Successfully Copied

आमा, म र नेपाली समाज

मानिसहरू आफ्नो जन्म दिनको निकै सम्झना गर्छन् तर तिनै जन्म दिने आमाको कहिल्यै सम्झना गर्दैनन् । यही विषयलाई लिएर सम्झनाका शब्दहरू कोर्न मन लाग्यो । त्यो दिन साँच्चिकै दर्दनाक एवं पीडादायी दिन थियो । त्यो दिन अस्पतालसम्म जान नसक्ने स्थिति वा वातावरण थियो ।

मानिसहरू आफ्नो जन्म दिनको निकै सम्झना गर्छन् तर तिनै जन्म दिने आमाको कहिल्यै सम्झना गर्दैनन् । यही विषयलाई लिएर सम्झनाका शब्दहरू कोर्न मन लाग्यो । त्यो दिन साँच्चिकै दर्दनाक एवं पीडादायी दिन थियो । त्यो दिन अस्पतालसम्म जान नसक्ने स्थिति वा वातावरण थियो । सायद बाबा जागिरे भैदिएको भए म सुविधासम्पन्न अस्पताल जान्छु, मलाई सुख–सुविधा चाहिन्छ भन्नुहुन्थ्यो होला । के गर्नु ? 

आमाका लागि त्यो समयमा आफू मरेर पनि बच्चालाई बचाउनुपर्ने दायित्व थियो । मेरी आमा पनि त्यस्ती व्यक्ति हुनुहुन्थ्यो, जो नखाएर पनि म अघाएकै छु, मेरो पेट टन्न छ भनेर सन्तोष व्यक्त गर्नुहुन्थ्यो । यही अवस्थामा असार १४ गते मेरो जन्म भयो । कसरी भयो ? कस्तो अवस्थामा भयो ? मैले त देखिनँ तर आज आफैंले भोग्नुपर्दा आमाको पीडा कस्तो हुँदोरहेछ जीवन्त अनुभव गर्न थालेकी छु । साँच्चिकै मेरी आमा सहनशील र सुशील हुनुहुन्छ । आमाको प्रेरणाबाट मैले बाँच्न सिकेकी छु । त्यो पीडा, त्यो दर्द (नौ–दस महिनासम्म), पेटमा बच्चा बोक्नु अनि जन्माउने, हुर्काउने क्रममा किसानको घरको दुःख बिहान ३–४ बजे उठ्नु ढिकी–जाँतो गर्नु । 

६ जना सन्तानको चित्त बुझाउनु अनि बाबाको मन–पेट बुझ्नु त्यहीअनुसार व्यवहार गर्नु धन्य हुनुहुन्छ आमा हजुर ! आज हजुरको त्यो अतीत सम्झदा मेरो मुटु दुख्छ, छाती भतभती पोल्छ । के गर्नु, यो हाम्रो अन्धो समाजमा छोरीले पराई घर जानुपर्छ । छोराले काजकिरिया गर्छ रे ? हो, यिनै आमा आज त्यो पुर्ख्यौली घरको पिंढीमा आफ्ना सन्तानको पर्खाइमा गहभरि आँसु पार्दै कुन बाटो आउलान् र कुनचाहिँ छोरा–छोरीले आमा भन्लान् भन्दै कुरेर बस्न बाध्य हुनुभा’छ । हुन त मेरी आमाको अतीत लेख्न थाल्यो भने धेरै समय लाग्ला, तर हरेक छोराछोरीले के बुझ्नु जरुरी छ भने–आमाले हामीलाई आफ्नो हातको नङभित्र दिसा पस्दा वा रातभर पिसाबले भरिएको चिसो थाङ्नामा सुत्नुपर्दा पनि कहिल्यै आत्तिनु भएन, बरु उहाँले छाती चुसाई, हुर्काई, बढाई, पढाई ठूलो पारी दुई–चार पैसा कमाउन सक्नेसम्म बनाउनुभयो । 

यद्यपि अहिले २०–२५ वर्षसम्म खाई–नखाई दुःख गर्दै कहिल्यै रुन पनि नदिई हुर्काएका सन्तानले आज मेरो फुर्सद छैन भन्छन् । आफ्ना छोराछोरीको ख्याल गर्नुपर्छ, पढाउनुपर्छ पनि भन्छन् । ती सन्तानले किन र कसरी भुल्न सक्छन्, कति छिटो भुल्न सक्छन् ? ती बूढी आमा हाम्रो सेवामा छिट्टै बूढी अनि रोगी भा’की छिन् । आमा छोरीको घरमा किन बस्न नहुने ? छोरी पनि त्यही कोखका सन्तान होइनन् र ? 

९–१० महिना पेटमा पालेर २०–२५ वर्षसम्मको भोगाई यो आमाको ऋणको हिसाब चुक्ता गर्न सक्दैनन् कसैले । हो, २०–२५ वर्षसम्म गरेको आमाको सेवा भुलेर आज पछि बनाइएका नाता श्रीमान् अनि श्रीमतीले गर्दा सबै बिर्सिएजस्तो गर्छन्, छोराछोरीले बूढी आमाको आशा अनि पर्खाइलाई मनन गर्नु जरुरी छ । अहिलेको जस्तो सुविधा आमाको समयमा भोग गर्न नपाइए पनि, ‘क’ सम्म नपढेकी भए पनि, आमाले नै हामीलाई यहाँसम्म पुर्‍याउनुभएको छ । जुन हामी सन्तानले भुल्नै नहुने कुरा हो । सबै सन्तानले भित्रैदेखि बुझ्नुपर्छ कि आज ती बूढी आमालाई हाम्रो आवश्यकता छ । आमा हाम्रो खोजीमा हुनुहुन्छ, हाम्रो मायाको खोजीमा हुनुहुन्छ । यद्यपि सबै सन्तान आमालाई छाडेर टाढाटाढा हुँदै गएका छन् ।

 Image