Successfully Copied

नदीजस्तै असीम र दीपाञ्जलीको यात्रा

मंगोल परिवारमा जन्मिएकी दीपाञ्जली लामा तथा इस्लामिक समुदायका असीम शाह वैवाहिक सम्बन्धमा बाँधिएको १२ वर्ष पूरा भैसकेको छ । उनीहरूको विवाहको समयतिर धेरैले जात, धर्म केही नमिल्ने, त्यसमाथि मुस्लिमसँगको यो विवाह असफल हुने अनुमान गरेका थिए ।

मंगोल परिवारमा जन्मिएकी दीपाञ्जली लामा तथा इस्लामिक समुदायका असीम शाह वैवाहिक सम्बन्धमा बाँधिएको १२ वर्ष पूरा भैसकेको छ । उनीहरूको विवाहको समयतिर धेरैले जात, धर्म केही नमिल्ने, त्यसमाथि मुस्लिमसँगको यो विवाह असफल हुने अनुमान गरेका थिए । एक दशकअघिसम्म पनि नेपाली समाज यति उदार भैसकेको थिएन । यसरी अन्तरजातीय  विवाहलाई सामान्य रूपमा स्वीकार गर्ने परिवेश पनि थिएन । 

दीपाञ्जली कान्तिपुर टेलिभिजनमा भिजे थिइन् भने असीम शाह नेपाल वान टेलिभिजनका प्रोग्राम प्रोडुसर थिए । त्यो समयमा दीपाञ्जली भिजे, म्युजिक भिडियो, मोडलिङ, टेली सिरियल आदिमा व्यस्त थिइन् । असीम उनको कामको प्रशंसक थिए । असीमको एउटा बाल कार्यक्रममा दीपाञ्जलीका भाइ भिजे थिए । यद्यपि दीपाञ्जली र असीमबीच परिचय भैसकेको थिएन । आमा र भाइ भने असीम र आशिफ दुवै दाजु–भाइका प्रशंसक थिए । 

एकदिन भाइको कार्यक्रम सकिने समय कुरिरहँदा असीम उनीसँग बोल्न आए । भाइलाई समय लाग्ने भएकाले उनीहरू दुवै कफी पिउन गए । असीमलाई पहिलो भेटमै दीपाञ्जली मन परिसकेकी थिइन् । उनको मनको घण्टी बजेर यही केटीसँग विवाह गर्छु भन्नेसम्म लाग्यो । केही दिनपछि उनीहरूको दोस्रो भेट भयो । दोस्रो भेट हुनासाथ असीमले विवाहको प्रस्ताव राखे । दीपाञ्जलीले तुरुन्तै नाइँ भन्दै न जात मिल्छ, न धर्म कसरी हाम्रो विवाह सम्भव छ भनेर त्यहाँबाट हिँडिन् । विवाहको प्रस्ताव अस्वीकार गरे पनि उनीहरूको भेट भने भैरहन्थ्यो । 

एउटा भेटमा असीमले मैले तिम्री ममीलाई मनाएँ भने विवाह गर्ने हो भनेर सोधेपछि दीपाञ्जलीले मुस्कुराउँदै स्वीकृति दिइन् । त्यतिबेला दीपाञ्जलीकी ममी मरिससमा थिइन् । इमेल तथा फोनमार्फत छोरीसँग विवाह गर्ने प्रस्ताव राख्दा ममी त्यसमा राजी भइन् । हुन त दीपाञ्जली असीमको कन्फिडेन्ट र कामप्रतिको लगाबबाट सुरुका दिनदेखि नै प्रभावित थिइन् । असीमलाई भने आफ्नो घरमा मनाउन त्यति गार्‍हो भएन । आफ्नी आमा पौडेलकी छोरी भएकीले पनि असीमको कन्फिडेन्ट दर्‍हो थियो । 

विवाह हुनुभन्दा ६ महिनाअघि दीपाञ्जलीले कान्तिपुर टेलिभिजनलगायत मोडलिङका सबै काम छोडिन् । असीमले नछोडभन्दा पनि दीपाञ्जलीले विवाहपछिको जिम्मेवारी, बेग्लै धर्म–संस्कृतिसँग गर्नुपर्ने समायोजना आदि कुरा बुझेर करियरलाई केही समय विश्राम दिइन् । लामाले मुस्लिम समुदाय, धर्म, रहनसहन तथा खानपानलाई नजिकबाट नियाल्दै आफैंलाई त्यसमा ढाल्दै गइन् । उनलाई लाग्थ्यो, विवाह पुरुष र महिलाको मात्र सम्बन्ध होइन, पूरै परिवार र समुदायको सम्बन्ध पनि हो । विवाह हुनुअघि र अहिलेसम्म पनि श्रीमान्ले आफूलाई असीम माया गरेकै कारण जस्तोसुकै परिस्थिति पनि सहज बन्दै गएको दीपाञ्जली बताउँछिन् । केही समयपछि उनी इमेजमा काम गर्न थालिन् ।

