Successfully Copied

रंगले बढाउँछ घरको रौनक

रंगको सही संयोजन भए घर सुन्दर देखिन्छ । त्यसको तरंगले हामीमा भावनात्मक प्रभाव पनि पार्छ । किनभने रंगमा एक प्रकारको ऊर्जा हुन्छ । रंग धेरै प्रकारका छन् । यी रंग हामीले प्रकृतिबाट पाएका हौं । पहिले घरको वालमा रंगरोगन गर्न सजिलो थियो किनभने बजारमा सीमित रंग मात्र उपलब्ध

वर्षा सकिएसँगै सुरु हुने शरद ऋतुमा मौसम पनि मनमोहक हुन्छ । यति नै बेला चाडपर्वको रौनक सुरु हुन्छ । हाम्रो समाजमा दसैं–तिहारजस्ता चाडपर्वमा घरलाई लिपपोत गरी सुन्दर बनाउने चलन छ । वर्षा सकिएपछि घरको सरसफाइ सुरु हुन्छ । पानी–झरी र ओसिलो मौसमले खुइल्याएको घरको रंगरोगन पनि यतिबेला नै गरिन्छ । दसैंमा नयाँ लुगा लगाएझैं रंगरोगन गरेर घरलाई नयाँपन दिइन्छ । हामीलाई आफ्नो घर सधै उस्तै रहोस् भन्ने लाग्दैन । यद्यपि घरको स्वरूप परिवर्तन गर्न नसके पनि रूप–रंग बदल्न सकिन्छ । घरको रूप–रंग बदल्ने सजिलो विधि भनेकै रंगरोगन हो । 

त्यसो त घरसँग हाम्रो भावनात्मक सम्बन्ध पनि जोडिएको हुन्छ । घर हाम्रा निम्ति ओत लाग्ने छानो मात्र होइन, भावनात्मक सुरक्षा दिने न्यानो आश्रय पनि हो । पुस्तौं पुस्ताको विरासत मानिने घरमै हाम्रो पारिवारिक संस्कार पनि हुर्किएको हुन्छ । त्यसैले हामी घरलाई आफ्नोपनसँग जोडेर हेर्छौं । हाम्रो जीवनमा यति महत्व राख्ने घरको साजसज्जा एवं रंगरोगनमा हामी कति सजग छौं ? रंगरोगनले घरलाई कसरी नयाँपन दिन सकिन्छ ? 

रंगको सही संयोजन भए घर सुन्दर देखिन्छ । त्यसको तरंगले हामीमा भावनात्मक प्रभाव पनि पार्छ । किनभने रंगमा एक प्रकारको ऊर्जा हुन्छ । रंग धेरै प्रकारका छन् । यी रंग हामीले प्रकृतिबाट पाएका हौं । पहिले घरको वालमा रंगरोगन गर्न सजिलो थियो किनभने बजारमा सीमित रंग मात्र उपलब्ध हुन्थे । अहिले अवस्था फेरिएको छ । रंगरोगन गर्नु कुनै चित्रकलाभन्दा कम भएको छैन ।

पहिले रंगरोगन घरको भित्तालाई सफा एवं चम्किलो देखाउन हुन्थ्यो । अहिले यसको अवधारणासमेत फेरिएको छ । अहिले घरमा लगाइने रंगरोगनलाई रचनात्मक प्रयोग मान्न थालिएको छ भने अलग–अलग तरिकाले घरको भित्ता सजाउने जमाना आएको छ । 

यतिबेला घरमा लगाइने रंगले घरमुली तथा परिवारको मनोविज्ञानसमेत झल्काउँछ । त्यसैले घर एवं भित्तामा आफ्नो रंग भर्न फरक–फरक रंगको संयोजन र डिजाइन खोज्न थालिएको छ । उपभोक्ताहरू यसका लागि ठूलै रकम खर्च गर्न पनि तयार हुन थालेका छन् । यही कुरालाई मध्यनजर गर्दै पेन्टिङ कम्पनीहरूले विभिन्न प्रकारका रंग बजारमा उतारेका छन् ।

अहिले बजारमा गुणस्तरीय, टिकाउ एवं थरीथरीका रंग उपलब्ध छन् । खासगरी रंग छनोट गर्दा लामो समयसम्म टिक्ने, रंगको गन्धको असर कम भएको, धोएर सफा गर्न मिल्ने र चमक उस्तै रहने किसिमको खोजिन्छ । अहिले वातावरणमैत्री र हेल्दी पेन्टस्को माग बढी छ । जसका कारण घरको स्वास्थ्य मात्र ठीक नभएर घरमा बस्ने मानिसहरू पनि स्वस्थ रहन सकुन् ।

रंग र मनोविज्ञान

घरमा लगाइने रंग हाम्रो मनोविज्ञानसँग जोडिएको हुन्छ । त्यसैले घरमा लगाइने रंगको छनोटले हाम्रो मनोविज्ञानमा प्रभाव पार्छ । पूर्णरूपमा कालो रंगले रंगाइएको कोठामा हामी रमाउन सक्दैनौं । त्यस्तो रंगले हाम्रो मन खिन्न र उदास बनाउँछ । समुचित रंगको छनोटले घर एवं कोठाको शोभा मात्र बढाउँदैन हाम्रो मनलाई समेत प्रसन्न बनाउँछ । चहकिलो रंगरोगन त्यति सुहाउँदो हुँदैन । फिक्का रंगमा घरको सौन्दर्य खुल्दैन । त्यसैले रंगको सही संयोजनमा विशेष ध्यान पुर्‍याउनुपर्छ । रंगको सही संयोजन भनेको घरको प्रकृति, कोठाको स्वरूपअनुसार सुहाउँदो रंग छनोट हो ।

 

 Image