Successfully Copied

बिमामा महिला

बिमाले जीवनरक्षा र सवारी साधनको सुरक्षा मात्र होइन मृत्युपर्यन्त परिवारजनलाई रकम उपलब्ध गराउनुका साथै अन्य सेवा पनि उपलब्ध गराउँछ तर त्यो पोलिसीको प्रकारमा निर्भर रहन्छ । बिमाका लागि आयस्रोत प्रमुख विषय हो भने इच्छाशक्ति र आँट अर्को महत्वपूर्ण कुरा हो । 

नेपालमा अहिले जीवन सुरक्षाका लागि बिमा गर्ने ट्रेन्ड बढिरहेको छ । भविष्यको आर्थिक सुरक्षा र सहजताका लागि बिमाप्रतिको रुचि र आकर्षण बढ्दै गएको बिमकहरू बताउँछन् । अहिले जीवनरक्षा बिमा र स्वास्थ्य बिमा मात्र होइन नयाँ–नयाँ बिमा पोलिसीमा महिलाको रुचि देखिन्छ । विशेषतः महिलाहरू बचतमा सजग हुने भएकाले नेपालमा बिमा गर्नेहरूमा उनीहरूकै संख्या बढी छ । लामो समयदेखि सरकारी तवरबाट नेपाल बिमा संस्थानले बिमासम्बन्धी काम गर्दै आए पनि अहिले नेपालमा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका बिमा कम्पनी सक्रिय रूपमा कार्यरत देखिन्छन् । धेरै प्रकारका बिमामध्ये अहिले महिलामाझ लोकप्रिय बिमा भनेको जीवन बिमा, स्वास्थ्य एवं सम्पत्ति बिमा नै हो । 

बालुवाटारकी उष्मा एक गैरसरकारी संस्थाकी कर्मचारी हुन् । आफैं गाडी हाँकेर हिँड्ने उनको गाडीलाई पछाडिबाट टिप्परले ठक्कर दिँदा गाडीमा ठूलो क्षति पुग्यो । धन्न उनले गाडीको बिमा गरेकी थिइन् र शतप्रतिशत क्षतिपूर्ति रकम प्राप्त गर्न सफल भइन् । उष्मा मात्र नभएर अहिले थुप्रै महिलाले जीवनलगायत सम्पत्ति र स्वास्थ्य बिमाका कारण सुरक्षित हुने अवसर प्राप्त गरेका छन् । अहिले नेपालमा सञ्चालनमा आएका प्रायः बिमा कम्पनीले घातक रोग लागेकाहरूकाको रक्षावरणलाई केन्द्रबिन्दु बनाएको पाइन्छ । ‘बुझे बिमा जीवन हो’–सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकी सिनियर म्यानेजर रीता पाठक भन्छिन्–‘यसबाट जीवन सुरक्षा मात्र होइन, हरेक कुराको रक्षा हुन्छ ।’

नेपाल लाइफ इन्स्योरेन्सकी चार्टर्ड एकाउन्टेन्ट जोया खान भन्छिन्–‘बिमा गर्ने मात्र होइन बिमा अभिकर्ता महिलाहरूको संख्या पनि गएको आधा दशकदेखि निकै बढेको देखिन्छ । एक त हरेक महिला कामकाजी हुन थाले, अर्को कारण भनेको महिलाहरू विश्वासिला हुन्छन् र उनीहरूमा कन्भिन्सिङ पावर पनि बढी हुन्छ ।’ खानका अनुसार नेपाल लाइफ इन्स्योरेन्सले हाल १६ प्रकारका बिमा सञ्चालनमा ल्याएको छ । त्यसमध्ये आजीवन तथा अग्रिम भुक्तानी बिमा बढी चल्तीमा छन् । आजीवन बिमाभित्र दुर्घटनालगायत १८ किसिमका घातक रोग कभर हुन्छन् । जतिसुकै वर्षे बिमामा पनि एकपटक म्याच्योरिटी भएर बिमकले पैसा पाइसकेपछि पनि मृत्युपछि पुनः पैसा आउँछ । बिमा गर्दा सबैभन्दा महत्वपूर्ण कुरा बोनसको दर हो । जहाँ बोनस बढी हुन्छ त्यहीँ बिमा गर्दा बिमकले बढी लाभ प्राप्त गर्न सक्छन् ।

