Successfully Copied

ढाकाको बजार बढ्दो

ढाका दुई प्रकारका हुन्छन् । एउटा हातैले बुनिएको र अर्काे पावरलुमबाट तयार पारिएको । हातैले बुन्दा एक मिटर कपडा बुन्न ४ दिन लाग्छ । त्यसैले महँगो त हुने नै भयो ।

    

अहिले ढाकाको फेसन कस्तो छ ?

केही वर्षयता फेसनप्रेमीलगायत आम व्यक्तिहरूमाझ ढाकाको क्रेज बढेको पाइन्छ । यसलाई परिमार्जित गर्दै लाने हो भने बजारमा राम्रो पकड बनाउन सकिन्छ । 

कुन वर्गले बढी रुचाएका छन् ?

युवा–युवती तथा कामकाजी महिलाहरूलाई लक्षित गरेर टप्स, कुर्ती, ड्रेस, कोट, लङ कोट, आउटर, स्कर्ट, लेहेंगा आदि तयार गरिएको छ जुन उनीहरूले निकै रुचाइरहेका छन् ।

 

कस्ता डिजाइन रुचाइँदो रहेछ ? 

विगतमा ढाका भन्नासाथ टोपी र साडी मात्र बुझिन्थ्यो भने अहिले स्थिति निकै फरक छ । ढाकाको रंगदेखि डिजाइनसम्ममा नयाँपन दिने प्रयास भैरहेको छ । अब ढाकाबाट स्कर्ट, कुर्ती, टप्स, कोट आदि पहिरन तयार हुन थालेका छन् । फरक लुक्स दिन ढाकासँगै सिल्क फेब्रिक पनि प्रयोग गरिएको छ । जाडोमा ढाकाले न्यानो पनि प्रदान गर्छ । नेपाली फेसनको दुनियाँमा ढाकाको प्रयोग ट्रेडिसल र मोर्डनको बीचको कन्ट्रास फ्युजन फेसनका रूपमा समेत रुचाइएको छ । 

ढाका कुन गुणस्तरको हो भनेर कसरी पत्ता लगाउने ?

ढाकाको स्तर, त्यसको बनावट र बुनाइको कसिलोपनबाट पत्ता लगाउन सकिन्छ । कपडाको पछाडिको भागमा लाइट बुनाइ छ भने त्यो कमजोर ढाका हो भन्ने बुझ्नुपर्छ । मुख्यत: भित्रबाट बुट्टालाई नट गरेको हुनुपर्छ । 

ढाकाको हेरचाह गर्न कत्तिको गार्‍हो छ ?

तानमा बुनिएको फेब्रिक भएकाले यसलाई ड्राईक्लिन गराउनुपर्छ । ढाकालाई दैनिक प्रयोगभन्दा एक्सक्लुसिभ तरिकाले लगाउनु उपयुक्त हुन्छ । मेसिनमा बुनिएको ढाका भने घरमै धुन मिल्छ । 

विदेशी बजारको अवस्था कस्तो छ ? 

नेपालको तुलनामा अझ राम्रो बजार छ । हेल्थ फ्रेन्डली हुने भएकाले विदेशीहरूले होममेड पहिरन बढी रुचाउँछन् । त्यसमा पनि तेर्‍हथुमे ढाका विदेशीहरूमाझ निकै लोकप्रिय छ ।

विभिन्न फेसन शोहरूमा पनि ढाका तथा अल्लोका पहिरन देखिन थालेका छन्, यसले फेसन ट्रेन्डमा कत्तिको प्रभाव पारेको छ ?

राम्रै प्रभाव पारिरहेको छ । फेब्रिक, डिजाइन आदि मानिसको रोजाइमा भर पर्ने कुरा हो । अहिले मानिसहरू झकिझकाउभन्दा आफ्नोपन भएका पहिरन रुचाउँछन् । वर्तमान पुस्ता इम्ब्रोइडरी, नेट, सिफनभन्दा ढाकातर्फ बढी आकर्षित छ । साथै अहिले ढाका सबै कलर र फरक–फरक डिजाइनमा आइरहेका हुँदा यसले धेरैको मन जितेको पाइन्छ ।

 Image