Successfully Copied

प्रि–म्यारिटल काउन्सिलिङ 

विवाह सम्झौता र पश्चातापमा बिताउनु नपरोस् भनेर प्रि–म्यारिटल काउन्सिलिङ आवश्यक हुन्छ । विवाहपछि जिम्मेवारी बढ्छ, जसलाई निर्वाह गर्न, एक–अर्काको अपेक्षा बुझ्न तथा त्यसमा खरो उत्रन आवश्यक हुन्छ ।

विवाह सम्झौता र पश्चातापमा बिताउनु नपरोस् भनेर प्रि–म्यारिटल काउन्सिलिङ आवश्यक हुन्छ । विवाहपछि जिम्मेवारी बढ्छ, जसलाई निर्वाह गर्न, एक–अर्काको अपेक्षा बुझ्न तथा त्यसमा खरो उत्रन आवश्यक हुन्छ ।

फरक पृष्ठभूमिमा हुर्किएका एक जोडी पुरुष–महिला जब दम्पती बनेर एउटै घर सम्हाल्न थाल्छन्, उनीहरूबीच सामान्य मतभेत हुनु अनौठो होइन । किनभने उनीहरूको भावना, इच्छा एवं चाहना फरक– फरक हुन्छ । सपना तथा आकांक्षा पनि फरक–फरक हुन्छ । त्यसैगरी उनीहरूको आनीबानी, प्रवृत्ति, स्वभाव, सोंच एवं चिन्तन पनि फरक हुन्छ । 

जब उनीहरू दाम्पत्य जीवनमा बाँधिन्छन्, दुवैले एक–अर्काको भावना तथा सपना बुझ्नुपर्छ । एक–अर्काको प्रवृत्ति र स्वभावलाई स्वीकार गर्न सक्नुपर्छ । एक–अर्काको सोंच र चिन्तनलाई सम्मान गर्नुपर्छ । यद्यपि दम्पती सहजै एक–अर्कालाई स्वीकार गर्न तयार हुँदैनन् । विवाह गरेपछि उनीहरू आफ्नो स्वभाव, प्रवृत्ति, सोंच, चिन्तन, सपना एक–अर्कामाथि लाद्ने प्रयास गर्न थाल्छन् । आफ्नो स्वभावअनुसार पार्टनर पनि त्यस्तै हुनुपर्छ भनेर जिद्दी गर्न थाल्छन् । आफ्नो सपनामा पार्टनरले पनि साथ दिनुपर्छ भन्ने आकांक्षा राख्न थाल्छन् । यसरी आफूलाई केन्द्रमा राखेर गरिने व्यवहारले दाम्पत्य सुख खलबल्याइदिन्छ । आपसी व्यवहार रुखो हुन थाल्छ । असहयोग, अविश्वास एवं असमझदारीले ठाउँ लिन थाल्छ । त्यसपछि दाम्पत्य जीवन धरापमा पर्छ । 

आवश्यक छ प्रि–म्यारिटल काउन्सिलिङ 

विवाहपछि एकले अर्कालाई कसरी स्वीकार गर्ने ? कसरी पारिवारिक जीवनमा घुलमिल हुने ? कसरी दाम्पत्य जीवनको सुखभोग गर्ने ? विवाहपूर्व गरिने परामर्शले यही कुराको तयारी गराउँछ । दाम्पत्य जीवनलाई सहज व्यवस्थापन गर्न प्रि–म्यारिटल काउन्सिलिङ आवश्यक छ । एक–अर्काको विचार, व्यवहार, मनपर्ने तथा मन नपर्ने कुराका साथै अतिरिक्त कुराहरू थाहा पाउन सकिन्छ । 

विवाहपछि पुरुष र महिला जीवनसाथी मात्र हुँदैनन् । दुवैका आफन्त, इष्टमित्र, नातेदार पनि एकाकार हुन्छन् । यस्तोमा विवाह हुन लागेका दम्पतीमा वैवाहिक जीवन सफल बनाउने दबाब रहन्छ । विवाहअघि परिवारका सदस्यले हुनेवाला वरवधूको जन्मकुण्डली मिलाएर विवाह तय गराउने हाम्रो परम्परा छ । जन्मकुण्डलीमा ग्रहको उपयुक्त मिलन भए मात्र वैवाहिक जीवन सफल हुन्छ भन्ने मान्यता छ । यसबाट विवाह हुन लागेका युवा–युवतीको भविष्य कस्तो हुन्छ ? के उनीहरू एक–अर्कासँग खुसीपूर्वक जीवन बिताउन सक्छन् ? जस्ता कुराको लेखाजोखा हुने विश्वास छ । 

