Successfully Copied

सौन्दर्यसम्बन्धी समस्याका लागि केमिकल पिलिङ

केमिकल पिलिङ सुरक्षित छ । यद्यपि यसमा छाला हल्का पोल्न, चहराउन तथा केही मात्रामा दुख्न सक्छ । केही समयपछि ती समस्या आफैं कम भएर जान्छन् । केमिकल पिलिङ गरेको केही दिनसम्म घाममा निस्कनुहुँदैन ।

केमिकल पिलिङका बारेमा ​ एरोगिन हेल्थ एण्ड रिसर्च सेन्टरका छाला तथा यौन रोग विशेषज्ञ डा। कमलराज धितालसँग गरिएको छोटो कुराकानी :

केमिकल पिलिङ के हो ? 

विभिन्न रोगको सौन्दर्यसम्बन्धी उपचार गर्ने प्रक्रिया केमिकल पिलिङ हो । यो पुरानो कस्मेटिक प्रक्रिया हो । यससम्बन्धी आलेख पुराना इजिप्सियन रोमन तथा ग्रिक पुस्तकमा पाइन्छ । 

यो प्रविधिको सुरुवात अर्थात् यसको प्रयोग कहिले भयो ? 

इजिप्टकी रानी क्लिओपेट्राले आफ्नो सौन्दर्य बढाउन दूधका विभिन्न परिकारले स्नान गर्थिन् । दूधमा पाइने ल्याक्टिक एसिड अहिले पनि केमिकल पिलिङमा प्रयोग हुन्छ । यसको आधुनिक प्रयोग बीसौं शताब्दीतिर सुरु भएको हो । अहिले यो पहिलेको तुलनामा धेरै परिस्कृत भैसकेको छ । अहिले तालिम प्राप्त चिकित्सकले यो कार्य सम्पन्न गर्छन् । 

केमिकल पिलिङ कति प्रकारको हुन्छ ? 

छालाका विभिन्न पत्रमध्ये कुन–कुन पत्रमा असर गर्ने भनेर केमिकल पिलिङलाई तीन भागमा बाँडिएको छ । माथिल्लो पत्रमा असर गर्नेलाई सुपर फिसिअल, बीचको पत्रमा असर गर्नेलाई मिडियम तथा छालाको तल्लो भागमा असर गर्नेलाई डिप केमिकल पिलिङ भनिन्छ । 

केमिकल पिलिङले के गर्छ ? 

सामान्यत: छालामा दुईवटा पत्र हुन्छन् । यसमा समस्याअनुसार भिन्न–भिन्न केमिकल लगाइन्छ । यसले छालाका विभिन्न पत्र क्रमिक रूपमा उप्काउँछ र उक्त ठाउँमा नयाँ ताजगीपूर्ण छाला पलाउँछ । नयाँ पलाएको छाला दाग तथा अन्य समस्यारहित हुन्छ । 

यसको प्रयोग केका लागि गरिन्छ ? 

यसको प्रयोग विशेषगरी सौन्दर्यसम्बन्धी समस्याका लागि गरिन्छ भने यो छालाका विभिन्न रोगमा समेत उपयोगी हुन्छ । डन्डिफोर तथा त्यसको दाग, चायाँ–पोतो, छालाको चाउरीपन, छालाका विभिन्न प्रकारका दाग, छालाको अधिक चिल्लोपनका साथै अनुहारमा आउने स–साना प्वालका लागि पनि यसको प्रयोग गरिन्छ । 

यसले पार्ने असर के–कस्ता छन् ? कुन अवस्थामा केमिकल पिलिङ गराउनुहुँदैन ? 

केमिकल पिलिङ सुरक्षित छ । यद्यपि यसमा छाला हल्का पोल्न, चहराउन तथा केही मात्रामा दुख्न सक्छ । केही समयपछि ती समस्या आफैं कम भएर जान्छन् । केमिकल पिलिङ गरेको केही दिनसम्म घाममा निस्कनुहुँदैन । घामबाट जोगाउने क्रिमको प्रयोग नियमित रूपमा गर्नुपर्छ । कसैलाई छालाको ब्याक्टेरिअल तथा भाइरल इन्फेक्सन भएको छ अथवा कुनै खुल्ला घाउ छ वा फोटो सेन्सेटिभ औषधि सेवन गरिरहेको छ भने केमिकल पिलिङ गराउनुहुँदैन ।

 Image