Successfully Copied

दीपावलीमा गृह सजावट

फोहोर–मैला सफा गर्ने, लेउ वा झार उखेल्ने, रंगरोगन गर्ने, झ्याल–ढोकामा नयाँ पर्दा फेर्ने चलन छ ।  यसरी घरलाई सफा–सुग्घर बनाइसकेपछि सयपत्री फूलको मालाले सजाइन्छ । झ्याल–ढोका, भर्‍याङ, बार्दलीमा लस्करै दियो बालिन्छ । घरभित्रै विशेष किसिमले लक्ष्मीको पूजास्थान बनाइन्छ ।

तिहार एउटा यस्तो अवसर हो जतिबेला आफू बस्ने घरलाई चिरिच्याँट्ट सजाइन्छ । तिहारमा घरको फोहोर–मैला सफा गर्ने, लेउ वा झार उखेल्ने, रंगरोगन गर्ने, झ्याल–ढोकामा नयाँ पर्दा फेर्ने चलन छ । 

यसरी घरलाई सफा–सुग्घर बनाइसकेपछि सयपत्री फूलको मालाले सजाइन्छ । झ्याल–ढोका, भर्‍याङ, बार्दलीमा लस्करै दियो बालिन्छ । घरभित्रै विशेष किसिमले लक्ष्मीको पूजास्थान बनाइन्छ । मूलढोकाको सम्मुख वा आँगनमा रंगोली बनाउने प्रचलन छ जसलाई शुभ कार्यको प्रतीक मानिन्छ । 

आम मान्यता के छ भने तिहारमा घर जतिसक्दो आकर्षक, उज्यालो तथा झिलिमिली हुनुपर्छ । घर सफा–सुग्घर र झकिझकाउ भए मात्र लक्ष्मीले त्यो घरमा बास गर्छिन् अर्थात् घर सफा–सुग्घर र झिलिमिली हुँदा समृद्धि भित्रिन्छ भन्ने मान्यता परम्परादेखि चल्दै आएको छ । 

घरको शोभा 

घर सजाउनुअघि घरमा भएका ती सामग्री हटाउनुपर्छ, जसले घरको शोभा बिगारेका छन् । हामी नेपालीहरूमा भएभरका सामग्री घरमै थुपार्ने बानी हुन्छ । काम नलाग्ने वा बिग्रिएका सरसामान पनि हामी घरमै थन्काएर राख्छौं, भोलिको दिनमा काम लाग्छ भनेर । यसरी घर नै डस्बिन जस्तो बन्न पुग्छ । 

यसैगरी घरमा भाँचिएका वा टुक्रिएका फर्निचर पनि त्यत्तिकै कुनामा सडिरहेका हुन्छन् । त्यस्ता सामग्रीले घरलाई कुरूप बनाउँछन् । घरको भित्तामा सजाइने तस्बिर, घडी आदि पुराना तथा काम नलाग्ने किसिमका छन् भने हटाउनुपर्छ । घरमा भएका अनावश्यक सामग्री हटाएपछि मात्र घर खुला र सफा देखिन्छ ।

सरसफाइ 

अनावश्यक सामग्रीको व्यवस्थापन गरिसकेपछि घरको सरसफाइ आवश्यक छ । घरभित्रको फोहोर, जमेको धूलो, सिसा वा कार्पेट आदिमा लागेको दाग आदि हटाउनुपर्छ । कुनाकाप्चामा भएको फोहोर, माकुराको जालो आदि सबै हटाएर सफा गर्नुपर्छ । 

रंगरोगन 

यदि सम्भव छ भने घरको भित्ता, सिलिङ तथा घरबाहिर रंगरोगन गर्न सकिन्छ । हुन त वर्षैपिच्छे रंग लगाउन खर्चिलो हुनसक्छ । यद्यपि बजेटले भ्याउँछ भने भित्ता, झ्याल–ढोकामा रंगरोगन गरेर घरलाई नयाँपन दिन सकिन्छ । 

