Successfully Copied

पुरुष डाक्टरप्रति विश्वास बढ्दो

अहिलेको जीवनशैली, खानपान तथा रहनसहनका कारण पनि रोगले समात्छ । त्यसैले समयमै उपचार गराउनुपर्छ । दिनहुँ नियमित रूपमा केही समय व्यायाम गर्नुपर्छ । फास्टफुड तथा चिल्ला खानेकुरा खानुहुँदैन । अहिले अनावश्यक गर्भपतन गर्ने ट्रेन्ड बढेको छ । यसरी बढी गर्भपतन गराउनुभन्दा गर्भनिरोधक साधन प्रयोग गर्नुपर्छ ।

डा. अतीत पौडेल, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, भक्तपुर अस्पताल

महिलाको डाक्टर बन्ने सोच 

पोखरामा प्लस टुसम्म अध्ययन गरेपछि उनले भरतपुरबाट एमबीबीएस गरे । मुस्ताङमा बसेर काम गर्दा कतिपय महिलाको प्रसवमा साल अड्किएको, पीडाले छटपटाएको देखेपछि त्यही समयमा उनले गाइनोमा विशेषज्ञता हासिल गर्ने सोच बनाएका थिए । त्रिभुवन शिक्षण अस्पतालमा अध्ययनका क्रममा धेरै साथीले पुरुष पनि महिलाको डाक्टर बन्न लाग्यो भनेर उनको खिसी गर्थे । 

महिलाको क्षेत्रमा काम गर्दाका सजिला–अप्ठ्यारा 

स्त्री तथा प्रसूति रोग विशेषज्ञका रूपमा काम गर्दा पहिलेको जस्तो अप्ठ्यारो स्थिति छैन । पहिले महिलाहरू आफ्नो रोग लुकाउँथे, जँचाउन आए पनि खुलेर आफ्नो स्वास्थ्य समस्या व्यक्त गर्न सक्दैनथे । अहिले त्यो स्थितिमा परिवर्तन आएको छ । महिलाहरू निर्धक्क आफ्नो समस्या भन्छन् । अझ गम्भीर अवस्थामा वा बोल्ड डिसिजन लिनुपरे उनीहरूले पुरुष चिकित्सकलाई नै रोज्ने गरेका छन् । अप्रेसन वा अन्य उपचारका लागि पुरुष चिकित्सक भए ढुक्क हुन्छ जस्तो गर्छन् । उनीहरूको पहिलो रोजाइ नै पुरुष गाइनोकोलोजिस्ट हुने गरेका छन् । 

महिलामा देखिने मुख्य समस्या 

नेपाली महिलामा खासगरी तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, महिनावारीको समयमा धेरै रगत बग्ने आदि समस्या देखा पर्छन् । 

आफूले गरेकामध्ये सबैभन्दा सन्तुष्टि मिलेको काम

आफूले हेरेका बिरामी निको भएर घर फर्कदा आत्मसन्तुष्टि मिल्छ । भरतपुर अस्पतालमा कार्यरत हुँदा मुग्लिनको बाटो बिग्रिएको थियो । धेरै महिला बिरामीलाई त्यहाँ उपचारका लागि ल्याइन्थ्यो । अष्टमीका दिन गोरखाकी एउटी महिलाको पाठेघर प्रसव पीडाका कारण फुट्यो । त्यो अवस्थामा मैले रिस्क मोलेर अप्रेसन गरी बच्चा निकालेको थिएँ । पछि आमा र बच्चा दुवै बाँचे । यस्ता धेरै घटना छन् । अस्पतालमा आएका बिरामी उपचारपछि बिसेक भएर खुसी हुँदै घर फर्कदा आनन्द महसुस हुन्छ । 

नेपाली महिलाहरू आफ्नो स्वास्थ्यप्रति कति सचेत ?

शिक्षा तथा जनचेतनाका कारण पनि महिलाहरू अहिले आफ्नो स्वास्थ्यप्रति गम्भीर हुन थालेका छन् । पहिले रोगले विकराल रूप लिएपछि मात्र अस्पताल आउँथे भने अहिले केही हुनासाथ तुरुन्त अस्पताल आइहाल्छन् । यसैगरी ग्रामीण भेगका क्याम्पमा आङ खस्ने समस्याको अप्रेसन गराएका हजुरआमाहरू रिङ फेर्न तथा फलोअपका लागि नातिनीका साथ अस्पताल आउँछन् । 

आफ्नै परिवारको चेकअप 

मैले आफ्नो परिवारमा कसैको उपचार गरेको छैन । श्रीमतीको डेलिभरीमा सँगै अस्पतालसम्म गएँ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ भएकाले सरसल्लाह भने दिन्थें तर आफूले भने उपचार गरिन । 

महिलालाई स्वास्थ्य सुझाव 

अहिलेको जीवनशैली, खानपान तथा रहनसहनका कारण पनि रोगले समात्छ । त्यसैले समयमै उपचार गराउनुपर्छ । दिनहुँ नियमित रूपमा केही समय व्यायाम गर्नुपर्छ । फास्टफुड तथा चिल्ला खानेकुरा खानुहुँदैन । अहिले अनावश्यक गर्भपतन गर्ने ट्रेन्ड बढेको छ । यसरी बढी गर्भपतन गराउनुभन्दा गर्भनिरोधक साधन प्रयोग गर्नुपर्छ । वर्ष–दुई वर्षको अन्तरालमा नियमित स्वास्थ्य जाँच गराउनुपर्छ । 

 Image