Successfully Copied

समय र परिस्थितिका अगाडि कसैको केही चल्दैन

हरेक कुरा समय र परिस्थितिले निर्धारण गर्दो रहेछ । सानोमा पटक्कै मासु नखाने व्यक्तिलाई पछि मासु नभई खाना नरुच्ने हुन सक्छ । हामी आफैलाई पनि हेर्न सक्छौं । पहिले र अहिलेसम्म आइपुग्दा हाम्रा कति धेरै इच्छा–रुचिहरू फरक भैसक्छन् । त्यसरी नै सम्बन्धमा पनि मनमुटाव हुँदै एकले अर्कोलाई

११ वर्षको वैवाहिक सम्बन्धमा पूर्णविराम लगाउँदै नायिका, प्रोडुसर, नृत्य आदि क्षेत्रमा सत्रिय छिन्–छुल्ठिम डोल्पा गुरुङ । पहिले प्रेम विवाह गरेकी छुल्ठिम आपसी सम्बन्ध प्रगाढ नभएकैले छुट्टिने निर्णय गरेको बताउँछिन् । सम्बन्धविच्छेदपछि नै उनी ठूलोपर्दामा देखिएकी हुन् । अहिले उनी देश–विदेशका कार्यक्रमहरूमा समेत उत्तिकै व्यस्त छिन् । 

सम्बन्धविच्छेदपछि आफूलाई सम्हाल्न कत्तिको कठिन भयो ?

सानो घाउलाई निको पार्न पनि १–२ हप्ता लाग्छ भने सम्बन्ध बिग्रिएपछि आफूलाई रिकभर गर्न कठिन त पक्कै हुन्छ । यद्यपि समय लामो वा छोटो बनाउने आफ्नै हातमा हुन्छ । म रेडियो–टिभीमा काम गरिरहेकी थिएँ । मेरो पहिलो मुभी नोभेम्बर रेनको काम पनि लगभग पूरा भैसकेको थियो । त्यसैले मलाई आफूलाई सम्हाल्न धेरै समय लागेन । काममा व्यस्त भएकीले ६–७ महिनामै आफूलाई सम्हालें ।

कसरी सम्हाल्नुभयो ?

मैले संकल्प लिएकी थिएँ । जे–जस्तो परिस्थिति आए पनि म सम्हाल्न सक्छु । धेरैजसोले मलाई नै नराम्रो भन्थे, मेरै कमजोरी देखाउँथे । यद्यपि म ती कुराहरूलाई वास्ता नगरी आफ्नै काममा लागिरहें । मलाई लाग्थ्यो मन पराएको मान्छेसँग बस्न नपाउनु र मन नपरेको मान्छेसँग बस्नुपर्ने जस्तो पीडा अरू केही होइन । यही मन्त्रले म सम्हालिएँ । 

मनपरेको मान्छे कसरी मन नपर्ने हुँदो रहेछ ?

हरेक कुरा समय र परिस्थितिले निर्धारण गर्दो रहेछ । सानोमा पटक्कै मासु नखाने व्यक्तिलाई पछि मासु नभई खाना नरुच्ने हुन सक्छ । हामी आफैलाई पनि हेर्न सक्छौं । पहिले र अहिलेसम्म आइपुग्दा हाम्रा कति धेरै इच्छा–रुचिहरू फरक भैसक्छन् । त्यसरी नै सम्बन्धमा पनि मनमुटाव हुँदै एकले अर्कोलाई हेर्नै मन नलाग्ने स्थितिसमेत सिर्जना हुनसक्छ । भन्नै सकिँदैन आजको आइडल कपल भोलि अलग भैसकेको हुनसक्छ । 

त्यतिबेलाको अनुभव सम्झिनुपर्दा ?

एक दशक लामो सम्बन्ध तोड्दा मानिसहरूले मलाई कसरी हेर्छन्, के भन्छन् भन्ने डर थियो । अब के त ? भन्ने कुरा मनमनै खेलिरहन्थ्यो । अर्को जीवन सुरु हुन लागेको छ के हुन्छ भन्ने आशंका पनि उत्तिकै थियो । त्यतिबेला मलाई बुवा, ममी तथा दिदीहरूले सपोर्ट गर्नुभयो । 

महिलाहरूका लागि सम्बन्धविच्छेदले सकारात्मक प्रभाव पार्छ भन्ने हो त ?

सम्बन्धविच्छेदले जीवन राम्रो हुन्छ भन्ने होइन । सम्बन्ध एकदमै बिग्रिएको छ, विकल्प छैन भने मात्र यो बाटोमा लाग्नुपर्छ । त्यसमा पनि बालबच्चा भएकाहरूले त सयौं पटक सम्बन्ध सुधार्ने प्रयास गर्नुपर्छ । यसले सन्ततिहरूलाई नकारात्मक असर गर्न सक्छ ।

संयोजन    ः    सिर्जना दुवाल श्रेष्ठ

तस्बिर     ः    महेश प्रधान

पहिरन     ः    पिजेज् क्लब, सिभिल मल

मेकअप     ः    श्याम लामा

हेयरस्टाइल : कल्पना लिम्बू, धरान ब्युटिपार्लर

लोकेसन : नोरचोक बुटिक होटल, लाजिम्पाट

 

 Image