Successfully Copied

पर्वलाई कसरी बनाउने फरक

हामीले पर्वमा पालन गर्ने रीतिरिवाज, परम्पराको मर्म, प्रक्रिया एवं कृयाकलाप एउटै हुन्छन् जुन यसको मुख्य चुरो हो । समय जति बित्दै गयो त्यति नै समाजले उही रूपमा परिवर्तन खोजिरहन्छ । मानिस–मानिस मिलेर समाज बन्ने हो । मानिसको सोच तथा उनीहरूको कृयाकलाप बदलिनु नै परिवर्तन हो । 

चाडपर्व गोलाद्र्धझैं घुमिरहन्छन् । हरेक वर्ष आउँछन् र जान्छन् । हामीले पर्वमा पालन गर्ने रीतिरिवाज, परम्पराको मर्म, प्रक्रिया एवं कृयाकलाप एउटै हुन्छन् जुन यसको मुख्य चुरो हो । समय जति बित्दै गयो त्यति नै समाजले उही रूपमा परिवर्तन खोजिरहन्छ । मानिस–मानिस मिलेर समाज बन्ने हो । मानिसको सोच तथा उनीहरूको कृयाकलाप बदलिनु नै परिवर्तन हो । 

सञ्चारकर्मी तथा नायिका सुप्रिया कटवाल भन्छिन्–‘हरेक चाडपर्वको आ–आफ्नै महत्व छ । त्यसमध्ये दसैं सबैभन्दा महान् पर्व हो । दसैंलगायत सबै पर्वलाई आ–आफ्नै तरिकाले उल्लासमय बनाउन सकिन्छ । यसले पारिवारिक एवं सामाजिक सद्भाव बढाउनुका साथै सम्बन्धमा थप सामीप्यता ल्याउँछ । पर्वहरूमा खर्च धेरै नगरी आफन्त एवं साथीभाइबीचमा रमाइलो कुरा गरेर अथवा आफूलाई मन पर्ने कुनै मनोरञ्जक काम गरेर पनि उल्लासमय बनाउन सकिन्छ । अहिले पर्व मनाउने शैली पनि परिवर्तन हुँदै गएको छ । 

आफ्नो अनुकूलताका आधारमा जसरी पनि पर्व मनाउन सकिन्छ । परिवार मिलेर कुनै रमणीय ठाउँको भ्रमण गरेर पनि चाड मनाउन सकिन्छ । काममा व्यस्त भएकाले परिवार एवं साथीभाइसँग समय बिताउन पाइएको छैन भने केही समय निकालेर आफ्ना अनुभव सुनाउँदै–सुन्दै पनि रमाइलो गर्न सकिन्छ । यदि पकाउन सिपालु भए फरक–फरक स्वादका परिकार बनाएर सबैलाई चखाएर प्रतिक्रिया लिँदा पनि रमाइलो हुन्छ ।’ गायिका जुनु प्रसाईं भने दसैंका बेला प्रशस्त फुर्सद मिल्ने भएकाले रियाजमा रमाउँछिन् अनि साथीभाइ तथा परिवारसँगको जमघटमा आफूलाई खुसी राख्ने प्रयास गर्छिन् । दसैंको आफ्नै महत्व एवं विशेषता भएको कुरा बताउँदै प्रसाइ भन्छिन्–‘म आफूलाई इच्छा लागेको लाएर, खाएर, सबैसँग समय बिताएर दसैंलाई अझ बढी उल्लासमय बनाउँछु । साथै यतिबेला आम समयमा गर्न नपाइएका कतिपय काममा पनि केन्द्रित हुन्छु भने अरूको हितका लागि पनि आफ्ना तर्फबाट जे गर्न सक्छु सकेसम्म गर्ने प्रयास गर्छु । 

सामाजिक अभियन्ता सुवर्णप्रभा गुरागाईं हरेक पर्वलाई पृथक् र रमाइलो मात्र होइन उपलब्धिमूलक बनाउन आफूले कुनै न कुनै नयाँ काम गर्दै आएको बताउँछिन् । उनले गएको तीजमा गठ्ठाघरदेखि कोटेश्वरसम्मको बाटोमा नाङ्लो पसल थाप्ने, मकै पोल्ने तथा ठेलागाडा व्यवसायमा संलग्न सडक व्यवसायीहरूलाई जम्मा पारेर दर ख्वाई नाचगानसहित रमाइलो गरेर मनाइन् । आफूलाई पर्वका नाममा कुनै न कुनै फलदायी सामाजिक कार्य गर्न मन लाग्ने कुरा बताउँदै गुरागाईं भन्छिन्–‘चाडपर्व हाम्रो संस्कृति हो । यिनलाई केही न केही सूचना प्रवाह गर्ने प्लेटफर्म बनाउनुपर्छ । यसो गर्दा सामाजिक हितका लागि थोरै भए पनि केही त गर्न सकियो भन्ने कुराले आत्मसन्तुष्टि दिन्छ ।’ सुवर्णप्रभा दसैंलाई सबैले यस्तै सामाजिक कार्यका साथ मनाएको खण्डमा समाजमा भाइचारा वृद्धि हुने र सुखीयाली छाउने कुरा बताउँछिन् ।

