Successfully Copied

बेखबर गायिका विष्णु माझी पुगिन स्याङजा प्रहरी कार्यालयमा

चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी आइतबार जिल्ला प्रहरी कार्यालय स्याङजामा उपस्थित भइन् ।लोक गायिक माझी बेखवर रहेको समाचार कान्तिपुर दैनिक र कान्तिपुर साप्ताहिकमा आएपछि विभिन्न मिडियाले सोही समाचारलाई पलो गरेका थिए ।

चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी आइतबार जिल्ला प्रहरी कार्यालय स्याङजामा उपस्थित भइन् । प्रहरीले खोजी गरेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट आउनुका साथै प्रहरीले सम्पर्क गरेसँगै गायिका माझी आफ्ना श्रीमान सुन्दरमणि अधिकारीसहित प्रहरी कार्यालयमा आइतबार मध्यान्हमा पुगेकी हुन् ।

लोक गायिक माझी बेखवर रहेको समाचार कान्तिपुर दैनिक र कान्तिपुर साप्ताहिकमा आएपछि विभिन्न मिडियाले सोही समाचारलाई पलो गरेका थिए । समाचार आएसँगै प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।

एसपी लम्सालले आफूले माझीका श्रीमान् सुन्दरमणिलाई बिहीबार फोन गरेर विष्णु माझी आफै आउने वा तपाईंले ल्याउने भनेपछि  सुन्दरमणि झस्केको बताए । लम्सालले सुन्दरमणिलाई यदि उनले नल्याए प्रहरीले ल्याउनु पर्ने अवस्था आउने भनेर कडा रुपमा प्रस्तुत हुनुपरेको जानकारी दिए ।

सुन्दरमणिले शुक्रबार र शनिबार आफू व्यस्त रहने भएकाले आइतबार आउने वचन दिएका र त्यसै अनुरुप सेतो रंगको ट्याक्सीमा आइतबार प्रहरी कार्यालयमा पुगेका थिए । उनीहरु सामान्य अवस्थामा प्रहरी कार्यालय भित्र प्रवेश गरेको बताइएको छ । प्रहरी कार्यालय आउादा विष्णुले भने अनुहार छोपेकी प्रत्यक्षदर्शीले बताएका छन् ।

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रमुख जिल्ला अधिकारी निरौला, प्रहरी प्रमुख लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए । सुन्दरमणिसँगै बसेकी विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिएको लम्सालले बताए ।

यसअघि कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए । छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए । आफूहरुले अन्तरजातीय विवाह गरेका कारण छुटाउन खोजिएकाले बेखबर जस्तै हुनुपरेको सुन्दरमणिको भनाई थियो ।

‘विष्णुले आफू कम पढेको हुादा बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको जिकिर गरिन, साथै छलफलका क्रममा विष्णु र सुन्दरमणिले यस विषयमा मिडियालाई जवाफ दिन आवश्यक नभएको अभिव्यक्ति पनि दिए,’ लम्सालले भने ।

विष्णुले छलफलका बेला पनि मुखबाट मास्क नहटाएपछि प्रहरी प्रमुख लम्सालले मास्क र पछ्यौरा हटाउन लगाएको बताए  । उनका अनुसार गायिका माझीको अनुहारमा कुनै चोट र खत थिएनन् । माझी र अधिकारीले पत्रकारसँग बोल्न नमानेको र कसैले केही सोध्दा वा फोटो खिच्न खोज्दा सुन्दरमणि अघिअघि र विष्णु पछिपछि दौडिएको प्रहरी प्रमुख लम्सालले बताए । 

विष्णुसँग परिवारका सदस्यहरुले सामूहिक रुपमा भेटघाट गरेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमा विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि आएका थिए ।

 Image