Successfully Copied

बलिष्ठ शरीरको खेलमा कोमल नारी

शारीरिक सुगठनमा महिला खेलाडी निकै कम छन् । कडा मेहनत चाहिने र खर्चिलो समेत भएकाले यो क्षेत्रमा भविष्य बनाउनेहरूको संख्या बढ्न सकेको छैन । त्यसमाथि पनि महिलाहरूका लागि यो त्यति आकर्षकको विषय मानिँदैन ।

शारीरिक सुगठनमा महिला खेलाडी निकै कम छन् । कडा मेहनत चाहिने र खर्चिलो समेत भएकाले यो क्षेत्रमा भविष्य बनाउनेहरूको संख्या बढ्न सकेको छैन । त्यसमाथि पनि महिलाहरूका लागि यो त्यति आकर्षकको विषय मानिँदैन । खेलका बारेमा जानकारी नभई शरीरको तौल कम गर्न वा स्वास्थ्यको ख्याल गरेर फिटनेस सेन्टर धाउनेहरू नै अहिले यसका खेलाडी भएका छन् । शारीरिक सुगठनलाई अरू खेलको तुलनामा कठोर मेहनत र लगानी बढी चाहिने खेल मानिन्छ । यो खेलमा नियमित एक्सरसाइज तथा खानपानको व्यवस्थापन मिलाउन पनि त्यत्तिकै जरुरी हुन्छ ।

खेलाडीहरूको खानाको मेनु नै फरक हुन्छ । त्यसमा उमालेका, नुन एवं चिल्लोरहित खानेकुरा पर्छन् । यो खेलका खेलाडीहरू जंकफुडबाट टाढै रहन्छन् । बडिबिल्डरको ड्रेस कोड हुन्छ–टु पिस । पुरुषको जस्तै शरीर देखिने अनि त्यसमाथि टु पिस लगाएर प्रतिस्पर्धामा उत्रनु महिलाहरूका लागि सहज छैन । तैपनि अनेकौं चुनौती चिर्दै महिलाहरू यो क्षेत्रमा उदाइरहेका छन् ।

प्रथम महिला बडिबिल्डर

निर्मला महर्जन

काठमाडौं लाजिम्पाटमा जन्मिएकी निर्मला महर्जनलाई विद्यालय पढ्दादेखि नै ब्याडमिन्टन, कराँते, तेक्वान्दो तथा भलिबलप्रति रुचि थियो । उनको घर नजिकै फिटनेस सेन्टर थियो, जहाँ उनी पुरुषहरू मात्र देख्थिन् । एकजना गुरुले उनलाई जिममा आउन प्रोत्साहित गरे । करिब एक दशकअघिसन् २००४ मा उनले पहिलो पटक धर्मश्रीमा ज्याठाको ब्यान्ड मन्दिरबाट डेब्यु गरिन् । त्यतिबेला निर्मला एक्लैले टु पिस लगाएर प्रस्तुति दिएकी थिइन् । 

राष्ट्रिय स्तरमा प्रस्तुति दिएपछि उनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सपना बुन्न थालिन् । आफ्नो यही सपना साकार तुल्याउँदै उनी २०१५ मा वर्ल्ड च्याम्पिएनसीप ओमन फिजिक्समा भाग लिन बैंकक पुगिन् । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको अनुभव नभएकाले त्यहाँ कुनै उपाधि हासिल गर्न नसकेको निर्मला बताउँछिन् । त्यसपछि उनी २०१६ मा भएको एसियन च्याम्पियनसीपमा सातौं स्थान हात पार्न सफल भइन् । उनले २०१७ मा भएको एसियन च्याम्पिएनसीपमा ओमन एथलेटिक्स फिजिक्समा चौथो स्थान हासिल गरिन् भने भूटान र कोरियामा भएका एसियन च्याम्पियनसीपमा सातौं र चौथो स्थान प्राप्त गरिन् । 

