Successfully Copied

क्यारेक्टर विल्ड गरेर काम गर्न मज्जा लाग्छ 

मलाई क्यारेक्टर विल्ड गरेर काम गर्न मज्जा लाग्छ । कतिपयले आफ्नै लुगामा अभिनय गर भन्छन् तर त्यसमा क्यारेक्टरको भावभंगी नै आउँदैन । स्टेजमा पुगेपछि म शरीरमा देउता चढेजस्तो लठ्ठ हुन्छु र नाटक सकिएपछि मात्र ब्युँतन्छु ।

लुनिभा तुलाधर/कलाकार तथा निर्देशक

 

स्क्रिप्टलाई मञ्चमा व्यावहारिक रूपमा जीवन्त बनाउन के–कस्ता चुनौती छन् ?

पहिलो कुरा स्क्रिप्ट बुझ्नैपर्‍यो, कतिपय कुरा सरर्र पढ्दा भेटिँदैन–देखिँदैन । जसलाई पहिल्याउन पटक–पटक स्क्रिप्ट पढ्नुपर्ने हुन्छ । नाटकमा भित्री गुदी बुझ्न खोजिन्छ । मैले भात खाएँ भन्ने डायलगलाई कुन अर्थमा बुझाउने  त्यो एक्टरको प्रस्तुतिमा भर पर्छ । हरेक कलाकारलाई क्यारेक्टराइजेसन गर्नुपर्ने चुनौती चिर्न सक्नु नै अभिनय जीवन्त बनाउनु हो । 

तपाईंको अभिनय हेरिसकेपछि घर नपुगुन्जेलको यात्रामा दर्शकले के सोच्छन् होला ?

भर्खरैको नाटक ‘प्राइभेट इज पोलिटिकल–योनिका कथा–४’ हेरेपछि मानिसहरू रुँदै घर फर्किएको पनि सुनिएको छ । कतिले त बाटोभरी यसैको कल्पना गरेर, यसबाट चेतना र ज्ञान आएपछि सामाजिक सञ्जालमा म मेरा दिदीबहिनी, प्रेमिका तथा आफू वरिपरिका महिलाहरूप्रति गर्ने व्यवहारमा परिवर्तन ल्याउँछु भनेर पनि लेखेका छन् । 

स्टेजमा क्यारेक्टर र तपाईं हुनुमा कुन सहज छ ? 

मलाई क्यारेक्टर विल्ड गरेर काम गर्न मज्जा लाग्छ । कतिपयले आफ्नै लुगामा अभिनय गर भन्छन् तर त्यसमा क्यारेक्टरको भावभंगी नै आउँदैन । स्टेजमा पुगेपछि म शरीरमा देउता चढेजस्तो लठ्ठ हुन्छु र नाटक सकिएपछि मात्र ब्युँतन्छु ।

आफूलाई मन परेको क्यारेक्टरको एक लाइन डाइलग ? 

‘प्राइभेट इज पोलिटिकल–योनिका कथा–४’ को अत्यन्तै मन परेको डायलग ‘म त आफू जो हुँ त्यही भएर बाँच्न चाहन्छु । मलाई आफू भएर बाँच्न मन छ । म लगायत समलिंगी, तेस्रोलिंगी हामीलाई त आफ्नो जिन्दगी स्वतन्त्र भएर बाँच्ने अधिकार पनि छैन ।’ 

रंगमञ्चमा अत्यन्तै असहज महसुस गरेको क्षण ?

म गर्भवती थिएँ । नाच्ने, ड्रिंक्स गर्ने तथा हँसाउने रोल थियो । त्यही समयमा मेरो आँखा, ओठ, कान, अनुहार आदि सुन्निएर डायलग बोल्न नसक्ने गरी घाँटीमा एलर्जी भयो । स्टेजमा साह्रै गाह्रो भए पनि त्यो दिनको अभिनय सकेर म अस्पतालतिर दौडिएँ । 

तपाईंसँग भर्खरै घटेको अत्यन्तै रमाइलो र हाँसउठ्दो घटना ?

कबड्डी कबड्डीका निर्माताले सरप्राइज रूपमा एनिभर्सरी केक काटिदिनुभएको थियो । त्यो तरिकाले हामीले आजसम्म एनिभर्सरी मनाएका थिएनौं । श्रीमान्लाई कुर्दा–कुर्दा ढिलो भएकाले म काम सकेर हिँड्न लागिसकेकी थिएँ । 

तपाईं के भनेर चिनिन चाहनुहुन्छ ?

नमस्ते म लुनिभा तुलाधर, कलाकार अनि आमा..यही भनेर चिनिन चाहन्छु । अहिले म सामाजिक कार्यमा अत्यन्तै व्यस्त छु । आफ्नो कर्म क्षेत्रमार्फत महिलाका लागि काम गरिरहेकी छु । म एकै पटकमा संसारको कायापलट होस् भन्ने चाहन्न । यत्ति मात्र भए पुग्छ कि हाम्रा कारणले थोरै भए पनि कुनै न कुनै परिवर्तन आओस् । 

 

 Image