Successfully Copied

भान्सामै रमाइलो

हामी तरकारी काट्छौं, ग्यास बाल्छौं, कराही बसाल्छौं, तेल हाल्छौं, मरमसला पिस्छौं । यी काम हाम्रो हात र मस्तिष्कले खुसीपूर्वक गरिरहेका हुन्छन् । यतिबेला हाम्रो एउटै ध्याउन्न हुन्छ कसरी मीठो बनाउने ? खानेकुरा तयार हुन्छ । हामी त्यसलाई रहरलाग्दो ढंगले पस्कन्छौं । परिवारका सदस्यहरू खान थाल्छन् ।

हामी तरकारी काट्छौं, ग्यास बाल्छौं, कराही बसाल्छौं, तेल हाल्छौं, मरमसला पिस्छौं । यी काम हाम्रो हात र मस्तिष्कले खुसीपूर्वक गरिरहेका हुन्छन् । यतिबेला हाम्रो एउटै ध्याउन्न हुन्छ कसरी मीठो बनाउने ? खानेकुरा तयार हुन्छ । हामी त्यसलाई रहरलाग्दो ढंगले पस्कन्छौं । परिवारका सदस्यहरू खान थाल्छन् ।

एउटी गृहिणीले आफ्नो दैनिकी भान्साबाट सुरु गर्छिन् । चिया पकाउँछिन्, सासू–ससुरा, श्रीमान् सबैको ओछ्यानमा पुर्‍याउँछिन् । दूध उमाल्छिन्, नास्ता बनाउँछिन् । छोराछोरीलाई ख्वाउँछिन् । दाल–भात तयार गर्छिन् । जूठा भाँडावर्तन पखाल्छिन् । साडीको सप्कोले अनुहारको पसिना पुच्छिन् । श्रीमान् कार्यालयतर्फ लाग्छन्, छोराछोरी विद्यालयतर्फ । त्यसपछि मात्र उनी सन्तोषको लामो सास फेर्छिन् । 

गृहिणीको नाममा समाजले यस्तै ‘बिम्ब’ बनाएको छ । भान्साको कामलाई अनुत्पादक र बोझिलो कामका रूपमा बुझिएको छ । त्यसैले पनि बेलाबखत अधिकारकर्मीहरू भान्साबाटै विद्रोहको आगो सल्काउन खोज्छन् । यद्यपि एउटी गृहिणीसँग सोध्नुहोस्–के उनी भान्सामा रमाउँदिनन् ? मीठो–मसिनो परिकार बनाउन रहर गर्दिनन् ? आफ्नो हातको परिकारबाट परिवारको सन्तुष्टि खोज्दिनन् ? सबैले ‘वाह, कति स्वादिलो’ भनी गरेको प्रशंसाबाट फुरुङ्ग हुन्नन् ? 

अनुत्पादक होइन रचनात्मक भान्सा 

खानेकुरालाई कसरी स्वादिलो बनाउने ? यसको खास कला डाडुपन्यु समाउनेहरूसँग हुन्छ । खानेकुराको स्वादसँगै पोषक तत्व कसरी सुरक्षित गर्ने ? यसको खास ज्ञान डाडुपन्यु समाउनेहरूसँग हुन्छ । कस्तो परिकारसँग कुन कुरा, कति मात्रामा मिसाउने ? यसको खास सूत्र गृहिणीहरूसँग मात्र हुन्छ । कुन तरकारीलाई कसरी काट्ने, कसरी पकाउने, मरमसला कति हाल्ने, कति समय पकाउने ? यावत् कुराको ज्ञान भान्सेमा हुन्छ । कुनै पनि परिकारबाट कस्तो स्वाद निकाल्ने, कस्तो रंग एवं फ्लेवर दिने भन्ने खास गुण भान्सेहरूसँग मात्र हुन्छ । 

भान्साको काम कलाका साथै विज्ञान पनि हो । त्यसैले त खानपिन तयार गर्नुलाई ‘पाककला’ भनिन्छ । खानेकुरा तयार गर्नु बोझिलो होइन, रचनात्मक काम हो । भान्सा एक प्रकारले प्रयोगशाला पनि हो । त्यहाँ हामी नयाँ, नयाँ परिकार बनाउने अभ्यास गर्छौं । कुन परिकार कसरी तयार गर्दा कस्तो स्वादको हुन्छ भनेर उत्सुक हुन्छौं । 

पट्यारलाग्दो होइन, आनन्दित भान्सा 

हामी तरकारी काट्छौं, ग्यास बाल्छौं, कराही बसाल्छौं, तेल हाल्छौं, मरमसला पिस्छौं । यी काम हाम्रो हात र मस्तिष्कले खुसीपूर्वक गरिरहेका हुन्छन् । यतिबेला हाम्रो एउटै ध्याउन्न हुन्छ कसरी मीठो बनाउने ? खानेकुरा तयार हुन्छ । हामी त्यसलाई रहरलाग्दो ढंगले पस्कन्छौं । परिवारका सदस्यहरू खान थाल्छन् । उनीहरूले पहिलो गासपछि कस्तो प्रतिक्रिया जनाउने हुन् ? हामीलाई उत्सुकता हुन्छ । जब सबैले मीठो मानेर खाना खाइदिन्छन्, स्वादिलो भयो भनेर प्रशंसा गर्छन् तब हामी फुरुङ्ग हुन्छौं । 

