Successfully Copied

राजनीतिबाटै चाहेजस्तो समाज निर्माण हुन्छ : रेखा थापा

‘अबको समयमा राजनीतिक कार्यकर्ता सडकमा उभिएर चिच्याएर केही हुनेवाला छैन । जनताको सत्ता स्थापित भैसकेको यो समयमा संसद्मा निर्वाचित भएर गएपछि मात्र ठूला निर्णय गर्न सकिन्छ । एउटै सहीको भरमा परिवर्तन हुन्छ । यस्तो अवसर हातमा आएपछि आफूले सोचेजस्तो समाज निर्माण गर्न सकिन्छ ।’

नेपाली सिनेमाकी चर्चित अभिनेत्री रेखा थापाको परिचय अलिकति अनौठो छ । सिनेमामा उनी प्रायः अभिनेताको भूमिकामा देखिन्छिन् । उनका धेरैजसो सिनेमा नारीप्रधान छन् । रेखा ‘बोल्ड’ र ‘ब्युटिफूल’ दुवै छिन् । त्यसैले उनी बोल्ड र ब्युटिफूल दुवै भूमिकामा पकड राख्छिन् । 

भिनयको मध्यान्ह क्रस गर्न लागेकी रेखामा राजनीतिप्रति प्रचुर रुचि छ । उनको परिवारका सबै सिनियर सदस्य नेपाली कांग्रेसमा सक्रिय थिए । कांग्रेसी परिवारमा जन्मिएकी रेखाको राजनीतिक रुचि फरक छ । कटुवाल काण्डमा माओवादी पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य पारिए । त्यसपछि तत्कालीन एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले एमाले–कांग्रेसको संयुक्त सरकार बनाए । प्रचण्ड आफ्ना कार्यकर्ताको फौज लिएर सडकमा उत्रिए । त्यतिबेला प्रदर्शनस्थलमा प्रचण्डसँग ‘नाचेर’ उनको नेतृत्वको आन्दोलनलाई नैतिक समर्थन दिएकी थिइन् रेखाले । यो रेखाको राजनीतिक जीवनको पहिलो महत्वपूर्ण मोड थियो ।

‘म समाजको आमूल परिवर्तन चाहने मानिस परें । माओवादीभित्र तालमेल मिल्ला भनेको मिलेन । त्यसमा पनि अलिकति धार्मिक प्रवृक्तिको व्यत्ति भएकाले अहिले म राष्ट्रिय प्रजातन्त्र पार्टीमा छु । राष्ट्रिय अध्यक्ष पशुपतिशमशेरको नेतृत्वमा छु । म पार्टीको सह–महामन्त्री छु र विदेश विभाग हेर्छु’, रेखाले बताइन । 

तर, उनी राप्रपाभित्र त्यति सन्तुष्ट छैनन् । पहिले पशुपतिशमशेरले गणतान्त्रिक नेपाललाई आत्मसात् गरेका थिए । अहिले त्यसबाट अलग हुँदैछन् । रेखालाई यो कुरा मन परेको छैन । जनताले गणतन्त्रका लागि संघर्ष गरेका छन् । पसिना बगाएका छन् । त्यसैले पनि रेखालाई कहिलेकाहीं लाग्छ, ‘लास्टमा राप्रपामा अलपत्र परिएलाजस्तो पो छ ।’

उपसंहारमा, रेखाको कुरा पनि उही हो । भन्छिन् : ‘अबको समयमा राजनीतिक कार्यकर्ता सडकमा उभिएर चिच्याएर केही हुनेवाला छैन । जनताको सत्ता स्थापित भैसकेको यो समयमा 

संसद्मा निर्वाचित भएर गएपछि मात्र ठूला निर्णय गर्न सकिन्छ । एउटै सहीको भरमा परिवर्तन हुन्छ । यस्तो अवसर हातमा आएपछि आफूले सोचेजस्तो समाज निर्माण गर्न सकिन्छ ।’

 

 Image