हाल आएर नेपालका बिमा कम्पनीद्वारा सञ्चालित विविध खालका पोलिसीमा नेपालीहरूको चासो बढ्दै गएको पाइन्छ । मुख्यतः महिलाहरू बालबालिका, सवारीसाधन, सम्पत्ति, स्वास्थ्य आदि बिमामा बढी केन्द्रित पाइन्छन् । 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकी सिनियर म्यानेजर रीता पाठकका अनुसार अहिले आएर महिलाहरू बिमाप्रति अत्यन्त सजग र सचेत हुँदै गएका छन् । अभिकर्ताका रूपमा हाउसवाइफलगायत अन्य प्रोफेसनमा रहेका महिलाले समेत यसबाट राम्रो आय आर्जन गरिरहेका छन् । पहिले–पहिले घरमूली अर्थात् पुरुषको मात्र बिमा गरिन्थ्यो । अहिले महिला स्वयं पनि कामकाजी भएका र स्वयं कमाउने हुँदा महिला बिमकको संख्या निकै बढेको छ । संख्यात्मक रूपमा बिमक महिला बढी भए पनि पुरुषको तुलनामा महिलाको इन्स्योरेन्स प्रिमियम (रकम) कमै देखिन्छ । सिटिजन लाइफ इन्स्योरेन्समा विभिन्न प्रकारका बिमा उपलब्ध छन् । रीता भन्छिन्–‘हामीले अहिले माइक्रो फाइनान्स समूहमा बिमा गरिरहेका छौं जसमा ९० प्रतिशत महिला छन् । ऋण लिने महिलाहरूका लागि सिटिजन लाइफ इन्स्योरेन्सले विशेष सेवा–सुविधासहित उनीहरूलाई रक्षावरण दिने गरेको छ । इन्स्योरेन्स गर्दा आफ्नो रिस्क हेरेर गर्नुपर्छ । जसको जोखिम बढी छ उसले ठूलो रकमको बिमा गर्नुपर्छ ।’ सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित, अहिले जति बराबरको बिमा गरिन्छ परिपक्वता पछि पनि हरेक सेवा–सुविधा लिएर ७० वर्षपछि पहिलेकै बिमांक रकम प्राप्त गर्ने जीवनसारथी बिमा निकै लोकप्रिय छ । जति बराबरको बिमांक रकम छ त्यसको ५ प्रतिशत वार्षिक रूपमा बिमितलाई फिर्ता गरिन्छ जसलाई अग्रिम भुक्तानी बिमा भनिन्छ । यो पनि अहिले निकै चल्तीको बिमा हो । यसमा बिमितले थोरै रकम दिएर ठूलो रक्षावरण पाउँछन् र वर्षैपिच्छे आर्थिक भार बहन गर्नु पर्दैन । सिटिजन लाइफ इन्स्योरेन्समा बालबालिका र अभिभावक दुवैको जोखिम रक्षावरणका लागि बालभविष्य बिमा योजनासमेत सञ्चालित छ । यो कम्पनीले सहकारी र माइक्रो फाइनान्सबाट ऋण लिने व्यक्तिहरूलाई विशेष किसिमको रक्षावरण सुविधा दिँदै आएको छ । सिटिजन लाइफ इन्स्योरेन्स नयाँ आएका बिमा कम्पनीमध्ये सबैभन्दा ठूलो पुँजी लिएर आएको कम्पनी हो । यसमा विशुद्ध नेपाली लगानी मात्र छ । 

बिमाले जीवनरक्षा र सवारी साधनको सुरक्षा मात्र होइन मृत्युपर्यन्त परिवारजनलाई रकम उपलब्ध गराउनुका साथै अन्य सेवा पनि उपलब्ध गराउँछ तर त्यो पोलिसीको प्रकारमा निर्भर रहन्छ । बिमाका लागि आयस्रोत प्रमुख विषय हो भने इच्छाशक्ति र आँट अर्को महत्वपूर्ण कुरा हो । 

मेट लाइफ इन्स्योरेन्सकी अन्डरराइटिङ म्यानेजर अर्चना घिमिरे भन्छिन्– ‘यही २०१८ देखि सुरु भएको लाइफ केयर पोलिसी महिला केन्द्रित छ । यो पोलिसी १० वटा महिलाका लागि मात्र र अन्य १४ वटा महिला–पुरुषका लागि गरी जम्मा २४ घातक रोगको रक्षावरणका लागि सञ्चालित छ । लाइफ केयर ब्युटिफुल भन्ने प्रोडक्ट महिलाका लागि मात्र छ भने लाइफ केयर ब्रेभ भन्ने अर्को पोलिसी महिला–पुरुष दुवैका लागि उत्तम छ ।’ लाइफ केयर ब्युटिफुलभित्र फिमेल कार्सिनोमा, स्किन ग्रयाफ्टिङ, फेसियल रिकन्स्ट्रक्टिभ सर्जरी, स्तन र पाठेघरको क्यान्सरलगायत महिलासम्बन्धी अन्य क्यान्सरको रक्षावरण पर्छन् । १८ देखि ६० वर्षसम्मका महिलाहरूले लाइफ केयर ब्युटिफुलअन्तर्गत डाक्टरद्वारा प्रमाणित भएको खण्डमा त्यसबापत रक्षावरणको रकम मेट लाइफले उपलब्ध गराउँछ । यही कारणले मेट लाइफले बेस्ट न्यु प्रोडक्ट अर सर्भिस विधाअन्तर्गत अन्तर्राष्ट्रिय सिल्भर स्टिभ अवार्ड प्राप्त गरिसकेको छ । नवीनता र उत्कृष्टताका लागि प्रदान गरिने यो अवार्ड विश्वस्तरीय अवार्ड हो । 

