Successfully Copied

मिस टिनदेखि ज्वेलरी डिजाइनर 

कार्कीले नयाँ डिजाइनमा पनि नेपाली कला–संस्कृतिलाई बढावा दिएकी छिन् । उनी आधुनिकता, विकास र कला–संस्कृतिलाई एकसाथ लानुपर्छ भन्ने सोचका साथ व्यवसायमा लागिपरेकी हुन् । नेपालीहरूको जातीय, सांस्कृतिक तथा धार्मिक विविधता एवं सहिष्णुतालाई विश्व बजारसम्म पुर्‍याउने माध्यमका रूपमा हस्त निर्मित गरगहनाको व्यवसाय रोजेको उनले बताइन् ।

मिस टिन २००७ की विजेता आयुषा कार्की मौलिक गहनालाई आधुनिकीकरण गर्ने उद्यममा लागेकी छिन् । मिस टिन हुँदा उनी आफ्नो सौन्दर्य, आत्मविश्वास तथा सक्रियताका कारण धेरैको नजरमा परेकी थिइन् । हुन पनि त्यतिबेला यस्ता सौन्दर्य प्रतियोगिता कमै हुन्थे । अहिले जस्तो दर्जनौं प्रतिस्पर्धा हुँदैनथे जसका कारण त्यतिबेलाका मिस टिनहरूलाई सबैले चिन्थे । आयुषाकैझैं प्रियंका कार्की, जेनिशा मोक्तानहरू पनि यस्तै प्रतियोगिताबाट आएका हुन् । आयुषाले नेपाली मोडलिङ लामै समय राज गर्ने अनुमान गरिएको थियो ।

उनको सानैदेखिको सोख मोडलिङ थियो साथमा बुवाजस्तै उद्यमी हुने पनि चाहना थियो । आयुषा ज्वेलरी डिजाइनरका रूपमा परिचित हुने क्रममा छिन् । ४ वर्ष लन्डन बसेर पब्लिक रिलेसन म्यानेजमेन्ट अध्ययन गरेकी आयुषा त्यसपछि स्वदेश फर्किन् । नेपाल आएपछि उनले अनलाइन व्यापार गर्न थालिन् । कार्कीले तीन वर्षजति इन्स्टाग्राममार्फत ‘मेकअप फुडी’ को व्यापार गरिन् । त्यही उनको व्यवसायी बन्ने आधार बन्यो । कार्की त्यतिबेला कोरियाली सौन्दर्य प्रसाधन बिक्री गर्थिन् । त्यसपछि उनी आफैं गहना उत्पादनतर्फ लागिन् ।

सानैदेखि ड्रेस डिजाइनमा रुचि भएको र चित्र कोर्ने बानी परेकाले गहना डिजाइन उनलाई सहज लाग्यो । लन्डनमा पढेको पब्लिक रिलेसनको पढाइले हरेक काममा मानिसहरूसँग सम्पर्क गर्न सहयोग गर्‍यो, व्यापारमा जसको ठूलो महत्व हुन्छ । आयुषाले नेपाली हस्तकलालाई प्राथमिकता दिएकी छिन् । उनी परम्परागत रूपमा चल्दै आएका गहनालाई आधुनिकीकरण गरेर नयाँ गहना तयार गर्छिन् । कार्की नेकलेस, ब्रासलेट, इयररिङ, औंठी आदि गरगहना हातले नै बनाउँछिन् । उनी गहना डिजाइन र निर्माणको काम आफैं गर्छिन् । उनको ब्रान्ड ‘मेराकी’ मा उनका व्यावसायिक साझेदार सर्भो शाक्य हुन् । 

कार्कीले नयाँ डिजाइनमा पनि नेपाली कला–संस्कृतिलाई बढावा दिएकी छिन् । उनी आधुनिकता, विकास र कला–संस्कृतिलाई एकसाथ लानुपर्छ भन्ने सोचका साथ व्यवसायमा लागिपरेकी हुन् । नेपालीहरूको जातीय, सांस्कृतिक तथा धार्मिक विविधता एवं सहिष्णुतालाई विश्व बजारसम्म पुर्‍याउने माध्यमका रूपमा हस्त निर्मित गरगहनाको व्यवसाय रोजेको उनले बताइन् । आयुषाले अहिले पनि गहना बिक्रीको माध्यम अनलाइनलाई बनाएकी छिन् । मिस टिन २००७ ले आत्मविश्वासी बनाएको उनको करिअर गहना उत्पादनमा स्थापित हुँदै गएको छ । यसमा करिब दुई वर्षदेखि सक्रिय आयुषाको कम्पनी मियोकीले २ हजारदेखि ५ हजार रुपैयाँसम्मका गहना तयार गर्छ ।

तस्बिर : महेश प्रधान

पहिरन : अंकितकुमार अग्रवाल, बेहुली बुटिक, न्यूरोड

मेकअप तथा हेयर : पूनम श्रेष्ठ, पूनम ब्युटी क्लब, सानेपा

ज्वेलरी : मियोकी

लोकेसन : क्लासिक भेन्यु, सानेपा

 Image