Successfully Copied

तीज गीतमा हाबी हुँदै पुरुष स्वर

पछिल्लो समय महिला–पुरुष बराबर भन्ने नारा गुञ्जिन थालेकाले पनि दिदीबहिनीहरूलाई तीज गीतमा सहयोग गर्न थालेको गायक खुमन अधिकारी बताउँछन् ।

गाउँका दिदीबहिनी सबै तीजमा आउने कुरो छ 

त्यही भएर दर पकाउन आजै सुरु छ ।

दिदीबहिनीमात्र नाच्छन् जहिले पनि तीजमा हामी पनि नाच्नुपर्छ बीचबीचमा ।

माथिको गीति टुक्का गायक तथा मोडल दुर्गेश थापाले केही समयअघि तीजलाई केन्द्रित गरेर सिर्जना गरेका हुन् । ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा’ शीर्षकको उक्त गीतमा थापा स्वयंको स्वर सुन्न सकिन्छ । कुनै समय तीज गीतमा प्रायः महिला स्वरको वर्चश्व थियो । यद्यपि अहिले त्यो क्रम घट्दै गएको छ । 

थापाको जस्तै विगत केही दशकयता तीजमा पुरुष कलाकारको व्यस्तता बढिरहेको छ । यो वर्ष सार्वजनिक भएका अधिकांश तीज गीतमा पुरुष कलाकारको स्वर, शब्द, संगीत तथा अभिनय छ । तीज गीतमा पुरुषको सहभागिताले महिलासँग सम्बन्धित मुद्दालाई उजागर गर्न सघाउ पुर्‍यायो अथवा गीतको मर्मलाई नै मार्‍यो भन्ने बहस संगीतकर्मी तथा श्रोताअरुकीच बेला–बेलामा उठ्दै आइरहेको छ । यसमा सरोकारवालाहरूको धारणा फरक–फरक छ । 

सामाजिक, आर्थिक परिवर्तनसँगै तीज गीतमा पुरुष कलाकारको उपस्थिति हुनुलाई गायक तथा सर्जक पशुपति शर्मा सामान्य मान्छन् । उनले तीज गीत गाउन थालेको करिब १५ वर्ष भैसकेको छ । हरेक वर्ष उनले सिर्जना गरेका तीज गीतले सांगीतिक बजारमा तहल्का पिट्छन् । १५ वर्षअघि शर्माले ‘मेरी बूढीले’ शीर्षकको तीज गीत गाएका थिए । उक्त गीतले खासै चर्चा भने पाएन, तर त्यसपछि उनले गाएका गीतले भने चर्चा कमाउन थाले । कतिपयले त शर्मामाथि तीज गीतलाई रत्यौली बनाएको आरोपसमेत लगाए तर उनले तीज गीत गाउन भने छाडेनन् । शर्माले केही वर्षअघि ‘जाऊँ भने जान्छौ र माया पोखरा घुम्न’ शीर्षकको तीज गीत गाएका थिए । यो गीत सार्वजनिक भएपछि आफूमाथि तीजलाई रत्यौली बनायो भन्ने आरोप लागेको शर्मा बताउँछन् । पशुपति भन्छन्–‘मैले हराउँदै गएको गीतलाई तीजमा नयाँ ढंगले प्रस्तुत गर्न खोजेको हुँ, तर ममाथि तीज गीतलाई रत्यौली बनायो भनेर अग्रजहरूले आरोप लागाउनुभयो । 

पछिल्लो समय तीज गीत महिलाले नै गाएको राम्रो हुन्छ भन्ने आवाज पनि गाइँगुइँ सुनिन थालेको छ । यद्यपि पशुपतिको गीत मन पराउने महिलाहरूको कुनै कमी छैन भने शर्मासँग युगल तीज गीत गाउन चाहने गायिकाहरूको समेत कमी छैन बरू तँछाड मछाड नै छ । यही मायाकै कारण आफूले अहिलेसम्म ६० भन्दा बढी तीज गीत गाइसकेको शर्माको भनाइ छ । शर्मा भन्छन्–‘१५ वर्षदेखि मैले गाएको गीतलाई सबैले माया गरेका छन्, त्यसैले तीज गीत गाउँदै आएँ ।’ शर्मा तीज गीतमा पुरुषको बाहुल्यता बढ्दै जानुको कारण  समय परिवर्तनलाई मान्छन् । उनी भन्छन्–‘तीजमा महिला दिदीबहिनीहरूले शिवजीको पूजा गर्नुहुन्छ अनि दिदीबहिनीलाई लिन दाजुभाइ जाने चलन छ । त्यसैले नाच–गान पनि दाजुभाइले गर्दा अझ राम्रो हुन्छ भनेर तीजका गीत गाउन थालेको हुँ ।’ 