यद्यपि अहिले जन्मकुण्डली मिलाएर मात्र दाम्पत्य जीवन मिल्छ भन्ने निश्चित छैन । त्यसैले विवाहअघि हुनेवाला दुलहा–दुलहीले परामर्श लिन आवश्यक छ । वर्तमान अवस्थामा प्रि म्यारिटल काउन्सिलिङ अपरिहार्य भएको परामर्शदाताहरू बताउँछन् ।

पारिवारिक परामर्शदाता रमा कार्की भन्छिन्–‘वैवाहिक जीवनमा आउन सक्ने सामान्य कठिनाइहरू तथा त्यसबाट जोगिने उपायका बारेमा पूर्वजानकारी हुनुपर्छ ।’ प्रि म्यारिटल परामर्शले दाम्पत्य जीवन कसरी सुखमय बनाउने भन्ने कुराको बोध गराउने उनको दावी छ । 

के हो प्रि–म्यारिटल काउन्सिलिङ ?

प्रि–म्यारिज काउन्सिलिङ विवाह हुनुअघि गरिने तयारी हो । यसमा युवा–युवतीलाई वैवाहिक सम्बन्ध निर्वाहका लागि मानसिक, शारीरिक एर्व भावनात्मक रूपमा तयार गरिन्छ । काउन्सिलिङमा स्वास्थ्य जाँच पनि गरिन्छ जसमा ब्लड ग्रुप, एचआईभी तथा हेपाटाइटिस बीको जाँच गरिन्छ । यसले स्वस्थ परिवारको सुरुवात गर्न सघाउ पुर्‍याउँछ । यसमा उनीहरूबीचको सम्बन्ध, परिवारप्रतिको मनोवृत्ति, सन्तान, मानसिक स्वास्थ्यजस्ता विषयमा चर्चा गरिन्छ ।

ठीक यही समयमा परामर्शदाताले दुवैलाई निर्णय लिन सही दिशा दिन मद्दत गर्छन् । परामर्शदाताले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्छन् । उनीहरूबीचको भ्रम, द्विविधा, कठिनाइ तथा समस्याहरू हटाउन सजिलो बनाइदिन्छन् । जुन मुद्दाको हल छैन त्यसको पनि सामना गर्न लगाउँछन् । हुनेवाला दम्पतीले यस क्रममा कुनै पनि विषयमा छलफल गर्न सक्छन् । 

किन जरुरी ?

वैवाहिक जीवन सम्झौता र पश्चातापमा बिताउनु नपरोस् भनेर प्रि–म्यारिटल काउन्सिलिङ आवश्यक हुन्छ । विवाहपछि जिम्मेवारी बढ्छ, जसलाई निर्वाह गर्न, एक–अर्काको अपेक्षा बुझ्न तथा त्यसमा खरो उत्रन आवश्यक हुन्छ । काउन्सिलिङले त्यसका लागि पनि तयार गर्छ ।

 

कसरी गर्छ मद्दत ?

प्रि–म्यारिटल काउन्सिलिङका केही प्रक्रियामध्ये कम्युनिकेसन पनि एक हो । यस क्रममा दुवैका बारेमा सोधपुछ गरिन्छ । यसमा केही घुमाउरो प्रश्न पनि गरिन्छ, जसले दुवैको सम्बन्धलाई बलियो बनाउँछ । यसबाट दुवै राम्रा साथी बन्छन् । हुनेवाला जीवनसाथीको राम्रो पक्ष त छँदैछ नराम्रो पक्षका बारेमा पनि दुवैले थाहा पाउँछन् । 

प्रि–म्यारिटल काउन्सिलिङले भगाउँछ डर ?

