Successfully Copied

फैलदै स्पा

स्पाले मानिसलाई स्वस्थ बनाउन सहयोग गर्छ । स्पा यस्तो थेरापी हो जसले शरीर, मन, विचार, भाव हुँदै आत्मासम्मलाई शुद्ध पारी पूर्ण आनन्द प्रदान गर्छ, तनावबाट छुटकारा दिन्छ, शरीरमा फुर्ती बढाउँछ । 

स्पाले मानिसलाई स्वस्थ बनाउन सहयोग गर्छ । स्पा यस्तो थेरापी हो जसले शरीर, मन, विचार, भाव हुँदै आत्मासम्मलाई शुद्ध पारी पूर्ण आनन्द प्रदान गर्छ, तनावबाट छुटकारा दिन्छ, शरीरमा फुर्ती बढाउँछ । 

स्पा पानीबाट उपचार गर्ने पद्धति हो । स्पा भन्नासाथ नकारात्मक सोच राख्ने चलन सुरुवातका दिनमा थियो । त्यसले गर्दा पनि सुरुवातका दिनमा स्पासम्बन्धी आकर्षण र बुझाइ फरक रह्यो । त्यतिबेला यसका ग्राहक विदेशी पर्यटक नै थिए । विस्तारै मानिसहरूको बुझाइमा परिवर्तन आयो भने यसलाई आयुर्वेदिक पद्धतिबाट गरिने उपचार विधिका रूपमा बुझ्न थालियो । फलस्वरूप स्पामा नेपालीहरूको समेत आकर्षण देखिन थाल्यो । अहिले स्पा गर्न रुचाउने विदेशीका साथै नेपालीहरूको चाप पनि उस्तै छ ।

पर्यटकीय नगरी पोखरामा स्पा भित्रिएको झन्डै डेढ दशक भयो । खमा स्पा भित्राउने श्रेय होटल फूलबारी रिसोर्टलाई जान्छ । पछि यो व्यवसाय पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा भित्रियो । हाल पोखरामा झन्डै एक सयको हाराहारीमा स्पा सेन्टर छन् । दर्ता भएर सञ्चालनमा आएका स्पाको संख्या ८० को हाराहारीमा छ । 

सुरुमा स्पा पनि व्यवसाय हुन्छ र भनिन्थ्यो । स्पा संचालन गरेर कसरी घरभाडा तिर्छन् भन्ने खालका कुरा गरिन्थ्यो । हुन पनि त्यतिबेला मात्र १ सय ५० मा फुट मसाज हुन्थ्यो । फाट्टफुट्ट आउने विदेशी पर्यटक मात्र यसका ग्राहक थिए । यद्यपि त्यतिबेला यो क्षेत्रमा हात हालेकाहरू पलायन भएनन् । उनीहरूले यसलाई निरन्तर अघि बढाइरहे । फलस्वरूप यो व्यवसायले विस्तारै गति लियो । स्पाको माग होटलबाट पनि आउन थाल्यो अनि स्पा सेन्टरहरू थपिँदै गए । 

स्पाले मानिसलाई स्वस्थ बनाउन सहयोग गर्छ । स्पा यस्तो थेरापी हो जसले शरीर, मन, विचार, भाव हुँदै आत्मासम्मलाई शुद्ध पारी पूर्ण आनन्द प्रदान गर्छ, तनावबाट छुटकारा दिन्छ, शरीरमा फुर्ती बढाउँछ । थकान कम गर्छ, खानामा रुचि जगाउँछ भने निद्रा लगाउन समेत मद्दत गर्छ । स्पा विभिन्न प्रकारका छन् । आवश्यकताअनुसार यसको प्रयोग गरिन्छ । दैनिक कामको थकानबाट छुटकारा प्राप्त गर्न होस् वा लामो यात्रापछि शरीरमा आएको शिथिलतालाई पुनर्ताजगी गर्न होस् स्पाले सहयोग गर्छ । स्पालाई आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । 