विश्व च्याम्पियनसीपमा कांस्य पदक 

ननिता महर्जन 

शारीरिक सुगठनको विश्व च्याम्पियनसीपमा कांस्य पदक विजेता हुन्–ननिता महर्जन । २०१६ मा थाइल्यान्डको बैंककमा विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लूबीपीएफ) द्वारा आयोजित महिला एथलेटिक फिजिकको १ सय ६५ सेन्टिमिटर उचाइ समूहको प्रतिस्पर्धामा ५६ देशका सहभागीमध्ये ननिता सेकेन्ड रनर अप भएकी थिइन् । त्यसअघि ‘मिस्टर काठमाडौं एन्ड लेडिज फिटनेस च्याम्पियनसीपमा पहिलोपटक सहभागी भएकी ननिताले स्वर्ण पदक हात पारेकी थिइन् । ननिता भन्छिन्–कुनै पनि प्रतियोगिताबाट रित्तो हात फर्कनुपरेको छैन ।’

कीर्तिपुर बाघभैरवमा जन्मिएकी ननिताले बडिबिल्डर बनौंला भनेर कहिल्यै सोचेकी थिइनन् । एकाएक उनमा माइग्रेनको समस्या देखापर्‍यो । उनको दैनिकी सुतेर नै बित्थ्यो । त्यस क्रममा उनको तौल अस्वाभाविक रूपमा बढ्नुका साथै ब्याक पेन समेत हुन थाल्यो । समस्या दिनप्रतिदिन बढ्दै जान थालेपछि उनी चिकित्सककहाँ पुगिन् । चिकित्सकले एकैपटक छ महिनाको औषधि दिए तर उनले खाने आँट गरिनन् बरू श्रीमान्को सल्लाहअनुसार फिटनेस सेन्टर जान थालिन् । बडिबिल्डिङमा सहभागी हुन प्रस्ताव आएपछि पनि उनी अन्योलमै थिइन् । उनको बडिबिल्डर यात्रा भने मिस्टर काठमाडौं एन्ड लेडिज फिटनेस च्याम्पियनसीपबाट सुरु भएको हो । यही क्षेत्रमा रमाउन चाहने ननिता यतिबेला श्रीमान्का साथमा फिटनेस सेन्टर सञ्चालन गर्ने तयारीमा छिन् । ननिताले भनिन्–‘अरूलाई प्रेरणा प्रदान गर्न पनि फिटनेस सेन्टर सञ्चालनको तयारीमा छु ।’ 

एक वर्षमा  तीन उपाधि

 शोभा मानन्धर

पाँच वर्षअघि तौल घटाउन भनेर फिटनेस सेन्टर पुगेकी थिइन्–शोभा मानन्धर । न उनलाई शारीरिक सुगठन खेलका बारेमा जानकारी थियो न त जिम सेन्टरमा के गर्नुपर्छ भन्ने कुरा नै थाहा थियो । सिकाइका क्रममा उनले गतिलो साथ पाइन् निर्मला महर्जनको । उनले आफ्नो शारीरिक अवस्था र रुचिअनुसार नै प्रशिक्षण लिइन् । सिक्दै जाने क्रममा उनलाई शारीरिक सुगठन खेलप्रति प्रेरित गर्न थाले गुरुहरूले । दुई सन्तानकी आमा शोभा संयुक्त परिवारमा बस्थिन् । खेलमा सहभागी हुने कुरा उनले श्रीमान्बाहेक कसैलाई भनिनन् बरू लुकीछिपी प्रतिस्पर्धामा सहभागी भइन् । 

पहिलोपटक उनी २०७४ मा मिस्टर काठमाडौंकै मैदानमा देखापरिन् । त्यसमा उनी सेकेन्ड भइन् । यसरी राष्ट्रिय रूपमा उपाधिसहित अघि बढ्दै जाने क्रममा प्रथम दक्षिण एसियाली शारीरिक सुगठनको महिला बडी फिटनेसमा उनी प्रथम भइन् । स्वास्थ्य अवस्था राम्रो बनाउन पहिलो पटक फिटनेस सेन्टर पुगेकी शोभा हरेक प्रयासमा सफलता प्राप्त हुँदा आफै दंग छिन् । यो खेल अहिले आफ्नो रुचिको खेल भएको उनी बताउँछिन् । यद्यपि यसमा लगानी धेरै हुने तर आर्थिक उपलब्धि हासिल गर्न नसकिने उनले बताइन् । यो क्षेत्र नाम र रहरका लागि मात्र उपयुक्त छ–मानन्धरको भनाइ छ ।  

