Successfully Copied

दक्षिण एसियाली तारा प्रो.डा. होस्नेआरा

१७ सयभन्दा बढी शाखा, ३३ हजार कर्मचारी, १० हजार करोड वार्षिक कारोबार गर्ने दक्षिण एसियाकै सबैभन्दा ठूलो महिला संस्था हाँकिरहेकी प्रो.डा. होस्नेआरा बेगमको जीवनकथा निकै मर्मस्पर्शी छ । दक्षिण एसियाली महिलाहरूकी रोल मोडल बन्न सफल होस्नेआरा मृत्युको मुखबाट जोगिएको आफ्नो जीवन यसरी सदुपयोग गरेको

१७ सयभन्दा बढी शाखा, ३३ हजार कर्मचारी, १० हजार करोड वार्षिक कारोबार गर्ने दक्षिण एसियाकै सबैभन्दा ठूलो महिला संस्था हाँकिरहेकी प्रो.डा. होस्नेआरा बेगमको जीवनकथा निकै मर्मस्पर्शी छ । दक्षिण एसियाली महिलाहरूकी रोल मोडल बन्न सफल होस्नेआरा मृत्युको मुखबाट जोगिएको आफ्नो जीवन यसरी सदुपयोग गरेको बताउँछिन् ।

‘आँटे सकिन्छ’ भन्ने कुरा प्रमाणित गरेकी होस्नेआराले जीवनमा निकै दुःख पाएकी छिन् । डाक्टरले नै उनको मृत्यु प्रमाणित गरिसकेका थिए तर दुनियाँ चकित हुने गरी मेरो अत्यन्तै कठिन र लामो अप्रेसन सफल भयो । अस्पतालकै बेडबाट मैले प्रण गरें–‘अबको बाँकी जीवन सेवामै बिताउनेछु ।’ सन् १९७५ लाई स्मरण गर्दै डाक्टर बेगम भन्छिन्–‘ठेङ्गामरा ग्रामका ती दिन अझै सम्झन्छु, लुकिछिपी मगन्ते पेसा अपनाएका महिलाहरूको ठूलो समूह, कुटपिट, बहुविवाह र अन्य हिंसाको चपेटामा परेका ती ग्रामीण महिलालाई सहयोग गर्दा ममाथि लागेको दलालको आरोप । आज प्रमाणित भएको छ, मेरो अभियानले ती महिला आर्थिक रूपमा उच्च, सबल र उच्चशिक्षित मात्र होइन राजनीतिक एवं सामाजिक रूपमा समेत सशक्त भएका छन् । मेरो नाफाको जिन्दगी म नाफामा लगाउन चाहन्न, मृत्युपर्यन्त सेवामै बिताउन चाहन्छृु ।’

सन् १९७९ को कट्टर मुस्लिम समुदाय, त्यसताका हुस्नेआरा बेगमले भर्खरै राजशाहीबाट युनिभर्सिटी शिक्षा पूरा गरेकी थिइन् । जति श्रीमती बटुल्न सक्यो उति बहादुर भइने बंगलादेशको उत्तरी भेग ठेङ्गामरा बोगुराको परिवेश, अशिक्षा, हिंसा, गरिबी आदि दर्जनौं समस्या, डा. होस्नेआरालाई लाग्यो ती मगन्ते महिलाका लागि केही गरौं । उनले चामल बटुल्न हिँड्ने त्यस्ता करिब २ सय महिला भेला पारी समूह गठन गरिन् जतिबेला उनी क्याम्पस पढाउँथिन् । तिनका समस्या सुन्ने, समाधानका लागि पुलिस, प्रशासनसम्म पुगिदिने, तिनलाई सशक्त बनाउन तालिम–कार्यशाला सञ्चालन गर्ने गतिविधि गरेकै कारण उनले विभिन्न आरोप एवं लाञ्छना खेप्नुपर्‍यो । तिनले बटुलेको चामल बेच्दा पहिलो मगन्ते सेमिनार गर्ने खर्चर् जुट्यो । त्यसपछि माग्ने पेसा बन्द गराएर उनले ती सबैलाई आयआर्जनका काममा लगाइन् । 

विद्यार्थीकालमै उनले बंगबन्धु शेख मजीबुर रहमान, फादर अफ द नेसनसँगको एक भेटमा १० हजार टाका प्राप्त गरेकी थिइन् । रहमानले उनलाई भनेका थिए–‘तिमीले यो पैसा लिनुअघि एउटा कुरा सुनिश्चित गर्दै मलाई बचन दिनुपर्छ कि स्नातकोत्तरको पढाइ सिध्याएपछि यो पैसाले १० जनालाई रोजगार दिनेछौ ।’ बेगम सम्झन्छिन्–‘आज म उहाँको बचन पूरा गरिरहेकी छु । अहिले मेरा समग्र ३३ हजार कर्मचारीमध्ये करिब ६० प्रतिशत महिला छन् जो विभिन्न शाखा र क्षेत्र सम्हालिरहेका छन् ।’ शिक्षा नै पहिलो कडी हो जसले मानिसलाई बलियो बनाउँछ भन्ने उदाहरण डा. बेगम गरिब महिलाहरूको पुनर्स्थापना, सशक्तीकरण तथा उकासिएको शैक्षिकस्तरलाई आफ्नो उपलब्धि मान्छिन् । उनलाई सोच, मानसिक प्रेरणा र शिक्षा सफलताका मुख्य अस्त्र हुन् भन्ने लाग्छ । सोसल–इन्टरप्रेनरसीपलाई सुरुदेखि बढावा दिँदै आएकी डाक्टर होस्नेआरा ठेङ्गामरा महिला सबुच संघ (टिएमएसएस) बोगुरा बंगलादेशकी संस्थापक कार्यकारी निर्देशक हुन् । 

