Successfully Copied

आफ्नै स्वादको तामाङ परिकार

तामाङहरूको मुख्य परिकार सेल रोटी, ढिँडो, कोदो र फापर नै हो तर दसैंका बेला मासु–भात वा मासु–चिउरा खाने चलन थियो । नवमीका दिन पूजाआजा गरी राँगा र कुखुराका विभिन्न भागका विभिन्न थरी मासु पकाएर खाने चलन छ ।

काभ्रे तिमालकी ल्हामो लामा, ६२ दसैं आउन थालेपछि निकै व्यस्त हुन्थिन् । उनी त्यतिबेला गाउँमा दसैंको रौनक बेग्लै हुने कुरा बताउँछिन् । तामाङ जातिमा दसैंमा घरघरमा राँगा तथा लोकल कुखुरा काट्नुपर्ने चलन थियो भने अनिवार्य रूपमा बंगुरको मासु पनि खानुपथ्र्यो । त्यसका लागि घर–घर मिलेर बंगुर किन्न रामेछापसम्म पुगेको ल्हामोलाई अझैं सम्झना छ । तामाङहरूको मुख्य परिकार सेल रोटी, ढिँडो, कोदो र फापर नै हो तर दसैंका बेला मासु–भात वा मासु–चिउरा खाने चलन थियो । नवमीका दिन पूजाआजा गरी राँगा र कुखुराका विभिन्न भागका विभिन्न थरी मासु पकाएर खाने चलन छ ।

राँगाको टाउकोदेखि खुट्टासम्मको झोल मासु, भुटन, कलेजो, फ्राई, सुकुटी, साँधेर, पोलेर, सुप बनाएर खाइन्छ । त्यसमा पनि तामाङहरू धेरैजसो मासु पोलेर खान्छन् । बंगुरको मासु भने आगोमा पोलेर भाग लगाई खाइन्छ । दसैंका बेला मासुका परिकारका साथमा अचारको पनि उत्तिकै महत्व छ । तामाङ जातिमा गोलभेंडा र फर्सीको बियाँको अचार, मुलाको अचार तथा लप्सीको अचारका साथ भोज खाने चलन छ । 

खसीको तास

सहरिया नेपालीमाझ खसीको मासुका परिकारमध्ये अधिक रुचाइने एउटा परिकार हो–तास । तासका लागि बोसो, हड्डी र छाला नभएको मासु चाहिन्छ । यस्तो मासुमा खुर्सानीको धूलो, जिरा–धनियाँ, ल्वाङ–सुकमेल, दालचिनी तथा तेजपत्ता मिसाएर पिसेको लेदोका साथै  बेसार, नुन, तेल तथा छोक्रा मात्र कुटिएको अदुवा–लसुन मिसाएर र चार घन्टाजति फ्रिजमा राख्ने ।

करिब एक इन्च मोटो प्यान वा तावालाई सानो आँचमा ३०–४० मिनेट तताउने र फ्रिजबाट निकालेको मासुलाई २ सय ५० डिग्री सेल्सियस तापक्रममा पकाउने । करिब १५–२० मिनेटमा मासु पाक्छ । मासुको रंग हेरेर वा मसला (अदुवा–लसुनको छोक्रा) छुट्टिएको हेरेर यो पाके–नपाकेको थाहा हुन्छ । यसलाई हरियो सलाद तथा मुला–टमाटरको अचारसँग खान सकिन्छ ।

खसीको सेकुवा

खसीको मासु पोलेर तयार पारिने सेकुवा बनाउन खसीको अगाडिको ह्याकुला र पछाडिको पाताको मासु छानेर हड्डी, छाला तथा बोसो हटाउनुपर्छ । मासुलाई पौने इन्चजतिको साइजमा टुक्रा पारी भाँडामा राखेर नुन, बेसार, जिरा–धनियाँ–खुर्सानीको धूलो, अदुवा–लसुनको पेस्ट, गरममसला, बार्‍हमसला, वीरेनुन, कागतीको रस, दही तथा तेल हालेर मोल्नुपर्छ । मोलेको मासुलाई हावा नछिर्ने प्लास्टिकमा बाँधेर डिपफ्रिजमा हाल्नुपर्छ । चारदेखि पाँच घन्टामा बरफजस्तो भएपछि बाहिर निकाली सिन्कामा उनेर गोलमा सेक्नुपर्छ । सेकुवा पाकिसकेपछि प्याज–बन्दाको सलाद, काँक्रा तथा सिन्कीको अचार, भुजा एवं कागतीमा डुबाइएको अदुवाको टुक्रासँग खान सकिन्छ ।

कसौंडीको मासु

कसौंडीको मासु पकाउन सबैभन्दा पहिले मासुमा रहेको बोसो र छाला कम गरेर त्यसमा दालचिनी, ल्वाङ तथा सुकमेल पिसेर तयार पारिएको गरममसला, अदुवा–लसुनको लेदो, दही, खुर्सानी, नुन र तोरीको तेलसहित मोलेर आधा घन्टा त्यसै छाड्नुपर्छ । त्यसपछि कसौंडीमा थोरै तेल हालेर तताइसकेपछि मोलेको मासुलाई सानो आँचमा टम्म छोपेर पकाउने । मासु नखुँडियोस् र कसौंडीको पिँधमा लाग्ने मसला नडढोस् भनेर बीच–बीचमा पातलो वा धारिलो पन्युले चलाउने । पानी नहाली करिब ४५ मिनेटजति पकाएपछि वा मासुबाटै निस्किएको पानी सुकेपछि कसौंडीको मासु तयार हुन्छ ।

 Image