नयाँ सम्बन्धमा बाँधिनुअघि मनमा डर हुनु स्वाभाविक हो । त्यस्तो डर भगाउन प्रि–म्यारिटल काउन्सिलिङले सहजीकरणको भूमिका खेल्छ । परामर्शदाताबाट विवाहसँग सम्बन्धित जानकारी तथा सुझाव पाइने हुँदा वैवाहिक सम्बन्धमा आउन सक्ने जटिलता तथा समस्याहरूबाट जोगिन सकिन्छ । यसबाट वैवाहिक सम्बन्ध सकारात्मक ढंगबाट अघि बढ्छ । 

कसरी गरिन्छ काउन्सिलिङ ? 

काउन्सिलिङका क्रममा जोडीलाई आमने–सामने राखेर कुराकानी गरिन्छ । उनीहरूलाई विवाहको वास्तविकता तथा जिम्मेवारीका बारेमा अवगत गराइन्छ । दुवैका मनपर्ने मन नपर्ने कुरा, आनीबानी तथा रुचिका बारेमा प्रश्न गरिन्छ भने धार्मिक झुकाव, आफन्तप्रतिको व्यवहार, फाइनान्स म्यानेजमेन्ट, प्राथमिकता आदिका बारेमा जान्ने प्रयास गरिन्छ । यसमा उनीहरूबीच सम्भावित असामञ्जस्य तथा मतभेद नहोस् भनेर परामर्शदाताले दुवैलाई साथीका रूपमा प्रस्तुत गर्छन् । उनीहरूलाई खुलेर कुराकानी गर्न प्रोत्साहित गर्छन् ।

काउन्सिलिङमा दुवैलाई आ–आफ्ना कुरा व्यक्त गर्ने मौका दिइन्छ भने इमान्दारीको पाठ पनि पढाइन्छ । यस क्रममा एक–अर्काको अरुचिकर सत्यताका बारेमा पनि थाहा पाइन्छ । जति पनि असमानता किन नहोस् त्यसलाई स्वीकार गर्न सिकाइन्छ । यही नै सफल दाम्पत्य जीवनको सूत्र हो । सेयरिङ र केयरिङ पनि विशेष कुरा हो । यी कुरा पनि सिकाइन्छ । कहिलेकाहीँ संयुक्त परिवारमा युवतीहरू ‘एडजस्ट’ गर्न सक्दैनन् । त्यस क्रममा आफन्तप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरासमेत सिकाइन्छ । कुन सम्बन्धलाई कति महत्व दिनुपर्छ भन्ने कुरा पनि जान्नु जरुरी हुन्छ । 

एक–अर्काको व्यवहार वैवाहिक जीवनका लागि महत्वपूर्ण पक्ष हो । सम्बन्ध सफल बनाउने र टुक्राउने महत्वपूर्ण भूमिका व्यवहारले खेल्छ । सम्मान, प्रोत्साहन, प्रशंसा, चासो तथा ‘बिइङ देयर फर इच अदर’ जस्ता भावना हुनु एकदमै जरुरी हुन्छ । वैवाहिक काउन्सिलिङमा अभिभावक भएपछिको जिम्मेवारी तथा शिशुप्रतिको व्यवहारका बारेमा पनि चर्चा गरिन्छ ।

 

व्यक्तित्व परीक्षण

प्रि–म्यारिटल काउन्सिलिङले व्यक्तित्व परिक्षण गरेर विवाह गर्न योग्य भैसकेको छ कि छैन भनेर जान्ने प्रयास गर्छ । के सम्बन्धित व्यक्ति विवाहजस्तो ठूलो जिम्मेवारी सम्हाल्न तयार छ ? यस क्रममा उसले के–कस्ता कठिनाइको सामना गर्नुपर्छ ? कुन मुद्दामा असहमति हुन सक्छ आदि विषयमा विवेचना गरिन्छ । वैवाहिक सम्बन्ध सुमधुर बनाउन यी सवै कुरा जान्नु जरुरी हुन्छ ताकि पछि गएर वैवाहिक सम्बन्धमा कुनै बाधा सिर्जना नहोस् । 

अहिलेका प्राय: युवा–युवतीहरू एक पलमै प्रेममा पर्छन् र एक पलमै त्यसलाई बिर्सन्छन् । पछि गएर उनीहरू एक–अर्कालाई चिन्न पनि हिच्किचाउँछन् । बहस, झगडा उनीहरूको जीवनको हिस्सा बन्छ अनि त्यही झगडा सम्बन्धविच्छेदमा पुगेर टुंगिन्छ । 

