Successfully Copied

नक्कली सौन्दर्य प्रसाधनको बिगबिगी

सुन्दर देखिन सबैलाई मन लाग्छ । सुन्दरताका लागि खानपान, व्यायामका साथै गुणस्तरीय सौन्दर्य प्रसाधनले विशेष भूमिका खेल्छन् । अहिले कस्मेटिक्स प्रोडक्टले बजार ढाकिएको छ । बजारको करिब ३५ प्रतिशत हिस्सा यसैले ओगटेको र त्यसमध्ये ९० प्रतिशत सौन्दर्य प्रसाधन त नक्कली हुने सम्बन्धित व्यवसायीहरू बताउँछन् ।

सुन्दर देखिन सबैलाई मन लाग्छ । सुन्दरताका लागि खानपान, व्यायामका साथै गुणस्तरीय सौन्दर्य प्रसाधनले विशेष भूमिका खेल्छन् । अहिले कस्मेटिक्स प्रोडक्टले बजार ढाकिएको छ । बजारको करिब ३५ प्रतिशत हिस्सा यसैले ओगटेको र त्यसमध्ये ९० प्रतिशत सौन्दर्य प्रसाधन त नक्कली हुने सम्बन्धित व्यवसायीहरू बताउँछन् । अहिले बजारमा अन्तर्राष्ट्रिय ब्रान्डका महँगा कस्मेटिक्सको लोगोमा अलिकति मात्र हेरफेर गरी उस्तै देखिने प्रसाधनको बिगबिगी बढेको इन्द्रचोकका एक कस्मेटिक्स व्यवसायीले बताए । यस्तो अवस्थामा यसबाट कसरी जोगिने वा छुटकारा पाउने भन्ने विषयमा यसपटकको नारी बहस :

डा. प्रकृति ज्ञवाली कस्मेटिक ड्रमाटोलोजिस्ट 

कस्तो कस्मेटिक उत्पादन हो त्यसमा निर्भर हुन्छ । नेपालमा प्रायः नक्कली सामान नै आउँछन् । दाग हटाउने भन्दै आएका चाइनिज, कोरियन क्रिमहरू लगाउँदासम्म एकदमै राम्रो देखिन्छ तर तिनले कालान्तरमा छालामा रौं निकाल्ने, दाग बढाउँदै लाने, छाला पातलो हुने र दीर्घकालीन रूपमै छालालाई नराम्रोसँग असर पुर्‍याउँछन् । ह्वाइटनिङ क्रिमले कालान्तरमा एलर्जी देखिने, घाममा छाला रातो हुने वा बिबिरा आउने समस्या सिर्जना गर्छ । नक्कली प्रसाधनले ल्याउने प्रायः समस्या भनेको एलर्जी नै हो । हाम्रो जस्तो मुलुकमा कस्मेटिक्समा अत्यन्तै स्मार्ट हुनु जरुरी देखिन्छ, जुन एकदम गाह्रो छ । कस्मेटिक्ससम्बन्धी ज्ञान कस्मेटिक ड्रमाटोलोजिस्टसँग लिएर आफ्नो छाला सुहाउँदो ब्रान्ड एवं प्रसाधन रोज्नुपर्छ । कस्मेटिक्स मेडिसिन होइन र यो दिनहुँ प्रयोग गर्नुपर्ने चीज भएकाले यसमा विशेष सावधानी अपनाउनुपर्छ । 

 

गीता उप्रेती, ब्युटिसियन

सुन्दर देखिने अस्त्र नै सौन्दर्य प्रसाधन हुन् । यिनै सामान नक्कली परे भने सुन्दर बन्ने होडमा कुरूप बन्न बेर लाग्दैन । अहिले बजारमा देखिएका नक्कली प्रसाधनका कारण अनुहार र केश बिग्रिएर सपार्न आएकाहरूको संख्या करिब ४५ प्रतिशत छ । प्रसाधन बनेको र प्रयोग गर्ने अन्तिम मिति राम्रोसँग ख्याल नगर्नेहरू पनि यस्ता समस्याबाट प्रभावित छन् । अर्को कुरा आफ्नो छालामा के–कस्तो प्रकृतिको प्रसाधन सुहाउँछ भन्ने नबुझी अर्काले लगाएर राम्रो देखिएकै भरमा आफूले पनि प्रयोग गर्न खोज्दा विभिन्न समस्याले ग्रसितहरू पनि प्रशस्तै आउँछन् । नक्कली प्रसाधन प्रयोग गरेकै कारण चायाँ, पोतो, अनुहारमा बिबिरा, डाबर निस्किएर उपचारका लागि आउनेहरू धेरै छन् । मुख्यतः यस्ता समस्या समाधानका लागि प्रसाधन कम्पनीहरूले हामीजस्ता ब्युटिसियन तथा कस्टमरका लागि सही सूचना र कार्यक्रममा जोड दिनुपर्छ । 

 