दीपाञ्जलीको काम गर्ने, छोड्ने उनको आफ्नै निर्णय हो । यसमा कसैको दबाब थिएन । भूकम्पपछिको ३ वर्ष उनी पूरै गृहिणी भएर बसिन्, तर त्यो अवधिमा उनले धार्मिक कोर्स (इस्लामिक स्टडी) मा ४० कोर्स पूरा गरिन् । यसरी भिन्न जात, धर्मबाट आएकी जीवनसाथीले आफ्नो धर्म–संस्कृतिलाई सम्मान गरेको देख्दा असीमलाई अचम्म लाग्छ । त्यति मात्र होइन उक्त कोर्सपछि दीपाञ्जलीको टाउकोबाट हिजाब कहिल्यै हटेको छैन । यसरी घर, परिवार, धर्म एवं संस्कृतिलाई अत्यन्त महत्व दिने श्रीमती पाएकोमा आफ्नो छनोट सही भएको मानेर असीम आफैं दंग पर्छन् ।

श्रीमान्–श्रीमतीभन्दा मिल्ने साथीका रूपमा देखिने यो दम्पतीलाई एक–अर्काप्रति कुनै गुनासो छैन । असीम श्रीमतीकै साथ र प्रोत्साहनका कारण जीवनमा सफलता मिल्दै गएको बताउँछन् । असीमका केही म्युजिक भिडियोको कोरियोग्राफीसमेत गरेकी दीपाञ्जलीले श्रीमान्को कामको व्याक सपोर्टरका रूपमा समेत साथ दिइरहेकी छिन् । चलचित्रका पात्र छनोटदेखि नयाँ चलचित्र डामाडोलको शीर्षक पनि दीपाञ्जलीले नै जुराएकी हुन् । दीपाञ्जली लामो समयपछि कान्तिपुर टिभी र एफएममार्फत काममा फर्किएकी छिन् । उनको यो निर्णयमा असीम मात्र होइन परिवार नै खुसी छ । १२ वर्षको यात्रामा उनीहरूबीच कुनै ठाकठुकसम्म परेको छैन । विवाहलाई पवित्र बन्धनका रूपमा लिने शाह दम्पती आपसी माया र प्रेरणाकै बलमा अघि बढिरहेका छन् । दीपाञ्जली भन्छिन्–हाम्रो यो सुमधुर सम्बन्धमा कसैको नजर नलागोस् ।

दीपाञ्जली 

असीमको सबैभन्दा मनपर्ने पक्ष ?

म उनका हरेक कामबाट प्रभावित छु । जति काम गर्दा पनि उनमा थकान देख्दिनँ । उत्साह, उमंग र कामप्रति रुचि पाउँछु । 

तपाईंको काममा असीमको सपोर्ट कत्तिको छ ?

एकदमै सपोर्ट छ । यो अतिथि भएन, यस्तो प्रश्न सोध्नुपर्छ भन्नेदेखि लिएर ड्रेस सेन्स अनि प्रस्तुतिमा समेत उनी प्रतिक्रिया गरिरहन्छन् ।

धर्मनै परिवर्तन गर्नुपर्दा कस्तो अनुभव भयो ?

मेरो घरमा पनि ममी हिन्दू र बुवा बुद्धिष्ट हुनुहुन्थ्यो । त्यसैले पनि धर्म नै परिवर्तन गर्नुपर्‍यो भन्ने कुनै गुनासो छैन । इस्लामिक धर्म अलि फरक भएकाले केही गार्‍हो त भयो । भाषा, संस्कृति, खानपानदेखि सबै फरक, तर सासू आमाले सबै कुरा राम्रोसँग सिकाउनु, बुझाउनु भयो । अहिले मैले यो धर्मका बारेमा सबै ज्ञान बटुलिसकेकी छु । 

छोरीहरूले आमा–बुवामध्ये बढी कसलाई खोज्छन्?

दुवै छोरीले असीमलाई नै खोज्छन् । ऊसँगै बढी मिल्छन्, मसँग अलि डराउँछन् ।

हिजाब लगाएर कार्यक्रम चलाउनुको कारण ?

इस्लामिक कोर्स गरेपछि मैले हिजाबको महत्व बुझें । त्यसैले मैले ३ वर्षदेखि हिजाब छोडेकी छैन । यसले मेरो कन्फिडेन्ट लेबल बढाएको छ । आफैलाई बोल्ड लाग्छ । धेरैले त्यस्तो राम्रो केश किन लुकाएको भनेर कमेन्ट पनि गर्छन्, तर म त्यसको वास्ता गर्दिनँ ।

असीम

दीपाञ्जलीका बारेमा केही भन्नुपर्दा ?

मेरा हरेक कुरालाई आँखा चिम्लिएर साथ दिने जीवनसाथी । अहिलेसम्म केही कुराको गुनासो छैन, कुनै कमेन्ट पनि छैन ।

बुद्धिष्टसँग विवाह गर्दा सम्बन्ध यसरी अघि बढ्लाजस्तो लागेको थियो ?

पहिलो भेटमै मैले उनलाई राम्रोसँग बुझिसकेको थिएँ । यद्यपि उनी मैले बुझेभन्दा पनि बढी पारिवारिक निस्किन् । 

भान्साको काममा कत्तिको सघाउनुहुन्छ ?

मलाई पकाउन त्यति आउँदैन । दीपाञ्जली भने खानभन्दा पकाउन रमाउँछिन् । 

छोरीहरूलाई कत्तिको समय दिनुहुन्छ ?

शनिबार म कुनै पनि काम गर्दिन । त्यो दिन पूरै छोरीहरूकै लागि हो । उनीहरूको मुड र रुचिअनुसार बाहिर पनि लगिरहन्छु ।

तपाईंको सफल वैवाहिक जीवनको रहस्य ?

एक–अर्काको परिवारप्रति सम्मान, आपसी विश्वास, समझदारी एवं समर्पण ।

 Image