विवाह गर्ने कारण

विवाहमा एक–अर्काको प्रेममात्र पर्याप्त हुँदैन । के तपाईंहरू राम्रो साथी हुनुहुन्छ ? के तपाईंहरू एक–अर्कालाई सम्मान गर्नुहुन्छ ? के तपाईंहरू एक–अर्कामा भरोसा गर्नुहुन्छ ? के एक–अर्काका लागि इमोसनल्ली, सेक्सुअली तथा फाइनेन्सल्ली योग्य हुनुहुन्छ ? के वैवाहिक सम्बन्धका लागि दुवैको लक्ष्य एउटै छ ? यस्ता प्रश्नको जवाफबाट विवाहका लागि कुनै पनि जोडी तयार छ कि छैन भनेर बुझ्न सकिन्छ ।

 

व्यावहारिक सोंच

विवाहको अर्थ अर्को मानिससँग पूरै जिन्दगी बिताउनु हो । परामर्शदाताले वर्तमानका साथ भविष्यका बारेमा पनि सोच्न सकोस् भनेर मद्दत गर्छन् । के दुवैलाई बालबालिकाहरू मनपर्छन् ? सासू–ससुरासँग सम्बन्ध कस्तो रहन्छ ? दुवैमध्ये कसले बढी पैसा कमाउँछ ? जस्ता कुरा विवाहअघि नै जान्नु जरुरी हुन्छ । एक सफल वैवाहिक सम्बन्धका लागि केवल प्रेममात्र पर्याप्त हुँदैन व्यावहारिक सोंचको आवश्यकता हुन्छ ।

गम्भीर कुराको चर्चा

परामर्शदाताले जोडीको सकारात्मक कुरा मात्र उठाउँदैनन् गम्भीर मुद्दामा पनि बहस गर्छन् । ऋण छ कि छैन, धर्मका बारेमा कस्तो साेंच छ ? नराम्रो बानी, जीवनमा घटेका नराम्रा घटना, सबैभन्दा बढी डर आदि विषयमा विवाह सम्बन्धमा गाँसिनुअघि जान्नु आवश्यक हुन्छ । परामर्शदाताले उनीहरूको महत्वाकांक्षा तथा मानसिकता बुझेर सल्लाह दिन्छन् । 

उनीहरूको उद्देश्य केटा र केटीको सही जोडा मिलाइदिनु हो । जोसँग उनीहरू पूरै जिन्दगी सरल र सहज तरिकाले बिताउन सक्छन् । यसका लागि उनीहरूको आचरण, स्वभाव, शिक्षा एवं संस्कार ध्यानपूर्वक जाँचिन्छ । परामर्शदाताले उनीहरूलाई यथार्थसँग साक्षात्कार गराउँछन् । सपनाको संसारबाट निकालेर वास्तविकताको सामना गराउँछन् ।

सामान्य परामर्श

हरेक मानिस भिन्न हुन्छन् : हरेक मानिस भिन्न हुन्छन् । हामी सबैमा आ–आफ्नै किसिमका विशेषता, योग्यता तथा कमजोरी हुन्छन् । त्यसैले साथ रहँदा कमजोरी छोपियोस् अनि विशेषता उजागर होस् भन्ने प्रयास गर्नुपर्छ ।

 

सहन सिक्ने : सानोतिनो विवाद हरेक सम्बन्धमा हुन्छ । विवाद बढाएर कहिल्यै टुंगिदैन तसर्थ सहन पनि सिक्नुपर्छ ।

 

प्रतिबद्धता गर्ने : विवाहको सुरुमै वैवाहिक सम्बन्धलाई इमान्दारितापूर्वक निर्वाह गर्ने कुरा तय गर्नुपर्छ । कठिनाइहरूमा पनि साथ रहनुपर्छ ।

 

आत्मपरीक्षण गर्ने : वैवाहिक सम्बन्धमा स्वयंको निरीक्षण–परीक्षण गर्नु राम्रो हुन्छ । त्यसबाट गल्ती गर्ने मौका हुँदैन ।

 

सही उदाहरण खोज्ने : वैवाहिक जीवनको लामो यात्रा तय गर्न आदर्श जोडीलाई रोल मोडल बनाउनुपर्छ । त्यस्ता जोडीको सफल दाम्पत्य जीवनबाट प्रेरणा लिन सकिन्छ । 

 Image