रजनी श्रेष्ठ, कस्मेटिक्स व्यवसायी

नक्कली सौन्दर्य प्रसाधनमा बारकोड (कस्मेटिकको बट्टाको पछाडि देखिने अक्षरसहितको लामो–लामो धर्का) हुँदैन तर कस्टमरलाई नक्कली र सक्कली प्रसाधन छुट्याउन कठिन हुन्छ । सौन्दर्य प्रसाधन ग्राहकले इन्टरनेट सर्च गरी त्यसका बारेमा पूर्ण जानकारी लिनुपर्छ । अहिले त बजारमा ल्याक्मेको नेलपोलिस, फ्लोरलको गाजल किन्न जाँदा नक्कली लोगोयुक्त सामान भिडाएर पठाइदिन्छन् । सक्कली प्रसाधन मूल्यले पनि निर्धारण गरेको हुन्छ । थोरै बढी पैसाको लोभ नगरी ब्रान्डको आधिकारिक बिक्रेता वा आउटलेटबाट नै प्रसाधन खरिद गर्नुपर्छ । ग्राहक सजग नभएका कारण अन्तर्राष्ट्रिय बिग ब्रान्डसमेत डुबिरहेका छन् । किनभने नाम बिग ब्रान्डको हुन्छ तर प्रयोग चाइनिज सस्ता प्रसाधनको भैरहेको छ । तसर्थ कस्टमर अवेयरनेस जरुरी छ । नेपालमा ८० प्रतिशत ब्युटिसियन कस्मेटिक प्रोडक्टका सम्बन्धमा आफू स्वयं विज्ञ छैनन् ।

 

सुनीता थापा, विद्यार्थी

टिनएजर्स स्किन भएकाले म कस्मेटिक्समा सधैं सजग रहन्छु । यति हुँदाहुँदै पनि एकपटक बजारबाट राम्रै ब्रान्डको नाम देखेर सन ब्लस क्रिम किनेर ल्याएँ । भोलिपल्ट छालामा लगाउँदा पूरै अनुहार जलेजस्तो रातो भएर आयो । चिलाउने र दुख्ने एकै पटक भयो । एकजना चिनेकी ब्युटिसियन दिदीलाई भन्दा स्किन डाक्टरलाई देखाउन सल्लाह दिनुभयो । स्किन डाक्टरकहाँ जँचाउँदा त्यो सब नक्कली प्रसाधनको परिणाम रहेछ । हामीले सौन्दर्य प्रसाधन खरिद गर्दा निकै ध्यान पुर्‍याउनुपर्दो रहेछ । बजार गयो सबै उस्तै देखिन्छन् । नक्कली र सक्कली छुट्याउनै कठिन हुन्छ । कस्मेटिक व्यवसायीहरू स्वास्थ्यभन्दा व्यापार र नाफामा ध्यान दिने भए । यस्ता कुरामा सरकारले निश्चित माफदण्ड तोकिदिएर कुनै निश्चित ट्याग वा बिक्री–वितरण योग्य चिन्ह लगाइदिए हामीजस्ता सर्वसाधारण त्रेता ठगिनबाट जोगिने थियौं । यस्ता प्रसाधन विक्रेताहरूले पनि कस्टमर केयरलाई ध्यानमा राख्दै सही सूचना र सचेतनामूलक जानकारी दिइरहनुपर्छ । अन्तर्राष्ट्रिय ब्रान्डको नाम देखेर धेरै पैसा हाली किनिन्छ तर प्रयोग गर्दा परिणाम गलत आउँछ । 

मनीकरण के.सी., जोय कस्मेटिक 

अहिले नेपाली बजारमा ९० प्रतिशतभन्दा बढी नक्कली कस्मेटिक प्रोडक्ट देखिन्छन् । त्यसमा नाम एउटा लेखिएको हुन्छ भित्रको चीज अर्कै हुन्छ । त्यसैले धेरै ग्राहक झुक्किएका छन् । अझ त्यस्ता नक्कली सामानको मूल्य ट्यागकै मात्र आधारमा बढी राखिदिँदा उनीहरू चिटिङमा पर्ने गरेका छन् । यो नेपाली सौन्दर्य प्रसाधन व्यवसायको मात्र नभई समग्र सौन्दर्य क्षेत्रकै विकराल समस्या हो । यसको रोकथाम वा न्यूनीकरणका लागि बलियो सरकारी नीति तथा अनुगमन जरुरी देखिन्छ । कसैले आफ्नो आधिकारिक ब्रान्ड र कम्पनीबाहेक नक्कली सामान बिक्री–वितरण गरेको थाहा पाए तत्काल कारबाही प्रक्रिया अघि बढाउने बलियो संयन्त्र पनि चाहिन्छ । यो मानिसको सुन्दरता मात्र नभएर स्वास्थ्यसँग जोडिएको विषयसमेत भएकाले यसमा लापरबाही हुनु दुःखको कुरा हो ।

 

 Image