Successfully Copied

आत्मविश्वास गुमाउनु हुँदैन

सीपमूलक कामबाट हरेस खाएकी चन्द्ररेखाले एकदिन धुलिखेलको विद्यालयमा शिक्षिकको जागिर खुलेको जानकारी पाइन् । लामो संघर्षपछि उनले प्राथमिक तहमा पढाउने अवसर प्राप्त गरिन् । विद्यालयमा अहिले पनि उनी आँखा नदेख्ने शिक्षिकाका रूपमा परिचित छिन् । शिक्षण पेसाले उनमा थप साहस र आँट भरियो । 

चन्द्ररेखा श्रेष्ठ, शिक्षिका

चन्द्ररेखा श्रेष्ठले जन्मिदै दृष्टि गुमाइन् । उनको जन्मलाई परिवारका सदस्यहरू पूर्वजन्मको पाप भन्थे । परिवार तथा समाजको हेराइले उनलाई पिरोलिरहन्थ्यो । बाल्यकाल उनले जन्मघर धुलिखेलमै बिताइन् । सात वर्षको उमेरमा उनी कीर्तिपुर ल्याब्रोटरी स्कुलमा पढ्न थालिन् । त्यहाँ सबै दृष्टिविहीन भएकाले उनलाई राम्रो वातावरण पाएको महसुस भयो । विद्यालय स्तरको पढाइ ल्याब्रोटरीबाटै सकेपछि अब थप पढाइ उनका लागि समस्या हुन थाल्यो । उनले विद्यालय स्तरको पढाइका लागि डिल्लीबजारस्थित पद्मकन्या क्याम्पसमा भर्ना लिइन् । त्यहाँ पढाइमा धेरै दुःख खेप्नुपरेको उनको अनुभव छ । उनलाई कक्षामा लेखाइएका नोट कसैले दिँदैनथे, परीक्षा दिँदा लेखिदिने मान्छेको अभाव सधै खड्किन्थ्यो । अनेकौं हन्डर खाँदै अघि बढिरहेकी श्रेष्ठमा आत्मविश्वास भने बढ्दै थियो । उनी संगीत सिक्न थालिन् । अध्ययनलाई निरन्तरता दिँदै जाँदा उनको संगीतप्रतिको रुचि भने अधूरै रह्यो । 

अध्ययनपछि उनले सीपमूलक तालिम लिइन् । माटोका सामान बनाउनुका साथै उनले धूप बनाउने काम समेत गरिन् । त्यसले उनको आर्थिक अवस्था सुधार्न सकेन । श्रेष्ठ भन्छिन्–हामीले गरेको कामले बजारीकरण गर्न नसक्नु र कच्चापदार्थ जुटाउन समस्या भएकाले पनि आर्थिक अवस्था सुधार्न कठिन भयो । अस्तव्यस्त सडकमा हिँड्न–डुल्न समस्या भएकाले पनि सीपमूलक कामबाट अघि बढ्न नसकेको उनको अनुभव छ । 

सीपमूलक कामबाट हरेस खाएकी चन्द्ररेखाले एकदिन धुलिखेलको विद्यालयमा शिक्षिकको जागिर खुलेको जानकारी पाइन् । लामो संघर्षपछि उनले प्राथमिक तहमा पढाउने अवसर प्राप्त गरिन् । विद्यालयमा अहिले पनि उनी आँखा नदेख्ने शिक्षिकाका रूपमा परिचित छिन् । शिक्षण पेसाले उनमा थप साहस र आँट भरियो । 

धुुलिखेलमा दुई वर्षको अध्यापनपछि उनको सरुवा काठमाडौंमा भयो । काठमाडौंको बाटोका कारण दृष्टिविहीनहरूले धेरै समस्या भोग्नुपरेको छ । दृष्टिविहीन मैत्री सडक नहुँदा समस्या आएको श्रेष्ठ बताउँछिन् । सडकमा जथाभावी गरिएको पार्किङ तथा खाल्डाहरूका कारण हिँडडुल गर्न समस्या भएको उनको भनाइ छ । एकपल्ट बाटोमा हिँड्दा शौचालयको ढलमा पसेको तीतो अनुभव सुनाउँदै श्रेष्ठले भनिन्–‘दैनिक जीवनमा यस्ता अनेकौं समस्या भोग्न बाध्य छौं ।’ 

लामो समय शिक्षण पेसामा बिताएकी चन्द्ररेखा आफ्नो जीवनप्रति सन्तुष्ट छिन् । श्रेष्ठ भन्छिन्–‘आत्मविश्वास भए हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।’ अहिले उनी दृष्टिविहीन भएर गर्न नसक्ने भन्ने केही छैन भन्ने कुरामा विश्वस्त छिन् । 

 Image