यो नाफारहित संस्थाअन्तर्गत रहेका टिएमएसएस मेडिकल कलेज, टिएमएसएस इन्जिनियरिङ कलेज, टिएमएसएस पोलिटेक्निकल कलेज, १ हजार ८० शय्याको टिएमएसएस हस्पिटल, टिएमएसएस पेपर मिल, टिएमएसएस विश्वविद्यालय, बंगलादेशभरि फैलिएको टिएमएसएस माइक्रोफाइनान्स र ग्यास स्टेशन, टिएमएसएस फाइभ–स्टार होटल, टिएमएसएस नर्सिङ कलेज, टिएमएसएस गर्लस स्कुल, टिएमएसएस ट्राभल एण्ड टुरिज्मलगायत दुई दर्जन क्षेत्रका मुख्य–मुख्य स्थान महिलाले सम्हालिरहेका छन् । अशोका फेलो डाक्टर होस्नेआरालाई अहिले बंगलादेशमा मात्र नभएर दक्षिण एसियाभरिको एक समूहले जीवित देवी मान्छ । नोबेल पुरस्कारकी दावेदार प्रो.डा. होस्नेआराको ४० वर्षअघिको कदम अझै रोकिएको छैन । निजी सम्पत्ति नभएकी बेगमको नेतृत्वमा भैरहेको वार्षिक १० हजार करोड बराबरको कारोबारको सबै आम्दानी सामाजिक सेवालगायत रोजगारी सिर्जनामा खर्च हुने गरेको छ । 

बंगलादेशको उत्तर–पूर्वी जिल्ला बोगुराको ग्रामीण भेग ठेङ्गामरामा सन् १९५३ मा जन्मिएकी होस्नेआराले राजशाही युनिभर्सिटीबाट बोटानीमा स्नातकोत्तर तथा वासिङ्टन युनिभर्सिटी पेन्सिलभेनिया अमेरिकाबाट जेन्डर रिलेसन इन डेभलपमेन्टमा विद्यावारिधि गरेकी छिन् ।

उतिबेलाको बंगलादेशमा थोरै मानिसबाहेक हुने–खानेहरू त्यति थिएनन् । महिलाको अवस्थाको त कुरै नगरौं, गरिबी, अशिक्षा, आयस्रोतको अभाव देशैभरि सवर्त्र यस्तै परिस्थिति थियो । यस्तो अवस्थाप्रति चिन्तित हुँदै होस्नेआराले सन् १९८० मा ठेङ्गामरा महिला सबुच संघ (टिएमएसएस) स्थापना गरेर सामाजिक कार्यमा होमिएकी हुन् । शारीरिक रूपमा पुरुष भएर जन्मिएकी होस्नेआराले ४० वर्षअघि तत्कालीन कट्टर मुस्लिम समुदायलाई चुनौती दिँदै लिङ्ग परिवर्तन मात्र गरिनन् दुई सन्तानकी आमासमेत भइन् । उतिबेला असाधारण मानिएकी डा.बेगम वास्तवमै असाधारण मानिस हुन् भन्ने अहिले प्रमाणित भएको छ । उतिबेलाका उनका प्रोफेसर अन्सर अली तालुपदार अहिले उनका श्रीमान् हुन् । उनीहरूका ३ जना नातिनातिना छन् । सामाजिक हेय, विभेद, हिंसा र सीमान्तकृत हुनुको पीडा पार गरेर आएकी होस्नेआराका बाबु सोलाइमान अलीको पहिले नै निधन भएपछि उनका दुःखका दिन सुरु भएका थिए । घरघडेरी धितो राखेर विश्वविद्यालयसम्म पुगेकी होस्नेआरा आफ्नी आमा जोबाइदा बेगमलाई हरक्षणको विश्वास र सहारा मान्छिन् । ‘विपन्नका लागि आर्थिक सबलीकरण र स्वास्थ्य–शिक्षामा पहुँच पुर्‍याउन सकें, यही नै मेरो योगदान हो जस्तो लाग्छ ।’ बेगम भन्छिन्–‘हरेस खाइयो भने आफैं मरिन्छ, मानसिक रूपमा साहस र सोंच बलियो बनाइयो भने संसार जितिन्छ ।’

        

 Image