Successfully Copied

विश्वका सबैभन्दा धनी सात महिला

विश्वका सबैभन्दा धनी व्यक्ति तथा उनीहरूका श्रीमतीले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि सम्पत्ति बाँडफाँडको कुरा पनि ठूलो हुने नै भयो । एमेजनका मालिक जेफ बेजोस तथा उनकी श्रीमती मक्केन्जीले सम्बन्धविच्छेदका सर्तका बारेमा पनि सहमति गरे ।

विश्वका सबैभन्दा धनी व्यक्ति तथा उनीहरूका श्रीमतीले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि सम्पत्ति बाँडफाँडको कुरा पनि ठूलो हुने नै भयो । एमेजनका मालिक जेफ बेजोस तथा उनकी श्रीमती मक्केन्जीले सम्बन्धविच्छेदका सर्तका बारेमा पनि सहमति गरे । सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ अर्ब अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेन भएको छ ।

सम्बन्धविच्छेदपछि मक्केन्जीसँग जेफले स्थापना गरेको अनलाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत हिस्सा छ । अब मक्केन्जी संसारकी तेस्री धनी महिला भएकी छिन् । बेजोस दम्पतीको सम्बन्धविच्छेदलाई अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ । उनीहरूको वैवाहिक सम्बन्ध २५ वर्ष पुरानो थियो । विश्वका धनी महिलाहरूको सूचीमा अरू को–को छन् र उनीहरू कसरी त्यहाँसम्म पुगे ? एकछिन खोजनीति गरौं ।

फ्रांस्वाज बेताकुर मायर्स

फोर्ब्स पत्रिकाका अनुसार ४९ दशमलव ३ अर्ब डलर बराबरको सम्पत्तिसहित उनी विश्वकी पहिलो धनी महिला हुन् । मायर्स विश्वका धनी व्यक्तिहरूको सूचीको १५ औं स्थानमा छिन् । 

को हुन् उनी ? 

सौन्दर्य प्रसाधन उत्पादन गर्ने कम्पनी लोरिअलकी फ्रान्सेली उत्तराधिकारी फ्रांस्वाज बेताकुर मायर्सको उक्त कम्पनीमा परिवारसहित ३० प्रतिशत हिस्सा छ । सन् २०१७ को सेप्टेम्बरमा ९४ वर्षको उमेरमा आमाको निधन भएपछि ५० वर्षीया बेताकुर मायर्समा उक्त सम्पत्तिको स्वामित्व सरेको हो । आमाछोरी एक–अर्कासँग छुट्टिएका थिए र सन् २००७ मा उनीहरूबीच विवाद सुरु भएको थियो । स्वास्थ्यस्थिति बिग्रदै जाँदा सहयोगीहरूबाट आफ्नी आमामाथि शोषण भएको भन्दै बेताकुर मायर्सले मुद्दा हालेकी थिइन् । बेताकुर मायर्स प्राज्ञ पनि हुन् । उनले ग्रिक देवताहरूका साथै यहुदी तथा इसाईका सम्बन्धमा पुस्तक लेखेकी छिन् । 

एलिस वाल्टन

कुल ४४ दशमलव ४ अर्ब डलर बराबरको सम्पत्तिसहित एलिस वाल्टन विश्वका सबैभन्दा धनीको सूचीको १७ औं स्थानमा छिन् । 

को हुन् उनी ?

वाल्टन अमेरिकी सुपरमार्केट वालमार्टका संस्थापक साम वाल्टनकी एक्ली छोरी हुन् । वाल्टन ६९ वर्षकी भइन् । यद्यपि उनी पारिवारिक कम्पनीबाट बाहिर निस्किएर कलामा केन्द्रित भइन् र अर्कान्सस्थित क्रिस्टल ब्रिज्स म्युजियम अफ अमेरिकन आर्टकी प्रमुख बनिन् । 

मक्केन्जी बेजोस

बेजोस कम्तीमा ३५ दशमलव ६ अर्ब डलर बराबरको सम्पत्तिकी मालिक हुन् । यो एमेजनमा उनको हिस्साको मूल्य मात्र हो । उनको सम्पत्ति अझ बढी हुनसक्छ । 

को हुन् उनी ?