स्पाभित्र हेयर स्पा, फेस स्पा, नेक स्पा, आइ स्पा, नेल स्पा, स्किन स्पा तथा बडी स्पा आदि पर्छन् । यसमा साउना स्टिम, आयुर्वेदिक मसाज, हट स्टोन मसाज, ज्वाइन्ट पेन रिलिफ मसाज, रिल्याक्सन मसाज आदि हुन्छन् । स्पाको प्रयोगले शरीरमा सकारात्मक ऊर्जा उत्पन्न हुन्छ भने तनाव तत्काल कम हुन्छ । त्यसैले पनि स्पाको आकर्षण बढ्दैछ । 

केही वर्षअघि पोखरामा आयोजित अन्तक्र्रिया कार्यक्रममा डान्स रेस्टुरेन्ट, क्याबिन रेस्टुरेन्ट, पार्लर तथा स्पाका संचालकहरूलाई बोलाइयो । उक्त अन्तक्र्रियामा सहभागी स्पा व्यवसायीहरूले स्पा स्वास्थ्य उपचारकै एउटा भाग भएको जिकिर गरे । प्रशासनले पनि यसको महत्व बुझ्यो अनि स्पा व्यवसायीहरूको तदर्थ समिति गठन भै २०७४ मा विधिवत् रूपमा संस्था दर्ता भयो । त्यतिबेला सबै स्पा सेन्टर दर्ता नभएका कारण ११ जनाको कार्यसमिति बनाउन नसकी ७ जनामा सीमित गरिएको थियो । 

अहिले स्पा व्यवसायमा बैंकहरूले समेत लगानी गर्न थालेका छन् । यसले व्यवसायीहरूलाई सहज बनाएको छ । पोखराका स्पामा पुग्ने स्थानीय तथा आन्तरिक पर्यटकको संख्या बढ्दैछ । जसले गर्दा अफसिजनमा पनि आन्तरिक पर्यटकले व्यवसाय धान्न सक्ने अवस्था सिर्जना भएको छ । पहिले–पहिले स्पा छिर्न नमान्नेहरू अहिले खुलेर आउँछन् । कतिपय त परिवारसहित आएर स्पा गराउँछन् । स्पाका लागि कम्तीमा १ घन्टा तथा बढीमा डेढ घन्टा समय छुट्याउनुपर्छ । स्पा सेन्टरहरूले सामान्यतया बिहान ९ बजेदेखि राति १० बजेसम्म सेवा प्रदान गर्छन् । न्यूनतम १५ सय रुपैयाँदेखि स्पाको सेवा लिन पाइन्छ । रिसोर्टभित्रका स्पाको रेट र रिसोर्ट बाहिरका स्पाको रेट फरक–फरक हुन्छ । 

स्पा स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको व्यवसाय हो । यसमा ग्राहकलाई सन्तुष्टि प्रदान गर्न सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । पानीबाट हुने यो उपचार पद्धतिको कुनै साइड इफेक्ट छैन । स्पा खुल्ने क्रम बढे पनि आवश्यकताअनुसार दक्ष दक्ष जनशक्ति भने कमै छ ।पोखरामा २० लाखदेखि १ करोडसम्मका स्पा सञ्चालनमा छन् । १६ वर्षभन्दा माथिका महिला–पुरुषहरू यहाँ सेवा लिन आउँछन् । पोखरा घुम्न आएका पर्यटक साइडसिन, प्याराग्लाइडिङ तथा स्विमिङपछि स्पा सेन्टर पुग्छन् । 

स्पा व्यवसाय पर्यटन परिषद्मा आबद्ध हुने प्रयासमा छ । यो व्यवसायलाई मर्यादित बनाउन बेला–बेलामा अनुगमन हुने गरेको छ भने सेवामा एकरूपता ल्याउने प्रयास पनि जारी छ । सुरक्षा प्रमुख तथा प्रमुख जिल्ला अधिकारी परिवर्तन हुँदा निगरानी बढी भए पनि शुद्ध व्यावसायिक रूपमा सञ्चालन भएको पाइएपछि सजिलो हुने गरेको छ । 

