर

 Image