चार सन्तानकी आमा बेजोस ४८ वर्षकी छिन् । सन् १९९३ मा उनले जेफ बेजोससँग विवाह गरेकी थिइन् । जेफले विवाहको एक वर्षपछि एमेजनको स्थापना गरे । क्यालिफोर्नियाकी मक्केन्जी एमेजन कम्पनीमा काम गर्ने एक कर्मचारी हुन् । उनले लेखापालका रूपमा जागिर थालेकी थिइन् । आख्यान विधामा उनका दुईवटा पुस्तक प्रकाशित छन् । बेजोसलाई प्रशिक्षित गर्ने लेखक टोनी मोरिसन उनलाई उत्कृष्ट शिष्य बताउँछन् । 

ज्याक्लिन मार्स

उनको कुल सम्पत्ति २३ दशमलव ९ अर्ब डलर छ । मक्केन्जी बेजोस धनी महिलाहरूको सूचीमा पर्नु अघि मार्स तेस्री धनी महिला थिइन् । त्यतिबेलासम्म उनलाई विश्वकी ३३ औं सर्वाधिक धनी महिला मानिन्थ्यो ।

को हुन् उनी ?

मार्स ७९ वर्षकी छिन् । उनको विश्वका सबैभन्दा ठूलो कन्फेक्सनरी अर्थात् मिठाईं उत्पादक कम्पनी मार्समा एकतिहाइ स्वामित्व छ । त्यसको स्थापना सन् १९११ मा उनका हजुरबुवाले गरेका थिए । करिब २० वर्षसम्म पारिवारिक व्यवसायमा संलग्न मार्स सन् २०१६ सम्म आफ्नो कन्फेक्सनरीको बोर्ड सदस्य रहिन् । अहिले उनी समाजसेवीका रूपमा परिचित छिन् । उनी वासिङ्टन न्यास्नल ओपेरा तथा न्यास्नल आर्काइभकी बोर्ड सदस्य पनि हुन् । मार्स जनावरहरूका लागि खाना उत्पादन गर्ने सबैभन्दा ठूलो अमेरिकी कम्पनी हो ।

यान हुइयाङ

२२ दशमलव १ अर्ब डलर बराबरको सम्पत्तिसहित चीनकी सबैभन्दा धनी महिला तथा विश्वकी ४२ औं धनी व्यक्ति हुन्–यान हुइयाङ । 

को हुन् उनी ?

३७ वर्षीया यान हुइयाङको सम्पत्तिको अधिकांश हिस्सा चीनमा घरजग्गा कारोबार गर्ने कम्पनी कन्ट्री गार्डेन होल्डिङमा छ । उक्त कम्पनीको वेबसाइटका अनुसार कन्ट्री गार्डेन सन् २०१६ मा विश्वको तेस्रो ठूलो घरजग्गा कारोबारी कम्पनी थियो । ओहायो विश्वविद्यालयमा अध्ययन गरेकी यान हुइयाङमा कम्पनीको ५७ प्रतिशत हिस्सा उनका बुवाबाट आएको हो । 

जुजान क्लाटन

२१ अर्ब डलर बराबरको सम्पक्तिसहित क्लाटन विश्वका धनी व्यत्तिहरूको सूचीको ४६ औं स्थानमा छिन् भने धनी महिलामा उनी छैठौं सर्वाधिक धनी महिला हुन् ।

को हुन् उनी ?

 यी ५६ वर्षीया जर्मन महिला यो सूचीमा पर्ने दोस्रो युरोपेली हुन् । उनको लगानी कार कम्पनी तथा औषधि निर्माण कम्पनीमा छ । आमाबुवाको निधन भएपछि एल्टाना एजी रासायनिक कम्पनीको ५० प्रतिशत हिस्सा उनको नाममा आयो । त्यसबाहेक बीएमडब्ल्यूमा पनि उनी तथा उनका भाइको ५० प्रतिशत शेयर छ । एल्टाना एजी कम्पनी अहिले उनको निजी भएको छ । 

लरेन पावेल जब्स

१८ दशमलव ६ अर्ब डलर बराबरको सम्पत्तिसहित पावेल विश्वका धनीहरूको सूचीमा ५४ औं स्थानमा आउँछिन् भने महिलातर्फ सातौं ।

को हुन् उनी ?

पावेल एप्पल कम्पनीका सह–संस्थापक स्टिभ जब्सकी विधवा हुन् । श्रीमान्को निधनपछि एप्पल र डिज्नीबाट उनलाई २० अर्ब डलर बराबरको स्वामित्व आएको हो । त्यसयता यी ५५ वर्षीया महिलाले केही रकम पत्रकारितामा लगानी गरी एटलान्टिक म्यागजिनका साथै गैरनाफामूलक मदर जोन्स तथा प्रोपब्लिकमा ठूलो शेयर लिएकी थिइन् ।

 

 Image