Successfully Copied

एप्सबाट रोजगारी

काम दिन होस् वा कामदार खोज्न अहिले एप्सहरू सक्रिय हुँदै गएका छन् । रोजगारीको क्षेत्रमा समेत प्रविधिले फड्को मारेको छ । नेपालमा श्रीयोग डटकम, भेटायो डटकम, मेरो जब्स, कुमारी जब्स, जब्स नेपाल, मेरो रोजगारी, नेपाली जब्स आदि एप्सले कामदार खोजिदिनेदेखि रोजगारी उपलब्ध गराउने कामसम्ममा सक्रियता देखाउँदै

काम दिन होस् वा कामदार खोज्न अहिले एप्सहरू सक्रिय हुँदै गएका छन् । रोजगारीको क्षेत्रमा समेत प्रविधिले फड्को मारेको छ । नेपालमा श्रीयोग डटकम, भेटायो डटकम, मेरो जब्स, कुमारी जब्स, जब्स नेपाल, मेरो रोजगारी, नेपाली जब्स आदि एप्सले कामदार खोजिदिनेदेखि रोजगारी उपलब्ध गराउने कामसम्ममा सक्रियता देखाउँदै आएका छन् । 

स्नातकोत्तर सकेर बसेकी रोजिना न्यौपानेले रोजगारीका लागि कुमारी जब्समार्फत आवेदन भरिन् । उक्त एप्समार्फत उनले एकाउन्टेनका लागि आवेदन दिएकी थिइन् । आवेदन दिएको केही समयपछि उनी छनोट भइन् र अहिले उनी एक कम्पनीमा काम गरिरहेकी छिन् । यसरी एप्समार्फत आफ्नो क्षमताअनुसार काम खोज्न सजिलो भएको न्यौपाने बताउँछिन् । रोजिना भन्छिन्–‘अहिले हात–हातमा प्रविधि छ । यसले गर्दा काम खोज्न सहज भएको छ ।’ आवेदन दिन धाउनु नपर्ने त्यसमाथि पनि पैसा तिर्नु नपर्ने हुनाले सबैलाई सजिलो भएको न्यौपानेले बताइन् । 

भक्तपुरकी शर्मिला शर्मा गृहिणी हुन् । उनले सेलरोटी पकाएर आफ्नो गुजारा चलाइरहेकी थिइन् । शर्माले श्रीयोग डटकमको सेलरोटी पकाउने समूहमा आफ्नो नाम दर्ता गराइन् । श्रीयोगमा नाम दर्ता गराएपछि भने उनको दैनिकी व्यस्त हुँदै गएको छ । कामका लागि उनलाई विभिन्न ठाउँबाट फोन आउँछ । श्रीयोगले उनलाई थप आम्दानीका लागि सहयोग गरेको छ । शर्मिला भन्छिन्–‘पहिले सीमित आम्दानी गर्थें अहिले भने काम र आम्दानी दुवै बढेको छ ।’

अहिलेको समयमा रोजगारी एप्स काम गर्न चाहनेहरूका लागि एउटा खुल्ला प्लेटफर्मका रूपमा अगाडि आएको श्रीयोग डटकमका संस्थापक प्रकाश उप्रेती बताउँछन् । उप्रेतीका अनुसार आफूसँग सीप र क्षमता भए बेरोजगार बस्नुपर्ने बाध्यता अनलाइन एप्सहरूले हटाएका छन् । श्रीयोगमा काम दिलाउनेहरूसँग सीधा सम्पर्क गर्न सकिने व्यवस्था भएको उप्रेतीले जानकारी दिए ।

रोजगारी पसल डटकमले हस्पिटालिटी क्षेत्रको रोजगारीको व्यवस्था गर्ने गरेको छ । उक्त एप्सले न्यूनतम २० हजारदेखि अधिकतम ५० हजार मासिक तलबको रोजगारी दिलाउने रोजगार पसलकी व्यवस्थापन समितिकी सदस्य बिन्दु थापाले बताइन् । थापाका अनुसार यो एप्सले विशेष गरी गृहिणीहरूलाई रोजगार प्रदान गर्न आफूलाई फोकस गरेको छ । 

रोजगारी पसलमार्फत नै काम पाएकी हुन् खरीबोटकी सुस्मिता तामाङले । ८ कक्षा उत्तीर्ण तामाङ अहिले फाइनान्सको मार्केटिङ गर्छिन् । अहिलेको समयमा नपढेकाहरूले जागिर नपाउने अवस्थामा आफूजस्ताका लागि यस्तो एप्स प्रभावकारी भएको सुस्मिताले बताइन् । तामाङका अनुसार–‘यसले गर्दा कामका लागि भौंतारिनु पर्दैन । क्षमताअनुसार आम्दानी गर्न सकिन्छ ।’

कसरी पाइन्छ रोजगारी ? 

गुगलमा धेरै किसिमका रोजगारी एप्स उपलब्ध छन् । त्यहाँ रोजगारीका विभिन्न समूह हुन्छन् । उक्त एप्स भिजिट गरिसकेपछि आफ्नो क्षमताअनुसारको रोजगारीका लागि आवेदन दिन सकिन्छ । आवेदन भर्दा वेवसाइटको नियमअनुसार विवरण भर्नुपर्ने हुन्छ । यसमा कसैले शुल्क तिर्नुपर्दैन । आवेदक तथा कम्पनीका बीचमा एप्स एउटा माध्यम मात्र हो । एप्समार्फत पठाइएको विवरण हेरी कम्पनीलाई उचित लागे रोजगारी प्रदान गरिन्छ । 

प्रकाश उप्रेती / संस्थापक, श्रीयोग डटकम 

हामीले यो एप्स सञ्चालनमा ल्याएको दुई वर्ष भयो । यो एप्सबाट काम गर्ने र गराउने दुवै प्रकारका सेवा प्रदान गर्ने गरिन्छ । श्रीयोगमा अहिले ७८ वटा समूह छन् । यसलाई अझ बढाएर १ सय ५६ वटा समूहमा रोजगारी दिलाउने लक्ष्य लिएका छौं । हाम्रो उद्देश्य भनेको सीप भएर पनि कसैले बेरोजगार बस्नु नपरोस् भन्ने हो । हामीले यो एप्सबाट सबैलाई जोड्ने प्रयास गरेका छौं । 

यो एप्समा जोडिने महिलाहरूको संख्या पनि बढ्दै गएको छ । महिलाहरूका लागि विशेष गरी ब्युटिसियन, सेलरोटी पकाउने, बच्चा हेर्ने आदि काम छन् । यसले गर्दा महिलाहरू पनि रोजगार हुनुका साथै आत्मनिर्भर हुँदै गएका छन् । 

केही रोजगारी एप्स

मेरो जब्स डटकम, कुमारी जब्स, श्रीयोग डटकम, भेटायो डटकम, जब्स नेपाल आदि ।

 Image