Successfully Copied

छाउ गोठमा बस्ने महिलालाई कार्वाही हुने

महिलाको ज्यान लिने छाउ गोठ बिस्थापित गर्नका लागि विभिन्न अभियानहरु सञ्चालन भैरहेका छन् । यसै क्रममा अब भने महिनावारी भएका बेला छाउ गोठमा बस्ने महिला स्वयमलाई पनि कारबाही हुने भएको छ । 

महिनावारी भएका बेला छाउ गोठमा कयौं महिलाले ज्यान गुमाएका छन् । कयौं महिलाले विभिन्न खाले यातना भोगेका छन् । यसरी महिलाको ज्यान लिने छाउ गोठ बिस्थापित गर्नका लागि विभिन्न अभियानहरु सञ्चालन भैरहेका छन् । यसै क्रममा अब भने महिनावारी भएका बेला छाउ गोठमा बस्ने महिला स्वयमलाई पनि कारबाही हुने भएको छ । 

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल छाउपडी प्रथा विरुद्ध कडा रुपमा प्रस्तुत भएसँगै उनले यस्तो नियम सार्वजनिक गरेकी हुन् । महिनावारी भएका बेला छाउ गोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई कडा कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

पालका अनुसार बैठकले संस्कारका नाममा कानून नमान्ने र गलत व्यवहार गर्ने कसैलाई छुट नहुने भन्दै छाउपडी प्रथा मान्दै आएका अभिभावक र महिलालाई कारबाही गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

प्रथा र परम्पराका नाममा कसैले पनि मृत्युवरण गर्न नहुने भन्दै अमानवीय संस्कारगत व्यवहारहरु अन्त्य गर्न राज्य कडा रुपमा प्रस्तुत हुन आवश्यक देखिएपछि यस्तो पहल थालेको सभापति पालको भनाइ छ । त्यसका लागि समितिले महिला मन्त्रालय, गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाईसमेत निर्देशन दिएको छ ।

समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाईसमेत निर्देशन दिइएको समितिकी सभापति निरुदेवी पालले जानकारी दिइन् ।

समितिले गएको वर्ष बाजुरा लगायतका जिल्लाको स्थलगत अध्ययन गरि अल्पकालिन र दिर्घकालिन सुझावसहितको प्रतिवेदन महिला मन्त्रालयमा पठाएको थियो । तर, प्रतिवेदन कार्यान्वयमा नआएको भन्दै तत्काल रणनीति बनाएर प्राथमिकताकासाथ कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिएको छ ।

यसैगरी सुदूरपश्चिम तथा कर्णाली प्रदेश एवं पालिकासँग समन्वय गरि तत्काल कार्यसम्पादन गर्न पनि महिला मन्त्रालयलाई निर्देशन दिइएको छ । यस्ता कुसंस्कारको अन्त्य गर्न आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिइएको सभापति पालले जानकारी दिइन् ।

 

 Image