Successfully Copied

वर्षा ऋतु र खाना

पनिरलाई आवश्यकतानुसार टुक्रा पार्ने । बेसन, खुर्सानीको धूलो, मरिच, बेसार तथा नुनको पेस्ट तयार गर्ने । कराहीमा तेल तताई पनिरका टुक्रालाई बेसनको पेस्टमा डुबाउँदै कराहीमा हाल्ने । खैरो रंगको भएपछि निकाल्ने । तात्तातो पनिर पकौडा दही वा सिलामको अचारसँग खान सकिन्छ । 

वर्षा ऋतु भएका कारण साउन महिनाको मुलायम माटोमा विभिन्न किसिमका हरिया तरकारी उत्पादन हुन्छन् । यो मौसममा हरियो मकै, हरियो भटमास, सिमी, बोडी, काँक्रा, फर्सी, लौका, स्कुस, घिरौला, पाटे घिरौंला, तीते करेला आदि तरकारीका साथै आरुबखडा, आरु, अंगुरजस्ता फलफूल उपलब्ध हुन्छन् । हरियो–परियो धेरै पाइने भएकाले यो महिना सुकाइएका सागपात, गुन्द्रुक आदि खानु हुँदैन भनिन्छ । वर्षाका कारण स्वास्थ्यमा कुनै असर नपरोस् भनेर वैज्ञानिक दृष्टिकोणले समेत यस्तो भनिएको हो ।

साउन महिनालाई चतुर्मासको महिना पनि भनिन्छ । चतुर्मास अर्थात् साउन, भदौ, असोज, कार्तिक महिनामा मांसाहारी भोजन निषेध गरिएको छ । कतिपय महिला साउन महिनामा माछा, मासु आदि नखाई चोखो मात्र खान्छन् । साउन महिनामा खेतको हरियो धानबाली तथा बारीको हरियो तरकारी आदि हेर्दैमा मनमा आशा एवं उमङ्ग पलाउँछ । साउन महिनाको सोमबारका दिन महादेवको विशेष पूजा गरिन्छ । यो दिन सकेसम्म केही नखाई वा शुद्ध भोजन एक छाक मात्र खाई विधिपूर्वक बसेको व्रतले पुत्र, धन, विद्या एवं धर्म प्राप्त हुन्छ भन्ने धारणा छ । साउन महिनाको १५ गते खिर दिन हो ।

 साउन १ गते लुतो फाल्ने दिन हो भने साउनमै पर्ने गठेमङ्गलका दिन नेवारहरूले घर शुद्ध गरी काग तथा कुकुरलाई नित्य ख्वाउनुपर्ने चलन छ । साउन महिनामै पर्ने नागपञ्चमीका दिन नागको पूजा गरी दूध, हरियो मकै, घिउ, मह, चिउरा, पेडा आदि खाइन्छ । त्यसैगरी जनैपूर्णिमाका दिन क्वाँटी तथा रोटी खाने चलन छ । कतिपयले क्वाँटी भिजाएर, कसैले टुसा उमारेर त कसैले नभिजाई खान्छन् । क्वाँटीसँग रोटी, आलु, मुला, कर्कलो तथा पिँडालु आदि तरकारी खाने चलन पनि छ । जनैपूर्णिमाका दिन मासु निषेध गरिएको छ । यो दिन भ्यागुतालाई सिमीको पातमा दाल, भात, क्वाँटी, रोटी एवं तरकारी (खेतमा लगेर) ख्वाउने चलनसमेत छ ।  

साबुदानाको पकौडा

साबुदानालाई ३–४ घन्टा पहिले पानीमा भिजाउने । आलु पाक्ने गरी उसिनेर सेलाउन दिने । आलुको बोक्रा ताछ्ने । साबुदानाको पानी तार्ने अनि आलुसँग मुछ्ने । अब धनियाँको पात, खुर्सानीको टुक्रा, नुन तथा भुटेको जिराको धूलोलाई त्यसमा मिक्स गर्ने । आफ्नो इच्छानुसारको साइजमा डल्लो, चेप्टो वा अण्डाकार बनाएर कराहीमा तताइएको तेलमा डिप फ्राई गरी मधुरो आँचमा पकाउने । खैरो रंगको भएपछि निकालेर दहीको अचारसँग खाने ।

पनिर पकौडा

पनिरलाई आवश्यकतानुसार टुक्रा पार्ने । बेसन, खुर्सानीको धूलो, मरिच, बेसार तथा नुनको पेस्ट तयार गर्ने । कराहीमा तेल तताई पनिरका टुक्रालाई बेसनको पेस्टमा डुबाउँदै कराहीमा हाल्ने । खैरो रंगको भएपछि निकाल्ने । तात्तातो पनिर पकौडा दही वा सिलामको अचारसँग खान सकिन्छ । 

सोया पकौडा

सोयालाई तातोपानीमा ५ मिनेट भिजाउने । पानीबाट निकालेर निचोर्ने र अर्को भाँडामा राख्ने । दही, बेसन, नुन, खुर्सानीसँग सोया मिसाएर थप ५–६ मिनेट त्यत्तिकै छाड्ने । कराहीमा तेल ततएर मधुरो आँचमा तताउने । खैरो रंगको भएपछि निकाल्ने । यसलाई स्न्याक्सका रूपमा खान सकिन्छ । 

सुजीको पकौडा

एउटा भाँडामा सुजी, दही, अदुवाको पेस्ट, धनियाँका टुक्रा, धूलो खुर्सानी तथा नुन हालेर मिक्स गर्ने । आवश्यकताअनुसार पानी मिसाउने । तयारी पकौडा पेस्टबाट डल्लो बनाउने अनि १० मिनेटजति त्यत्तिकै छोड्ने । कराहीमा तेल तताएर इच्छानुसारको आकार दिएर रातो नहुन्जेल मधुरो आँचमा पकाउने । यो पकौडा सिलाम वा पुदिनाको अचारसँग खान सकिन्छ । 

 

 Image