पशुपतिको यो धारणामा गायक खुमन अधिकारी पनि सहमत छन् । अधिकारीले पनि तीजका गीत गाउन थालेको झन्डै १५ वर्ष भैसकेको छ । यो अवधिमा उनले ५ सयभन्दा बढी तीज गीतमा स्वर दिइसकेका छन् । तीज गीत पुरुषले गाएको कुरालाई लिएर कतिपयले आलोचना गरे पनि आफूले भने राम्रो प्रतिक्रिया पाइरहेको अधिकारी बताउँछन् । ‘तीजका गीत पुरुषले गाएको भनेर आलोचना हुनु स्वाभाविक हो तर अहिलेको परिवर्तित समयमा यस्ता कुरा सुनिन छाडेका छन्,’ अधिकारी भन्छन् ।

पहिले–पहिले सानै उमेरमा विवाह हुन्थ्यो । कर्मघर पुगेका अधिकांश चेली नन्द, सासू, ससुरा तथा श्रीमान्बाट पीडित हुन्थे । चेलीहरूले माइत जाने अवसर तीजमा मात्र पाउँथे । त्यतिबेला माइतीमा सबै जम्मा भएर आफ्ना दुःख–पीडालाई चेलीहरूले गीतमार्फत व्यक्त गर्थे, यद्यपि अहिले त्यस्तो सामाजिक व्यवस्थामा समेत परिवर्तन आएको गायक बद्री पंगेनी बताउँछन् । ‘अहिले दिदीबहिनीहरूले नै हामीलाई गीत गाउन आग्रह गर्नुहुन्छ,’ बद्री भन्छन्–‘मैले पनि तीज गीत नगाएको भए पनि हुने हो, तर म त गाउँमा झोरा तीज गीत गाएर आएको मान्छे सुरुवाती चरणमा तीज गीत गाएँ, त्यसले राम्रै चर्चा पायो, त्यसपछि दिदीबहिनीहरूले पनि गाउन अनुरोध गर्न थालेपछि उहाँहरूको चित्त दुखाउन मन नलागेर गाउँदै आएँ ।’ पछिल्लो समय महिला–पुरुष बराबर भन्ने नारा गुञ्जिन थालेकाले पनि दिदीबहिनीहरूलाई तीज गीतमा सहयोग गर्न थालेको गायक खुमन अधिकारी बताउँछन् । ‘अहिले महिलाको मात्र स्वर भएको तीज गीत भन्दा पनि महिला–पुरुष दुवैको स्वर भएको गीतले बढी चर्चा पाउन थालेका छन् । त्यसैले समय परिवर्तनसँगै यसमा पनि परिमार्जन आउँदै गएको छ,’ गायक अधिकारी भन्छन् । 

विभिन्न लोक गायकले तीज गीत गाउँदै आए पनि केही चर्चित लोकदोहोरी गायकहरू भने तीज गीत गाउँदैनन् । कतिपय गायक तीज गीत महिलाले नै गाएको राम्रो मान्छन् । गायक कुलेन्द्र विश्वकर्मा तीज गीत खासै गाउँदैनन् । ‘सुरु–सुरुमा एक दुई वटा गाएँ होला तर, पछि तीज गीत त महिलाहरूले नै गाउनु राम्रो हुन्छ भनेर गाउन छाडें,’ विक भन्छन् । कुलेन्द्रको यो भनाइमा रामजी खाँड पनि सहमत छन् । उनी पनि तीज गीत महिला गायिकाहरूले मात्र गाएको राम्रो मान्छन् । यद्यपि खाँडले पनि तीजका गीत गाउन थालेको करिब ७ वर्ष भैसकेको छ । उनले ७ वर्षअघि गाएको ‘सुनको चुरा औंठी नि सुनकै छ’ गीत अहिले पनि तीजका बेला निकै घन्किन्छ । यसबाहेक खाँडले करिब सयभन्दा बढी तीज गीत गाइसकेका छन् । उनका अधिकांश तीज गीत हिट छन् । 

हिजोआज महिला गायिका आफैंले सिर्जना गरेका गीतमा पनि चलेका पुरुष गायकको साथ लिने चलन छ । यो संस्कार राम्रो हो कि होइन भन्ने कुरामा गायक खाँड दोधारमा छन् । ‘हामीले गाएको गीतले राम्रो चर्चा पाउँछ, दर्शक–श्रोताहरूले पनि माया गर्नुहुन्छ तर यो संस्कार राम्रो हो कि होइन भन्नेमा दोधारमा छु,’ खाँड भन्छन् । यही अवस्था कायम रहने हो भने आगामी दिनमा तीज गीतमा पनि पुरुषहरू नै हाबी हुन सक्ने संगीतकर्मीहरू बताउँछन् ।

 

 Image