भान्सामा हामी आफैसँग हराइरहेका हुन्छौ । आफैसँग मग्न हुन्छौं । परिकारसँग हामी एकाकार भैरहेका हुन्छौं । केही अध्ययनले देखाएका छन् कि, भान्साको कामले एक हदसम्म हाम्रो तनाव व्यवस्थापन गरिदिन्छ । मनलाई आनन्दित र खुसी बनाउने मेलो पनि हो भान्साको काम । 

एकलकाटे होइन, समावेशी भान्सा 

महिला अर्थात् श्रीमती वा बुहारी नै भान्साको काममा बढी सिपालु हुन्छन् । आमाहरूको परिपक्व हातबाट बन्ने परिकार पनि स्वादिला हुन्छन् । महिलाहरूको हात डाडुपन्युमा निकै छरितो ढंगले चल्छ । त्यसैले भान्साको काममा महिलालाई नै खटाइन्छ । हेपेर वा उनको अवमूल्यन गरेर होइन, कामको समुचित बाँडफाँड गरिएको हो यो । जो जुन काममा पोख्त छन्, उनीहरूलाई त्यही जिम्मेवारी दिनु उपयुक्त हुन्छ । फेरि परिवार भनेको एक–अर्काको सहयोग र तालमेलबाटै सञ्चालन हुने हो । एउटाले खानपिन बनाउँदा, अर्कोले घर–व्यवहारको काम सम्हाल्छन् । 

त्यसो त भान्साको स्वरूप र शैली बदलिँदै जाँदा पुरुषहरूको हातमा पनि डाडुपन्यु पुगेको छ । अहिले कतिपय घरमा छोराहरूले नै डाडुपन्यु सम्हाल्छन् । अब भान्सामा हुने लिङ्गभेद पनि तोडिँदैछ । 

छोरी, बुहारी, छोरा सबैजना मिलेर खानेकुरा तयार गर्दा भान्साको वातावरण पनि निकै रमाइलो हुन्छ । सबैजना मिलीजुली खाना बनाउँदा भान्सामा उत्सव छाउँछ । कसले के बनाउने ? कसको मीठो ? कसको पोषिलो ? अघोषित प्रतिस्पर्धा चल्छ । 

महिलाका लागि बाध्यात्मक छैन भान्साको काम । भात पकाउने, पस्कने, जूठा भाँडावर्तन सफा गर्ने काममा परिवारका अन्य सदस्यहरू पनि थपिएका छन् । यसले गर्दा अहिले भान्साको रौनक फेरिएको छ । 

बालबालिकाका लागि ज्ञानको भण्डार 

अहिले कस्तो अवधारणा विकास भएको छ भने, अब भान्सामा बालबालिकाहरूलाई पनि सहभागी गराउनुपर्छ । फ्ल्याटमा सीमित सहरी जनजीवनमा बालबालिकाहरूको खेल्ने ठाउँ साँघुरिएको छ । आमाबुवासँगको संवाद र उपस्थिति पातलिएको छ । यी दुबै कुराको समाधान हो–भान्सा । भान्सामा आमाबुवा, छोराछोरी सबै मिलेर काम गर्दा आपसी संवाद र सहकार्य बढ्छ । 

बालबालिकाहरू भान्सामा रमाउँछन्, खेल्छन् । त्यहाँ उनीहरूले जीवनोपयोगी ज्ञान पनि आर्जन गर्छन् । खानेकुरा कसरी आउँछ ? कुन खानेकुराको स्वाद र गुण कस्तो हुन्छ ? भान्साबाटै बालबालिकाले थाहा पाउँछन् । उनीहरूले खानेकुरा पकाउने अभ्यास पनि गर्न पाउँछन् । बालबालिकाहरू आफैले तयार गरेको खानेकुरा खान उत्सुक हुन्छन् । यतिबेला उनीहरूलाई स्वस्थ र पोषिलो खानेकुरामा समेत अभ्यस्त तुल्याउन सकिन्छ । 

खानेकुराका सम्बन्धमा उनीहरूले भान्साबाट धेरै कुरा सिक्ने–जान्ने मौका पाउँछन् । साना बालबालिकाहरूलाई त गणितीय अभ्यासदेखि रंग र फलफूल, सागसब्जी आदिका बारेमा प्रयोगात्मक शिक्षा दिने ठाउँ पनि हो भान्सा । बालबालिकाहरूलाई भान्सामा आफूसँगै काम लगाउन सकिन्छ । उनीहरूका लागि यस्तो काम रमाइलो पनि हुनसक्छ । साथसाथै श्रम गर्ने बानीको विकाससमेत हुन्छ ।

भान्सा समग्र स्वास्थ्यको स्रोत 

भान्साको सोझो नाता समग्र परिवारको स्वास्थ्यसँग जोडिएको हुन्छ । भान्सामा कस्तो खानेकुरा पाक्छ, कसरी पाक्छ, कतिबेला पाक्छ भन्ने कुरासँग परिवारको स्वास्थ्य निर्भर रहन्छ । त्यसैले भान्साप्रति परिवारको लगाव र आकर्षण बढाउन आवश्यक छ । भान्साको मूल्य मान्यता प्रति पनि परिवारलाई जागरुक बनाउन आवश्यक छ । भान्साको कामलाई बोझ मानियो वा भान्सालाई बोझिलो बनाइयो भने त्यहाँ पाक्ने परिकार त्यति स्वस्थ र स्वादिला हुँदैनन् । भान्सालाई रचनात्मक र रहरलाग्दो बनाइयो भने त्यहाँ पाक्ने परिकार स्वादिला एवं स्वास्थ्यवर्द्धक हुन्छन् । भन्नुको अर्थ त स्पष्ट नै छ–भान्सालाई कहिल्यै उपेक्षा गर्नुहुँदैन ।

 

 Image