Successfully Copied

प्रतिष्ठाको मिस इंग्ल्यान्ड यात्रा

बेलायत, अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी हुन् । पर्सि मे २६ तारिख लेस्टर टाइगर्स स्टेडियममा करिब अढाई दर्जन सुन्दरीबीच हुने प्रतिस्पर्धाबाट उनी फाइनल पुग्ने–नपुग्ने कुरा निर्धारण गर्नेछ ।

बेलायतको एउटा प्रतिष्ठित सौन्दर्य प्रतिस्पर्धा ‘मिस इंग्ल्यान्ड’ मा नेपाली सहभागिता यसअघि खासै सुनिएको थिएन । सन् २०१९ को संस्करणमा भने सेमिफाइनल पुगेर प्रतिष्ठा ‘तृष’ राउत ‘पब्लिक फिगर’ भएकी छिन् । ‘मैले सोचेभन्दा राम्रो रेस्पोन्स पाएकी छु । नेपाली समुदायको माया एवं सपोर्टबाट खुसी छु’, प्रतिष्ठाले साप्ताहिकसँग भनिन् । अहिले नेपाली डायस्पोरा प्रतिष्ठालाई शुभकामनासँगै पब्लिक भोट दिन व्यस्त छ ।

बेलायत, अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी हुन् । पर्सि मे २६ तारिख लेस्टर टाइगर्स स्टेडियममा करिब अढाई दर्जन सुन्दरीबीच हुने प्रतिस्पर्धाबाट उनी फाइनल पुग्ने–नपुग्ने कुरा निर्धारण गर्नेछ । यसअघि १६ जुनमा दि ग्रान्ड होटल ब्रिस्टोलमा तय भएको इभेन्ट अगाडि सरेपछि प्रतिष्ठा भने तनावमा छिन् । ‘दिन नजिकिएकाले अलिक नर्भस छु’, उनले भनिन् । 

सेमिफाइनलमा च्यारिटी क्विन, इको ड्रेस, ब्ल्याक ड्रेस, इन्टरभ्यू तथा पब्लिक भोटिङ गरी ५ राउन्ड हुनेछन् । तिनै राउन्डका आधारमा ५ देखि १० जना फाइनलमा पुग्नेछन् । गत वर्ष मिस इंग्ल्यान्डमा भाग लिन करिब २२ हजारले आवेदन दिएका थिए । 

च्यारिटी क्विन टाइटलका लागि प्रतिष्ठाले मानसिक स्वास्थ्यमा काम गर्ने संस्था ‘पापीरस’ का लागि १२ सय पाउन्ड संकलन गरिसकेकी छिन् । बेलायतको नेपाली समुदायमा मेन्टल हेल्थसम्बन्धी जनचेतना जगाउने उद्देश्यले पनि आफूले उक्त च्यारिटी चुनेको प्रतिष्ठाले बताइन् ।

हङकङमा जन्मिएकी प्रतिष्ठा ५ वर्षको उमेरदेखि बेलायत बस्न थालेकी हुन् । भूपू ब्रिटिस गोर्खा प्रकाश राउत तथा मीना राउतकी एक्ली छोरी प्रतिष्ठाले १६ वर्षमै मोडलिङ थालेकी थिइन् । युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तीर्ण प्रतिष्ठा पेसाले फ्लोर प्लान आर्किटेक्ट हुन् । 

छिट्टै रेजिडेन्सियल हाउजिङ आर्किटेक्ट फर्म खोल्ने र मोडलिङलाई पनि एकसाथ अघि बढाउने उनको सोच छ । करिअर र अध्ययनमा फोकस गर्नुपरेकाले नेपाल जाने आउने क्रम कम भएको प्रतिष्ठाले बताइन् । दुई वर्षअघि तीन महिनाका लागि स्वयंसेवकका रूपमा नेपाल गए पनि डस्ट एलर्जीका कारण दुई सातामै फर्कनुपरेको उनले स्मरण गरिन् । बेलायतमै हुर्किए पनि नेपाली संस्कृति, संस्कार एवं वेशभूषा उनलाई प्रिय लाग्छ । प्रतिष्ठा आफ्ना बाबा–आमासँग नेपाली इभेन्टहरूमा सहभागी भैरहन्छिन् । 

उनलाई फिल्म तथा म्युजिक भिडियोबाट अफर आइसकेका छन् । ‘तर फिल्मको स्क्रिप्ट मन परेन’, प्रतिष्ठा भन्छिन्, ‘म्युजिक भिडियोबाट पनि अफर आएको थियो तर किस सिन गर्न मलाई कम्फर्टेबल भएन ।’ बाबु–आमा अलिक रिलेजियस भएकाले पनि उनलाई उत्ताउलो दृश्यमा रुचि छैन । प्रतिष्ठा फुर्सदमा साथीहरूसँग आउटिङ जान रुचाउँछिन् । गत वर्ष ११ वटा युरोपेली देश घुमेकी प्रतिष्ठा यो वर्ष समरमा भने मिस इंग्ल्यान्डको चटारोका कारण कतै जान पाइनन् ।

अचेल उनलाई थरीथरीका प्रस्ताव आउन थालेका छन् । तन्नेरीका प्रेम प्रस्तावदेखि विवाहित पुरुषका कफी पिउने अफरसम्म । ‘मैले अपरिचित एकजनालाई फेसबुकमा एसेप्ट नगरेपछि धनीलाई मात्र एसेप्ट गर्ने हामी गरिबसँग त बोल्न पनि नहुने है भन्ने म्यासेजसम्म आयो’, प्रतिष्ठाले भनिन्, ‘म रिलेसनसिपमा छैन्, करिअरमा फोकस हुने बेलामा यस्ता कुरामा अल्झनु पनि हुँदैन ।’

 Image