सिद्धार्थ इन्स्योरेन्सकी प्रोडक्ट डेभलपमेन्ट एन्ड ब्रान्डिङ म्यानेजर अर्चना अधिकारीका अनुसार यो कम्पनीले महिलाहरूका लागि मात्र भनेर सिद्धार्थ आदर्श नारी बिमा सुरु गरेको छ । यसभित्र बिमित महिलालाई मात्र नभएर उनका श्रीमान्को समेत दुर्घटनाद्वारा हुने मृत्युको रक्षावरण पर्छ । यसबाहेक सुत्केरी गराउने सिलसिलामा मृत्यु भए त्यसको समेत क्षतिपूर्ति यही बिमाबाट प्राप्त गर्न सकिन्छ भने अस्पताल भर्ना हुँदाको औषधोपचार खर्च पनि यसैमा समावेश छ । अधिकारी भन्छिन्–‘प्राकृतिक प्रकोपबाट भएका घरायसी सरसामानको क्षतिवापत पनि केही हदसम्म क्षतिपूर्ति प्राप्त गर्न सकिन्छ । त्यसबाहेक सिद्धार्थ इन्स्योरेन्समा निर्जीवन बिमाभित्र स्वास्थ्य बिमा, दुर्घटना बिमा, सम्पत्ति बिमा, सवारीसाधनको बिमा, मार्गस्थ बिमा आदि बिमा सुविधा उपलब्ध छन् ।’

ज्योति लाइफ इन्स्योरेन्सको इटहरीस्थित शाखा अधिकृत सीमा बस्नेत भन्छिन्–‘३० वर्ष कटेपछि महिलामा रोग लाग्ने सम्भावना बढी हुन्छ । ज्योति लाइफ इस्योरेन्स नेपालमै पहिलो इन्स्योरेन्स कम्पनी हो जसले रोग लाग्दाका बखत बिमितलाई सहयोग गर्नुपर्छ वा बचाउनुपर्छ भन्ने अवधारणा ल्यायो । यसले रोग लाग्दा उपचार गर्ने पैसा नभएर मर्नु पर्दैन भन्ने वातावरण सिर्जना गर्‍यो ।’ ज्योति लाइफ इन्स्योरेन्समा जीवन बिमा, स्वास्थ्य बिमा, सामूहिक बिमा आदि बिमा सेवा उपलब्ध छन् ।

बिमित हुनका लागि मापदण्ड 

विभिन्न बिमा पोलिसीसम्बन्धी राम्रो जानकारी लिनुपर्छ ।

तीमध्ये आफ्ना लागि कुन बिमा उपयुक्त छ त्यो आफैले छनोट गर्न सक्नुपर्छ । 

आफ्नो आयअनुसार पोलिसी छनोट गर्नुपर्छ ।

बिमा गर्दाको मितिसम्म घातक रोगबाट प्रभावित नभएको हुनुपर्छ ।

इच्छाशक्ति हुनुपर्छ ।

बिमा भनेको अनिवार्य बचत हो, यसलाई निरन्तरता दिनुपर्छ ।

सीमा बस्नेत, शाखा अधिकृत, ज्योति लाइफ इन्स्योरेन्स इटहरी 

बिमा गर्नुअघि

बिमा गर्नुअघि सबैभन्दा पहिले बोनस दरका बारेमा जानकारी लिनुपर्छ ।

आफूले कति प्रिमियम तिरिरहेको छ र म्याच्योरिटीमा कति पैसा फिर्ता आउँछ त्यसका बारेमा जानकारी लिनुपर्छ ।

आफूले लिएका पोलिसीहरूमा के–कस्ता सुविधा छन् ती कुरामा सजगता अपनाउनुपर्छ ।

कति समयमा ऋण उपलब्ध हुन्छ र अग्रिम भुक्तानीमा कति समयको अन्तरालमा कति पैसा फिर्ता आउँछ बुझ्न जरुरी छ ।

कहिले र कसरी प्रिमियम तिर्ने उक्त समयका बारेमा ध्यान पुर्‍याउनुपर्छ । किनभने बिमा शुल्क तिर्ने मिति कटे थप शुल्क लाग्छ र तिर्दै तिरिएन भने कुनै पनि रिस्क कभर नहुने भएकाले यसप्रति सचेत रहनुपर्छ ।

जोया खान, चार्टर्ड एकाउन्टेन्ट, नेपाल लाइफ इन्स्योरेन्स 

 Image