Successfully Copied

विषादी प्रयोग गर्दा ख्याल राख्नुहोस्

प्रयोग भएका ९५ प्रतिशतभन्दा बढी विषादीले मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्या सिर्जना गरेको छ । मौरीको संख्यामा कमी ल्याउन खेत–बारीमा प्रयोग गरिएका विषादी प्रमुख कारक रहेको प्रमाणित भैसकेको छ जसका कारण बाली–बिरुवामा हने परागसेचन प्रक्रियामा कमी आएर कृषि उत्पादनमा कमी हुन्छ ।

नेपालमा विषादी प्रयोगमा देखिएको सबैभन्दा ठूलो समस्या भनेको यसको प्रयोगपछि पर्खनुपर्ने अवस्था र नपर्खदा विषादीका अवशेष बाँकी रहने खतरा हो । यससँगै विषादी छनोटमा सजगता नअपनाउने, बाली कटानीका क्रममा पनि विषादी प्रयाग गर्ने, बिक्रीअघि विषादीमा डुबाउने, विषादीको मात्रा बढाएर छर्ने, रोग–कीराको पहिचानबिना विषादी छर्ने, विषादीलाई खेतीबाहेक अन्य जीवजन्तु तथा स्थानमा प्रयोग गर्ने, कृषि कार्यबाहेक अन्य उद्देश्यमा प्रयोग गर्ने, दर्ता नगरिएका विषादीको लुकीछिपी बिक्री–वितरण तथा प्रयोग, प्रतिबन्धित विषादीको लुकीछिपी प्रयोग, विषादीको प्याकेट खोली प्याकेजिङ र बिक्री, बिनालेवलका विषादीको प्रयोग, म्याद नाघेका विषादीको प्रयोग, विषादी प्रयोग गर्दा सुरक्षित पहिरनको प्रयोग नगर्ने आदि प्रमुख समस्या छन् । 

विषादी रासायनिक पदार्थ हुन् जसलाई रोग, कीरा, सूक्ष्म जीवाणु, झारपात, मुसा आदि मार्न कृषि तथा अन्य स्थानमा प्रयोग गरिन्छ । विषादी मानव शरीरमा श्वासप्रश्वास प्रक्रिया, छालाको सम्पर्क तथा खानाको माध्यमबाट पस्छ । यसले विषादीको कारोवारमा संलग्न व्यक्ति, कृषकहरू तथा कृषि उपज उपभोग गर्ने उपभोक्ता सबैमा नकारात्मक प्रभाव पारिरहेको छ । महिला तथा केटाकेटीहरूमा यसको प्रभाव बढी छ । संयुक्त राष्ट्र संघका अनुसार विकासोन्मुख देशहरूमा खतरनाक विषादीलगायतका रसायनको उत्पादन एवं प्रयोग मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी बढिरहेको छ । 

प्रयोग भएका ९५ प्रतिशतभन्दा बढी विषादी लक्षित समस्या समाधान गर्नुभन्दा मानव, वन्यजन्तु, पानीको स्रोत, माटो तथा हावामा समाविष्ट भएर हानी पुर्‍याउने काममा प्रयोग भैरहेको छ । यसले मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्या सिर्जना गरेको छ । मौरीको संख्यामा कमी ल्याउन खेत–बारीमा प्रयोग गरिएका विषादी प्रमुख कारक रहेको प्रमाणित भैसकेको छ जसका कारण बाली–बिरुवामा हने परागसेचन प्रक्रियामा कमी आएर कृषि उत्पादनमा कमी हुन्छ । 

व्यापक प्रयोगकै कारण विषादीको अवशेष माटो तथा पानीमा बढेर गएको छ । ओजन तहको विनाशमा विषादीको भार ६ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । एसिया महादेशका बहुसंख्यक कृषक विषादीको प्रकार, विषको स्तर, सुरक्षित प्रयोग तथा मानव स्वास्थ्य एवं वातावरणमा विषादीको नकारात्मक असरका बारेमा अनभिज्ञ रहेका कारण उनीहरू नै विषादीसँग बढी सम्पर्कमा आउने र सुरक्षित रूपमा प्रयोग गर्न अपनाउनुपर्ने साधन प्रयोग गर्न नसकेका कारण विषादीको ठूलो असर झेल्न बाध्य छन् ।

 

 Image