सुप्रियाका अनुसार पर्वको रौनक बढाउन कतिपयले देखासिकी गरेर खर्चिलो बनाउने गरेका छन् तर यसले केही समयलाई रमाइलो बनाए पनि त्यसपछि आइपर्ने आर्थिक समस्याले नरमाइलो महसुस गराउन सक्छ । त्यसैले यो विषयमा पनि सजग हुनु आवश्यक हुन्छ । उनी आफू चाहिँ पकाउन मन पराउने भएर पनि फरक–फरक परिकार बनाएर सबैलाई ख्वाउँदै इन्जोय गर्छिन् । कटवाललाई यात्रा असाध्यै मन पर्छ, आफू पहिले नपुगेको ठाउँ घुम्न जाने अवसर पनि यही समयमा प्राप्त हुन्छ । चाडपर्वका बेला कुनै ठाउँको भ्रमण हुनसक्यो भने त्यो नै उनलाई पर्व मनाएको जस्तो लाग्छ ।

जुनु भने दसैंमा आफूमा उत्साह र उमङ्ग थपिने कुरा बताउँदै भन्छिन्–यो बेला घर सरसफाइ, पकाइ–तुल्याइमा जाँगर चल्छ । उनी यतिबेला निकै सक्रिय रहन्छिन् । विविध काममा उनको यही सक्रियता नै दसैं सेलिब्रेसन हो । बैंकर्स अञ्जु पन्त दसैं आयो कि नयाँ नोट र त्यसको बाँडफाँडमा व्यस्त रहन्छिन् । उनलाई नयाँ नोटको गन्धले दसैं भित्रिएको महसुस गराउँछ । उनी आफ्नो बैंकमा आएका ग्राहकलाई खाली हात फर्काउँदिनन् । जे–जति सकिन्छ व्यवस्थापन गर्छिन् । अञ्जु भन्छिन्–दसैंलाई फरक बनाउने मेरो अर्को काम भनेको श्रीमान् तथा छोरीसँग समय बिताउनु हो, जसले मलाई आत्मिक खुसी दिन्छ । जुन अवसर म अरू बेला पाउँदिन ।’ प्राध्यापक प्राप्ति थापा दसैंलाई थप उल्लासमय बनाउन यात्रामा निस्कन्छिन् । व्यस्त श्रीमान् र छोराहरूलाई लिएर कतै एकान्त स्थलमा समय बिताउनु उनका लागि स्वर्गीय आनन्द प्राप्त गर्नु हो । पढ्ने, लेख्ने, राम्रा कार्यक्रममा सहभागी हुने, आफ्नो विषयसँग सम्बन्धित टेलिभिजन कार्यक्रम हेर्ने कुरालाई उनी यो बेलाको रुटिनमै राख्छिन् । 

फरक बनाऔं

    हामी कुन पर्व मनाउँदैछौं । त्यसका बारेमा केही शोध अनुसन्धान गरौं ।

    आफ्नाहरूसँग नजिक रहेर खुसी साटासाट गरौं ।

    सामाजिकीकरणमा ध्यान दिऊँ ।

    सम्मानजनक ढंगले रमाइलो गरौं ।

    पर्वको प्रभाव सही ढंगले मुखरित गरौं ।

    आफूले गरेको कामले सामाजिक हितमा सानो भए पनि सहयोग पुर्‍याओस् भन्ने सोच राखौं ।

    आफ्नो पर्व सेलिब्रेसनको तरिका र हाउभाउका कारण अरुमा कस्तो असर वा प्रभाव पर्छ त्यसमा पनि ध्यान पुर्‍याऔं । 

    करले नभएर रहरले पर्व मनाऔं र अरूलाई पनि खुसीसाथ मनाउन सहयोगीको भूमिका खेलौं ।

 

 Image