फर्निचर व्यवस्थापन

घरमा बेड, कुर्सी, टेबल, सोफा, दराज आदि फर्निचर हुन्छन्, जुन महिनौंदेखि यथास्थानमा हुन्छन् । हामी प्राय:जसो फर्निचर एउटै ठाउँमा राख्छौं अर्थात् त्यसको स्थान परिवर्तन गर्दैनौं । जबकि घरको लुक्समा नयाँपन दिन फर्निचरलाई अलग ढंगले राख्न सकिन्छ ।

पहिले जुन स्थानमा थियो, त्यसभन्दा फरक स्थानमा फर्निचर राख्न सकिन्छ । जस्तो दराज, पलङलाई फरक ठाउँमा राखियो भने घर नयाँ लाग्छ । किनभने हामीले महिनौंदेखि पलङ, सोफा, दराज एउटै किसिमले सजाइएको देखिरहेका हुन्छौं । त्यसलाई थोरै मात्र फेरबदल गर्दा पनि कोठामा नयाँपन आउँछ । 

झ्याल–ढोकाको पर्दा

झ्याल–ढोकाका पर्दा पनि परिवर्तन गर्न वा सफा गरेर प्रयोग गर्न सकिन्छ । सबै कुराको व्यवस्थापन गरेर पनि झ्याल–ढोकाको पर्दा परिवर्तन गरिएन भने घरको सौन्दर्य खुल्दैन । यतिबेला सकेसम्म उज्यालो रंगको पर्दा प्रयोग गर्नुपर्छ । 

सजावटका सामग्री 

घरलाई स्थायी रूपले सजाउन भित्तामा तस्बिर सजाउने, आकर्षक डिजाइनको बिजुली जडान गर्ने, भास वा फूल राख्ने आदि काम गर्न सकिन्छ । बजारमा सजावटका अनेकांै सामग्री उपलब्ध छन् । आफ्नो घर वा कोठामा उपयुक्त हुने किसिमका सजावटका सामग्री भए त्यसको पनि उपयोग गर्न सकिन्छ । 

पेन्टिङ वा ऐना राख्ने 

नयाँ पेन्टिङ वा ऐना प्रयोग गरेर कोठालाई नयाँपन प्रदान गर्न सकिन्छ । आफूलाई मनपर्ने तस्बिर वा चित्रलाई फ्रेम गरेर सजाउँदा कोठा आकर्षक देखिन्छ । ऐनामा कुनै वस्तुको छाया नपरोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ जसले कोठा अझ आकर्षक देखिन्छ । 

दीपावलीमा झिलिमिली 

दीपावलीमा झिलिमिली बत्ती, मैनबत्ती वा विभिन्न डिजाइनका बत्तीले घर सजाइन्छ । बजारमा अहिले विभिन्न प्रकारका बत्ती उपलब्ध छन् । आफूलाई मनपर्ने डिजाइनको बत्तीले घरको शोभा बढाउँछ । घरको कुनालाई दियोले सजाउन सकिन्छ । दियोसँगै रंगीबिरंगी क्यान्डिलको कम्बिनेसन मिलाउन सकिन्छ । औंसीको रात अँध्यारो हुने भएकाले घर वरिपरि बत्ती बाल्दा अँध्यारो महसुस हुन पाउँदैन ।

फूलको सजावट

प्रकाश र रंगका अतिरिक्त दीपावलीमा फूलको डेकोरेसन पनि महत्वपूर्ण हुन्छ । झिलिमिली बत्तीसँगै घरलाई आकर्षक बनाउन विभिन्न जातका फूल प्रयोग गर्ने चलन छ । तिहारमा सयपत्री फूल भएन भने घर सजावट अपूरो हुन्छ । दियोको रौनक त रातमा मात्र हुन्छ जबकि फूलले दिउँसो पनि घरको सुन्दरता कायम राख्छ । धेरै प्रकारका फूलले घर सजाउन सकिन्छ । सयपत्रीले घर सजाउँदा पूरै घर त्यसको वासनाले मगमगाउँछ । 