प्रो कार्ड होल्डर

विनीता राई 

विनीता राई अन्तर्राष्ट्रिय स्तरको शारीरिक सुगठनमा ‘मिस्टर ओलम्पिया’ को छनोट खेलमार्फत ‘प्रो कार्ड’ पाउने पहिलो खेलाडी हुन् । तीन वर्षअघि मात्र शारीरिक सुगठनका सम्बन्धमा जानकार भएकी विनीता यो सफलता आफ्ना लागि अकल्पनीय भएको बताउँछिन् । 

झापामा जन्मिएकी विनीतालाई सानैदेखि ढाड दुख्ने समस्या थियो । उनी न केही बोक्न सक्थिन् न त सहज रूपमा हिँड्न । उपचारका थुप्रै विधि अपनाउँदा पनि उनको पीडामा कुनै कमी आएन । यही समस्याको समाधान खोज्दै उनी फिजियोथेरापीका लागि फिटनेस सेन्टर धाउन थालिन् । फिटनेस सेन्टर धाउने क्रममै उनले शारीरिक सुगठनका बारेमा जानकारी पाइन् । 

‘उपचारको सिलसिलामा फिटनेस सेन्टर गएकी थिएँ । खेलाडी बनौंला भन्ने त कल्पनै थिएन’ विनीताले भनिन् । उनको खेल जीवन भने ‘मिस्टर एभरेस्ट’ बाट सुरु भएको हो । मिस्टर एभरेस्टमा उनले फस्ट रनरअपको उपाधि हासिल गरिन् । त्यस्तै उनले ‘मिस्टर बुल्समेनमा बुमन फिजिक्समा’ गोल्ड मेडल जितिन् । राष्ट्रिय स्तरमा राम्रो छवि बनाइसकेकी विनीता अन्तर्राष्ट्रिय स्तरमा समेत पुगेकी छिन् । 

लगानी बढी भएकाले पनि जोकोही यो क्षेत्रमा प्रवेश गर्न सक्दैनन् ।’ विनीता भन्छिन्–‘यो खेलमा लगानी धेरै छ चाहेर पनि यो क्षेत्रमा आउन नसक्ने धेरै छन् । 

अन्तर्राष्ट्रिय उपाधिको रहर

सुजिता मानन्धर 

रोजगारी र राम्रो शिक्षाको खोजीमा युके पुगेकी सुजिता तीन वर्षपछि फिटनेस मोह लिएर स्वदेश फर्किइन् । विदेशमा फिटनेसको क्रेज देखेर पनि उनमा यसप्रति मोह जाग्न थाल्यो । नेपाल आएपछि उनी फिटनेस सेन्टर धाउन थालिन् । सुजिता फिटनेस जानुको मूल उद्देश्य तौल घटाउनु थियो । सुरुमा उनलाई गार्‍हो पनि भयो तर उनले नियमित अभ्यास गरिरहिन् ।

सुजिताले पहिलोपटक २०१७ मा ‘मिस्टर काठमाडौं’ मा भाग लिइन् भने त्यसको एक वर्षपछि अर्को संस्करणमा भाग लिँदै दोस्रो भइन् । त्यस्तै बुल्सम्यानमा पनि उनले दोस्रो स्थान हासिल गरिन् । सुजिता भन्छिन्–‘बडिबिल्डिङमा लागेपछि सबैभन्दा ठूलो समस्या भनेको खानेकुरा बार्नु हो, कतिपय अवस्थामा मन लागेको कुरा चाहेर पनि खान मिल्दैन ।’ 

सुजिता राष्ट्रिय स्तरका थुप्रै प्रतियोगितामा सहभागी भैसकेकी छिन् । अबको उनको लक्ष्य भनेको अन्तर्राष्ट्रिय स्तरको स्टेजमा उभिनु हो । हरेक मानिसको जीवनमा स्वास्थ्य महत्वपूर्ण भएकाले एक्सरसाइज अनिवार्य भएको मानन्धर बताउँछिन् । बडिबिल्डर बन्नका लागि मात्र होइन राम्रो स्वास्थ्य, तरोताजा मस्तिष्क, फुर्तिलो शरीर, निरोगी हुनका लागि पनि फिटनेस सेन्टर आवश्यक छ–सुजिताले भनिन् ।

 Image