Successfully Copied

मीठो मिठाई

समयसँगै तिहारमा प्रयोग हुने मिठाईंका परिकारमा पनि परिवर्तन आएको छ । बजारमा पाइने कतिपय मिठाई राम्रै भए पनि धेरै यस्ता परिकार मानव स्वास्थ्यका दृष्ट्रिले उपयुक्त नहुन सक्छन् । त्यसैले आफूलाई मनपर्ने स्वादिष्ट मिठाई घरमै बनाउनु बुद्धिमानी हुन्छ ।

समयसँगै तिहारमा प्रयोग हुने मिठाईंका परिकारमा पनि परिवर्तन आएको छ । बजारमा पाइने कतिपय मिठाई राम्रै भए पनि धेरै यस्ता परिकार मानव स्वास्थ्यका दृष्ट्रिले उपयुक्त नहुन सक्छन् । त्यसैले आफूलाई मनपर्ने स्वादिष्ट मिठाई घरमै बनाउनु बुद्धिमानी हुन्छ ।

बुनियाँ

सामग्री : बेसन १ कप, अरेन्ज फुड कलर थोरै, बेकिङ पाउडर थोरै, ल्वाङ–सुकमेलको पाउडर ५ ग्राम, सुगर सिरप, चिनी १ कप, तेल डिप फ्राइका लागि ।

विधि : बेसन, अरेन्ज फुड कलर तथा बेकिङ सोडा मिक्स गर्ने । त्यसमा ल्वाङ–सुकमेलको पाउडरका साथ पानी हाली ब्याटर बनाउने । बुनियाँको ब्याटर धेरै बाक्लो वा धेरै पातलो हुनु हुँदैन । उक्त ब्याटरमा एक चम्चा तेल हाली आधा घन्टाजति त्यत्तिकै छोड्ने । कराहीमा तेल तताएर प्वाल–प्वाल भएको पन्यू (झाँझर) को सहायताले घोल हाल्ने । तेलमा मजाले चलाएर फ्राइ गर्ने र प्लेटमा खन्याउने । तयार बुनियाँलाई सुगर सिरपमा तात्तातो हाल्ने र १५ मिनेट त्यत्तिकै छोड्ने । त्यसपछि चिनीको चास्नी निथारेर बाहिर निकाल्ने । 

सुगर सिरप (चास्नी) का लागि : कराहीमा १ कप चिनी, आधा कप पानी उम्लन दिने । यो सुगर सिरप हातमा लिँदा टाँसिने हुनुपर्छ । तयार सुगर सिरपमा थोरै उत्तेजक कलर राखेर चिसिन दिने ।

सेल रोटी

सामग्री : चामलको पिठो १ किलो, पानी ५ सय मिलिलिटर, चिनी १ सय ग्राम, दूध आधा लिटर, घिउ आधा किलो ।

विधि : चामलको पिठोमा पानी, दूध, सोडा तथा चिनी हालेर मज्जाले मुछ्ने अनि २ घन्टाजति त्यत्तिकै छाडिदिने । पिठो लेसिलो भएपछि फलामको भाँडामा घिउ वा तेल राम्रोसँग तताएपछि सोली वा बोतलको आधा पारिएको भागबाट आकार आउने गरी हाल्दै पकाउने । 

रसमलाई

सामग्री : २ लिटर दूध, १ किलो चिनी, २ सय ५० ग्राम पनिर, थोरै केशर, ५० ग्राम पेस्ता, ५० ग्राम पातलो पारी काटिएको बदाम ।

विधि : पनिरलाई राम्रोसँग मिचेर धूलो बनाउने । यसमा दुई चम्चा मैदा मिसाई स–साना डल्ला बनाउने । २ सय ५० ग्राम चिनीमा आधा लिटर पानी हालेर चास्नी तयार गर्ने । उक्त चास्नीमा गोलालाई राखेर ६ देखि ८ मिनेटसम्म पकाउने । दूधलाई बाक्लो हुने गरी उमालेर त्यसमा चिनी तथा केशर मिसाउने । चिनी राम्रोसँग घुलेपछि त्यसलाई चिस्सिन दिने । चास्नीमा हालिएको गोला झिकेर त्यही दूधमा हालिदिने । यसलाई बदाम तथा पेस्ताले सजाएर सर्भ गर्नुपर्छ ।

फिनी रोटी

सामग्री : मैदा २ कप, घिउ ३ चम्चा, तेल १ लिटर, चामलको पिठो ४ चम्चा, बटर १ चम्चा, चिनी १ चम्चा ।

विधि : एउटा भाँडामा मैदा, चिनी तथा बटर मिसाएर पानी हाल्दै मोल्दै जाने र १० मिनेट छोपेर राख्ने । अर्काे भाँडामा घिउ र चामलको पिठो मिक्स गर्ने । त्यसलाई पनि छोपेर राख्ने । अघि तयार पारिएको मैदाको पिठोलाई ठूलो र पातलो हुने गरी बेल्ने । त्यसमा घिउ र चामलको पिठोको पेस्टले बेलेको रोटी पूरै दल्ने । यसलाई पातलोसँग रोल गर्ने । चक्कुले एक नाससँग काट्दै जाने । काटिएको भागलाई बेल्नाले बेली बीच भागमा केही चिरेर तेल तताई डिप फ्राइ गर्ने ।

रसबरी

सामग्री : १ लिटर दूधमा आधा किलो चिनी तथा ३ वटा कागती हाल्ने ।

विधि : दूधलाई राम्रोसँग पकाउने । उम्लिएको दूधमा कागती हाली त्यसलाई फटाउने । फाटेको दूधलाई सफा पातलो कपडामा राखेर पखाल्ने र त्यसलाई छानेर ६ घन्टा त्यत्तिकै राख्ने । फाटेको दूधमा थोरै मैदा हालेर राम्रोसँग मुछी स–साना डल्ला बनाउने । चिनीपानीमा ३ वटा सुकमेल हाली पकाउने । मैदा र फाटेको दूध मुछेर तयार पारिएको डल्लालाई चिनीपानीको चास्नीमा २० मिनेटजति उमाल्ने । रसबरी सेलाएपछि खान तयार हुन्छ ।

 

 Image