रंग र रंगोली

बिनारंग र रंगोली दीपावलीको सजावट अधूरो हुन्छ । घरको शोभा बढाउन मूलढोका अगाडि रंगोली बनाइन्छ । पूजा, उत्सव तथा शुभ अवसरहरूमा बनाइने रंगोलीले धार्मिक एवं सांस्कृतिक मान्यता बोकेका हुन्छन् । घरको आँगनमा गोबरले लिपेर रंगोली बनाउँदा घर शुद्ध हुन्छ । रंगोली धेरै प्रकारले बनाउन सकिन्छ । घरको मूलढोका र बैठक कोठामा रंगोली बनाउँदा घर सुन्दर देखिन्छ । यसमा देवी–देवताका आकृति, फूल, ज्यामितीय आकार वा इच्छानुसार बुट्टा बनाउन सकिन्छ । रंगोली बनाउन रंग तथा फूलको सहायता लिन सकिन्छ । समय कम छ भने बजारमा विभिन्न डिजाइनका रंगोली उपलब्ध हुन्छन् । चामललाई रंग्याएर पनि रंगोली तयार गर्न सकिन्छ । रंगोली बनाउने ठाउँ समतल एवं सुख्खा हुनुपर्छ । 

दियो

दियोबिना दीपावली अधूरो हुन्छ । बजारमा विभिन्न डिजाइनका दियो पाइन्छन् । घरवरिपरि बालिने बत्तीले घरलाई प्रकाशमय बनाउँछन् । घरका बत्तीहरू बदल्दा पनि घरको पूरा लुक्स परिवर्तन हुन्छ । यसमा दियोले महत्वपूर्ण भूमिका खेल्छ । सादा माटोको दियोमा कलरफूल बुट्टा भरेर सजाउन सकिन्छ । 

फ्लोटिङ क्यान्डिल

पानीको भाँडामा फूलसँगै तैरिरहेको क्यान्डिलले घरको रौनक बढाउँछ । एउटा पानीले भरिएको भाँडालाई गुलाफ र कमलको फूलले सजाएपछि त्यसमा बलेको क्यान्डिल राख्दा घर थप सुन्दर देखिन्छ । त्यस्तै काँचको गिलास वा कचौरामा क्यान्डिल सजाउन सकिन्छ । पानीमा रंग मिसाउँदा अझ सुन्दर देखिन्छ । यस्तो फ्लोटिङ क्यान्डिल बैठक कोठा, भर्‍याङ वा खाली ठाउँमा टेबलमाथि राखेर घरको शोभा बढाउन सकिन्छ । 

तोरण 

घरको मूलद्वारका साथै हरेक कोठाका ढोकामा लक्ष्मी तथा गणेशको तस्बिरको तोरण सजाइन्छ । यसका लागि बजारमा पाइने विभिन्न डिजाइनका तोरण रोज्न सकिन्छ अथवा पत्ता र फूलको तोरण बनाएर प्रयोग गर्न सकिन्छ । मूलढोका तथा पूजाकोठामा टाँगिने रंगीबिरंगी तोरणले घरलाई आकर्षक बनाउन सहयोग पुर्‍याउँछन् । 

मैनबत्ती

घरमा मैनबत्ती सजाउने ट्ेरन्ड नै छ । उज्यालो भन्दा पनि अहिले मैनबत्ती सजावटका लागि जलाइन्छ । अहिले बजारमा धेरै प्रकारका मैनबत्ती उपलब्ध छन् । मैनबत्तीले घरलाई फरक तथा सिम्पल लुक्स दिन्छन् । यस्ता मैनबत्ती झ्याल तथा छतमा सजाउन सकिन्छ । मैनबत्तीलाई स्टेन्डमा राख्दा अझ आकर्षक देखिन्छ । 

पेपर लाल्टिन

तिहारका लागि थुप्रै प्रकारका सजावटी सामान बजारमा खरिद गर्न सकिन्छ । अहिले यसका लागि पेपर लाल्टिनको प्रयोग पनि बढेको छ । पेपर लाल्टिनले सजाउँदा घर सुन्दर त देखिन्छ नै घरको लुक्ससमेत परिवर्तन हुन्छ । 

 

 Image