स्पा एसोसिएसन नेपालका अध्यक्ष रामकुमार श्रेष्ठ व्यवसायीहरू पोखरालाई स्पा सिटी बनाउने योजनाका साथ अघि बढेको कुरा बताउँछन् । हरेक गाउँको होमस्टेमा पनि स्पा आवश्यक हुने उनले बताए । अहिले थ्रि स्टार लेभलका अधिकांश होटलमा स्पाको सुविधा उपलब्ध छ । स्पा भएन भने गेस्टहरू बस्न हिचकिचाउने श्रेष्ठले जानकारी दिए । 

हिमालय स्पाकी विष्णुमाया श्रेष्ठ ट्ेरकिङ जाने विदेशी पर्यटकहरूको थकानमा आरामसहित उपचार गर्ने उद्देश्यले लामो समयदेखि यो व्यवसायमा आबद्ध भएको बताउँछिन् । 

स्पा व्यवसायमा विकृति आउन नदिन तथा यो पेसालाई शुद्धीकरण गर्न स्पा एसोसिएसन नेपाल गठन गरिएको अध्यक्ष श्रेष्ठले बताए । संस्था स्थापनापछि यो व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आफूहरू लागिपरेको उनको तर्क छ । अन्य देशका पर्यटकका अतिरिक्त स्पामा पुग्ने भारतीय तथा चिनियाँ पर्यटकहरूको संख्या बढ्दै गएको श्रेष्ठले बताए ।

पोखरा, गौरीघाटस्थित हिमालयन निर्भाना स्पाका सञ्चालक चित्रबहादुर गुरुङले स्पामा थेरापी र ट्रिटमेन्टका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको बताए । पछिल्ला दिनमा स्पामा पुग्ने भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा वृद्धि भएको उनको अनुभव छ । भारतीय पर्यटक जोडी नै स्पा पुग्न थालेका छन् । 

स्पा व्यवसायमा पनि केही समस्या छन् । सबैभन्दा मुख्य समस्या दक्ष जनशक्तिको छ । स्पालाई हेर्ने दृष्टिकोणका कारण समेत कतिपय ग्राहक स्पा सेन्टर पुग्न अझै हिचकिचाउँछन् । 

पोखरामा स्पाको राम्रो सम्भावना देखेर क्लारा इन्टरनेसनल स्पा एन्ड ब्युटी कलेजको स्थापना समेत भएको छ । मलेसियाको क्लारा इन्टरनेसनल कलेजसँग समन्वय गरी फ्रेन्चाइजीका रूपमा उक्त कलेज स्थापना गरिएको हो । 

स्पा अमेरिका, क्यानाडा, स्पेन आदि देश हुँदै एसियाका थाइल्यान्ड, चीन, इन्डोनेसियामा विकास भएको बताइन्छ । विश्वमा स्पाको इतिहास झन्डै २५ वर्ष मात्र लामो छ । नेपालमा स्पाको सुरुवात झन्डै १५ वर्षअघि भएको हो । पछिल्लो दशकमा यसमा निकै ठूलो विकास भयो । काठमाडौंको ठमेलसहित नेपालका पर्यटकीय सहरमा स्पा व्यवसाय फैलदै गएको छ ।

स्पा थेरापी नौलो लागे पनि यो परापूर्वकालदेखि चलिआएको विधि हो । जति बेला उपचारका लागि चिकित्सक उपलब्ध थिएनन् त्यतिबेला उपचारका लागि प्राकृतिक पद्धति अपनाइन्थ्यो । त्यतिबेला पानीमा प्राकृतिक जडीबुटीहरू मिसाएर पिउने, सेक्ने, बाफ लिने तथा नुहाउने चलन थियो । अहिले त्यसकै परिस्कृत रूपमा स्पा सेन्टरहरूले सेवा प्रदान गरिरहेको बताइन्छ ।

 

 Image